site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
युवराजको कविताकृति ‘युद्ध युद्ध नै हुन्छ’ लोकार्पित

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष एवं कवि युवराज अधिकारीको नयाँ कविताकृति ‘युद्ध युद्ध नै हुन्छ’ सार्वजनिक गरिएको छ । शनिबार (असार ७) काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत व्यक्तिले उक्त कविताकृति लोकार्पण गरे ।

कार्यक्रममा मन्त्री पाण्डेले साहित्यिक कर्मले समाजलाई उत्प्रेरित गर्ने बताए । युवराजले समाजका कथाव्यथा र चित्र कवितामा कोरेको उनले उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले आफूले बीपी कोइरालाका साहित्यिक रचना पढेको सुनाउँदै साहित्यको बाटो एउटा महत्त्वपूर्ण मार्ग भएको बताए । उनले सभ्य समाजको निर्माणमा साहित्यको योगदानको चर्चा गरे ।

कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै कवि एवं चलचित्रकर्मी प्रकाश सायमीले अधिकारीका कवितामा आजको समय बोलेको बताए । अधिकारीका कवितामा पूर्वको आञ्चलिकता झल्कने उनको भनाइ थियो ।

अग्रज कवि तुलसी दिवसले कवि शब्दका योद्धा भएको बताए । कविका शब्द बम र बन्दुकभन्दा कम नहुने उनले टिप्पणी गरे । दिवसले कविले सधैँ ‘युद्ध’ लडिरहने तर्क गरे ।

कृतिकार कवि अधिकारीले आफ्नो काव्य सिर्जना आफ्नै जीवनको भोगाइ भएको उल्लेख गरे । उनले इलामको करफोक विद्या मन्दिरको प्रसंग सुनाउँदै साहित्य र कला जीवनसापेक्ष हुनुपर्ने बताए । उनले कृतिभित्रका तीन कवितावाचन पनि गरे ।

एपेक नेपालद्वारा आयोजित कार्यक्रममा कवि विश्वविमोहन श्रेष्ठ, राजेन्द्र शलभले कृति र कृतिकारका बारेमा चर्चा गरे । क्याप्टेन विजय लामा र अभिनेता निखिल उप्रेतीले कृतिभित्रका एकएक कवितावाचन गरे ।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्