वर्षहरु आउँछन्,जान्छन् । प्रत्येक वर्ष आफ्नै प्रकारका हुन्छन् । तिनको अनुभव व्यक्तिको जीवन र देशको राजनीतिदेखि यावत् क्षेत्रमा आआफ्नै प्रकारको हुन्छ । प्रत्येक वर्षका पद चिह्न हुन्छन् । गत २०७५ साल नेपाल र नेपालीको निम्ति अत्यन्त आशावादी भएर आएको थियो तर गुज्रियो कसरी भन्ने सन्दर्भलाई सम्झन खोजिएको हो ।
भर्खरै बितेको वर्षमा पनि यावत् विषयमा काम भए । संगीत, साहित्य, कला र कमाइ जे भनियोस्, वा संक्षिप्तमा मानव जीवनले ज्ञानदेखि विज्ञानसम्मका काम र उपलब्धि सम्पादन गरे । सधैँ झैँ केही क्षेत्र छुटेनन् तर नयाँ थपिए ।
विक्रम वर्ष बित्ताबित्तै विज्ञानले कल्पनाको ‘ब्ल्याक होल’ लाई यथार्थमा प्रमाणित गर्यो । परिणामहरु सुखद, दुःखद र मिश्रित सबै प्रकारका रहे । यसरी धेरै वर्ष समाजको विस्मृतिमा गएका छन्, विलीन भएका छन् । लिपिबद्ध दुनियामा केही इतिहास भए । त्यस्तै त्यो वर्ष पनि बित्यो, यो वर्ष २०७६ पनि बित्नेछ । पृथ्वीको आयु बढाएर । बाच्नेहरुको समय वर्ष वर्षले तानेर आफूमा खिच्यो । यसरी नै ऊ वर्ष पनि बित्यो । भनियो– नयाँ वर्ष शुभ होस्, सबैका लागि सुखद रहोस् ।
वर्षहरु यस्तै हुन्छन् । तर, तीसँग मानिसका अपेक्षा जोडिन्छन् । घटनाहरुले पनि जोडिदिन्छन्, मोडिदिन्छन् । नेपालीका लागि त्यस्तै थियो बितेको पचहत्तर साल । अनेक कष्ट समालेर सफलतासहित आशाको भव्य पेटारो २०७४ सालले हस्तान्तरण गरेको थियो २०७५ लाई । सुम्पिएको त्यो ‘मालिक’ वर्ष बित्यो । त्यो पेटारो खोलेर हेर्दा के देखियो, के भेटियो र पाइयो के ?
नेपाली अपेक्षा पूरा हुन कति लामो समय लाग्यो ? कतिले बलिदान दिए । कतिले सपना साथसँगै लिएर इहलीला बिताए । समाज यस्तै हो कि ? समय वा परिणाम सबैका यस्तै हुनेहुन् ? यकिन भन्न सकिँदैन । किनभने, दुनियाँको आआफ्नै इतिहास छ, तिनको मर्म पनि आफ्नै । झन्डै सत्तरी वर्ष कुर्नुपर्यो, जनता र तिनका प्रतिनिधिले बनाएको संविधान पाउन । संविधान जनताले बनाउनुपर्छ, तिनले नै बनाउन पाउनुपर्छ भन्नेहरु कतिले यो संविधान नै देखेनन्, भोग्न पाएनन्, अनि बनाउन पाउने त कुरै भएन तिनले ।
जसले बनाए सत्तरी वर्षअघिको कुरा । कुरा चल्दा ती कति त जन्मिएकै थिएनन् । जन्मिएका भए देब्रे हातले कट्टुको पेटीभाग समाएर तान्दै र दाहिने हातले सिंगान पुछ्दै थिए होलान् त्यतिबेला । त्यही पुस्ता तन्नेरी भयो राजनीतिमा । अग्रजले देखाएको बाटो हिँड्यो, संविधान बनायो । देख्नेले के सपना देखे ? बनाउनेले कस्तो बनाए ? तर, जनप्रतिनिधिले बनाए, यो चाहिं सत्य हो । बरु, उँट बनाए कि गोरु ? गधा भयो कि गाई वा चमेरो ? कस्तो भयो ? अथवा संसारमा कल्पनै नगरिएको कुनै स्वर्णीम वस्तु उतारे कि – अद्भूत नवौँ आश्चर्य । मेरो विधान, मेरो संविधान । अर्थात्, सबैको मेरो । बनाउने कतिले त संविधान भोग्न पनि पाएनन्, ती बिते । प्रतिनिधिपात्र हुन् – सुशील कोइराला ।
भनिन्छ, नेपालले सानै अवधिमा धेरै राजनीतिक उतार, चढाव देख्यो, नेपालीले भोगे । अनि, जनताले संविधान बनाउन सत्तरी वर्ष कुर्नुपर्यो ? के यही सत्तरी वर्ष पाउन वा यही संविधान बनाउन अनेक उतारचढाब भए ? राणा गए, सात साल आयो । जनताको संविधान जनताले बनाउने कुरा सुरु भयो । राजाहरुको छलकपट चल्यो । पहिलो जननिर्वाचित प्रतिनिधिसभा भंग गरियो । जननिर्वाचित सरकार अपदस्थ पारियो । प्रजातान्त्रिक अपेक्षा मुखरित गर्ने सातसालका नायक बीपी कोइरालालगायत ती सबै थुनिए । कति सहिद भए । देश सिंगो बन्दीगृह ‘जेल’जस्तै बनाइयो । तीस वर्ष यस्तै भयो, बित्यो, खेर गयो ।
संघर्षका अनेकरुप र चरण हुँदै जनमत संग्रह भयो । बहुदल हार्यो, हराइयो । आन्दोलनको उभार थियो छयालीस साल । संवैधानिक राजसंस्थासहितको बहुदल पुनस्र्थापित भयो । संविधान बन्यो । चुनाव भयो । सरकार बन्यो । विकासले गति लिन थाल्यो । तर, प्रजातन्त्र विरोधी कम्युनिस्टलाई चित्त बुझेन, छटपटी भयो । विकास भए आफू सिद्धिने डरले ‘फोहरमा रमाउने झिँगे दाउ’ खेले तिनले । निर्वाचित सरकारलाई १८ दिनमै ढालिदिन्छौँ भन्दै जुलुस निकाले । ५२ दिन संसद् अवरुद्ध पारियो । माओवादी कम्युनिस्टी हिंसा जन्मियो । बिचरा १७ हजार नेपालीको बाच्न पाउने अधिकारको हत्या गरियो ।
चारैतिर हत्या, हिंसा, आतंक । सरकार पनि प्रतिहिंसा वा हत्यामा लाग्यो । धन्न नेपाली राजनीतिमा थिए गिरिजाप्रसाद कोइराला । उनले शान्तिका लागि काम गरे । शान्ति सम्झौता भयो । यसअघि नै राजा वीरेन्द्रको वंश नाश गरिएको खाली ठाउँमा उदय भएको थियो राजा ज्ञानेन्द्रको । उनलाई प्रजातन्त्र चित्त बुझेन, सार्वभौम जनता मन परेन । तानाशाह हुने दुःस्वप्न जाग्रत थियो ज्ञानेन्द्रमा । अर्थात् बाटो बिराए, बहकिए, महेन्द्र हुने सपना देखे । अन्ततः सिंहासन आसीन राजतन्त्रमात्रै होइन, श्रीपेच लगाउने राजसंस्था नै उखेलियो ।
गणतन्त्र आयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाइयो । स्थानीयतह, प्रदेश र संघमा निर्वाचन भयो । चुनाव गराए, शेरबहादुरले विश्राम लिए । ०७४ सालको पुछार अर्थात् फागुनमा आउँदा सत्तारोहणको हतारमा सांसद् पदको शपथ नै नलिई प्रधानमन्त्री भए केपी ओली । राष्ट्रपतिले आफ्नै पूर्वनेतालाई प्रधानमन्त्रीमा ‘अवैध’ शपथ खुलाइन्, संविधानको रक्षकले संविधान सम्झिनन्, सम्झाइनन् । ०७४ सालले दिएको भव्य पेटोरोका लागि पहिलो सामल बन्यो – ‘जितेको जोसमा अवैध तरिकाले सत्तारोहण ।’
यी मोटाघाटा घटनाको स्मरण नेपाली राजनीतिको उहापोह हुन् । यी निकै पेचिला र थोरै समयको धेरै घटना पनि । त्यतिमात्रै होइन, जनसंविधान पाउन कसरी खर्चिएछ सत्तरी वर्ष भन्ने विस्मृति उधिन्नु पनि । अर्को अर्थमा समाजको भोगाइको राजनीतिक आँखीझ्याल समेत । अनि समयको प्रतिनिधित्व गर्ने वर्षहरुको गुज्रान । साँझ बिहान, दिन रात बाँडिएर, ग्रहदशाले विभक्त पारिएको समयमा बिते वर्ष, नयाँवर्ष, वर्षौंवर्ष । वर्षहरुमा छोटामोटा घटना कतिकति, तिनका विषय पनि थरीथरी, असंख्य । दिनदिनै । न लेखी साध्य, कति त सम्झी साध्य पनि भएनन् । तर ०७५ साल हाम्रालागि खास थियो, हुनुपथ्र्यो । भएन कसरी भन्नु, तर भयो के ?
लामो संघर्षले थलिएको समाज । आवश्यकता, अपेक्षाले किचिएको मानिस । अस्थिरताले आरोपित राजनीतिले बिथोलिएको नागरिक मानसिकता । उच्चासीनहरुको भ्रष्टचरित्रले आक्रान्त । सुखद सम्भावना असम्भवजस्तै । खुसी, समानता र सम्पन्नता धेरै टाढा । प्रजातन्त्र विरोधीहरुको ‘अर्बुद’ राजनीति । राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण । यस्तै भोगाइले संत्रस्त नेपालीले लोकतान्त्रिक गणतन्त्रसँग सुन्दर अपेक्षा जोडेका थिए, हुन् । यो अपेक्षाको पहिलो वर्ष थियो–२०७५ ।
परन्तु, भइदियो उल्टो । नेपालीले थप शीर्षासन गर्नुपर्ने भयो । भ्रष्टाचार बूढीगण्डकीमा डुबुल्की मारेर ‘स्विमिङ‘ खेल्दैछ र वाइडबडी जहाजमा दुनियाको सयर गर्दैछ । टेलिकममा छ, प्राधिकरणमा छ, हुँदाहुँदै सेक्युरिटी प्रेससम्म आइपुग्यो रे सरकारी भ्रष्टाचार । मेलम्चीको पानी खाने काठमाडौंको तिर्खाले थुप्रैपटक आश्वासन पियो । मेलम्ची कमिसनको भ्रष्ट सरकारी खेलमा बगेको बग्यै छ ।
अर्कातिर, प्रधानमन्त्रीको गफ सुन्नुपरेको छ– ‘भ्रष्टाचारीलाई हेर्दा पनि हेर्दिन’ भनेको के हो, बुझिएन । ०७५ कै गर्भगृहबाट निस्कियो कम्युनिस्ट पार्टीका नेताहरुको जग्गा मोहनी । जग्गा माफियाहरुलाई कम्युनिस्ट नेताले गरेको संरक्षण र त्यसबापत लिएको जग्गा कमिसन । कम्युनिस्ट (माओवादी) कोटामा भएका संवैधानिक आयुक्त पनि जग्गा माफियासँगै भेटिए । पचहत्तर सालमा सरकारले ‘जलेविष्णु, थलेविष्णु’ भनेजस्तै भ्रष्टाचारलाई सर्वत्र बनायो र संस्थागत गरायो । तर, चस्मा कालो लगाएर प्रधानमन्त्री भ्रष्ट र अनैतिकहरुकै सामु भ्रष्टाचार विरोधी गफ दिन्छन्, सुशासनको कुरा गर्छन्, र सुख, समृिद्धको गुड्डी हाक्छन् ।
प्रजातान्त्रिक संस्थामाथि प्रहार । संसद् होस् कि अदालत ? सरकारी प्रतिच्छाया, सर्वत्र कम्युनिस्टकरण । मानवअधिकारलाई थिच्ने कोसिस । बुद्धिजीवी भन्नेलाई थला पार्ने । प्रेसको घाँटी निमोठिँदै छ । पत्रकार महासंघ नै संघर्षमा उत्रनुपर्यो । सुशासन पचहत्तर सालको भाष्यमा गफ गर्ने मेलोमात्रै । न्यायका लागि निर्मला पन्त रोएको कति दिन बिते ? सुरक्षाको जिम्मा पशुपतिले दिइएको छ ।
प्रधानमन्त्रीले भोको पेट र नांगो आँगको ख्याउटे बालकलाई सुनाए रेल र पानी जहाजको गफ । न्याय खोज्ने सत्याग्रहीलाई बर्षाए शब्दतीर र दुईतिहाइ दम्भको डण्डा । बिरामीले औषधि पाएनन् । विद्यार्थीले किताब पाएनन् । भर्ना अभियान नामको हल्ला तर अघिल्ला हल्लाको सरकारी मूल्यांकन सार्वजनिक हँुदैन । यस्तै छन् ओलीराजका समाचार, कुरा ।
अर्कैले गरेका कामको ‘स्विच’ थिचेर हामी नै विकास गर्छौँ भन्न पाएका प्रधानमन्त्रीले आफ्नै अघिल्तिर केही काम बाँकी भई अलपत्र तिर्खाएको मेलम्ची देख्दैनन् । महालेखाको प्रतिवेदनले आर्थिक अनियमितता र बेरुजुको पहाड नै देखाइदिएको छ । मानवअधिकारलाई कुण्ठित गर्ने प्रयत्न भएछ । द्वन्द्व पीडितलाई पीडा थप्ने विधेयक ल्यायौ, त्यस्तो कानुन नबनाऊ, सरकारको नाममा संयुक्त राष्ट्रसंघले भनेछ । मानव अधिकार आयोग आफूलाई शक्तिहीन नबनाऊ, भन्ने गुहार लगाउँदै छ ।
कार्यकर्ता अरिङ्गाल बनाइए । विपक्षी नन्दीभृड्.गी । आफैँभित्रका साथी असहयोगी । वक्ता प्रधानमन्त्रीका लागि पचहत्तर साल आधारभूत ‘गफ’ वर्ष भयो । नेपालीले चाहिँ २०७५ सालमा असहिष्णु घोचपेच र उखानटुक्का खुब सुने, सके सिके । तर, गफमात्रै भए पनि एक प्रकारले रमाइलै भयो २०७५ साल । बाँकी आफ्ना आशा, अपेक्षा कस्ता भए पाँच दिनअघि सकिएको साल सम्झिऊँ र सामान्य नागरिकले आफैँ बुझौँ ।
जय होस् ! २०७६ साल, शुभ रहोस् ! ‘कामकुरो एकातिर, कुम्लो बोकी कतातिर’ नहोस् । लोकतन्त्र बाँचोस् । कमसेकम नहुने गफबाट मुक्ति मिलोस् । मंगल कामना !