site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सर, मैले यसरी नै दिएँ गुरुदक्षिणा

“नारायण, हेडसरलाई सम्झिन्छौ तिमी ?”

न्युरोड, पाकोस्थित साथी नारायण घिमिरेको अफिसबाट सिँढी झर्दै गर्दा मैले लचमु हाइस्कुलका हेडसर सभापति लाल दासलाई सम्झिएँ र कुरो उठाएँ ।

हेडसर मेरो सम्झनामा घरीघरी आइरहनुहुन्छ । कारण, हेडसर मेरा लागि अभिभावक हुनुहुन्थ्यो । त्यसो त हेडसर सबै विद्यार्थी र शिक्षकका अभिभावक हुनुहुन्थ्यो ।

तर, मेरा लागि विशेष, किनभने मेरो स्कुल फी, होस्टेल र मेस खर्चदेखि पकेट खर्चसम्म हेडसरकै व्यवस्थापनमा थियो । लाग्ने खर्च ड्राफ्ट बनाएर बुवाले पठाउनुहुन्थ्यो ।

यसरी सानोसानो सन्दर्भमा म हेडसर र कविराज सरसँग ठोक्किन पुग्थेँ । कविराज सर त्यतिखेर होस्टेलको सुपरिटेन्डेन्ट हुनुहुन्थ्यो ।

मैले हेडसरको चर्चा गर्दा नारायण हेडसरलाई सम्झिँदै केही बेर मौन रहे । अनि भने, “एक कुशल शिक्षकका रूपमा हेडसरलाई म सम्झिन्छु । त्यसो त उहाँसँग खासै नजिक भएको अनुभव छैन मलाई । श्यामवर्णको उहाँको अग्लो र मोटो शरीर आज पनि याद आउँछ । उहाँलाई देख्दा सबै चुपचाप रहन्थे । उहाँसँग हामी दोहोरो कुरा गर्न सायद सक्दैनथ्यौँ । तर, उहाँको पढाउने शैलीबाट भने हामी दंग थियौँ ।”

नारायणले भनेझैँ ठ्याक्कै त्यही आकारप्रकार र स्वभाव थियो हेडसरको । उहाँ कहिलेकाहीँ मात्र (सम्भवतः अरू सर नहुँदा) कक्षामा पस्नुहुन्थ्यो, गणित र अंग्रेजी विषय पढाउने गरी । हैन भने हेडसर आफ्नै किसिमको विद्यालय व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय रहनुहुन्थ्यो ।

आँखामा चस्मा, चस्माको पावरदार सिसाबाट देखिने हेडसरका ठूलाठूला आँखामा हामीले सिधा कहिल्यै हेर्न सकेनौँ । एक त सिकुटे कायाको म र सरको अग्लो अनि बुलन्द काया । घाँटी ठाडो पारेर हेर्न सक्ने अवस्था नै रहन्थेन ।

हामी साथीहरू सधैँ निहुरिएर कुरा गर्दथ्यौँ, कुरै गर्नुपरे पनि । तथापि, हेडसरसँग दोहोरो संवाद कठिन थियो, कक्षाकोठामा बेलाबखत प्रश्न सोध्नुबाहेक । अर्थात्, हेडसरका अघिल्तिर सबै आदरभावका साथ खडा हुन्थे । मौन रहन्थे ।

एउटा प्रसंग मेरो मानसपटलमा आज पनि स्पष्टसँग चित्रित छ । कुनै धमिलोपना छैन । भलुवाहीमा सात कक्षामा पढ्दापढ्दै बुवाले मलाई जलेश्वर लिएर आउनुभयो । यो ०३४ साल पुस/माघतिरको कुरा हो ।

जलेश्वरस्थित ‘लक्ष्मीनारायण चण्डीप्रसाद मुरारका व्यावसायिक माध्यमिक विद्यालय’मा सात कक्षामा मेरो भर्ना गरियो । छोटकरीमा लचमु हाइस्कुल भनिन्थ्यो । लचमु त्यस भेगको एक प्रसिद्ध विद्यालयमा गणना हुन्थ्यो ।

भर्नाको पूरा गर्नुपर्ने प्रक्रिया सकिएपछि बुवा फर्किनुभयो । उता एक दिन हेडसरले अर्का शिक्षक राजेश्वर शुक्लासँग मेरै अघिल्तिर भन्नुभयो, “शुक्लाजी देखिए, बापको पढाया, बेटा भी चला आया !”

मेरो बुवाले सोही हाइस्कुलबाट २०१० सालमा एसएलसी पास गर्नुभएको थियो । त्यसबखत पनि सभापति लाल दास लचमुको हेडमास्टर हुनुहुन्थ्यो । हेडसरको यो भनाइ आज पनि मेरो सम्झनामा आइरहन्छ ।

एकदुई पटक मैले बुवासँग यो प्रसंगको चर्चा गरेको थिएँ । बुवाले नै भन्नु भएको थियो, “हेडसर २००९ सालदेखि नै हेडमास्टरका रूपमा कार्यरत हुनुहुन्थ्यो ।”

यसै सन्दर्भमा एउटा प्रसंग केही दिनअघि कविराज सरले सुनाउनुभयो, “तिम्रा पिताजीले पनि हेडसरसँग ट्युसन पढ्नुभएको थियो । यो प्रसंग मलाई हेडसर आफैँले सुनाउनुभएको थियो ।”

हेडसरका विषयमा मलाई धेरै जानकारी छैन । उहाँको घरघराना के कसो भन्ने विषयमा पछिल्लो समय खोजी गरेको हुँ । तर, यस विषयमा अरू कसैलाई जानकारी भएको र कसैले उहाँका बारेमा चर्चा गरेको मैले पाइनँ ।

भर्ना भएपछिका केही वर्ष म लचमु स्कुलकै होस्टेलमा बसेर पढेँ । करिब डेढ वर्षजति । मैले माथि भनेझैँ त्यस अवधिमा बुवाले काठमाडौंबाट हेडसरकै नाममा लाग्दो खर्चवर्च पठाउने गर्नुभएको थियो ।

अनि, यदाकदा हेडसर मलाई भन्नुहुन्थ्यो “राजेश, पैसा चाहिए भन्नु है ।”

मेरा लागि पैसा खर्च गर्ने बाटा त धेरै थिए, तर उहाँसँग पैसा माग्ने हिम्मत अलिकति पनि थिएन । मैले माग्ने खर्च भनेको यसो बेलाबेला सिनेमा हेर्नलाई हो । तर, ‘सिनेमा हेर्न पैसा चाहियो सर’ भन्न सकिन्थ्यो होला र ! किमार्थ सकिन्थेन ।

मैले यस्तै दुई/तीनपटक मागे कि हेडसरसँग पैसा । उहाँले दुई/तीन रुपैयाँ दिनुहुन्थ्यो र त्यो मेरा लागि ‘इफराद’ हुन्थ्यो । त्यो पैसा कहिले रसभरी, लालमोहन र पागमा डुबाइएको गुजिया खाएर सिध्याइन्थ्यो त कहिले शनिबारको मौका छोपी जनकपुर वा सुरसण्ड गएर सिनेमा हेरिन्थ्यो ।

कहिलेकाहीँ साथीभाइले भन्थे पनि, ‘तोरा त ढेउवा के कौन कमी ! हेडसर जडे माग न । ओकर बाद कुछो करभी त होतै !’

त्यसो पनि हुन्थेन । उनीहरूलाई मलाई उकास्न सजिलो थियो । मलाई भने हेडसरसँग बोल्ने हिम्मत हुन्थेन । यो अवस्थामा पैसा माग्ने कुराले ‘दिल्ली दूर है’लाई चरितार्थ गथ्र्यो ।

बुवाले लचमुमा पढ्दै गर्दा सभापति लाल दास हेडमास्टरको जिम्मेवारीमा आउनुभयो । कविराज उपाध्याय सरका अनुसार, बुवा २०१० सालमा लचमुबाट एसएलसी दिने पहिलो ब्याचको विद्यार्थी हुनुहुन्थ्यो ।

त्यसपछि त नवराज काका, रविराज काकाले पनि उहाँसँगै पढ्नुभयो । अनि, साहिँलो भाइ मुकेशले पनि हेडसरकै सानिध्यमा रहेर पढ्यो ।

यसरी हाम्रो परिवार मात्रै नभएर जलेश्वरका नातागोता र आफन्तले पनि लचमुबाटै हेडसरकै अगुवाइमा पढेका थिए ।

लचमु हाइस्कुल स्थापनाको अन्तर्य यस्तो छ । मसगो अर्थात् महोत्तरी सर्लाही गोश्वाराअन्तर्गत जलेश्वरमा बडाहाकिम र अन्य सरकारी अधिकारीहरूको बसोबास थियो । परन्तु, त्यहाँ स्कुलको व्यवस्था भएको थिएन ।

ठूलाबडा र हुनेखानेका सन्तान भारततिरका सीमावर्ती सहर अथवा बनारस गएर पढ्थे । बाँकीको पढाइलेखाइ सामान्य बाह्रखरी, हिसाबको पहाडा अनि संस्कृतको प्रारम्भिक श्लोकहरूको अध्ययनमा सीमित थियो ।

२००७ सालपछिको परिवर्तित परिवेशमा स्थानीय समाजसेवीबीच जलेश्वरमा पनि विद्यालय स्थापनाको चर्चा चल्यो । जलेश्वरका स्थानीय शिक्षासेवी र पिपराका कांग्रेस नेता एवम् समाजसेवी रामनारायण मिश्रको योगदानका साथै जलेश्वरका व्यवसायीहरू लक्ष्मीनारायण, चण्डीप्रसाद मुरारकाहरूको आर्थिक सहयोगमा २००८ सालमा लचमु हाइस्कुलको स्थापना भयो ।

विद्यालय स्थापनापछि पहिलो हेडमास्टरका रूपमा वैदेही शरण ठाकुरले जिम्मेवारी लिनुभयो । विविध कारण उहाँले राजीनामा दिएपछि चन्देश्वर लालले केही समय प्रधानाध्यापकको भूमिका निर्वाह गर्नुभएको भन्ने ‘स्वर्ण जयन्ती स्मारिका, २०५८’मा उल्लेख छ ।

त्यसउप्रान्त ००९ सालमा सभापति लाल दासले प्रधानाध्यापकको जिम्मेवारी वहन गर्नुभयो ।

लचमु हाइस्कुलमा लामो समय नेपाली विषय पढाउनुभएका शिक्षक कविराज उपाध्यायसँग हेडसरको निकटको सम्बन्ध रह्यो । कविराज सरसँग भेट हुँदा हेडसरका विषयमा चर्चा चल्यो ।

हेडसरका बारेमा उहाँले बताउनुभयो, “सभापति सर बिहारको मधुवनी जिल्लाअन्तर्गतको एउटा गाउँ (सम्भवतः परोल गाउँ)को सामान्य परिवारको युवा हुनुहुन्थ्यो । पढाइमा मेधावी उहाँ बीए पास गरेपछि एमए पढ्न भनेर कलकत्ता जानुभयो र त्यहीँबाट गणित विषयमा एमएड गर्नुभयो ।”

त्यसबखत एमएड गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने चलन थियो रे ! त्यसैले पनि हेडसरले आफूले एमएड गरेको बताउनुभएको कविराज सर सम्झिनुहुन्छ । उहाँको अंग्रेजी र गणित दुवै तगडा भएको कविराज सर स्मरण गर्नुहुन्छ ।

घरको अवस्थाले गर्दा पढाउँदै पढ्दै गर्नुभएका सभापति सरले कलकत्ता (हाल कोलकाता)कै एउटा स्कुलमा पढाउन थाल्नुभयो । त्यसपछि उहाँ ठोक्किनुभयो जलेश्वरका समाजसेवीहरूसँग, जसले उहाँको जीवनमार्गलाई अर्कै मोडमा ल्याइपुर्‍यायो ।

यस विषयमा कविराज सर भन्नुहुन्छ, “आर्थिक अवस्थाका कारण कलकत्तामा रहँदा उहाँले ट्युसन पढाउँदै पढ्नुभयो । कलकत्ताको जीवन अनुभव गर्नुभयो । पछि त्यहीँको एउटा स्कुलमा पढाउन थाल्नुभयो । जलेश्वरका बुद्धिजीवीहरूमा दशरथ दत्त (मुखिया), भागीरथ उपाध्याय र रामप्रसाद उपाध्यायलगायत अरूहरू पनि हुनुहुन्थ्यो । तिनैमध्ये मुखियाजीको सम्पर्कमा सभापति सर हुनुहुँदो रहेछ । र, मुखियाजीकै आग्रहमा कलकत्तामा खबर गरेर हेडसरलाई जलेश्वर झिकाइयो । त्यसपछि उहाँले लचमु हाइस्कुलको हेडमास्टरको बागडोर सम्हाल्नुभयो ।”

२००९ सालमा हेडमास्टरको जिम्मेवारी सम्हालेर आउनुभएका हेडसरले त्यसउप्रान्त कति धेरै विद्यार्थीहरूलाई पढाउनुभयो होला ? अनुमान गर्न सकिँदैन । लचमु हाइस्कुलबाट बेलाबेलामा एसएलसी बोर्डमा पनि विद्यार्थीहरू आएका थिए ।

२०३३ सालको एसएलसी परीक्षामा बोर्ड फर्स्टसहित ६ जनाले बोर्डमा आफ्नो वर्चस्व कायम गरे ।

त्यसो त २०१७, २०२५, २०३१ र २०३४ सालमा पनि लचमु हाइस्कुलले बोर्डमा स्थान पाएको थियो ।

हेडसरको शान्त, गम्भीर स्वभाव र सबैसँग मिल्ने व्यवहारले उहाँलाई सबैले मन पराउँथे । मलाई सम्झना छ, मेरा बुवा पनि जलेश्वर पुग्दा एकचोटि हेडसरलाई भेट्न स्कुल पुग्नुहुन्थ्यो नै ।

कविराज सरका अनुसार, प्रधानाध्यापक भएको केही वर्षपछि उहाँले नेपालबाटै अंग्रेजी विषयमा एमए गर्नुभयो । यस विषयमा कविराज सर थप भन्नुहुन्छ, “लचमु हाइस्कुलमा काठमाडौंबाट रामेश्वर उपाध्याय अंग्रेजी विषय पढाउने गरी जलेश्वर आउनुभयो । त्यसै बखत उहाँले हेडसरलाई भन्नुभएछ, ‘मैले पनि एमए गरेको छैन । तपाईं पनि अंग्रेजी विषय लिएर एमए गर्नुस् । म पनि गर्छु ।’ अनि, हेडसर र रामेश्वर सरले काठमाडौंबाट प्राइभेट परीक्षा दिने गरी एमएको फर्म भर्नुभएछ । र, दुवैजनाले एकसाथ अंग्रेजी विषयमा एमए गर्नुभयो ।”

काठमाडौं आउँदा उपाध्याय सरले हेडसरलाई आफ्नै घरमा राखेर एमएको जाँच दिलाउन लगाएको कविराज सरले सुनाउनुभयो ।

यसरी लचमु हाइस्कुलको श्रीवृद्धिका साथै समग्र महोत्तरी जिल्ला क्षेत्रमा शिक्षाको विकासमा हेडसरले आफ्नो तर्फबाट मलजल गरिरहनुभएको स्पष्ट देखिन्छ ।

हेडसरलाई जलेश्वर वरपरिका दश गाउँका मानिसले मन पराउँथे । उहाँको चर्चा पनि उत्तिकै हुन्थ्यो । यसरी ००९ सालमा लचमु हाइस्कुलमा भित्रिनुभएका हेडसरले ३६ वर्षसम्म निर्बाध सेवा गर्नुभयो ।

हेडसरले २०४५ सालमा अवकाश लिनुभयो । त्यसअघि, जलेश्वरमै स्थापित कलेज रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पसमा पनि उहाँले प्रिन्सिपलको भूमिका निर्वाह गर्दै पढाउन सुरु गर्नुभएको कविराज सरको सम्झनामा छ ।

सभापति लाल दास सरको परिवारको बसोबास लचमु हाइस्कुल परिसरकै आवास भवन (क्वाटर)मा थियो । निकैपछिसम्म हेडसरको बसोबास त्यहीँ रह्यो । पछि हेडसर जनकपुरस्थित भोला सिंह लायन्स स्कुलको पनि प्रिन्सिपल हुनुभएको कविराज सर बताउनुहुन्छ ।

हेडसरका विषयमा थप कुरा गर्दा गम्भीर हुँदै कविराज सरले भन्नुभयो, “अवकाश प्राप्त गरेपछि उहाँले मसँग ‘म नेपाल छोड्दिनँ’ भन्नुभएको थियो । त्यसैले पनि जनकपुरको स्कुलमा प्रिन्सिपलको जिम्मेवारी लिनुभयो र पाँच वर्ष स्कुल चलाउनुभयो । उहाँ जलेश्वरमा हेडमास्टर हुँदै उहाँकी आमा र पत्नीको देहान्त भएको थियो । त्यसैले उहाँले जहिले पनि मसँग ‘म पनि जलेश्वरकै माटोमा समाहित हुन चाहन्छु’ भन्नुहुन्थ्यो । तर, उमेरजन्य विविध कारणले गर्दा उहाँ कान्छो छोरा रहेको भारतीय सहर मजफ्फरपुर जानुभयो । बेलाबेलामा पेन्सन लिन भने उहाँ जलेश्वर आइरहनुहुन्थ्यो ।”

एउटा केटाकेटी स्वभावको विद्यार्थी भएकोले मैले पनि हेडसर, कविराज सर र अरू सरहरूलाई दुःख दिएको हुँला भन्ने लाग्छ । तर, उहाँहरूले विद्यार्थीको उन्नति–प्रगतिलाई नै सधैँ हेर्नुभयो । अझै हेडसरले त कसैलाई पनि केही भन्नुभयो होला भन्ने मलाई लाग्दैन ।

कविराज सर भन्दै हुनुहुन्थ्यो, “हेडसरसँग सबै प्रसन्न थिए । मेरो विचारमा उहाँ जनकपुर अञ्चलकै एक लोकप्रिय हेडमास्टर हुनुहुन्थ्यो । उहाँ अजातशत्रुका रूपमा परिचित हुनुहुन्थ्यो ।”

यथार्थ हो, कविराज सरको भनाइ । हेडसरले कहिल्यै कसैलाई वचन लगाउनु परेन । उहाँको उपस्थिति नै ‘पीन ड्रप साइलेन्ट’का लागि पर्याप्त हुन्थ्यो । उहाँ हरेक शिक्षक, विद्यार्थी तथा अभिभावकका लागि एक आदर्श पुरुष नै हुनुहुन्थ्यो ।

सायद त्यसैले होला, भेटमा साहित्यकार प्रमोद प्रधान पनि हेडसरलाई सम्झिनुहुन्छ । प्रमोद दाइले पनि एक वर्ष लचमु हाइस्कुलमा पढ्नुभयो । उहाँ पनि भेटमा हेडसर, श्रीराम सिरज सर र बदरीनारायण झा सरको सम्झना गर्नुहुन्छ ।

हेडसरप्रति मैले केही गर्न सकेँ भन्ने लाग्दैन । गर्नै पो के सकिन्थ्यो र ! तसर्थ, आज हेडसरको सम्झनामा केही अक्षर कोर्ने धृष्टता गरेँ । यिनै केही अक्षर र शब्दहरूमार्फत मैले हेडसरसहित सम्पूर्ण शिक्षकहरूलाई गुरुदक्षिणा दिने प्रयास मात्रै गरेको हुँ ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्