रमाइला मानिस हुन्, सुरेन्द्र खड्का । डिल्लीबजारका रैथाने यिनको अधिकांश समय रमाइलो गर्दै बित्यो । त्यसो त यिनले पढाइ पनि पूरा गरे । जागिर पनि खाए । विभिन्न प्रोजेक्टमा पनि आवद्ध भए । अहिले पनि उनी सक्रिय छन्, एउटा विद्युतीय परियोजनामा ।
गीत संगीतको भाकामा रमाउन छाडेका छैनन्, सुरेन्द्रले । कहिलेकाँही गीत लेख्छन् । उनका गीत चलेका गायक कलाकारहरुले गाएका पनि छन् । सानै उमेरदेखि रंगकर्म र गीत संगीत र सिनेमामा रमाए पनि उनले गीत धेरै पछि मात्रै लेख्न थाले ।
कलिलो उमेरदेखि नै कलाप्रति रुची थियो । सिनेमा भनेपछि, हलमा गएर पहिलो दिन पहिलो शो भ्याउँथे । साथीहरूले भनेपछि कुनै पनि काममा अगाडि बढिहाल्थे ।
सुरेन्द्र खड्काका जेठा दाजु नविनकुमार केसी पनि रंगकर्म कलाकर्ममा सक्रिय थिए । नाटककार विजय मल्लसँग उनको दोस्ताना सम्बन्ध थियो । त्यसैले पनि आजभन्दा पचास वर्ष अगाडि पनि नवीन विजय मल्लले लेखेको नाटकहरुमा अभिनय गर्थे । जेठा दाजु नवीनकै संगतले उनी रंगकर्मसँग पनि जोडिए । सुरेन्द्र सानै थिए । त्यसैबेला उनले नाट्यकार बालकृष्ण समको नाटक “भक्त प्रह्लाद”मा प्रह्लाद भएर अभिनय गर्ने मौका पाए । नाटकमा हिरण्य कश्यपुको भूमिकामा थिए सम आफै ।
केही दिन अघि बत्तिसपुतलीस्थित गीतकार सुरेन्द्र खड्काको निवासमा उनीसँग कुराकानी गर्दा उनी भन्दैथिए, “बालकृष्ण समजस्ता विशाल नाट्यकर्मीसंग नाटक गर्दाको क्षण आज पनि मेरो मानसपटलमा ताजा छ । त्यति मधुरो स्वरमा बोल्ने उहाँले हिरण्य कश्यपुुको पात्रमा अभिनय गर्दा गजबैसँग गर्जनु हुन्थ्यो । आज पनि सम्झिँदा आश्चर्य लाग्छ । सातो नै लैजाने गर्जन हुन्थ्यो, उहाँको ।”
उनका अनुसार, सुरेन्द्र स्कुलमै थिए । उनका दाजु बेलाबखतमा उनलाई लिएर बालकृष्ण समकहाँ गइरहन्थे । ज्ञानेश्वरस्थित समको घर उनका लागि पानी पँधेरो जस्तै थियो । एक दिन उनका दाजु नवीनसँग समको नाटक “भक्त प्रह्लाद”का लागि सानो उमेरको केटो चाहिने कुरो भएछ । सुरेन्द्रका जेठा दाजुले पनि उनलाई लिएर गएछन् । यसरी उनी प्रह्लादको भूमिकामा चयन भए ।
सुरेन्द्रका दृष्टिमा नाटककार बालकृष्ण सम साँच्चिकै प्रतिभावान रंगकर्मी हुन् । उनको तेज र व्यक्तित्व आज पनि उनको स्मरणमा आउँछ । समले हिरण्य कश्यपुको भूमिका निर्वाह गर्दा गर्जिएर बोलेको सुनेर बाल कलाकार सुरेन्द्र डराउँथे ।
सुरेन्द्र समलाई नाट्य जगतका महारथी नै मान्दछन् । उनका अनुसार समले आफूले मात्रै अभिनय गर्ने होइन कि अरुसँग पनि निचोरेर अभिनय गराउँथे । नाटक “भक्त प्रह्लाद”का लागि महिनौ रिहर्सल (नाट्य अभ्यास) भयो । खड्काले पनि महिनौ रिहर्सल गरे ।
समजीसँग निकट हुँदाहुँदै पनि उनले एउटा मात्रै नाटक गर्ने मौका पाए । त्यस पछि उनले समजीसँग नाटक गरेनन् । उनी पढाइतिर एकोहोरिए ।
सुरेन्द्रले हाँस्दै भने, “भक्त प्रह्लादमा अभिनय गर्दा म चार पाँच क्लासमा पढ्थेँ । त्यस पछि पढ्नु पर्छ भन्ने लाग्यो । र नाटकमा भन्दा पढाइतिरै बढी लागेँ ।”
उनका जेठा दाजु नवीनकुमार राजाहरूले हेर्ने नाटकमा मात्रै अभिनय गर्थे । सुरेन्द्रका अनुसार दाइ “किंग शो”का लागि मात्रै खेल्थे । विजय मल्ल नाटक लेख्थे । नवीन अभिनय गर्थे । नवीनकुमारमा बम्बइया प्रभाव व्यापक थियो ।
सुरेन्द्रका अनुसार एक पटक तत्कालिन राजा महेन्द्रको समयमा नाचघरमा एउटा नाटक मञ्चन हुँदैथियो । यता नाचघरमा राजाको सवारी भइसकेको थियो । उता हिरो नवीन र नाटकका लेखक विजय न्युरोडको एउटा रेस्टुँरामा बसेर रक्सी खाइरहेका थिए । निक्कै बेरपछि मात्रै उनका दाजु र विजय मल्ल नाचघर पुगेका थिए ।
यो सुनाउँदा सुरेन्द्र हाँस्दै थिए । उनी आफ्नो जेठा दाजु र विजय मल्लका करामातहरु सम्झिँदै थिए सायद ।
०००
कुराकानीका क्रममा सुरेन्द्र भन्दैथिए, “यति लामो समय कसरी बित्यो थाहा नै भएन । बुढेसकाल लागेको मात्रै थाहा भयो । सँधै रमाइलो मात्रै गरियो । जीवन गाना बजानामै बित्यो ।”
सुरेन्द्र खड्काको संगत आफ्नो उमेरका साथीहरु भन्दा आफू भन्दा अलिक जेठाहरूसँग बढी रह्यो । छिमेकी दाइ तथा प्रशिद्ध गायक रुवी जोशीसँग उनको संगत थियो । साथी बनाउन माहिर थिए उनी । उनका साथी कति थिए कति । साथीहरूलाई उनले कुनै पनि कामका लागि नाई भनेनन् । बरु पढाई हापे । परीक्षा छोडिदिए । साथी छोडेनन् । यो सुनाइरहँदा उनको अनुहारमा उज्यालो चम्कियो ।
साथीहरूलाई दिनुसम्म समय दिए । त्यसैले उनको स्कुलको पढाई नै पद्मोदय हाईस्कुल, दरबार हाइस्कुलमा भयो । पछि एसएलसी दिँदा भने डिल्लीबजारकै विजय मेमोरियल स्कुलबाट दिए र पास भए । स्कुलमा मात्रै होईन, कलेजमा पनि उनी फेल भए । “आइएदेखि एमए गर्दासम्म पनि फेल हुँदै पास भएको हुँ,” भन्छन् खड्का ।
उनले एउटा रोचक किस्सा सुनाउँदा उनी हाँसे । भने, “कलेजमा जाँच थियो । जाँच दिनै भनेर घरमा थिएँ । पढाइमा ध्यान दिनु थियो । त्यसैबेला मेरा साथी दधिराम निरौला घरमा आइपुगे । निरौलाले मलाई पोखरा जाउँ भने । म पनि उनीसँगै पोखरा गएँ । दुई दिनलाई गएका हामी एक हप्ता उतै बिताएर मात्रै काठमाडौं फर्कियौंँ । त्यो वर्ष एउटा विषयमा ६ नम्बर नपुगेर म जाँचमा फेल भएँ ।”
सानैमा माता पिताको निधन भएकोले पनि होला, उनी हरफनमौला प्रवृत्तिका थिए । दाजुहरु थिए । तिनले खासै केही भन्थेनन् । त्यसैले जाँचको समय भए पनि उनले साथीलाई प्राथमिकतामा राखे । यो सुनाइरहँदा उनी मज्जैले हाँस्दै थिए । सधैं आनन्दका साथ समय बिताउने उनको बानी थियो । कुनै पनि कुरामा तनाव लिन्थेनन् । सुरेन्द्रका अनुसार उनले एमए गर्दासम्म पनि विषय हाप्दै पास गरे ।
०००
उनका दाजु नविनकुमारले नाटक मात्रै गरेनन् । “कहीँ दियो कहीँ बत्ती” नामको चलचित्र पनि निर्माण गर्न सुरु गरे । यो सिनेमाको सात आठ रिल बन्यो पनि । तर आर्थिक कारणले गर्दा यो चलचित्र बीचमै अड्कियो । सुरेन्द्रका अनुसार यो चलचित्र निजी क्षेत्रको फिल्म थियो । जुन माइतिघरभन्दा अगाडि निर्माण थालिएको थियो । यस चलचित्रका निर्देशक थिए भारतीय अभिनेता राजकुमारका दाजु डा. प्राणनाथ ।
सुरेन्द्रका दाजु नवीनले पुुना गएर अभिनयको तालिम लिएका थिए । भारतीय कलाकारहरू आशा पारिख जय मुखर्जीले पनि उनीसँगै तालिम लिएका थिए ।
उनका दाजु राज कपुरका फ्यान थिए । राज कपुरको जन्मदिनमा उनका दाजुलाई बम्बई जानै पर्दथ्यो । हर हालतमा उनी बम्बई पुग्थे । राज कपुरसँग उनको दाजुको पनि सम्बन्ध थियो । दाजुका प्रिय राज कपुरलाई सुरेन्द्र पनि मनपराउँथे । सुरेन्द्र भन्छन्, “मैले पनि राज कपुरलाई भेटँे । दधिराम निरौलाकै कारण राज कपुरसँगको भेट जुरेको थियो ।”
निरौला वायुसेवा निगमको को–पाइलट थिए । सुरेन्द्र त्रिचन्द्रमा बीएमा पढ्थे । त्यो बेला फोन थिएन । त्यसैले निरौला कलेजमै आए । निरौलाले “जाउँ राज कपुरलाई भेट्न” भने । उनले पनि हुन्छ भने । राज कपुर सोल्टी होटलमा बसेका थिए । सायद राज कपुरहरू नेपाल घुम्न आएका थिए । कुनै फिल्मको सुटिङ थिएन ।
सुरेन्द्रसँग असी नब्बे रुपैयाँ थियो । निरौलासँग नौ सय रुपैयाँ थियो । दुबै कोट टाई लगाएर सोल्टीको क्यासिनोमा छिरे । राज कपुरसँग भेटे । सँगै फ्लास पनि खेले । सुरेन्द्र यो सम्झिएर हाँसे पनि । यो वि.सं. २०२५–०२६ साल तिरको कुरा भएको उनी बताउँदै थिए । सुरेन्द्र र निरौलाले एउटा दुईटा गेम खेलेर दुई तीन हजार रुपैयाँ जितेका रहेछन् ।
त्यसैबेला राज कपुर उनीहरु भएको ठाउँमा आए । उनलाई फ्लास खेल्ने मानिसको खाँचो रहेछ । राज कपुरले आफै आएर “थ्री कार्ड के लिए कोही मेम्बर नही मिला, चलो” भनेछन् । उनलाई पनि राज कपुर सित बोल्ने मौका मिलेको थियो । राज कपुरसँग बोल्नु भगवानसँग बोल्नु समान थियो । त्यसैले नाई भन्ने कुरै थिएन ।
उनले निरौलालाई बोलाएर राज कपुरसँग फ्लास खेल्न थाले । त्यसबेला सय रुपैयाँ बोट थियो । खेल्दै जाँदा एक पटक राम्रो तास पर्यो । त्यसैबेला भारतीय पानी जहाजका एकजना क्याप्टेनसँग निरौला र खड्काको दोस्ती भयो । उनी पनि छेवैमा बसेर तीन पत्ती हेरिरहेका थिए । तासमा बलियो रन आएको देखेपछि जहाजका क्याप्टनले सुरेन्द्र र निरौलालाई उकासे । जबकी उनीहरू आफूसँग भएको पैसा सिद्धिएकोले तास देखाउने चक्करमा थिए । तर पानीजहाजका क्याप्टेनले उनले आफूले पैसा थपिदिने कुरा गरे पनि यि दुई पनि हौसिए ।
तर अर्कोतिर ट्रायल परेकोले उनीहरुले हारे । पानी जहाजका क्याप्टेनको पर्सबाट दुई तीन हजार खर्च भएको थियो । त्यो पैसा तिर्न सुरेन्द्र र निरौलालाई हम्मेहम्मे पर्यो । आखिर तिर्नु त थियो नै । अनेक गरेर त्यो पैसा यिनले तिरे ।
यो घटना राज कपुरसँग भेट्ने, बोल्ने लालसाले गराएको थियो ।
०००
भारतीय चलचित्र निर्माता, निर्देशक तथा अभिनेता राज कपुरबाट प्रभावित सुरेन्द्र खड्कालाई मनपर्ने अर्का अभिनेता हुन्, देव आनन्द । उनी आफै पनि देव आनन्दको क्यारिकेचर (नक्कल) गर्थे । कैयन पटक उनले देव आनन्दलाई उनकै बोलीको नक्कल गरेर सुनाएका छन् ।
देव आनन्द हिन्दी चलचित्र “हरेराम हरेकृष्ण”को सुटिङका लागि नेपाल आएका थिए । देव आनन्दका फिल्महरू खुबै हेर्ने सुरेन्द्रले देवकै सुटिङ भइरहेको पाएपछि छोड्ने कुरै भएन । उनी सुटिङमा जान थाले । अन्ततः उनको सम्वन्ध देव आनन्दसँग राम्रो हुँदैगयो ।
खड्काका अनुसार उनी “हरेराम हरेकृष्ण”को छायाँकनका बेला छायाँकन स्थलमा पुग्थे । यसरी उनले देव आनन्दसँग लामो समय बिताए । भेटघाटमा उनले सधै देख्थे जीनत अमानलाई । उनले कैयन पटक जीनत अमानसँग कुरा पनि गरेका हुन् । तर उनलाई जहिल्यै लाग्दथ्यो हिरोइन त मुमताज हुन् । मुमताजलाई पहिले पनि फिल्ममा देखिरहेकोले पनि यसो भएको होला । त्यसैले जीनत अमान तिर खासै ध्यान दिएनन् ।
सुरेन्द्र हाँस्दै भन्छन्, “देव आनन्दको यो चलचित्रमा म पनि टिम मेम्बर जस्तै सधै हिँडें । बिहानै निस्केको बेलुकी मात्रै घर पुग्थेँ । मैले त्यो वर्षको जाँच नै छोडेँ । सुटिङमा बोलाउँथे देव आनन्दले । अब कहाँ जाँच दिन जाने । त्यसैले परीक्षा अर्को साल दिउँला भनेरै हरेराम हरेकृष्णको युनिटसँग हिँडिरहेँ ।”
देव आनन्दसँग त्यति राम्रो सम्वन्ध भएर पनि उनले उनको चलचित्रमा अभिनय गरेनन् । कहिले पनि म पनि अभिनय गर्छु भनेर रोल मागेनन् । बस्, हिँडिरहे, देवसँग । पछि देव आनन्दको “जानी मेरा नाम”को पनि सुटिङ पनि काठमाडौंमै भयो । त्यसमा पनि उनले साथ दिए देव आनन्दलाई । तर अभिनय गरेनन् ।
सानै उमेरदेखि कविता लेख्न थालेका सुरेन्द्रले पछि पछि गीत लेख्न थाले । उनले लेखेको गीत रुवी जोशीले हात पारे । र तिनै रुवीले सुरेन्द्रलाई गीतकारका रुपमा स्थापित गराए । आज पनि सुरेन्द्र खड्काका साथीहरू टन्नै छन् । साथीहरूसित कहिल्यै अघाउँदैनन् उनी ।