site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रगतिवादसँगसँगै अध्यात्मिक चेत   
SkywellSkywell

उनको बाल्यकाल गुल्मीको रिडीमा बित्यो । रुरुक्षेत्रजस्तो धार्मिक स्थलमा उनी हुर्किइन् । शालीग्रामका लागि प्रख्यात रिडी रुरुक्षेत्र नै उनको बाल्यकालमा धुलोमाटोसँंग खेल्ने स्थान हुन पुग्यो । धार्मिकरुपमा चर्चित यही बजारमा आख्यानकार भागीरथी श्रेष्ठ (७१) पढिन् । बढिन् । 

एकातिरबाट बग्दै आएको कालीगण्डकी, अर्कोतिर हिमाली जलप्रवाहयुक्त नदी । गङ्गाजी भन्थे सबै यसलाई । यिनै नदीहरूको दोभानमा भागीरथी र उनका समवयी सङ्गीहरूको समय बित्दो थियो । बालापनको उमेर नै त्यस्तो । लेखपढ्सँंगै पूजापाठ गर्न मन लाग्ने । तर आमा र भाउजुहरू रिसाउनु हुन्छ कि भन्ने डर र शरम पनि थियो । 

सोमबार हात्तीगौंडास्थित निवासमा सहकर्मी सरिता खडकासँग भागीरथी निवास पुग्दा आफ्नो बाल्यकाल सम्झिएर उनी मज्जाले हाँसेकी थिइन् । उनले उत्साहका साथ सुनाइन् आफ्नो बालापनको कथा, ‘‘कात्तिक महिनाभरि हामी छोरी चेलीहरू बिहानै ४ बजे उठेर घरआँगन, पिँढी लिप्थ्यौं । हुन त लाज र डर लाग्थ्यो, तर पनि रहर थियो । रहर पूरा गर्थ्यौं नै । त्यसपछि स्नान गर्न हामी गङ्गाजी पुग्थ्यौं ।’’ 

KFC Island Ad
NIC Asia

तिनताक रिडीबासीहरूका घरमा पिउने पानी गङ्गाजीबाटै ल्याइन्थ्यो । खुबै मीठो पानी थियो त्यहाँको । आज पनि उनी हिमालको त्यो तिख्खर पानीको सम्झना गर्छिन् । 
भागीरथी र उनका सङ्गीहरू ऋषिकेश भगवान्को पूजा गर्थे । पूजाका क्रममा मूर्तिलाई अनेक गरेर सिङ्गार्थे । भैरव, गणेशलगायतका देवताको पूजामा समय बित्थ्यो । अन्तिममा गङ्गाजीको किनारमा गएर बालुवाको शिवलिङ्ग बनाएर पूजा गरेपछिमात्रै विसर्जन हुन्थ्यो । 

साँझपख फेरि छाप्रीमा बत्ती बालेर बगरमा गई दीप प्रज्वलन गर्न पनि भागीरथीहरू उत्साहित रहन्थे । पूजाका क्रममा सङ्गीका बीच प्रतिष्पर्धा हुन्थ्यो नै । कहिलेकाँही किचलो पनि हुन्थ्यो । कसैले छोडेर जाँदा पनि रिस उठ्थ्यो उनलाई, कोही नआउँदा पनि रिस उठ्थ्यो । 

Royal Enfield Island Ad

भागीरथीको मुहारमा मुस्कान फैलियो । कुरा गर्दागर्दै उनी गङ्गाजीको बगरमै पुगिन् । भनिन्, ‘‘सङ्गीहरूसित रिसाएपछि महिनौ बोलचाल बन्द हुन्थ्यो । पछि स्कुलमा सरले थाहा पाउनुहुन्थ्यो । अनि उहाँले हामीबीच सम्बन्ध सहज बनाइदिनु हुन्थ्यो ।’’ 

बाल्यकालका दिन रमाइलोसँग बित्नु स्वाभाविक थियो । रिडीको स्कुल हाइस्कूल भइसकेको थिएन । विद्यालयमा पठनपाठनका अतिरिक्त उनी गीत पनि गाउँथिन् । स्कुल निर्माणका लागि चन्दा सङ्कलन गर्न आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा आफूले गीत गाएको उनी आज पनि सम्झिन्छिन् । 

रिडीको स्कुललाई हाइस्कुलमा स्तरोन्नति गर्नका लागि हुने विभिन्न कार्यक्रमहरूमा भागिरथीलगायतले धेरै सहयोग गरे । कहिलेकाहीँ त उनी र उनका साथी मिलेर गाउँमा भिक्षा पनि मागे ।  रिडीको यही हाइस्कुलबाट २०२२ सालमा एसएलसीको पहिलो ब्याचका रुपमा उनले परीक्षा दिइन् । र, सफल भइन् ।

०००

आख्यानकार भागीरथीका पिताजी स्थानीय हुलाकमा हाकिम थिए । खेतीपाती राम्रै थियो । ४ जना दाजुभाइबीचमा एउटी छोरी थिइन्, भागिरथी । रिडीमै पिताजीको किराना पसल पनि थियो । आमा पसल हेर्थिन् । रुरुक्षेत्र प्रसिद्ध धार्मिक स्थल भए पनि आउजाउका दृष्टिबाट विकट थियो । यातायातको सुविधा थिएन, तर पनि रिडी पुगेकै हुन्थे तीर्थालु । समयसमयमा त्यो धार्मिक स्थलमा मेला लाग्थ्यो । कात्तिकको हरिबोधनी एकादशी, माघे सङ्क्रान्तिका दिनहरूमा विशाल मेला लाग्थ्यो । 

भागीरथीका अनुसार रिडीबाट बुटबल पुग्न त्यसबखत दुई दिन लाग्थ्यो । तानसेन पुग्नलाई चार कोस बाटो छिचोल्नुपथ्र्यो । भागीरथीको घरको बार्दलीमा मुठाका मुठा लट्ठी राखिएको हुन्थ्यो । यात्रामा निस्कँदा लट्ठी लिएरै हिँड्नुपर्थ्यो ।

रिडीबजार रमाइलो थियो । मिश्रित समाज थियो । २०१८ सालअघि गङ्गाजीको किनारमा अवस्थित रिडी सुन्दर बजार थियो । त्यसबेला पसलहरू खुलेपछि उमेरदार छोरीबुहारीहरू बजारबाट हिँड्थेनन् । उनीहरू लुकेर हिँड्ने बेग्लै बाटो थियो । बडो मर्यादित ढङ्गमा बस्नुपर्थ्यो ।

भागीरथीले सम्झिन् २०१८ सालको त्यो बाढी, जसले आधा बजार बगायो । जुन गङ्गाजीको पानी अमृत समान थियो, त्यही गङ्गाजीमा भेल मिसियो । त्यसबेला गु र मुतको पानी पिउनुपर्ने बाध्यता थियो । लास पोलेर अङ्गार बगाइँदा त्यो पन्छाएर पानी थापेर ल्याउनुपथ्र्यो । इनार थिएन । कहीँ कतै पानीको मूल पनि थिएन ।

भागीरथी सम्झन्छिन्, ‘‘त्यसबेला रिडीमा धारा थिएन । बाढीको पानी के सफा हुन्थ्यो ? हामी पानी घरमा पानी ल्याएर कपडाले छानेर पिउँथ्यौं । वास्तवमा त्यसबेला हामीमा चेतना नै थिएन । आज म सम्झिन्छु, हामीले त्यस्तो फोहोर पानी कसरी खायौं होला !’’

उनले यो विषयलाई कथामा उनिनन् । कवितामा पोखिनन् । अहिले उनलाई लाग्दैछ– ती सन्दर्भलाई अब संस्मरणका रुपमा प्रस्तुत गरौं । 

०००

एसएलसी पास गरेपछिको एक वर्ष उनको यत्तिकै बित्यो । उनले पढ्न पाइनन् । पढने रहर औधी थियो, तर कलेज थिएन, रिडीमा । तानसेनमा कलेज थियो, तर त्यहाँ बसेर पढ्नलाई आफन्त थिएनन् । छोरी मान्छे, एक्लै बस्न सकिनन् । 

भागीरथीका आमा–बुवा खुला सोचको भए पनि दाइको सोच अलि सङ्कीर्ण थियो । त्यसैले पनि उनलाई गाह्रो थियो । उनले पढ्नका लागि धेरै सङ्घर्ष गर्नुप¥यो । पढ्न नपाएकोमा उनी बेलाबेलामा रुन्थिन् । 

त्यसैबेला कुनै महिला स्रष्टाको रचना पत्रपत्रिकामा देख्दा आफूले पनि यसैगरी लेख्न पाए हुन्थ्यो भन्ने उनलाई लाग्थ्यो । देवकुमारी थापाको ‘भविष्य निर्माण’ कथा आज पनि उनको सम्झनामा छ । 

एसएलसी पास भएपछिको यही फुर्सदिलो समयमा उनको सिर्जनशीलताले मौलाउने मौका पायो । कवितामा कलम चल्न थाल्यो । कविता बुटवल र पाल्पाबाट प्रकाशित हुने पत्रिकाहरूमा पठाउँथिन् उनी । 

उनका रचनाहरु छापिँदै गए । हौसला बढ्दै गयो । त्यसैबेला ‘प्रवल इच्छा’ शीर्षकमा कथा लेखिन् । त्यस कथामा शिक्षाको आवश्यकतासम्बन्धी आफ्नो विचार अभिव्यक्त गरेकी थिइन् । त्यो पनि पत्रिकामा छापियो ।

त्यसबखत मोदनाथ प्रश्रित लुम्बिनी सन्देश नामक पत्रिका प्रकाशन गर्थे । लुम्बिनी अञ्चलमा त्यो समयमा महिला लेखक थिएनन् । त्यसैले एकदुईवटा रचना आउँदा मात्रै उनी सबैको नजरमा परिन् । 

उनले अञ्चलस्तरीय साहित्य सेमिनारमा पनि भाग लिइन् । भागीरथीको रचनाले प्रथम पुरस्कार प्राप्त गर्‍यो । २०२३ सालमा झापामा साहित्य सम्मेलनको आयोजना भयो । भागीरथी पनि झापा जाने भइन् । उनकी आमा र भाइ साथै गए । त्यसैबेला उनले परशु प्रधान, प्रेमा शाह, बानिरा गिरीलगायतका साहित्यकारलाई चिनिन् । त्यही समयमा उनको परिचय देवकुमारी थापासँग पनि भयो ।

त्यसैबखत काठमाडौंमा महिलाहरूका लागि होस्टल खोलिएको सूचना प्रसारण भयो । साहित्यकार भिक्टर प्रधानको घरमा त्यो होस्टल खोलिएको थियो । ‘महिला दिदीबहिनीहरूले बस्नका लागि सम्पर्क गर्नुहोला’ भनेर सूचना प्रसार भएको थियो ।

यो सूचनाले भागीरथीको पढ्ने इच्छा जागृत भएर आयो । उनले पनि काठमाडौं गएर पढ्ने कुरा सुनाइन् आमालाई । रिडी जान्न भनेर अड्डी लिइन् । गङ्गाजीमा डुब्ने धम्की पनि दिइन् । त्यसपछि उनकी आमाले उनलाई जलेश्वरमा छोडेर आफू रिडी फर्किन् । भागीरथीका दाइ जलेश्वरमा भूमिसुधार अधिकारी थिए । केही समयपछि दाइले भागीरथीलाई काठमाडौं ल्याए । उनी पद्मकन्या कलेजमा भर्ना भइन् । 

काठमाडौं आएर पढ्न थालेपछि पढाइसँगै उनको लेखन पनि अगाडि बढ्न थाल्यो ।

०००

आईए पास गरेपछि भागीरथीको बिहे भयो । श्रीमान् पाल्पामै भूमिसुधार अधिकारी थिए । बिहेपछिको केही समय उनको लेखन छुट्यो । घरपरिवारमै उनको समय बित्न थाल्यो । परिवारसँगै पोखरा, बुटवल गर्दैमा उनको दिन बित्थ्यो । 

स्याङ्जा आइसकेपछि भने उनले साहित्यिक वातावरण पाइन् । उनलाई फेरि लेखनले तान्यो । त्यहीँ रहँदा नै उनले ‘मालती’ उपन्यास लेखेकी हुन् । ‘मालती’ले राम्रो चर्चा बटुल्यो ।

२०३३-०३४ सालतिर भैरहवा पुगिन् उनी । त्यहाँ पनि उनले साहित्यिक वातावरण पाइन् । ‘मालती’का कारण उनको चर्चा थियो । भैरहवा आइसकेपछि रामचन्द्र भट्टराईसँग सम्पर्क भयो । ‘सुस्केरा’ पत्रिका प्रकाशित गर्थे उनी । 

यहीँबाट उनको लेखनले प्रगतिवादी धार समायो । उनले गरिबी र दुःख अनि पीडाको कथा लेख्न थालिन् । प्रगतिशील चेत उनको लेखनमा छल्किन थाल्यो ।  पछि सञ्चो नभएर उनी परिवारसहित काठमाडौं आइन् । उनको उपचार भयो । उनले त्यो बेलासम्म बीए पास गरिसकेकी थिइन् । केही समयपछि अङ्गुरबाबा जोशीमार्फत् उनले तारागाउँमा जागिर खाइन् । उनको प्रगतिवादी धारको लेखनी चल्दो थियो । यसै क्रममा उनको सम्पर्क रामेश र मञ्जुलसँग पनि भयो । जसले उनको लेखनीको प्रशंसा गर्थे । 

भागीरथी यो प्रसङ्ग सम्झिँदै हासिन् । भनिन्, ‘‘प्रगतिवादी कल्पनाशीलता रिडीमा रहँदा थिएन । न त काठमाडौंमा पढ्दा नै थियो । यो क्रमको सुरुआत त भैरहवा गएपछि मात्रै भयो ।’’ 

काठमाडौं रहँदा उनको परिचय पारिजातसँग पनि भयो । तर पारिजातसँग उनको सम्बन्‍ध लामो समय रहेन । आज पनि उनी अविनाश श्रेष्ठसँग पारिजातकहाँ एक दुई पटक पुगेको सम्झन्छिन् । 

एकदिन उनलाई रामेश र मञ्जुलले इमानदार हुनुस्, तर आफ्नो कथामा आफ्नो विचार खुलेर राख्नुस् भनेर सुझाव दिए । रामेश र मञ्जुलको यो भनाइले उनलाई आफ्नो लेखनलाई अलिक फराकिलो पारेर लेख्नेतर्फ डोर्‍यायो ।

यसपछि उनको लेखनले बेग्लै बाटो समायो । कल्पनामा राजनीति मात्रै हावी हुन छाड्यो । उनका कथाहरू रुपरेखा, गरिमा, मधुपर्कहरूमा छापिन थाल्यो । उनका कथामा पनि समाजका जल्दाबल्दा विषय समेटिन थाले । प्रेमका विषयले पनि स्थान पाउन थाले । 

उनले उपन्यास लेखिन् । कथा, कविता लेखिन् । २०३८ सालतिर उनलाई लाग्यो ‘हैन, एउटा मात्रै बाटो समाउनुपर्‍यो ।’ त्यसपछि उनले कथामात्रै लेख्न थालिन् । कथामा मात्रै उनको कलम चल्न थाल्यो । 

०००

घरमा  हजुरआमा र आमाले कथा सुनाउँदा खुबै ध्यान दिएर सुन्थिन् उनी । त्यही प्रभावले उनलाई कथा लेख्न पनि प्रेरित गर्‍यो । रिडी सानो गाउँठाउँ । हरेक घरका मानिस चिनिने । सबैको स्वभाव र चरित्रसँग सबै परिचित । भागीरथीले यो सबै बुझेकी थिइन् । त्यसैले होला, आज पनि उनका कतिपय कथामा रिडीकै घटना, पात्र र चरित्र समेटिएर आउँछ ।  
उनले ‘जिजु बजै’ शीर्षकको कथाको प्रसङ्ग सुनाइन् । जुन कथाले उनलाई ‘रत्नश्री’ सुवर्ण पदक दिलायो । 

रिडीमा एक्ली महिला थिइन् । उनलाई तिनको खुबै माया लाग्थ्यो । ती महिलाले राम्ररी खाएको पनि उनले देखिनन् । बिरामी पर्दा तिनको राम्ररी उपचार भएको पनि उनले देखिनन् । 
तर उनको निधनपछि उनको घरमा रहेको काठको ठूलो बाकसभित्र बोरामा राखिएको तामाको खड्कुलोमा पैसा नै पैसा ! त्यो खड्कुलोमा आठ हजार रुपैयाँ रहेछ । ती बजैको पैसा पछि स्कुललाई प्रदान गरियो । तिनै बृद्धाको जीवनमा आधारित रहेर उनले ‘जिजु बजै’ शीर्षकको कथा लेखिन् ।

भागीरथी भन्छिन्, ‘‘आखिर केका लागि उनले साँचेकी रैछन् त त्यो पैसा ? आफ्नो भविष्य राम्रो होस् भन्ने त होला नि । तर न त उनले औषधि गर्न पाइन् न त चाहेको केही खानै सकिन् ।’’  यस्तै कैयौं घटनाहरूले आख्यानकार भागीरथीलाई कथाको विषय दिएको छ ।

अहिले पनि उनको समय लेखनमै बित्‍छ । साहित्यिक संस्था ‘गुञ्जन’को स्थापनासँगै माया ठकुरी, पद्मावती सिंह, जलेश्वरी श्रेष्ठलगायतको साथले भागीरथीको लेखनीलाई सधैं ऊर्जा प्रदान गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro