आइतवार बिहानै नेपाल पत्रिका घरमा आयो । पत्रिकाको कभर पृष्ठमै शेरबहादुर देउवाको सुरुवाल खुस्केको स्केच रहेछ, छेउमा भँगेरे टाउके अक्षरमा लेखिएको थियो ‘सखाप साख’ । कभर पेजमा नै शेरबहादुर देउवाको साख समाप्त भएको घोषणा गर्दैगरेको नेपाल पत्रिका देखेर एकछिन गर्व पनि लाग्यो । यो देशको सबैभन्दा शत्तिशाली व्यक्तिमाथि पनि नेपाली मिडियाले यति सशक्त ढंगले प्रहार गर्न सक्छ भनेर । एकछिन पछि अचानक मेरो मुखबाट निस्क्यो, “नेपाल पत्रिका पनि एमाले भएछ !” अनि मज्जाले हाँसे ।
नेपालमा पत्रकारहरू यति नराम्ररी राजनीतिक नेतासँग एउटै ओछ्यानमा सुतेका छन् कि कुनै पनि नेताले पत्रकारले स्वतन्त्र ढंगले, आफ्नै सोचले र रचनात्मक आलोचना गर्छ भन्ने दृष्टिले हेर्दै हेर्दैनन् । अनि जसलाई भनिएको हो उसले सहजै भनिदिन्छ – मेरो विरोधी दलको समर्थक भइसक्यो, त्यसैले त्यस्तो लेखेको हो । हैन, सही कुरा लेखेछ, मलाई समयमै ब्युँझाइदियो भनेर कसैले पनि भन्दैन ।
यो रोग अहिलेको होइन । धेरै पहिलेदेखिको हो । पत्रकारले आफ्नो पेसाभन्दा दल विशेषको कुनै नेतालाई आफ्नो सोच र सर्वस्व बुझाएको पनि धेरै पहिलेदेखि नै हो । आजभन्दा करिब २३ वर्षअघि म द काठमाडौं पोस्टको आर्थिक संवाददाता थिएँ । त्यसबेला रामकृष्ण ताम्राकार उद्योग मन्त्री थिए । उनले प्रजातान्त्रिक नेपालको लागि पहिलो लगानी सम्मेलनको आयोजना गरेका थिए ।
कान्तिपुर तथा द काठमाडौं पोस्टमा समाचार राम्रैसँग आएको थियो । तर, सबै समाचार प्रथम पृष्ठमा आएनन् भन्ने गुनासो र केही समाचारमा सम्मेलनको आलोचना भएको भनेर मन्त्रीका निकटका व्यक्ति पत्रिकाको अफिसमा नै आए । मैले पनि डेस्कमा कोही व्यक्ति यस्तो आर्थिक समाचार बुझ्दैनन् त्यसैले भित्री पृष्ठमा प्रकाशित गरिदिए भने । तर, ती मेरा पनि निकट चिनजान भएका व्यक्तिले भने – “थाहा छ, यहाँ को को एमाले समर्थक छन्, सब थाहा भइसक्यो ।”
भर्खरै पत्रकारित गरिरहेको र यसको मर्मअनुसार काम गर्नुपर्छ भन्ने सोच भएको मलाई नराम्रो झट्का लाग्यो । ए ! पत्रकारले कुनै विषयमा आफ्नो स्वविवेक प्रयोग ग¥यो भने यस्तो आरोप पो लाग्ने रहेछ भनेर मनमा चिसो पस्यो । अनि मनमनै सोचेँ – “पत्रकार बन्ने हो भने राजनीतिक दलका नेतासँग एउटा दूरी बनाएरै बस्नुपर्ने रहेछ । नत्र त राजनीतिक नेताको रौं हल्लिदाँ पनि तुरुन्तै अर्को दलको एजेन्ट भन्ने आरोप लाग्ने रहेछ ।”
पछि बानी पर्दै गयो । देउवाकोमा गयो तपाईंहरू खाली गिरिजाको राम्रो लेख्नुहुन्छ, मलाई कुनै महत्व दिनुहुन्न भन्ने गिरिजाप्रसाद कोइरालाकोमा गयो खाली देउवाको समाचार प्रकाशित गर्नुहुन्छ भन्ने गुनासो । कांग्रेसकोमा गयो पत्रिका माओवादी भयो है भन्ने अनि माओवादीकोमा गयो देश र जनताको स्वतन्त्रताका लागि लडेको आफ्नो पार्टीले महत्व पाएन भन्ने ।
समयको अनेक थप्पड खाँदाखाँदै पनि सुशील कोइरालाले भने प्रेस सल्लाहकार कसरी बनाए पत्तो भएन । तर, त्यहाँ बस्दा पनि कुन पत्रिका कस्को समर्थनमा छ, कुन आफ्नो नजिकको पत्रकार र कुन अर्को दलको पत्रकार भन्ने हिसाब गर्दैमा समय बित्यो । पत्रकारले आफ्नो पेसा नगरेर राजनीति गरेको देख्दा अचम्म लाग्यो । वास्तवमा आफ्नै विवेकले, आफ्नै सोचले सही र गलत छुट्याउने पत्रिका र पत्रकार पाउन त मुस्किल नै रहेछ । पत्रकार पनि आफू कुन नेतासँग नजिक भन्ने कुरामा गर्व गर्दा रहेछन् । म स्वतन्त्र पत्रकार हुँ भनेर त कोही दुई खुट्टामा उभिनै नसक्ने ।
पत्रकार महासंघमा पनि कहिल्यै स्वतन्त्र पत्रकार उठेर नजित्ने । एकदुई जनाले कोसिस गर्दा पनि नराम्ररी पराजित भए । तिनले यस्तो आदर्श यो देशमा चल्दैन भन्ने शिक्षा हासिल गर्ने बाहेक अरू केही गर्न सकेनन् । एमाले र कांग्रेसको साझा उमेदवार कहिल्यै नहुने । अर्थात्, पत्रकार कहिल्यै पत्रकार नरहने राजनीतिक कार्यकर्तामात्र हुने अवस्थाबाट मुक्ति नहुने भयो ।
कहिलेकाहीं प्रशान्त अर्यालजस्ता पत्रकार निस्कन्छन् जुन दलसँग नजिक भनेर चिनिएका भए पनि सबैभन्दा ठूलो दलको सभापतिलाई नै कस्सिएर चेतावनी दिन्छन् । जस्तो नेपाल पत्रिकामा सन्तोष आचार्यले लेखे र अर्यालले कभर नै बनाए । त्यो पनि सशक्त ढंगले चासो पोखे । तर के देउवा र उनी नजिकका व्यक्तिले यसलाई सकारात्मक विरोधको रूपमा लेलान् ? लिँदैनन् ।
यो लेखकसँग विगतमा भएको तीतो अनुभवले पनि भन्छ – त्यस्तो हुँदैन । बरु, देउवा समर्थक सबैजना एक मुखले नेपाल पत्रिका त एमालेको भइसकेको छ, प्रशान्त अर्याल बिकिसके भन्नेजस्ता आरोप लगाएर हिँड्नेछन् । नेपालको सबैभन्दा ठूलो मिडिया हाउसको एक प्रभावशाली म्यागजिनले आफूविरुद्ध लगाएको आरोपका सम्बन्धमा देउवाले पत्रकार सम्मेलन गरेरै आफ्ना कुरा राख्नुपर्छ । जुन हदसम्म आफू सप्रिने हो त्यस हदसम्म पत्रिकालाई धन्यवाद दिनुपर्छ । तर, सायद त्यस्तो कुरा नेपालमा आदर्शमात्रै मानिने छ ।
बरु, त्यो सन्तोष आचार्य कुन दलको नजिक हो र त्यसलाई कसले कति पैसा दिएर लेखाएछ भन्नेतिर कुरा बढी चर्चा हुनेछ । अझ सम्पादक र लेखक दुवैलाई निकाल्नका लागि दबाब पुग्नसक्छ व्यवस्थापनमा । किनभने, जे कुरा समस्या देखिएको छ त्यसले नेता र उनका नजिकका मान्छेलाई छुँदैन । तिनको धर्ममा जनताले र पत्रिकाले सही भनेको कुरा गर्नुपर्छ भन्ने कहिँ छैन ।
यहाँका नेताका नजिकका मान्छेको विचारमा नेताले सकभर कमाउनुपर्छ र त्यो आफ्ना आसेपासेलाई बाँडनुपर्छ । राजा हुन्, राणा हुन वा अहिलेका शासक सबैमा त्यही सामन्ती सोच भरिएको छ । जनता पनि आफैँमा अधिकार खोजेर, आफूले पाउने अधिकारका लागि लड्दैनन् । बरु, आफूभन्दा तलका मान्छेमाथि हैकम राख्न, आफू पनि एउटा सामन्तीको चाकर बनेर हिँड्छन् । त्यसैले नेता जनताका हुँदैनन्, पैसाका नेता हुन्छन् ।
प्रेसले जति लेखे पनि केही हुँदैन । किनभने पत्रकार सबैले नगुमाए पनि यो देशमा पत्रकारिताले आफ्नो सतीत्व गुमाइसकेको छ । बरु, पेरुका फुजिमोरी वा टर्कीका एर्डोआनजस्तै पत्रकार र विरोधीमाथि शारीरिक, आर्थिक वा सरकारी आक्रमण गरेर त्यसलाई धम्काउने, तर्साउने वा सडकमा पुर्याउने कोसिस गरिन्छ । तर, पत्रकारले भनेका कुरामा ध्यान दिनुपर्छ भन्ने सोच पलाउँदैन । तर, नेताज्यू ! सधैँ यस्तो चल्दैन ।
ज्ञानेन्द्रलाई पनि पत्रकारले जनताको अधिकार देऊ, तिम्रो साख सकियो भनेकै हो, मानेनन् । अहिले कुमारीको दर्शन गर्न जान पाउँदा बडो ठूलो सम्मान पाएकझैँ ठानेर बस्नुपरेको छ । लोकमानलाई पनि पत्रिकाले तिमीले साख गुमायौ है, अब ध्यान देऊ भन्दा उनलाई ध्यान दिनुपर्ला जस्तो लागेन । उनी पनि विरोधीलाई सिध्याउने ध्याउन्नमा लागे । उनको के अवस्था भयो भनेर अहिले नै सम्झाउनु कसैलाई नपर्ला । किनभने यो घटना निकै हालैमात्रको हो । नेपाल पत्रिकाले देउवाको विषयमा यो लेख लेखेरमात्र ठूलो विषय भएको होइन ।
कुरा के भने जनताले के भन्दैछन् र नेताले कस्तो व्यवहार गर्नुपर्छ भनेर हामीमा सोच्ने चलन छैन । एमाले भयो, पैसा खायो, महाको विरोधी हो भनिदियो, सकियो । नेपाल पत्रिकाको कभर र भित्रको समाचार पढेपछि मनमनै सोचेँ, अब पत्रकार र सम्पादकलाई फोन आउनेछ – “त्यस्तरी त लेख्न नहुने । तपाईंहरू जस्तोले त्यस्तो गर्न नहुने । तपाईलाई एमाले भन्दैछन् सबैजना ।”
अनि तपाईंहरूले नि? जे गरे पनि हुने ? लज्जा शरणम् !