site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीतिक अराजनीति

राजनीतिको अराजनीतिकरण भएको छ । यसैले होला, राजनीतिलाई ‘फोहरी खेल’ भन्ने उक्ति चलेको । के राजनीति फोहरी खेल नै हो त ? होइन भने किन यस्तो कथन प्रचलनमा आयो र जनसामान्यको जिब्रोसम्म पुग्यो । ‘फोहोरी’ शब्दले होच्याउने र घोच्याउने कसले बनायो राजनीतिलाई । यसको कारण र कारक को हुन् ? फोहरी खेल अर्थात् असहिष्णु, विकृतिवाहक, पक्षपाती, सर्वजान्ने र अरुको अस्तित्व अस्मितालाई हेप्ने जस्ता दुष्प्रवृत्तिको फोहोरी डङ्गुरमा चुर्लुम्म भएको कारण नै यस्तो उक्तिले राजनीतिक प्रवृत्तिको परिचय गराइएको हुनसक्छ । के राजनीति भनेको साँच्चै ‘फोहरी’ हो त ?

राजनीतिगर्नेहरुले नै राजनीतिलाई बदनाम गराएका हुन् । फोहरी खेलको संज्ञा दिने मौका र वातावरणलाई यिनैले संपोषित पारेका हुन् । यस कुरामा सबैभन्दा दोषी राजनीति गर्नेहरु नै छन् । राजनीति बाहिरका मानिस त सधैँ राजनीतिलाई राजनीतिजस्तै देख्ने कामना गर्छन् । राजनीतिलाई अराजनीति नबनाइयोस् भन्छन् र राजनीतिको विकृतिविरुद्ध सबैभन्दा बढी मुखर यही राजनीति बाहिरको मानिस हुन्छ । जो राजनीतिले पीडित भएको महसुस गर्छ वा त्यसको प्रत्यक्ष भोक्ता, उपभोक्ता हो ।

राजनीतिकर्मीहरु कुरा आदर्श, सिद्धान्त र निष्ठाको गर्ने व्यवहार चाहिँ स्वेच्छाचारी र निरंकुश हुनखोज्ने । नीतिगत र आर्थिक भ्रष्टाचार वा अन्य विकृत राजनीतिलाई राजनीति‘ज्ञ’ले रोक्न सकेनन्, निवारण गरेनन् वा गर्न चाहेनन् ? बरु त्यस्ता दुष्प्रवृत्तिलाई क्रमशः भित्र्याउँदै वा स्वार्थ लिप्साले आँखा चिम्लदै गरे । परिणाम नीतिहरुको मूलनीति नै फोहरको मुहान साबित भयो । 

राजनीति यस्तो भएको कुनै एक दिन र छिनको घटनाले मात्र होइन । कुनै एक राजनीतिकर्मीको कृत्यले मात्र पनि यस्तो भएको वा भनिएको होइन । वर्षौं वर्षको कथा छ, हजारौं राजनीतिकर्मीको कृत्य, कुकृत्य मिसिएर राजनीति फोहरी बनेको हो । फोहरीमात्र होइन होला, ‘कालो बादलमा चाँदीको घेरा’ भनेजस्तै दुनियाँको कतै किनारा सेतो पनि होला । तर, फोहर कति धेरै भयो भने सफा, सेतो र स्निग्ध राजनीति दृष्टिगोचर नै हुन नसक्ने भयो । यसो हुनुमा दार्शनिक (राजनीतिक) कारण पनि छ ।

राजनीतिलाई सबैभन्दा बढी विकृत कुनै पनि प्रकारका  तानाशाही सत्ता र सरकारले पारेका हुन् । धार्मिक होस् कि वंशीय वा जातीय र वर्गीय अधिनायकवादी सरकारहरुले राजनीतिलाई अराजनीतिक बनाएका छन् । यसको बाच्छिटा प्रजातान्त्रिक भनिएका मुलुक, प्रणाली र सरकारहरुमा पनि परेको छ । उदाहरण यतिबेलाको हाम्रै मुलुक नेपाल पर्याप्त छ । बहुदलीय प्रणाली रहेको मुलुकमा दलहरुले पनि विकृतिवहन गरेका छन् । 
किन अधिनायकवादी सत्ता विकृतिको मुहान भयोे त ? सबैभन्दा बढी यस्तो सत्तामा स्वतन्त्रता अभाव वा नियन्त्रित हुन्छ, गरिन्छ । नागरिकको आवाज स्वतन्त्र भएन भने सरकारी स्वेच्छाचारिताविरुद्ध बोल्न सम्भव हुँदैन र विकृति देखेर पनि मौन बस्न वाध्य बनाइएको समाजमा सरकारी विकृति पनि सजिलै भित्रिन्छ र मनपरीतन्त्र समेत हुर्किन्छ । 
सार्वजनिक तहमै सरकारी विकृति वा दलीय स्वेच्छाचारिताविरुद्ध संगठित र वैचारिक विरोध गर्न दलीय  वा संगठनात्मक स्वतन्त्रता जरुरी हुन्छ । त्यस्तै स्वतन्त्र पत्रकारिताले कुनै पनि निकायको अनियमिताविरुद्ध आलोचना र आलोचनात्मक सुझाव दिएर विकृतिविरुद्ध जनमत निर्माण गर्छ । जनमत विरोधमा प्रकट हुनसक्दा सरकार, सत्ता र दलहरु वा राज्यका कुनै पनि निकाय  अनियमित हुन हच्किन्छन् । नसुध्रिए बहुदलीय प्रणालीमा विकल्प खोज्न जनता स्वतन्त्र रहन्छन् । स्वतन्त्रतामा नै नागरिक समाजको स्वच्छताको आग्रह सबल हुन्छ र त्यसको सुनुवाइ गर्नसमेत कर लाग्छ । 

राज्यको कार्यकारी, व्यवस्थापिका र न्यायालयलगायत सबै निकायको विकृतिविरुद्ध प्रेसले निर्धक्क वा स्वतन्त्र मत दिनसक्दा निर्माण हुने जनमतले अन्ततः विकृतिलाई निरुत्साहित नै गर्ने हो । यसकारण सभ्य समाजमा प्रेस स्वतन्त्रताको वकालत गरिन्छ । जहाँ प्रेस स्वतन्त्र छैन, त्यहाँ नागरिक आवाज पनि स्वतन्त्र छैन भन्ने बुझिन्छ । नागरिक आवाज स्वतन्त्र नहुँदा सत्य थुनिन्छ र सरकारी असत्यको थुतुनो मात्रै बक्बक गर्छ । सत्यले मुख खोल्न स्वतन्त्रता अपरिहार्य छ, यो प्रजातान्त्रिक व्यवस्थामा मात्र सम्भव हुन्छ । 

अधिनायकवादी सत्ताको ‘कथित’ प्रेसले नागरिक आवाज र अपेक्षाको प्रतिनिधित्व गर्न पाउँदैन । त्यस्तो प्रेसले सरकारी विकृतिलाई ढाकछोप गर्छ र सरकारी बखानको स्तुतिगान गर्न वाध्य हुन्छ । त्यो सत्तामा प्रेस स्वतन्त्रता प्रतिबन्धित वा बाधित रहन्छ । तिनको काम बज्नु, लेखिनु तर सरकारी प्रशस्तिमै सीमित हुन्छ । अहिलेको कम्युनिस्ट सरकारले प्रेसविरोधी कानुनहरु निर्माणको प्रयत्न गर्नुमा यस्तै मनसाय लुकेको देखिँदैछ । 

जसरी अधिनायकवादी सत्तामा प्रेस स्वतन्त्रता बाधित हुन्छ त्यसरी नै त्यहाँ दलहरु पनि प्रतिबन्धित नै हुन्छन् । एक दलीय वा कुनै प्रकारको तानाशाहीमा दल वा नागरिक समाजको जायज मागका लागि पनि संगठित कार्यक्रम र विरोध सम्भव हँुदैन । सबै सरकारी एकाधिकारले नियन्त्रित हुन्छन् । एकाधिकार अन्ततः विकृतिको कारक र कारण दुवै हो । यसै कारणले कुनै पनि प्रकारको तानाशाही वा अधिकायवादी सत्ता र सरकार मनपरी गर्ने विकृतिको मुहान भएको हो ।

अब फेरि, राजनीति फोहरी खेल नै हो त भन्ने प्रश्नतिर जाऊँ । राजनीति फोहरी खेल होइन । हुनुपर्ने स्वच्छ, प्रतिस्पर्धी र सहज हो । तर, भएन त्यस्तो र आरोप लगाइयो यस्तो । त्याग, समाज सुधार र बृहत् योगदानका लागि स्वस्थ प्रतिस्पर्धा राजनीतिको प्रमुख गुण वा धर्म हो । यसका लागि स्वतन्त्रता, राज्यका निकायहरुबीच शक्ति सन्तुलन र नैतिक आधार चाहिन्छ । राजनीतिमा यस्तो विशेषता सम्भव प्रजातन्त्रमा मात्र हुन्छ । तानाशाही एकाधिकारवादी मुलुकमा त्यो सम्भव हुँदैन । किन ? त्यहाँ सरकारको विरोध गर्ने स्वतन्त्रता हुदैन । कारण माथि नै भनिसकिएको छ ।  

राजनीतिज्ञ, समाजवादी चिन्तक सीके प्रसाई आफ्नो विश्लेषणात्मक कृति ‘मन जे मान्यो सत्य’ मा राजनीतिलाई सत्य, निष्ठा, त्याग र सेवाको उत्कृष्ट प्रतिस्पर्धी कर्म हो भन्नुहुन्छ । राजनीतिमा नैतिकताको प्रबल ठाउँ देख्नुहुन्छ उहाँ । त्यतिबेला प्रकाशित हुने राष्ट्रपुकार साप्ताहिकमा उहाँ ‘घर भित्र ः घर बाहिर’ नामको स्तम्भ नियमित लेख्नुहुन्थ्यो । राजनीतिलाई हेर्ने उहाँको  दृष्टि र प्रजातान्त्रिक समाजवादको व्याख्या, विश्लेषण त्यस स्तम्भमा पढ्न पाइन्थ्यो । 

राजनीति सीके प्रसाईले सोचेजस्तो, देखेजस्तो भएन, गरिएन । बरु, विकृत भयो, गरियो । राजनीति तपस्या रहेन, सत्यको संघर्ष पनि बनाइएन । बरु बनाइयो उपभोग्य उपयोगी व्यवसाय । यस्तै कारण हुन् राजनीतिलाई फोहरी खेल बनाउने । कारक राजनीतिकर्मी, दल र सरकारहरु नै हुन्, सत्ताको प्रकृति र प्रवृत्ति पनि हुन् । 

नेपाली राजनीतिकर्मीहरु जति उक्लिँदै जान्छन्, त्यति तिनमा अहंकार र दम्भसमेत चढ्दै जान्छ । अधिकांशमा त्यो छ । केही दिन अघिसम्म दाइ भनेका व्यक्तिलाई राजनीतिक अवसरसँगै साथी भन्न थाल्छ र समान सम्बोधन गर्न थाल्छ । यतिसम्म त ठीकै हो तर अझ बढी सिँढी चढेपछि त्यो ‘दाइसाथी’लाई चिनेको नचिन्यै गर्न थाल्छ ऊ । त्यो साथीको सुनुवाइ गर्नुमा ऊ आफू तल परेको ठान्न सुरु गर्छ । 

महाराजगंज, नारायण गोपालचोक नजिक घर र कुनै दिन पसल भएका राजनीतिकर्मी श्रीविनोद भट्टराई भन्नुहुन्छ – ‘गिरिजा बाबु प्रधानमन्त्री हुँदा वा नहुँदा आफ्नो निवास महाराजगंज आउँदा मेरो घरतिर हेर्नुहुन्थ्यो र हात उठाएर अभिभावादन र जय नेपाल इसारा गर्नुहुन्थ्यो । तर, आफ्नै साथी वा जुनियर साथी जब मन्त्री भयो, यो घर नजिक आइपुग्दा विपरीत मुन्टो फर्काउँछ वा पत्रिका र केही पढे जस्तो स्वाँग पार्छ ।’

केही वर्षअघि उहाँको व्यक्त अनुभव  राजनीतिककर्मी देख्दा यतिबेला झन् झल्झली हुन्छ । भट्टराईको त्यो अनुभव नेपाली राजनीतिको एक हिस्सा बुझाउन पर्याप्त छ । अहिलेका राजनीतिक कर्मीको मुन्टो प्रायः ‘विपरीत’ फर्किएको छ । अभिवादन सहर्ष स्वीकार्न पनि गारो मान्ने राजनीतिक वर्ग फैलिँदो छ । हार्दिकता विहीन, आत्मीयता हीन, दम्भी र अहंकारी वर्ग । 

राजनीतिक कुर्चीमा बसेपछि उसले आफूलाई सर्वजान्ने मान्छ, अरुलाई अबुझ ठान्छ । यही प्रवृत्ति नेपाली राजनीतिमा छरपस्ट छ । यस्तै प्रवृत्तिले विकृत र राजनीतिलाई अराजनीतिक बनाउने चरित्रको रुप धारण गर्दै, राजनीतिलाई ‘फोहरी खेल’को संज्ञा लायक बनाइदिएको छ । यो सुध्रिन्छ कहिले, कसरी ?
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  ०६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro