नेपाली कांग्रेसले ‘जनजागरण’ कार्यक्रम गर्ने भएछ । जागरण भन्नेबित्तिकै के जागरण, किन जागरण, कस्तो र कसको जागरण ? जस्ता प्रश्न अहिलेको कांग्रेस हेरेर स्वाभाविक भएका छन् । कतिले जागरण, कतिले जनजागरण र केहीले राष्ट्रिय जागरण शब्दले पुकारिन थालिएको यो कार्यक्रमले दिने परिणाम भविष्य नै भयो । तर, यसलाई लिएर केही पूर्वआकलन चाहिँ स्वयं यस पार्टीभित्र सुरु भएको छ । लिखित र सार्वजनिक अभिव्यक्ति सोझै नआए पनि बैठक कोठाभित्र आशंका व्यक्त भएका सन्दर्भ पनि छन् ।
पहिलो त, नेपाली कांग्रेसजस्तो जेठो र ऐतिहासिक दलले सुरु गर्ने जागरण कार्यक्रम भनियोस् कि अभियान त्यसप्रति नागरिक चिन्तक र समाजको ध्यान निकै गम्भीर प्रकारले आकर्षित हुनुपर्ने थियो । ध्यान तान्न कांग्रेसले पूर्व प्रयत्न पनि गर्नुपर्ने हो । तर, कार्यक्रम हठात् घोषणा गरेजस्तो महसुस गरिँदैछ । केही सूत्रहरू सहित घोषणा भएको कार्यक्रमप्रति लेखक र चिन्तक सुनेको नसुन्यै मुद्रामा देखिए भने स्वयं पार्टी कार्यकर्तामा यो सुनेर कति उत्साह थपियो ? नेतृत्वले मूल्यांकन गरेकै होला । गर्नुपर्ने हो ।
यसको उद्देश्य साँच्चै जागरण हो वा यो आवरणभित्र अरू केही थोक नै लुकाइएको छ कि भन्ने कार्यकर्ताको आशंका नेतृत्वले नबुझ्ने कुरै भएन । आशंका वा अनुमान पार्टीका सबै सक्रिय कार्यकर्ताले गरेका छन् तर अनुमानलाई आफ्नो अनुकूल र प्रतिकूल मान्ने सोचले समर्थनमा भिन्नता चाहिँ छ । भलै मनमनै होस् । अर्थात्, कार्यक्रमलाई हेर्ने दृष्टि पनि गुटगत धारणाले विभक्त छ ।
पार्टीभित्रका नेता, कार्यकर्ताका आआफ्नो धारणा होलान्, छन् पनि । त्यसमाथि यसभित्र जब्बर भएको गुटगत स्वार्थ छरपस्टै छ । तर, नागरिक चिन्तक कांग्रेसको कार्यक्रमप्रति निरपेक्ष देखिए । यो स्थितिलाई कांग्रेसका शीर्षनेताले राम्रो मानेका छन् कि ती नेता कसैको केही सुन्नै परेन भन्ने मनःस्थितिमा खुसी छन् ? वा पार्टी र आफूहरूलाई मूल्यांकन गर्ने सद्गुणी प्रेरणा नेताले यसबाट ग्रहण गर्छन् ? अवथा तयारी नपुगेको अर्थमा बुझ्नेछन् ।
सञ्चार माध्यमले समेत खासै चासो नदिएको र लेखक चिन्तकले बेवास्ता गरेको कारण भने भिन्नभिन्न छन् । घोषित कार्यक्रमले ऊर्जा ग्रहण नगर्दाको या विश्वसनीयता आर्जन नहुँदासम्म सञ्चार माध्यमले कमै चासोमा राख्छन् । तर, प्रजातन्त्रप्रति आस्थावान् वा स्वतन्त्र चेतका चिन्तकहरू कांग्रेसको कार्यक्रमप्रति बेखबर बन्नुमा चाहिँ केही थप कारण छन् । सायद, कांग्रेसले खबरै पुर्याएन वा सकेन कि ?
पहिलो, बोल्नुपर्ने केहीको कांग्रेससँग आशा छ, यस्तोमा आलोचनात्मक सुझाव दिनु र लेख्नु आशालाई त्रासमा पार्नु हो । त्यसैले ‘चुपचुप चुप मजैमा उड्न देऊ वासनाको धूप’ भन्ने पनि छन् । दोस्रो, यो कार्यक्रमलाई ‘बेमौसमको बाजा’ ठान्ने पनि छन् र भन्छन् महाधिवेशन तयारीतिर लाग्ने बेला, त्यसलाई बिथोल्ने तन्त्रको विषयमा के बोल्नु ? तेस्रो, अहिले देशमा यत्रो बेथिति छ, राज्यको शक्ति सन्तुलनका सबै निकाय सरकार वा कम्युनिस्टधर्मी बनाइँदै छन् । असुरक्षा, मंहगी र भ्रष्टाचार झन् थपिँदै व्याप्त छ । जग्गा माफियाको मतियारका पक्षमा स्वयं प्रधानमन्त्री सफाइदिन्छन् र बोल्छन् । सुशासन शून्यतिर झर्दैछ । यस्तो अराजकताविरुद्ध नेतृत्वले दरो तरिकाले स्पष्ट विचार र व्यवहार प्रदर्शित गरिदिएको भएमात्रै पनि कांग्रेसमा जागरण आउने थियो । यतिबेला बेग्लै कार्यक्रम जरुरी नै थिएन । सरकारी अराजकताविरुद्ध जागरण नल्याउनेले अर्को जागरण कार्यक्रमबाट खोजेको जागरण के हो ? प्रश्न गर्नेहरू पनि प्रशस्त छन् ।
चौथो, कांग्रेसलाई अत्यन्त नजिकबाट हेर्नेहरू यस कार्यक्रमलाई कांग्रेसकै लागि प्रत्युत्पादक हुने चिन्तामा समेत भेटिन्छन् । त्यसै त गुटको रक्षा र स्वार्थमा डुब्दै गरेको अवस्थालाई यसले अझै गहिरो बनाइदिने खतरा देख्नेहरू हुन् यी । भन्छन् – कांग्रेसका सबै नेता पार्टी सञ्चालनको विषयमा आआफ्नो वा बेग्लाबेग्लै विचार र ‘जागरण’ लिएर घुमिरहेका छन्, कार्यकर्ता माझ पुगिरहेका छन् । घोषित जागरण कार्यक्रममा तिनले आफ्नो विचार वा विवेक निर्मित धारणालाई पन्छाएर सबैले सग्लो धारणा देलान् ? के त्यस प्रकारको वातावरण बनेको छ ?
पाचौं, जनजागरण कार्यक्रम पार्टीभित्रको सहमति र समर्थनमा आएको होइन भन्ने पनि छन् । यस अवस्थामा विभाजन अरू गहिरो चिरामा छुट्निसक्ने चिन्ता लिनेहरू प्रश्न गर्छन् – प्रशिक्षणको ‘क्लास’मा व्यक्त हुने शैली र बेग्लै भेटमा कार्यकर्तासँग अभिव्यक्त हुने नेतृत्वको धारणामा एकरूपता होला ? उनीहरूकै उत्तर छ –त्यस्तो एकरूपता ल्याउने अभ्यास यतिबेला कांग्रेसमा भएकै छैन ।
कार्यक्रमलाई लिएर कांग्रेसभित्रै मौनता छ, बहस छैन । यही मनोदशामा अहिलेको मौन प्रशिक्षणमा आफ्नो धारणा अनुकूल तोडिने नै छ । यसपछि आउने उभारको आकलन कसैले गरेको छ ? छ भने आआफ्नै प्रकारको होला । तर, ती प्रकारभन्दा भिन्न परिणाम पनि आउनसक्छन् । यस्तो सम्भावना सोच्नेहरू पनि छन् ।
यस्ता शंका र अनुमानबीच कांग्रेसको नवगठित अनुशासन समिति, अनुशासनको धम्की बोल्न व्यस्त छ । उसको भाषा सुन्दा लाग्छ अब कांग्रेसमा प्रजातन्त्रको भाषा बोलिँदैन । भावना र विधिको अब त्यहाँँ मर्यादा छैन । छ भने आफ्नै व्याख्याभित्रको कथित अनुशासनको । अर्को हास्यास्पद कुरा कांग्रेस नेताको प्रशिक्षणको अनुगमन प्रजातान्त्रिक कानुन व्यवसायीले गर्ने रे ! ती व्यवसायीलाई खसी लाग्नु स्वाभाविक हो । तर, आफ्नै पार्र्टी प्रशिक्षक नेतालाई कानुन व्यवसायीको निगरानी गराएर तह लगाउन खोज्नु हाँसो उठ्दो नै भयो । प्रजातान्त्रिक दलका नेताका लागि व्यवसायीको यस्तो राजनीतिक प्रयोग कति तर्कसंगत मानिएला ?
अर्कोतर्फ कुनै न कुनैरूपमा गत निर्वाचनमा भएको नराम्रो पराजयको विषय, कारण पनि कार्यक्रममा उठ्नेछ । नेताहरूलाई लाग्दो हो, यो दुई वर्ष पुरानो कुरा भयो । केन्द्रीय समितिले सबैलाई दोषभागी देखायो । तर, कार्यकर्तालाई हारले बढी घोचेको छ । त्यो घाउमा मल्हम नलगाएर आगामी ऊर्जा कसरी प्राप्त हुन्छ ? अनुशासन समिति हजारभन्दा बढी उजुरीको चाङमाथि बसेको छ । विद्रोही उमेदवार र तिनका प्रस्तावक, समर्थक कारबाहीको तारोमा पर्नसक्छन् । यस्तो पृष्ठभूमिमा जनजागरण भनिएको छ ।
कांग्रेसको पराजयका कारण केही कार्यकर्ताले गरेको विद्रोहमा सीमित छैन । कम्युनिस्ट (एमाले, माओवादी केन्द्र)को एकतामात्रैले पनि यति ठूलो पराजय भएको होइन । पार्टीले उम्मेदवारीको टिकट दिंदा निष्ठा, निरन्तरता र समर्पणलार्ई भन्दा ‘मनी, मसल र पहुँच’ हरूलाई रोजेको गुनासो कार्यकतामा सबैभन्दा बढी व्याप्त छ । त्यो गुनासोलाई जागरणले कसरी सम्बोधन गर्छ ? अनि, अनुशासन समितिले विद्रोही मात्र खोज्छ कि त्यसको कारण पनि खोतल्छ ?
कुनै पनि राजनीतिक दल विचार, संंगठन विधि र भावनाले प्रभावशाली बन्छ । संगठन मुख्यतः विचार निर्मित हुन्छ । यसभित्र नैतिक चरित्रसमेत समेटिन्छ । घोषित कार्यक्रममा नयाँ सोच र कार्यसूची (एजेन्डा)को प्रस्ताव देखिँदैन । यति ठूलो कार्यक्रमले नेपाली राजनीतिको प्रसंगमा नयाँ धरातल देखाउने प्रकार अपेक्षित थियो । तर, त्यो छ र ? कांग्रेसको शिथिल संगठनमा माथि लेखिएका आवश्यक तत्त्व थप्नसक्छ यो कार्यक्रमले ? त्यो सक्यो भने बल्ल सार्थकता भेटिनेछ । होइन, यो प्राविधिक शैलीमै सीमित रहे नेतृत्वको त भन्न सकिँदैन तर कार्यकर्ताको अपेक्षा भने पूरा हुनेछैन ।
सरकारको तानाशाही रबैयाको चौतर्फी विरोध जारी छ, रहनुपर्छ पनि । ‘दुईतिहाइ’ सरकार बलियो छ तर सरकारमात्र बलियो भयो । यसले राज्यसंयन्त्रका सबै निकायलाई दुर्बल पार्ने नियोजित काम गर्यो, गर्दैछ । विधिको शासन कुण्ठित गर्ने सरकारी प्रयत्नलाई प्रतिपक्षी कांग्रेसले जागरण कार्यक्रममार्फत निश्चय नै प्रहार गर्नेछ र लोकतन्त्रको आधारभूत मान्यताको रक्षाका लागि सम्पूर्ण नागरिक समाजलाई आह्वान गर्ने नै छ । सम्भवतः कार्यक्रमको मूलभूत उद्देश्य यही हुनुपर्छ ।
बाँकी, संगठनात्मक उपलब्धिका लागि पनि कार्यक्रम प्रभावी हुनुपर्ने ठानिन्छ । तर, त्यो सम्भावना कमै छ र बरु चिन्ता गुटहरूलाई तल्लो तहसम्मै लग्ने कारण यो कार्यक्रम बन्नुहँुदैन भन्ने छ । बिथोलिएको भावनात्मक एकता यसले पुनःस्थापना गर्नेसक्नेमा पनि विश्वास छैन ।
‘गर्धन चिलाएर’ यी पंक्ति कोरिएका होइनन् । बेलामा विवेक बोल्नैपर्छ जसले कार्यक्रमका संवाहकहरूलाई केही भनोस् । ग्रहण गर्ने शैली र सीप त उनीहरूकै संस्कारले तय गर्नेछ । तर, नेपाली कांग्रेसका नेतामा सुझाव वा आलोचना सुन्ने धैर्य अझै बिलाइसकेको छैन । केहीले संयम र धैर्य गुमाउन सक्छन्, गुमाएका होलान् तर, धेरैमा त्यस्तो धैर्य वा संयम अझै जीवित पाइन्छ । आलोचना सुन्न नचाहनेहरूले सोचे भने उनीहरूले पनि आफूलाई प्रजातान्त्रिक दलमा रहेको भेट्नेछन् र बीपी कोइरालालाई निश्चय पनि सम्झने छन् । सारांशमा यो कार्यक्रम कांग्रेस जागरणका लागि सार्थक बनोस्, सफल रहोस् ।