site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चित्रकला पनि रामायणको श्लोकजस्तो सरल हुनुपर्छ
SkywellSkywell

काठमाडौंको घना नेवार बस्ती लगनटोलको गोफलटोलमा उनी जन्मिए । त्यहीँ हुर्किए । त्यहीँको रितिथिती परम्परासँग नजिकिँदै नेवारी संस्कृतिसँग लफक्कै भिजे उनी । यसरी नेवारी संस्कृति परम्परामा रमाउँदै वरिष्ठ चित्रकार हरिप्रसाद शर्मा (८२)का दिनहरू बित्दै गए ।

उनको लगनटोलमा घर थियो । त्यही सानो घरमा चित्रकार हरिप्रसाद र उनका आमा, बुबा र दिदीहरूको जीवन बित्दो थियो । लामो समय सोही टोलमा बिताएकोले उनी नेवारी संस्कृतिमा यति भिजे कि उनले नेवारी संस्कृति, परम्परा र ईतिहास चित्रहरूमा उतार्न थाले । त्यो रीति रिवाज र परम्परा उतार्ने काम आज ८२ वर्षको उमेरमा पनि कम भएको छैन ।
आज पनि उनी क्यानभासमा मिहीन काम गरिरहेका भेटिन्छन् । बुधबार अपरान्ह मित्र विमल होडासँग चावहिल मैजुबहालस्थित उनको निवासमा पुग्दा उनको क्यानभासमा चित्र कोरिँदै थियो । 

कुराकानीका क्रममा उनी भन्दैथिए, “हामीले लामोसमय त्यसै टोलमा बिताएकोले त्यहाँको रहनसहन, रीति परम्परासँग घुलमिल हुनु स्वाभाविक थियो । मेरा पिताजी भजन गायक हुुनुहुन्थ्यो । कहिले काहीँ राणाको दरबारमा गएर पनि भजन गाउनु हुन्थ्यो । आमा भने जनै र बत्ती कातेर बेच्नु हुन्थ्यो । यसरी हाम्रो जीवन निर्वाह हुँदैथियो ।” 
एक्लो छोरो भएकोले हरिप्रसादले आमाको लाडप्यार धेरै पाए । र, बदमासी पनि औधी नै गरे । माया पाएरै फुर्किएका थिए उनी । त्यसैले कहिले काहीँ पैसा चोरेरै भए पनि खुवा खान भक्तपुर पुग्थे । 

KFC Island Ad
NIC Asia

कहिले काहीँ पौडी खेल्नलाई आठ–दस मिनेट हिँडेर नजिकैको बागमतिको टेकु दोभान पुग्थे । त्यसबेला बागमतीको पानी कञ्चन थियो । त्यो कञ्चन पानी सम्झेर उनी आज यो उमेरमा पनि रोमाञ्चित हुन्छन् । पुराना कुरा सम्झिँदा उनको मुहारमा एक किसिमको चमक देखिन्थ्यो ।

उनका अनुसार त्यसबेलाको बागमतीमा पानी “क्रिस्टल क्लियर” थियो । पौडी खेल्दा पनि आनन्द आउने । हरिप्रसाद टोलका साथीहरुसित गुच्चा र डण्डीबियो खेल्नमा पनि नामुद थिए । यसरी बिन्दास पारामा उनको जीवन चल्दो थियो । 

Royal Enfield Island Ad

यसैबीच उनको रुची चित्रकला तर्फ बढ्दै गयो । त्यसबेला हरिप्रसाद सात आठ वर्षका थिए । खै कसरी कसरी, उनी चित्रहरूमा रमाउन थाले । यसो कतै राम्रो र सुन्दर चित्र देख्यो कि यस्तो बनाउन पाए कति राम्रो हुन्थ्यो भन्ने सोच्थे । 

सानो उमेर थियो । तर पनि मौका मिल्यो कि चित्र कोर्न थालिहाल्थे । जहाँ, जसरी, जे देख्यो त्यही चित्रको भाषामा लेख्न सुरु गर्थे । यसरी बिस्तारै उनी चित्रकलाको नशामा डुब्दै गए । 
तर उनका पिताजीको इच्छा उनलाई वेद पढाएर विद्वान बनाउने थियो । पिताजीले हरिप्रसादलाई सधै भन्थे “यो पूँ (चित्रकार) बन्न हुँदैन तैले । तैले वेद पढेर ठूलो मानिस हुनुपर्छ । चित्रकार बन्नु हुन्न ।”

उनका अनुसार उनले आफ्ना पिताजीको कुरामा कहिले पनि प्रतिवाद गरेनन् । त्यसैले चित्रकला कोरे पनि उनी संस्कृत पढ्न भनेरै दरबार हाइस्कूलमा भर्ना भए । संस्कृतको प्रारम्भिक पढाई यसरी सुरु भयो वरिष्ठ चित्रकार हरिप्रसाद शर्माको ।

उनले एउटा रोचक प्रसंग सुनाए । उनीहरु संस्कृत पढ्दा भुइँमा बसेर पढ्थे । यहाँ पनि उनी मौका मिल्यो कि चित्र कोरिहाल्थे । क्लासमा उनले चित्र बनाएको देखेर उनलाई साथीहरू हौस्याउँथे “चित्र बना चित्र बना” भनेर । अनि भन्थे “ए हरिबाजे, एउटा केटीको चित्र बना त” ।

\"\"उनी पनि साथीहरुको कुरा टार्थेनन् र स्कूलको ब्ल्याक बोर्डमा चकले सुन्दर युवतीको चित्र कोर्थे । केटीप्रतिको आकर्षण उसबेलामा पनि थियो नै । त्यसैले उनले पनि साथीहरूको वाहवाही खान युवतीको तस्वीर बनाउँथे । 

उनी हाँस्दै भन्छन्, “त्यसैबेला कोही कराउँथ्यो, “गुरु आउनु भयो गुरु आउनु भयो” भनेर । अनि म पनि दगुरेर ब्ल्याक बोर्डको चित्र डस्टरले मेटिदिन्थेँ । अनि आफ्नो ठाउँमा आएर पलेटी मारेर मौन भएर बस्थे । गुरुहरूले मैले चित्र बनाएको भन्ने थाहा नै पाउँथेनन् ।”

यसरी मिले पनि नमिले पनि ब्ल्याक बोर्डमा चित्र बनाउँदै गए । र कालान्तरमा उनी एक कुशल चित्रशिल्पी भएर निस्किए । चित्र बनाउने कला उनी भित्रै गढेर बसेको थियो । त्यसैले पनि उनले वेद पढे पनि चित्रकला कोर्ने कुचीलाई उनले औलाबाट त्याग्न सकेनन् ।

विस्तारै लगनटोलका हरिप्रसाद शर्मा अर्थात् सबैका हरि बाजेले बनाएका चित्रहरुको चर्चा हुनथाल्यो । टोलबासीहरूले हरिप्रसाद शर्मालाई “तिमीले बनाएको चित्र राम्रो छ” भन्न थाले । उनले कोरेका चित्रहरुको प्रशंशा हुनथाल्यो । 

टोलमा छोराको चित्रकलाको चर्चा फैलिँदै गएपछि उनका पिताजीलाई पनि लाग्न थाल्यो केटाले चित्रकला नै गर्छ भने पनि ठिकै छ । त्यस उप्रान्त उनको चित्रकारिताले थप मलजल पाउँदै गयो ।

उनी सम्झिँदै थिए बाल्यकालको त्यो क्षण । भन्छन्, “टोलमा नेवारहरुले नाग र लक्ष्मीका चित्रहरु बनाउँथे । मैले पनि नागपञ्चमी र लक्ष्मी पूजामा नाग र लक्ष्मीको चित्र बनाउन थालेँ । मैले बनाएको नाग लक्ष्मी मन पराउन थालियो । एक पटक भने मेरा पिताजीले त्यो नाग लक्ष्मीको चित्र राणाजीको दरबारमा पनि लगेर देखाउनु भयो । राणाजीले पनि तिम्रो छोरोले बनाएको नाग राम्रो रहेछ भन्दै पाँच दस पैसा दिएर पठाए । यति भए पछि त मलाई पुगिहाल्यो, खुवा र जेरी खान ।” 

हरिप्रसादका अनुसार त्यसबेला पाँच दस पैसा भनेको ठूलो दाम हुन्थ्यो । उनी आफूले दुई पैसामा खुवा खाएको सम्झिँदै थिए । दुई पैसा कतारो दही पाइन्थ्यो । दुई पैसाको रायोको साग घरमा लगे पछि दुई तीन छाक तरकारी चल्थ्यो । 

त्यसबेला पैसा महँगो थियो । त्यसैले दक्षिणा दिँदा दुई पैसा पाँच पैसा दिने चलन थियो । त्यो भनेको ठूलो रकम मानिन्थ्यो । इन्द्रचोकको हलुवाई पसलमा पातमा घ्यु लपक्क लगाएर दिएको दुई पैसाको मनभोग खाएको उनलाई हिजो जस्तै लाग्छ । उनी भन्छन्, “एक पात मनभोग खाए पछि तृप्त हुइन्थ्यो । कहिले काँही त फोसामा पनि अलिकति हालिदिन्थे साहुजीहरूले ।”

त्यो उमेरमा रमाईलो गर्दै उनको समय बिते पनि उनी चित्रकलामा भने गम्भीर थिए । मौका पायो कि रेखाचित्र बनाउँथेँ । त्यही रेखाचित्रका माध्यमबाट उनको चित्रकला विकसित हुँदैगयो ।

०००
उनी ११–१२ वर्षका थिए । उनका पिताजीलाई टोल छिमेकका सबैले भनेछन्, हरिकिर्तन बाजे, तपाईको छोरा त चित्रकार नै बन्ने भयो । उनका पिताजीले भजन गाउने भएकोले सबैले हरिकिर्तन बाजे भन्थे । 
त्यही समयमा उनका पिताजीलाई कसैले जीवरत्न शाक्य नाम गरेका चित्रकारसँग हरिप्रसादलाई चित्रकलाको तालिम दिलाउन भनेछन् । ती चित्रकार लगनबहालमै बस्थे । 
यो २००५ सालको कुरा हो । उनका पिताजीले पनि हरिप्रसादलाई जीवरत्न कहाँ लगेर छोराले चित्रकला सिक्न खोजेको बताए । जीवरत्न शाक्यले उनलाई चित्र बनाउन भनेछन् । उनले आफूले जानेजति चित्र कोरे । उनको चित्र हेरे पछि उनले “हुन्छ म सिकाउँछु” भने । 

यसरी उनले जीवरत्न शाक्यबाट चित्रकारिता सिक्न थाले । उनको हौसला बढेर गयो शाक्य गुरुको चित्रकला शिक्षाबाट । त्यसको एक वर्षपछि उनको पिताजीको देहान्त भयो । पिताजीको निधन पछि उनकी आमाको काँधमा सारा जिम्मेवारी आयो । उनकी आमाले दुखजिलो गरेर छोरा छोरी पाल्न थालिन् । उनी पनि चित्रकलामा लाग्दै गए । 
चित्रकार हरिप्रसाद शर्माले जुद्धकला पाठशालामा चित्रकलाको ज्ञान हासिल गरे भने जीवरत्नका अतिरिक्त कालीदास श्रेष्ठ र चन्द्रमान मास्केसँग पनि चित्रकला सम्बन्धी अनौपचारिक शिक्षा प्राप्त गरे ।

चित्रकलामा गम्भीर हरिप्रसाद बदमासी गर्ने कलामा पनि पोख्त थिए । उमेर अनुसारको बदमासी उनी गरिरहन्थे । पैसा चोरेर खुवा खानलाई भक्तपुर जान छोडेनन् ।
उनको मुहारमा मुस्कान फैलियो । हाँसे । अनि भने, “म सिनेमा पनि खुबै हेर्थेँ । कतिपय सिनेमा त चार पाँच पटक नै पनि हेरेको छुु । त्यसबेला फिल्म हेर्ने भनेको थर्ड क्लासमा नै त हो ।” 

दिन बित्दै जाँदा उनको मनमा लाग्यो “मैले अंग्रेजी पनि पढ्नु पर्छ र एसएलसी पनि गर्नै पर्छ” । त्यसैले उनले पहिलो पटक जुद्धोदय हाइस्कूलमा भर्ना लिए । फी तिरे । किताब किने । दुई चार महिना पढे पनि । तर पढ्न दिक्क लागेर आए पछि पढ्न छोडिदिए ।

त्यसको केही वर्ष उनी फेरि चित्रकारितामै रमाए । फर्स्ट बुकको अंग्रेजीले मोहनी लगाएको थियो । उनलाई फेरि लाग्यो, “हैन एक दिन भएपनि क्याम्पस त जानै पर्छ” । त्यस पछि उनी नक्सालको स्कुलमा भर्ना भए । तर त्यहाँ पनि दुई चार महिना पढे र छोडे ।

केही समयपछि फेरि दरबार हाइस्कूलमा भर्ना भए । दरबार हाइस्कूलमा पनि केही समय पढे । अन्ततः उनले एसएलसी दिए । र पास पनि भए । त्यसै बीचमा उनले घरेलुमा विभिन्न किसिमको डिजाईन गर्ने तालिम लिए । स्कूल भर्ना हुँदै छोड्ने गरे पनि चित्रकलामा उनको निरन्तरको लगावले कलाप्रतिको कर्ममा उनी सक्रिय थिए नै । उनले कक्षा छोडे पनि चित्र बनाउन छोडेका थिएनन् । 

\"\"त्यसबेला घरेलुमा अमर चित्रकार हेडमास्टर थिए । उनले त्यहाँ एक वर्षसम्म तालिम लिए । तालिम पछि जाँच दिए र फस्र्ट डिभिजनमा पास भए । त्यसबेला राजा महेन्द्रले उनलाई सर्टिफिकेट दिएको सम्झिन्छन्, उनी । 

हरिप्रसाद शर्मा भन्छन्, “मेरो काम राम्रो लागेरै होला, मलाई अर्को एक वर्ष ज्यालादारीमा काममा राखे । त्यसको केही वर्षपछि म म्युजियममा जागिर खान पुगेँ ।”  वि.सं. २०२२ सालतिरको कुरा हो । म्युजियममा बाहिरबाट पनि पुराना सामानहरु आउँथ्यो । त्यसको चित्र बनाएर त्यसका बारेमा राम्रो अक्षरले लेखेर राख्नु पर्दथ्यो । त्यही कामका लागि उनी त्यहाँ जागिरे भए । करिब चार वर्षको समय उनले म्युजियममा काम गरेर बिताए । म्युजियममा दर्शकले बुझ्ने गरी सबै कुरा लेख्नु पर्दथ्यो, कालो प्लेटमा सेतो अक्षरले । 
त्यसबेला म्युजियममा एकजना इतिहासकार पनि थिए, बखतमान सिंह । उनले फुर्सद भयो कि हरिप्रसादलाई इतिहासका बारेमा बताउँथे । इतिहासका प्रसँग सुनाउँथे । 

हरिप्रसाद शर्मा भन्छन्, “यसले ममा इतिहासप्रतिको जिज्ञासा बढाउँदै लग्यो । यसै कारण पनि मलाई पछि गएर ऐतिहासिक र पुराना इतिहास र संस्कृति बोकेका चित्रहरु बनाउन सजिलो भयो ।” हरिप्रसादका चित्रहरूमा संस्कृति, परम्परा मात्रै होइन्, लिक्षवीकालिन इतिहास पनि कोरिएका छन् । उनी म्युजियममै कार्यरत रहेको बेला तत्कालिन आरएनएसी  (वायुसेवा निगम)ले एक जना पेन्टर माग्यो । गोरखापत्रमा सूचना छापिएको थियो । उनको तलब म्युजियममा ८० रुपैयाँ थियो । तर आरएनएसीमा १ सय ७५ रुपैयाँ तलब थियो । त्यसबेला बंगाली कर्मचारीहरुको वर्चस्व थियो आरएनएसीमा । 

उनले सोचे, कोशिस गरौं । अनि निवेदन दिए । त्यसबेला डकोटा विमानहरू उड्थ्यो आरएको । त्यो पदमा १५–२० जनाले निवेदन दिएका रहेछन् । उनलाई पनि अन्तरवार्ताका लागि बोलाइयो । अन्तरवार्तामा उनलाई सोधियो “सबसे बडा कलर कौन सा है” ।

हरिप्रसादले पनि भनेछन्, “ब्लु, रेड और एलो । यही तीन कलरका प्रयोग करके हमलोग हर किसिमका कलर निकाल सकते हैँ” । उनको यो जवाफले सबै खुशी भए । यस किसिमको जवाफ अरु कसैले दिन सकेका रहेनछन् । यो जवाफसँगै उनलाई आरएनएसीको लोगोमा रहेकोे आकाश भैरवको चित्र बनाउन भनियो । उनले त्यो पनि दुरुस्त बनाए । यसरी उनी आरएनएसीको कलाकार पदमा जागिरे भए ।

आरएनएसीको त्यो आकाश भैरबको लोगो मयुरमान सिंहले बनाएको उनी सुनाउँदै थिए । यसरी आरएनएसीमा प्रवेश गरेका हरिप्रसाद शर्माले त्यहाँ २७ वर्ष काम गरे । त्यहाँ उनको काम भनेको हवाईजहाजमा पेन्ट गर्ने, शानेवानी लेख्ने, ककपीट र अन्य ठाउँमा आवश्यकता परे पेन्ट गर्ने र हवाईजहाजको टायरमा पहेलो रंग लगाउने हुन्थ्यो । जहाजको टायर घुम्यो कि घुमेन भनेर हेर्नका लागि टायरमा पहेलो रंग लगाइने उनी बताउँदै थिए । 

उनी भन्छन्, “हाम्रो काम सधै ह्याँगरमा हुन्थ्यो । त्यसबेला डकोटा जहाज पाँच सात वटा थियो । काममा त्यति धपेडी नभए पनि एयरपोर्ट पुगिरहनु पर्दथ्यो । पछि बोइङ पनि आयो । अरु प्लेन पनि आए । भीभीआईपी फ्लाईट हुँदा त बासै एयरपोर्टमा हुन्थ्यो ।”

०००
आज ८२ वर्षको उमेरमा पनि उनको चित्रकारिताको गति उस्तै छ । जागिर खाउन्जेल फूर्सदमा मात्रै काम गर्दै आएका हरिप्रसादले अहिले पूरा समय चित्रकलालाई दिएका छन् । 
उनले आफ्नो पहिलो एकल चित्रकला प्रदर्शनी आरएनएसीमा हुँदै गरे, २०३० सालमा । नाफाको हलमा प्रदर्शनी भएको थियो । त्यस अगाडि उनका संयुक्त प्रदर्शनी भएका थिए । संयुक्त प्रदर्शनीमा उनले बेलाबेलामा भाग लिँदै आएका थिए । राजा महेन्द्रको राज्याभिषेकका बेलामा पनि एक पटक चित्रकला प्रदर्शनी भएको थियो । त्यसबेला उनको चित्र पनि राखिएको थियो । 

जागिर अवधिमा चित्रकलाको काममा आफूले खासै ध्यान दिन नसकेको उनको भनाइ छ । जागिर त उनको कुची र रंगसँग नै खेल्ने थियो । तर पनि उनी त्यहाँ चित्रकार थिएनन् । उनले हाँस्दै भने, “कल्चर पढेको मानिसलाई कल्चर भनेको कल्चर नै हो भन्दै एग्रीकल्चरमा लगेजस्तै भएको थियो मलाई ।” 

संस्कृति र इतिहासलाई क्यानभासमा गम्भीर र मिहिन तरिकाले उतार्न रुचाउने चित्रकार हरिप्रसाद शर्माले मोडर्न आर्ट वा अमूर्त चित्र कहिल्यै बनाएनन् । चित्र आफै बुझिनु पर्छ भन्ने मान्यता छ उनको । त्यसैले उनको चित्रमा संस्कृति, परम्परा, इतिहास र रीति रिवाज भेटिन्छ । 

उनी भन्छन्, “चित्र पनि भानुभक्तीय रामायणका श्लोकहरू जस्तै सरल हुनुपर्छ, सबैले बुझ्ने ।” आज उनी दंग छन् उनका चित्रकला दर्शकहरूले मनपराई दिएकोमा । चित्र बनाउँदै जाँदा उनले सैयौं चित्र बनाए । कति बेचे । कति बेच्दिन भनेरै पनि राखेका छन् । अहिले उनका चित्रहरू दस–पन्ध्र लाखमा बिक्री हुने पनि छन् भने पचासौं लाखले नपाउने चित्र पनि उनले बनाएका छन् ।

कहिले काँही दस–बीस–पचास रुपैयाँ लिएर पनि चित्र बनाए । कहिले काँही राजाको चित्र पनि बनाए । तर बेचेनन् । कलाका क्षेत्रमा पनि फटाहाहरूले दिक्क लगाउने प्रसंग उनी सुनाउँदै थिए । उनी भन्दैथिए, “त्यसबेलाका पत्रकार मञ्जुरत्न शाक्यका एक जना भाइले मेरा चित्रहरु मेरो घरमा गएर उठाएर लगे । मेरो घर पुगेर “हरि बाजेले चित्रहरू ग्यालेरीमा ल्याउनु भन्नु भएको छ” भन्दै लिएर गएछन् । जब म घर पुगेँ, घरमा चित्रहरु थिएनन् । मैले मेरी श्रीमतीलाई सोधेँ । उनले फलानाले लग्यो भनिन् । पछि मैले ती शाक्यसँग त्यो पेन्टीङको रकम मागेको थिएँ । तर त्यसको पैसा पाइएन ।” 

त्यसैले उनी त्यो शाक्यलाई आज पनि नटवरलाल भनेरै सम्वोधन गर्छन् । यो उनले कहिल्यै नबिर्सने घटना बनेको छ । आज पनि चित्रकलामा व्यस्त उनको स्वदेशमै एकल चित्रकला प्रदर्शनी भए पनि विदेशमा भएको छैन । तथापि कुनै चित्त दुखाई छैन उनलाई । 

कुराकानीको बिट मार्दै गर्दा उनका छोरा आइपुगे । उनले छोरासँग परिचय गराउँदै भने, “मेरो छोराले चित्रकलामा विषय खुट्याउन मलाई सधै मद्दत गर्दै आएका छन् ।”   


 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro