-1750471002.jpg)
फोन गरिरहन्छ, नयाँ लभरले झैँ । एकपटक पारपाचुके भइसकेपछि फेरि केको नाता ?
ऊ मेरो कहिले लोग्ने थियो भन्ने भावना पनि आउँदैन ।
म यस्तो सोचेर बसिदिन्छु, तर ऊ मान्दैन । कतिपटक भनिसकेँ, ‘अब चुँडिएको नाता म फेरि गाँस्न इच्छुक छैन ।’ ऊ मान्दैन । भन्छ, ‘बाह्र वर्षपछि त खोलो पनि फर्कन्छ, तर तिमी यसरी निठुरी भएको देख्दा अचम्म लाग्छ ।’
निठुरी हुँ वा नरम मनकी त्यो पहिल्यै सोच्नुपर्ने थियो । हात उठाउनुभन्दा अघि । पुर्खाहरूको पालाको बाह्र वर्षपछि फर्कने खोलो अब छैन ।
वाग्मतीलाई कति सफा गरे पनि फोहोर हुन छाडेको होइन । त्यो सफा गर्न लागेको पनि बाह्र वर्ष नाघिसक्यो ।
मलाई यति थाहा छ, मभित्रको सुकोमल नारी मन हराएर गइसक्यो । खोलो त थियो जलप्रवाह भइरहने तर त्यो पर्यावरणीय दोषका कारण सुकेर बलौटे सोतोमा परिणत भइसक्यो । यसमा म के गर्न सक्छु ?
मोबाइलको घण्टी फेरि बजेको छ । कति दिनसम्म कल गर्ने रहेछ हेरूँ न त भनेर म उसको नाम देखापर्नेबित्तिकै कल कट् गरिदिन्छु । तर, ऊ थाकेको छैन । के आस बोकेर फोन गरिरहन्छ कुन्नि ?
लोग्नेमान्छेको जात ! राति रित्तो ओछ्यान छाम्दै सोच्दो हो— सित्तैमा डिभोर्स दिएछु । चाहिएको बेलामा खुरुकक ओच्छिन्थी । नोक्सान भयो ।
तर, कुरो एउटा यो पनि थियो — म जति सहमत भएर स्वेच्छाले ओच्छिए पनि गर्भवती हुन सकिरहेकी थिइनँ ।
कमजोरी कसको हो ? यो उसले पनि थाहा पाउन चाहँदैनथ्यो । हामी दुवैबीच एउटा डर डेमोक्लिसको तरबारझैँ झुन्डिएको थियो, कमजोर को ? यसमा कलंकित भइन्थ्यो, नपुंसक वा बाँझी भनेर ।
तर, उपाय त थियो नै । विज्ञापनहरू पनि बजिरहेको थिए, देखाइरहेका थिए — निःसन्तानपनको उपचार छ भन्ने ।
तर, समय क्रूर छ । बितेरै छाड्छ । बित्यो हाम्रो सन्दर्भमा पनि । तर, धेरै बितेको होइन । एउटा असमझदारी बढ्दै आयो । दूरीहरू बढ्दै गए । दूरी बढाउनमा उसैको दह्रो भूमिका थियो ।
भन्थ्यो, ‘तेरो अरू कोही छ भने ऊसँग गएर सुत् ! त्यसबाट सन्तान भयो भने पनि त लुकाइछिपाइ हामी हाम्रै भन्न सक्छौँ ।’
एक दिन असह्य भएपछि मैले भनेँ, ‘तिमी अर्को बिहे गर न त ! म स्वीकृति दिन्छु ।’
उसलाई डर थियो— सौताबाट पनि सन्तान भएन भने ? यो आशंका उसमा यति घनीभूत भयो, उसले सधैँ राति मादकपदार्थ धोक्दै मलाई विनानिहुँ पनि भकुर्न थाल्यो ।
भकुर्ने कुरोमा ऊ खप्पिस थियो । मभित्र मनमा चोट पर्थ्यो । बाहिर शरीरमा चोट नदेखिने—गुमचोट ।
ऊ भन्थ्यो– यो एउटा कला हो, चोट नदेखिने गरी ठटाउनु । कला त हुँदै हो । अर्को कला उसलाई आउँदैनथ्यो । मनभित्र ऊ कुण्ठा बोकेर बाँचिरहेथ्यो । म यो बुझ्थेँ । मलाई गोदेर मन केही शान्त पार्थ्यो ।
अन्ततः मैले निर्णय गर्नैपर्यो, डिभोर्स लिनैपर्छ । यस्ता मानसिक विकृतिले ग्रस्त अद्र्धविक्षिप्तसँग बसेर यातना सहनु हुँदैन । केका लागि यातना सहने ? सुरुमा केही पलाएको प्रेम पनि तातो पानी खन्याएर मारिएको बिरुवाझैँ मरेर गयो ।
प्रेम अंकुराउन सक्थ्यो, उसले समझदारी गरेको भए । गरेन र यो अन्तिम मोडसम्म आइपुगियो । अर्को मोडसम्म जाने हिम्मत छैन मेरो ।
अहिले पनि बजेको छ मोबाइलको रिङटोन । उसले रोजेर एउटा रिङटोन राखिदिएको थियो, त्यसलाई मैले उहिल्यै नै फेरफार गरेर अर्को रिङटोन राखिसकेकी छु ।
जिन्दगीमा रिङटोन फेरिन नसक्ने होइन । उसले यो बुझ्नुपर्थ्यो । उसले पिएकै जोसमा भनिरहन्थ्यो, ‘नारी भनेको धर्ती हो, सहनुपर्छ ।’
सालाले व्यंग्यमा भन्थ्यो । त्यति भनिसकेर हिहिहि... गरेर एक किसिमको प्रेतहाँसो हाँस्थ्यो । त्यति नहाँस्ने र नारीलाई अपमानित हुने गरी नारी भनेको धर्ती हो नभन्ने गरेको भए के पो हुने थियो सायद, अर्को कुनै बाटो निस्कने थियो कि ?
बाटो अर्को निस्कने सम्भावना समाप्त नै थियो । यसमा जिकिर गर्ने खण्ड नै छैन ।
जुन दिन डिभोर्स स्वीकृत भएर म अर्कोतिर लागेँ, लाग्यो– म नारकीय जीवनबाट मुक्त भएकी छु । स्वतन्त्रताको अनुभव पनि अलौकिक नै हुने रहेछ भनूँ । अलौकिक त केही छैन होला, लोक बाँचेर अनुभव गरिएका जति सबै लौकिक नै हुन्छन् । मेरो धारणा यही छ ।
तर, उसले समयसमय फोन गरिरहन्छ । लाछी, आफ्नो जीवनको नयाँ बाटो पहिल्याउन नसक्ने ! म यही सोचेर मोबाइलमा उसको नम्बर देखापर्यो कि काटिदिइहाल्छु ।
यसमा ढिलो गर्नुपर्ने खण्ड देख्दिनँ, अर्थात् जसबाट मुक्त भएपछि स्वतन्त्रताको अनुभव गरिएको छ, ऊसँग फेरि संवादरत हुनुको दरकार के ?
तर, फोन त आइरहने हो । मैले पनि रिसिभ नगेर काटिरहने हुँ, काल कालान्तरसम्म !