-1750474390.jpg)
सानै थिएँ । हामी चारपाँचजना केटाकेटीहरू गाई चराउन गएका थियौँ । माघको महिना, कोत्रेडाँडामा मनोरम घाम थियो । आकाश सफा भएको हुँदा धौलागिरि छ्याङ्ङ हाँसिरहेको थियो ।
त्यसै बखतमा पश्चिमतर्फबाट एउटा वायुयान आयो । विमान धौलागिरिसँग मितेरी लाउँदै पूर्वतिर लाग्यो । उड्दो वायुयानतर्फ देखाउँदै हामीमध्येका वरिष्ठ दाइले भने, ‘यो हावजात डिल्लीबाट काठमाडौं जाँदै छ ।’
एकजना केटाले अर्कोलाई सोध्यो, ‘तँ यो हावजातझैँ उडेर एक्लै काठमाडौं जान सक्छस् ?’
हिम्मती केटाले भन्यो, ‘किन नसक्ने ? मलाई के सम्झेको छस् !’
प्रश्नकर्ताले मतर्फ हेर्दै सोध्यो, ‘तँ एक्लै डिल्ली या काठमाडौं जान सक्छस् ?’
मैले भनेँ, ‘म त सक्दिनँ, तर मेरा दाइहरू सक्छन् ।’
मेरो भीरुतामा सबै केटाकेटी हाँसे । एउटाले त साह्रै गिल्ला गर्दै भन्यो, ‘यो त्यहीँ पर तानसेन त एक्लै जान सक्दैन, डिल्ली र काठमाडौंको के कुरा !’
त्यसको करिब दश वर्षपछिको कुरा हो । भरखरै सम्पन्न जनमतसंग्र्रहमा बहुदललाई झिनो मतले पराजित गर्दै निर्दल विजयी भएको थियो । एक दिन मेरा निकट छिमेकी दाजु हरि नेपालले भन्नुभयो, ‘काठमाडौं जाने भए तयार भएर बस्नू, म पर्सि जाँदै छु ।’
श्री ५ को सरकारको जागिरबाट राजीनामा दिएर बहुदलको झन्डा उचालेका हरि दाइ त्यो पराजयबाट मर्माहत हुनुभएको थियो । उहाँ अत्यन्तै हिम्मतिला युवक हुनुहुन्थ्यो । तथापि, उत्पन्न परिस्थितिमा रनाहा पर्नु स्वाभाविकै थियो ।
मेरा लागि पहिलो काठमाडौं यात्रा रोमाञ्चकारी थियो । हरि दाइले मलाई राजीनामा दिनुअघि कार्यरत तत्कालीन आवास तथा भौतिक परियोजना विभागमा लिएर जानुभयो । उहाँलाई सबैले सम्मानसाथ अभिवादन गरे ।
एकजना सिनियर सिभिल इन्जिनियरले उहाँलाई सोधे, ‘हरिजीको अगाडिको प्लान के छ ?’
हरि दाइले सहज भावमा उत्तर दिनुभयो, ‘हातमा चारतारे झन्डा, टाउकामा पुलिसको डन्डा ! अब संघर्ष, केवल संघर्ष ।’
तत्कालको परिस्थितिमा निजामती कर्मचारीहरूले थप कुरा गर्नु वाञ्छनीय थिएन । सबैजनाले हरि दाइलाई मौन शुभकामना दिए । (त्यसको एघार वर्षपछि बहुदलीय पद्धति स्थापनापश्चात् हरि दाइ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो ।)
काठमाडौं आएको अर्को दिन बिहानै हामी कृष्णप्रसाद भट्टराईलाई भेट्न गयौँ । मेरो नम्र अभिवादनमा किसुनजी मुसुक्क हाँस्नुभयो । उहाँ सेतो भोटो र सेतै कछाडमा हुनुहुन्थ्यो । कालो रङको बडेमानको रेडियोले सात बजेको समाचार भनिरहेको थियो ।
उहाँले मलाई हेर्दै भन्नुभयो, ‘को लड्कालाई लिएर आउनुभयो नेपालजी ?’
दाइले भन्नुभयो, ‘मेरो गाउँ खस्यौलीका निकट छिमेकी भाइ भागवत खनाल हुन् । अहिले त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा पढ्दै छन् ।’
रंगीन मिजासका किसुनजीले हाँस्दै भन्नुभयो, ‘आज हरि, कृष्ण र भागवतको मधुर मिलनको साइत रहेछ !’
भोलिपल्ट बिहान हामी बीपी कोइरालालाई भेट्न गयौँ । उहाँ बहुदलीय प्रणालीको हारबाट स्तब्ध रहेको भए तापनि नतिजालाई स्वीकार गरेर बस्नुभएको थियो ।
दिउँसो करिब एक बजे हामी गणेशमान सिंहको रसियन जिपमा बसेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर लाग्यौँ । त्यो जिपमा गणेशमानजी, किसुनजी, हरि दाइ र म मात्र थियौँ । हारको मारमा परेको त्यो प्रतिकूल समयमा उहाँहरू एक्लो हुनु स्वाभाविकै थियो । उहाँहरूको एक्लोपन मेरा लागि भने अवसर बनिदियो ।
विमानस्थल शान्त थियो । मानिसहरू सीमित संख्यामा थिए । लाग्दो असारको बेला, आकाशमा सघन बादल थियो । त्यसै बखतमा एउटा जिप आएर रोकियो । जिपबाट अघिअघि बीपी र पछिपछि एकजना प्राभावशाली व्यक्तित्वका धनी व्यक्ति ओर्ले ।
किसुनजीले उनीसँग हात मिलाउँदै भन्नुभयो, ‘आप कैसे हैँ चन्द्रशेखरजी !’
उनले उदास तर दृढ स्वरमा उत्तर दिए, ‘जैसी हाल आप की वैसी ही हाल हमारी ।’
दुईजनाको वार्तालाप सुनेपछि मैले उनी आपसी फुटले छिन्नभिन्न अवस्थामा पुगेको जनता पार्टीका अध्यक्ष चन्द्रशेखर रहेछन् भन्ने बुझेँ । सायद उनी निराशाको समयमा बीपीलाई भेट्न एकदुई दिनका लागि काठमाडौं आएर स्वदेश फिर्दै थिए ।
हामी कफी खान गयौँ । हरि दाइले मेरो कानमा भन्नुभयो, ‘यो कफी एक कपको पन्ध्र रुपैयाँ पर्छ ।’
एक कप कफीको पन्ध्र रुपैयाँ ? म जिल्ल परेँ । उहाँले फेरि भन्नुभयो, ‘यो त सोल्टीको कफी हो नि !’ काठमाडौंका सोल्टीले कफी बेच्दा रहेछन् भनेर म विस्मित भएँ ।
त्यसै बखतमा दिल्लीबाट विमान आइपुग्यो । केही महिनाअघि सत्तारूढ जनता पार्टीका अध्यक्ष चन्द्रशेखरको पार्टीलाई हराएर इन्दिरा गान्धी प्रधानमन्त्री बनिसकेकी थिइन् ।
शक्तिहीन हुन पुगेका चन्द्रशेखरलाई बिदाइ गर्न आएको सानो जनसमूह खिन्न देखिन्थ्यो । एउटा हातको औँलामा गन्न पुग्ने संख्याका भारतीयहरूको बिदाइ अभिवादन स्वीकार गर्दै चन्द्रशेखर अगाडि बढ्दै आए ।
उनले हरि दाइपछि मसँग पनि प्रेमले हात मिलाए । गम्भीर मुद्राको मुस्कानसाथ उनले गणेशमानजी र किसुनजीसँग हात मिलाए । अन्तिममा उनी बीपीको नजिकमा पुगे । बीपीलाई अगाध सम्मान गर्ने हुँदा उनले हात मिलाउनुको सट्टा दुवै हात जोडेर बिदाइको नमस्कार गरे ।
नेपाली कांग्रेसका नेतात्रयको पराभवजन्य हतोत्साहको समय थियो त्यो । पञ्चायती व्यवस्थाविरुद्ध उन्नाइस वर्षसम्म गरेको अविरल संघर्षलाई जनमतसंग्र्रहरूपी छकाइले जबर्जस्त धक्का दिएको थियो ।
बुढेसकालको समयमा फेरि शक्ति आर्जन गर्दै अर्को अभियानको जोहो गर्नुपर्ने परिस्थिति उहाँहरूसामु अदम्य चुनौतीको पहाड बनेर उभिएको थियो ।
नेतात्रयको पारिस्थितिक सन्ताप र एक्लोपन देख्दा ममा ‘काठमाडौं कति कपटी’को भाव आएको थियो । किन्तु, समयक्रममा महसुस हुँदै गयो, कपटी काठमाडौं थिएन । कपटी र अवसरवादी काठमाडौं नभई काठमाडौंमा बस्ने मानिस थिए ।
काठमाडौं त परापूर्वदेखि नै निष्कपट भावले सदाचारी होस् या दुराचारी, धनवान् होस् या कंगाल, मालिक होस् या दास, सन्मार्गी होस् या छलछामी समान रूपमा सबैको शरणस्थली हुँदै आएको छ ।
काठमाडौंमा आज पनि विचारको लडाइँ गरेर सत्तामा पुगेका मानिसहरू प्रशस्तै छन् । आफू बाँच्नका लागि विचारलाई मारेका उनीहरूको जीवन बहुतै नीरस छ । किन्तु, विडम्बना ! उनीहरूलाई आफ्नो जिन्दगी नीरस छ भन्ने कुराको चेतना छैन ।
हिजो उनीहरूलाई भरपेट खान नपाएर जिउन कठिन थियो, आज आवश्यकताभन्दा बढी खानाले जिउन कठिन छ । हिजो उनीहरू अति भोकको तीव्रताले पीडित थिए, आज अति भोगको तीव्रताले पीडित छन् । आज उनीहरू घनघोर छटपटीमा छन् । फेरि वैभवशून्य बनिन्छ कि भनेर बेचैन छन् ।
यी सबै काठमाडौंको वैभवले लोभिएका मनुवा हुन् । सुरम्य हावापानी र सम्म परेको जमिन काठमाडौंको प्राकृतिक वैभव हो । काठमाडौंले लुक्न आउनेलाई लुकायो । देखिन चाहनेलाई देखायो । सजिन चाहनेलाई सजायो । नांगै हिँड्न चाहनेलाई सन्तको नकाबमा नांगै हिँड्न दियो ।
यहाँ कर्जा लिनेले नतिरे पनि हुन्छ । जागिरेले काम नगरे पनि हुन्छ । शिक्षकले नपढाए पनि हुन्छ । नेताले नाकविहीन हिँडे पनि हुन्छ । पुजारीले पाटीको बहाल उठाएर खाए पनि हुन्छ !
स्वदेशी मात्र होइन, यहाँ विदेशीले पनि तस्करी र मस्करी गर्न पाउँछ । अचेल काठमाडौंमा साहुमाराले आन्दोलन उठाउँछ, साहु उल्टै डराउँछ !
अल्बर्ट आइन्स्टाइनको भनाइमा मूर्खता, भय र लालच समेत तीन शक्तिले दुनियाँमा शासन गर्छन् । काठमाडौंको सन्दर्भमा यी तीन शक्तिबाहेक अर्को एउटा शक्ति पनि हाबी देखिन्छ, त्यो हो होहल्ला ।
मूर्खताको अगाडि तर्क र युक्तियुक्त कुरा पराजित हुन्छ । भयले निर्णय क्षमतामा ह्रास ल्याउँछ । लालचले नैतिकतालाई नष्टभ्रष्ट पारिदिन्छ । अनि, होहल्लाले असल र खराब, विद्वान् र मूर्ख एवं इमानदार र बेइमान सबैलाई एउटै जाँतोमा पिसेर बराबर बनाइदिन्छ ।
विगतमा काठमाडौं राजा र रैती बस्ने खाल्डो थियो । समय सदाकाल एकनासले किन चल्थ्यो, एक दिन गद्दीनसिन राजा भूमिसात् भए । एकजना अलमस्त मनमौजीको शब्दमा ‘विडम्बना भनौँ कि कालको खेल, आज मानवरूपी फोहोरको डुंगुर बोकेर बस्न विवश छ काठमाडौं ।’
काठमाडौं एक खुला मुसाफिरखाना हो । यहाँ कोही बा छन्, कोही दाइ छन्, कोही दा छन्, कोही साला छन्, कोही देवर छन् र कोही भाउजू पनि छन्, परन्तु ती कोही पनि परस्परमा नातेदार होइनन् ।
काठमाडौंको छाती सबैले भारी बिसाउने बिसौनी हो । यसले धेरैको आलोचना सहेको छ । काठमाडौंले जसलाई गुहार दियो, उसैले उल्टै गाली गर्यो । चोर्न, फोर्न, लुट्न र शासन गर्न आउनेले मात्र होइन, सुदूरपहाडबाट आएका कवि सिद्धिचरणले समेत यसलाई ‘मरुस्थल’ भनिदिए । व्यंग्य लेखक भैरव अर्यालले पनि काठमाडौंको मजाक नै उडाए–
पथ सात फुटे, बस नौ गजको
सिट बीस भए भिड सौतकको
छ त अन्त कतै सुविधा यसरी
अमरावती कान्तिपुरी नगरी
अर्यालले यसरी हाँसो गरे, मानौँ सात फुटे बाटोमा नौ गजको बस चलाउने आदेश काठमाडौंले नै दिएको हो ।
काठमाडौं सबैलाई मन पर्छ । पृथ्वीनारायण शाहले ससुराली देश मकवानपुरबाट गोरखातिर फिर्दा चन्द्रागिरिबाट काठमाडौं उपत्यकालाई नियालेर हेरे । सहसा उनको मनमा लागेछ, ‘यी तीन सहरको राजा हुन पाया ता हुँदो हो !’
त्यहीँ नै उनले ‘नेपाल हान्न्या मनसुबा’ पनि गरिहाले । सौभाग्यवश छिट्टै उनको मनसुबा पूरा भयो । ‘नेपाल हान्न्या’ काम सफलतापूर्वक सम्पन्न भएपछि उनले भने, ‘यो तीन सहर भन्याको चिस्व ढुंगो रहेछ । खेलखाल मात्र हुने रहेछ । कूपको पानी खानेछेउ बुधि पनि हुँदैन । सुरो पनि हुँदैन ।’
हुन पनि हो, उनको अवसानपछि उनका भाइ, छोरा र दरबारीहरू सत्ताको खेलखालमा लागिहाले । सत्तामा बस्ने सबैको बुद्धि हराउन थाल्यो, जो अझै पनि निरन्तर हराई नै रहेको छ ।
पृथ्वीनारायण शाहले अर्कै ध्येयले चन्द्रागिरिको डाँडामा सुस्ताउँदै र तीन सहरलाई हेर्दै जुँगामा ताउ लगाएका थिए । उनी महाप्रस्थानमा गएपछि भीमसेन थापा, जंगबहादुर र शमशेर खलकले जुँगामा ताउ लगाए ।
सत्तामा बस्ने शाह, राणा, पञ्चे, मण्डले, कुण्डले, प्रजातन्त्रे, गणतन्त्रे, गनतन्त्रे आदि सबैले काठमाडौंमाथि कपट गरेको गर्यै छन्, निष्कपट काठमाडौंले सहेको सह्यै छ ।
जो यहाँ पस्यो, फर्केर गएन । जो यहाँ बस्यो, काठमाडौंलाई गाली गर्न पनि छाडेन । आफैँ सत्तालोलुप, सम्पदालोलुप र खेलखाललोलुपले आफैँ भन्छ, ‘यो खाल्डो बसिनसक्नु भयो ।’
खेलखाल पनि कस्तो भने असी पुग्न सात वर्ष बाँकी रहेको लोलुपले सबैले सुन्ने गरी भन्छ, ‘अब दुईचार वर्ष मात्र हो, बुढेसकाल लागेपछि त उतै गाउँतिरै गएर बस्ने हो !’
त्यही संगतमा लागेर त होला, म र मजस्ता न्यूनताको जीवन जिइरहेकाहरू पनि यो ‘कूप’लाई छाडेर जान तयार छैनौँ । खेलखालमा भाग लिन नसके तापनि नजिकैबाट नियाल्नुमा मजा लागेरै त होला ।
कदाचित अहिले पृथ्वीनारायण शाह चन्द्रागिरिमा आए भने जुँगामा हात फिराउने छैनन् । बरु भन्नेछन्, ‘जोजो आया सबै कूपमा बसिरह्या । आफू बलिया भया देस खोक्रो पार्या !’
काठमाडौंको हृदयस्थानमा अवस्थित पशुपतिमा प्रवचन दिँदै एकजना सज्जनले भने, ‘एउटा जिन्दगी सदाचारमा बाँचे पनि त हुन्थ्यो । करुणा, परोपकार र शुद्ध आचरणमा बाँचे पनि त हुन्थ्यो ।’ भन्न त उनले सहजै भनिदिए, किन्तु यो कान्तिपुरमा धर्मछाडा नभई जिउन उनी आफैँलाई पनि दुरूह छ ।
भनिन्छ, ‘हात खाली हुनेले काठमाडौंमा सहारा नखोजे हुन्छ । यहाँ बस्ने मानिसहरू कोमल हृदय होइन, दिने हातहरूप्रति प्रीति राख्छन् ।’ त्यसैले होला, यहाँ लक्ष्मीसँग प्रीति गाँस्नेहरू प्रीतिलाई दिगो बनाउन चाहन्छन् । खेलखालमा मग्न वृद्धहरू हात खाली होला कि भन्ने भयले होला, सदैव खेलखालमै रमाइरहन्छन् ।
काठमाडौंको रस मनग्गे चुसेपछि चुसुवाले नै यसलाई कुरूप देख्न थाल्छ । माया, आस्था, आरिस र कठोरताको आधारशीलामा उभिएको छ काठमाडौं । काठमाडौंको आत्मा शुद्ध छ । यसले सबैलाई दियो मात्र, तर कसैसँग केही लिएन ।
काठमाडौंले आफ्नो द्रोह गर्नेलाई समेत माफी दिएको छ । खिसी, निन्दा र उपहास गर्ने सबैलाई माया दिएको छ । काठमाडौंले सबैलाई करुणाले सिक्त मात्र गरेको छैन, आफ्नो विशाल हृदयमा गाँस, बास, कपास र निवास समेत दिएको छ ।
संसारी जन्जालबाट दिग्दारझैँ लाग्ने एकजना वृद्ध पशुपति परिसरमा बरबराउँदै थिए, ‘काठमाडौंको सन्ततिलाई आमाको आशीर्वादको खाँचो छैन । यहाँ धनले मन मिलाउँछ, धनैले तन । यहाँ जो पापी उही दानी । यहाँ जो पातकी, उसकै ठूलो मान । यहाँ जो हराम, उसकै ठूलो गान !
यहाँ जो कामचोर उसैको थालमा माम । यहाँ आज जो भोको छ, ऊ भोकमै जन्म्यो, भोकमै हुर्क्यो र भोकमै विवाह गर्यो । उसले भोकमै भोका सन्तान जन्मायो र भोकमै मर्यो । काठमाडौंमा नमस्ते खानेले नमस्ते गर्नेलाई गोन्द्रे केरा उपहार दिन्छ । नमस्ते गर्नेले नमस्ते खानेलाई मालभोग केरा उपहार दिन्छ ।’
शब्दमा निर्मम भए तापनि उनी तिक्त सत्य बोलिरहेका थिए । हाउभाउ देख्दा कस्तो लाग्यो भने उनी पनि मोफसलको बिघा बेचेर काठमाडौंको आना किन्ने महानुभाव हुन्, जो जति नै बरबराए पनि खाल्डोबाट बाहिर निस्कनेवाला छैनन् ।
कुनै समय थियो, मलाई काठमाडौं आउन दकस लागेको थियो । ‘एक्लै काठमाडौं जान सक्छस् ?’ भनेर सोध्नेलाई ‘सक्छु’ भनेर जवाफ दिएको भए तापनि कसैले समातेर ‘ल गइहाल्’ त भन्ने थिएन । मलाई काठमाडौं नदेख्दा पनि अनकन्टार लाग्थ्यो र आज वर्षौं बसेपछि पनि अनकन्टार नै लाग्छ । तैपनि, शिर नुहाएर भन्दछु– म पनि निष्कपट काठमाडौंलाई छाडेर अन्त कतै जान सक्दिनँ ।