site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रानी ऐश्वर्यले सोधिन्– काठमाडौं बाहिरका आँखाका बिरामीको उपचार कसरी गर्दैछौ ?
SkywellSkywell

हजारौंका आँखामा उज्यालो भर्ने व्यक्ति अगाडि खडा थिए । ‘आँखा बा’का नामबाट नेपालका कुनाकाप्चामा परिचित प्रा.डा. रामप्रसाद पोखरेल (८३) सँग पुराना कुराका लागि भाइसाथी नविनका साथ पुग्दा उनी हामीलाई नै पर्खिरहेका थिए । 

प्रा.डा. पोखरेलका अनुसार उनी नाक, कान, घाँटी (ईएनटी) विषयमा विशेषज्ञता (डीएलओ) को तालिम गर्न बेलायत पुगे । केही समय विकसित मुलुक बेलायतको नविनतम प्रविधिहरुसँग खेल्दै नाक, कान, घाँटीको रोगका उपचार बारे विशेषज्ञ तालिम लिँदै गए । 
त्यसैबेला उनलाई लाग्यो, “अब ईएनटीमै एफआरसीएस पनि गर्नुपर्छ ।”

त्यसका लागि पहल गर्दै उनले नेपालको स्वास्थ्य मन्त्रालयसँग अनुमति माग्दै चिठी लेखे । 

KFC Island Ad
NIC Asia

तर केही समय पछि यता स्वास्थ्य मन्त्रालयबाट उनका नाममा एउटा पत्र गयो ‘तपाइँ कस्को अनुमतिले बेलायतमा थप बस्न लाग्नु भएको ? तपाइँलाई किन कारबाही नगर्ने ?’

यस किसिमको पत्रले उनी आश्चर्यमा परे ! त्यसको केही दिन पछि नै उनका नाममा अर्को पत्र गयो । जसमा लेखिएको थियो, ‘तपाइँले ईएनटीमा होइन, आँखा रोगका विषयमा विशेषज्ञताको तालिम लिनुस् ।’ 

Royal Enfield Island Ad

स्वास्थ्य मन्त्रालयबाट केही दिनको अन्तरमा यस्तो दुई किसिमको पत्र किन गयो ? उनले यस विषयमा नेपाल फर्किए पछि सोधखोज पनि गरेनन् । यसको रहस्य उनले आजसम्म पनि थाहा पाएका छैनन् ।   

त्यसपछि उनले आँखा विषयमा ‘डीओ’ तालिम लिन शुरु गरे । त्यस पछि आँखाकै सर्जरीका लागि एफआरसीएस पनि बेलायतबाटै गरे । यसरी नाक, कान, घाँटीको विशेषज्ञता हासिल गर्न बेलायत पुगेका उनी बेलायतबाट फर्किँदा आँखाका विशेषज्ञ सर्जन भएर फर्किएका थिए । 

प्राडा. रामप्रसाद पोखरेलले आफ्नो कामको प्रारम्भिक अवस्था सम्झिए । उनी सम्झिँदै थिए ति दिन, “लखनउमा एमबीबीएस गर्दा नै मैले केही समय आँखा रोगको उपचार सम्बन्धी ज्ञान हासिल गरेको थिएँ । तर जब म धनकुटामा मेडिकल अफिसर भएर गएँ, त्यसैबेला आँखाको अपरेशन गर्नुपर्ने स्थिति सिर्जना भयो । त्यस बेला मैले सामान्य उपकरणहरुको मद्दतले आँखाको अपरेशन गरेको थिएँ । र सफल पनि भएँ ।”

बेलायतमा उनले आँखा सर्जरीमा एफआरसीएस गरे । उनको काम गराइ देखेर बेलायतीहरु पनि प्रभावित भए । तिनले डा. रामप्रसादलाई बेलायतमै बसेर काम गर्न आग्रह गरे । उनलाई त्यहीँको नागरिकता दिन्छु पनि भनियो । त्यसै क्रममा अमेरिकाले पनि बोलायो । अर्थात, आँखा रोगका लागि योग्य चिकित्सकको अभाव पश्चिमा मुलुकहरुमा पनि थियो । तर डा. पोखरेल नेपाल नै फर्किए । उनको मनले भन्यो नेपालमै केही गर्नुपर्छ ।

प्रा.डा. पोखरेलको मुहारमा मुस्कान फैलियो । उनी भन्न थाले, “मलाई दिन त तिनले दिन्छन्, नागरिकता । मैले पैसा पनि कमाउँछु होला । तर विदेशमा त म कहलिने भनेको त दोस्रो दर्जाको नागरिक नै हो । म किन दोस्रो दर्जाको नागरिक भएर बसुँ भन्ने मलाई लाग्यो । म आफ्नै देश जान्छु र आँखा उपचारका क्षेत्रमा सके जति गर्छु भन्ने सोचले नै म नेपाल आएँ ।” 

वास्तवमा राष्ट्रप्रेमले उनलाई नेपाल डोे¥यायो । फलतः सन् १९७१ मा डा. रामप्रसाद पोखरेल नेपालको पहिलो आँखा विशेषज्ञ भएर नेपाल फर्किए । र, वीर अस्पतालमा आँखाको उपचारमा सक्रिय भए । 

उनले त्यसबेला बेलायतबाट फर्किँदा आफूसँगै केही आँखा जाँच्ने उपकरणहरु किनेर ल्याए । त्यसले प्रारम्भिक दिनमा उनलाई काम गर्न केही सजिलो भयो, तर त्यो नै पर्याप्त थिएन् । 

नेपालमा आएर काम शुरु गर्दा उनको यात्रा शून्यबाटै सुरु भएको थियो थिए । अस्पतालमा आँखाका उपकरणहरुको अभावले उपचारलाई प्रभावित पारेको त थियो नै, आँखाका बिरामीहरुको भीड पनि बढ्दो थियो । टाढाटाढाका बिरामीहरु आँखाको उपचारका लागि आउँन थालेका थिए । बिरामी जाँच्न एक वर्षसम्म पनि पालो पर्खनुपर्ने अवस्था थियो । यसले उनलाई बडो चित्त दुख्थ्यो । पीडा हुन्थ्यो, तर एक्लैले कति भ्याउने ? तथापि यो सवालको जवाफ खोज्दै हिँडिरहे, उनी ।

यो दयनीय अवस्था देख्दा कहिले काँही उनलाई लाग्थ्यो, आफूले पढेर आएको केही काम लागेको छैन । त्यसै बीचमा बेलाबेलामा आँखा उपचार शिविर हुन थाल्यो । उनले निरन्तर शिविरहरुमा गएर आँखाको उपचार गर्न सुरु गरे । उनी ठाउँठाउँ पुगे । गाउँगाउँ पुगे, आँखा शिविर लिएर । जेजस्तो साधन स्रोत उपलब्ध थियो, त्यसैको प्रयोग गर्दै आँखाको उपचारमा सक्रिय भइरहे । 

यसरी गाउँगाउँमा शिविर लिएर जाँदा मुलुकको आर्थिक सामाजिक अवस्थाबारे धेरथोर जानकारी मिल्दै गयो । त्यसैबेला उनले आँखा उपचारका क्षेत्रमा धेरै काम गर्न सकिने निक्र्यौले गरे ।

त्यस पछि उनले स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग आँखा अस्पतालको स्थापना गरिनुपर्ने अवधारणा प्रस्तुत गरे । तर मन्त्रालयका अधिकारीले गजबको उत्तर दिए । ति अधिकारीकोे भनाइ थियो, “आँखाको रोगले मानिस मर्दैनन् । त्यसैले अरु रोगका लागि अस्पताल जरुरी छ ।”

अर्थात्, प्राथमिकतामा परेन आँखा अस्पताल । डाइरिया, डिसेन्ट्री र मलेरियामा मात्रै स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको ध्यान केन्द्रित थियो ।

यसले पनि डा. रामप्रसाद पोखरेललाई नयाँ बाटो निर्माणका विषयमा सोच्न बाध्य बनायो ।

०००

हजारौंका आँखामा उज्यालो भर्ने वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा आँखा सर्जन प्रा.डा. रामप्रसाद पोखरेलको मूल थातथलो हो पूर्वी पहाडी जिल्लाको धनकुटा । 

उनको प्रारम्भिक शिक्षादीक्षा धनकुटामैै भयो । उनले धनकुटाकै गोकुण्डेश्वर हाईस्कूलबाट एसएलसी पास गरे । उनका अनुसार दरबार हाईस्कूल पछि स्थापना भएको दोस्रो या तेस्रो हाइस्कुलमा पर्दछ धनकुटाको गोकुण्डेश्वर हाइस्कूल । 

डा. रामप्रसाद पोखरेलका माहिलो बुबा पण्डित छविलाल पोखरेलको सक्रियतामा गोकुण्डेश्वर हाईस्कूल स्थापना भएको थियो । शिक्षासेवी छविलाललाई पूर्णलाल लप्टन, गुणराज जोशीलगायतका स्थानीय समाजसेवीहरुले साथ दिएका थिए ।

त्योबेला धनकुटा एककिसिमले दूर्गम ठाउँ नै थियो । धनकुटाबाट धरान झर्दा बीचमा दुई दिन बास बस्नु पर्ने डा. पोखरेलको भनाई छ । एसएलसी गरेपछि उनी थप पढ्न भनेर बनारसको यात्रामा हिँडे, त्यहि पैदल बाटो भएर । 

पहिलो दिन उनी लेउदीको किनारमा बास बसे । त्यस पछि अर्को दिन धारापानीको उकालो भएर साँघुरी हुँदै धरान पुगेको उनलाई आज पनि सम्झना आउँछ । त्यतिबेला बीचमा भेँडेटार पर्थेन् । पछि ठूलो बाटो बनेपछि मात्रै भेडेटार स्थापित भएको हो ।

उनी बनारस पुगे । धनकुटाबाट एसएलसी गरेका उनी राम्रो ठाउँमा आइएससी पढ्नु पर्छ भनेरै बनारस पुगेका थिए । बनारसको क्वीन्स कलेजमा त्यसबेला तीनसय रुपैया खर्च गरेर उनी आइएससीमा भर्ना भए । 

तर उनले एडमिसन लिएर पनि बनारसमा पढेनन् । त्यही समयमा उनका साथी लोकेन्द्र आचार्य पनि कलेजमा भर्ना हुन बनारस आएका थिए । तर उनको एडमिसन बनारसको कलेजमा भएन ।

त्यसैले लोकेन्द्रले इलाहाबाद गएर पढ्ने निर्णय गरे । रामप्रसाद पोखरेलले पनि साथी छोड्न सकेनन् । उनी पनि इलाहाबाद नै गए । बनारसमा गरिएको भर्ना शुल्क तीन सय रुपैया माया मार्दै उनी इलाहाबादको कलेजमा आइएससीमा भर्ना भए । अनि, दुई वर्षमा इलाहाबादको केपी कलेजबाट उनले आइएससी पास गरे । 

अबको यात्रा मेडिकल पढाई तिरको थियो । त्यसका लागि काठमाडौं पुग्नु पर्ने जरुरी थियो । उनी काठमाडौ उक्लिए ।

त्यसबेला काठमाडौं आउँदा उनि चित्लाङको बाटो भएर आएको सम्झिन्छन् । उनी भन्छन्, “त्यसबेला म र लोकेन्द्र रक्सोल हुँदै अमलेखगंजको बाटो भएर चिसापानीगढी पुग्यौंँ । त्यहाँ काठमाडौं प्रवेश गर्नलाई पास लिनु पर्दथ्यो । हामीले पशुपतीनाथको दर्शन गर्न भनेर प्रवेश पास लिएका थियौं ।” 

यति भन्दै गर्दा उनको मुख उज्यालियो । उनी पुराना कुरा सम्झिँदै रमाउँदै थिए ।  

त्यहाँबाट चित्लाङ, चन्द्रागिरी हुँदै हिँड्दै थानकोट आइपुगे उनीहरु । त्यस पछि मात्रै गाडी चढेर काठमाडौं पुगे ।

काठमाडौं पुगेर उनले एमबीबीएसको सरकारी सिटका लागि निवेदन दिए । सरकारी सिटमा एमबीबीएस पढ्नलाई गरिएको उनको प्रयास सफल पनि भयो । कारण, आइएससीमा उनको नम्बर राम्रो थियो । मेरिट लिष्टमा परेकै कारण उनी लखनउ मेडिकल कलेजमा एमबीबीएस पढ्ने गरी छानिए । 

०००

लखनउबाट एमबीबीएस गरेर डा. रामप्रसाद पोखरेल काठमाडौं आए । अब कामको खोजीमा लाग्नु थियो ।  

वि.संं २०१७ साल तिरको कुरा हो । वीपी कोइरालाको नेतृत्वको सरकार थियो । तत्कालिन प्रधानमन्त्री वीपी कोइरालालाई भेट्न उनी त्रिपुरेश्वर स्थित प्रधानमन्त्रीको क्वाटरमा पुगे । वीपी भोलीपल्टै इजरायलको भ्रमणमा जाँदै थिए । त्यसैले उनले तत्कालिन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायसँग उनको परिचय गराइ दिए । 

\"\"

बीपीले सूर्यप्रसादलाई ‘उहाँलाई धनकुटा अस्पतालका लागि नै पोस्टिङ हुनेगरी नियुक्ति दिनू’ भने । त्यसबेला स्वास्थ्यका डाइरेक्टर थिए, रघुवर बैद्य । तर बैद्यले हुन्छ हुन्छ मात्रै भनेर टारे । काम गरिदिएनन् । 

प्रा.डा. रामप्रसाद पोखरेल सम्झिन्छन् त्यो क्षण, “मलाई घण्टौ बित्दा पनि बैद्यले नियुक्ति दिएनन् । त्यस पछि म फेरि सूर्यप्रसाद उपाध्याय कहाँ पुगेँ । उहाँले भोली पल्ट बिहानै फस्र्ट आवरमा मन्त्रालयमा बोलाउनु भयो । म बिहानै पुगेँं । उहाँले रघुबर बैद्यलाई फेरि एकपटक भेट्न भन्नु भयो । म गएँ तर बैद्यले फेरि पनि काम गरिदिएनन् । अनि म सूर्यप्रसाद उपाध्यायको कोठामा फर्किएँ र यथार्थ बताएँ । मेरो कुरा सुनेर सूर्यप्रसाद उपाध्यायले बैद्यलाई फोनै गरेर ‘एक घन्टाभित्रमा रामप्रसादको नियुक्ति धनकुटा अस्पतालका लागि तयार गरेर म कहाँ पठाउनू’ भन्नु भयो । यसरी मैले मेरो जागिरको नियुक्ति पत्र तत्कालिन गृहमन्त्री सूर्यप्रसाद उपाध्यायकोे हातबाट बुझेको थिएँ ।”

त्यसको केही दिन पछि उनी हवाईजहाजबाट विराटनगर हुँदै धरान पुगे । एक दुई दिन पर्खेर भरिया खोजेँ । त्यस पछि मात्रै धनकुटा तिर लागेँ ।

उतिखेर धनकुटामा अस्पताल स्थापना भइसकेको थियो । तर अस्पताल पुरानो र अव्यवस्थित थियो । त्यो अस्पताल बिहान र बेलुका गरी दिनको दुईपटक खोलिन्थ्यो ।  

धनकुटामै डा. झा भन्नेले पनि निजी क्लिनिक खोलेका थिए । भारत सरकारको पहलमा त्यो खोलिएको थियो । डा. झा कहाँ बिरामीहरुको खुबै भीड रहन्थ्यो ।

उनलाई लाग्थ्यो सरकारी अस्पतालमा किन आउँदैनन् बिरामी ! अस्पतालको त्यो दुर्दशाले उनलाई पोल्यो । त्यसैले उनले धनकुटा अस्पतालमा रंगरोगन गर्दै अस्पतालकोे रुपरंग फेर्ने काम गरे । अस्पतालका लागि चाहिने सामग्रीहरुको व्यवस्था गर्न थाले । नयाँनयाँ सामानहरु अस्पतालका लागि झिकाए । 

बिस्तारै उनले धनकुटा अस्पतालमा बिरामीहरु तान्न थाले । त्यसका लागि उनले धनकुटाका केही समाजसेवीहरुलाई समाते । उनले तिनलाई अस्पतालका लागि आवश्यक सामानहरु सहयोग गर्न अनुरोध गरेका थिए । स्थानीय समाजसेवीहरुले पनि डा. पोखरेलको कुरा मानेर सहयोग गर्दैगए । 

डा. पोखरेल भन्छन्, “धनकुटाका एक समाजसेवीले तीन हजार रुपैयाँ दिएका थिए, डोनेसन । त्यही रकमले आँखा उपचारका लागि केही सामान र उपकरण मँगाएर मैले धनकुटामै आँखाको अपरेशन पहिलो पटक गरेको थिएँ ।”

उनी आफ्नो कर्मप्रति लगनशील थिए । त्यसैले काममा मात्रै ध्यान दिए । यसरी काम गर्दै जाँदा उनको सरुवा धनकुटाबाट जलेश्वर अस्पतालमा भयो । जलेश्वरमा केही समय काम गरेपछि उनी विराटनगर अस्पताल पुगे । 

त्यसैताका गोरखापत्रमा बेलायत पढ्न जानका लागि स्वास्थ्य मन्त्रालयको विज्ञापन छापिएको थियो । इएनटी अर्थात नाक कान घाँटीको ‘डिएलओ’का लागि आह्वान गरिएको थियो । त्यतिखेर मोहनबहादुर सिंह त्यहाँका बडाहाकिम थिए । उनले गोरखापत्रमा विज्ञापन देखेर डा. रामप्रसादलाई भनेछन्, “ए डाक्टर साहब । विज्ञापन आएको रहेछ नी । एप्लाई गर्ने होइन ?” 

डा. पोखरेलले पनि सोझो पारामा भनेछन्, “मेरो सोर्सफोर्स छैन । म एप्लाई गर्दिनँ ।”

बडाहाकिमले डा. पोखरेललाई भनेछन्, “दुई रुपैयाँको टिकट टाँसेर निवेदन दिने त हो नि । अरु केही गर्नु पर्दैन ।” डाक्टर पोखरेलले पनि दुई रुपैयाँको टिकट टाँसेर निवेदन पठाए स्वास्थ्य मन्त्रालयमा । बाँकी जे होला होला भन्ने सोचेर काममा लागे ।
करिब दुई महिना पछि उनी अन्तर्वार्ताका लागि छानिएको सूचना आयो । उनी आफै छक्क परे । 

इएनटीमा डिएलओको विशेषज्ञ तालिमका लागि भएको अन्तर्वार्तामा उनी सफल भए । र केही साता भित्रै उनी दिल्लीबाट फ्र्याँकफर्ट हुँदै बेलायतको हिथ्रो विमानस्थलमा ओर्लिए । 

त्यहाँ पुगेको केही दिन पछि उनको ईएनटीको तालिम सुरु भयो । 

०००

आँखाको सर्जन भएर फर्किए पछि जतिकै दिक्क लागे पनि उनले काम गर्दै जानुमा नै आफ्नो भलाई हुने सम्झिए । काममा नै ध्यान दिनु पर्छ भन्ने उनलाई लाग्यो । जनविश्वास बटुल्नु पर्छ भन्ने ध्याउन्नमै उनी केन्द्रित भए । यहीँबाट उनलाई लाग्यो, अब आँखाको उपचारका काममा सरकारको मुख ताकेर हुँदैन । आफैले केही गर्नुपर्छ । 

उनले गोरखापत्रमा आँखा रोगका विषयमा लेखहरु लेखे । यस विषयमा जानकारी दिने प्रयास गरे । रोटरी क्लबमा गएर आँखा रोगका विषयमा प्रवचनहरु दिए । 

एक पटक उनी ‘प्रिभेन्सन एण्ड कन्ट्रोल अफ ब्लाइन्डनेस’ विषयक सम्मेलनमा दिल्ली पुगे । त्यसबेला मन्त्रालयबाटै उनी छानिएका थिए । आँखा चिकित्सकहरु र डब्लु एच ओका प्रतिनिधिहरु पनि त्यहाँ थिए । 

उनले त्यस कार्यक्रममा नेपालमा आँखा उपचारको क्षेत्रमा देखिएको समस्याहरुका विषयमा आफ्नो कार्यपत्रमार्फत जानकारी गराए । यसका साथै नेपाललाई आँखा उपचारका क्षेत्रमा सबैबाट सहयोग मिल्ने आशा गरिएको अभिव्यक्ति दिए ।  

त्यो सम्मेलनमा निकोल ग्रासेट नामक फ्रेन्च महिला थिईन । उनी डब्लु एच ओबाट आएकी थिइन । उनी लन्च ब्रेकमा डा. पोखरेलसँग कुरा गर्न आईन् । उनले डा. पोखरेलसँग नेपालका विषयमा सारा कुरा बुझ्ने प्रयत्न गरिन् । केही समय पछि उनी नेपाल नै आईन् । 

नेपालमा आँखा रोगका विषयमा जानकारी मिले पछि उनैले डा. पोखरेलसंग अनुमति लिएर युरोपबाट सहयोग रकम उठाउन शुरु गरिन् । त्यो पैसा नेदरल्याण्ड, नर्वे, फ्रान्स र जमर्नीबाट उठेको थियो । त्यो राम्रो रकम भएको डा. पोखरेल भन्दै थिए ।  

त्यो रकमलाई प्रयोग गर्नका लागि डा. पोखरेलले स्वास्थ्य मन्त्रालयको अनुमति लिएर एउटा संस्था स्थापना गरे । नाम दिए,  ‘प्रिभेन्सन एण्ड कन्ट्रोल अफ ब्लाईन्डनेस प्रोग्राम’ । यसका लागि योजना आयोग र अर्थ मन्त्रालयको सहमति पनि लिइएको थियो ।

यसरी नेपालको तर्फबाट डा. पोखरेल र डब्लु एच ओका तर्फबाट निकोलले सही गरे । त्यस पछि सरोकारवाला निकायसंग अनुमति लिएर ब्लाइण्डनेस सर्भेको काम सुरु भयो । 

प्रा. डा. पोखरेल भन्छन्, “त्यसबेला सर्भे गर्ने जान्ने मान्छे पनि नेपालमा थिएनन् ।”

त्यसैले अमेरिकीहरुले सर्भेमा सहयोग गरे । तिनीहरुले छ महिना नेपालमा बसेर सर्भेको काम गरेका थिए । 

तिनताक हिप्पीहरु भारतमा आएर शरण लिएर बसेका थिए । पछि केही हिप्पी नेपाल पनि भित्रिए । त्यसैमा थिए ल्यारी ब्रिलेन्ट । जसलाई निकोलले नेपाल ल्याइन् । उनी सर्भे गर्ने समूहमा आवद्ध भए । वास्तवमा त्यसबेला अमेरिकन हिप्पीहरुले नेपालको आँखा रोगको सर्भेमा ठूलो सहयोग गरेको प्रा.डा. पोखरेल सम्झिन्छन् । 

त्यसैबेला गरिएको सर्भेले देखायो नेपालमा अन्धोपनको मुख्य कारण मोतीबिन्दु भएको । त्यसपछि आँखा सम्बन्धी रोग ट्रोकोमा पनि देखियो । (केही समय अघि नेपालबाट ट्रोकोमा निर्मुल भएको डब्लु एच ओले घोषणा गरिसकेको छ ।)

त्यसबखत मोतीबिन्दु पूर्वी क्षेत्रमा र ट्रोकोमा पश्चिमि क्षेत्रमा बढी रहेको पाइएको थियो । सर्भेले नै देखाएको अर्को आँखा रोग थियो, जिरोक्स्लोमी । यो कुपोषणका कारण उत्पन्न हुने आँखाको रोग थियो । 

प्रा.डा. पोखरेलका अनुसार यसरी आँखाको रोगका बारेमा सर्भे गरिसके पछि यस विषयमा स्वास्थ्य मन्त्रालयमा कुरा उठाइयो, तर स्वास्थ्य मन्त्रालयले यता तिर खासै ध्यान दिएनन् । 

तथापि, प्रा.डा. रामप्रसाद पोखरेलको कृयाशिलतामा नेपाल आँखा अस्पतालको स्थापना गरियो । त्रिपुरेश्वरका स्थानीय समाजसेवीहरुको सक्रियतामा नेपाल आँखा अस्पतालको थालनी भएको थियो । 

त्यहाँ रहेको एउटा पुरानो खाली धर्मशालामा आँखा अस्पतालको संचालन थालियो । त्यसै अनुरुप आँखा उपचारका लागि चाहिने सामानहरु पनि जोडिँदै गइयो । यहीँबाट सुरु भयो, आँखाका रोगीहरुको उपचार प्रकृया । 

आँखा अस्पतालको स्थापना पछि उदघाट्नका बखत तत्कालीन रानी ऐश्वर्यले डा. रामप्रसाद पोखरेललाई ‘काठमाडौंमा त आँखा उपचारका लागि व्यवस्था गर्‍यौं । काठमाडौंबाट बाहिरका लागि के गर्दैछौ ?’ भन्ने प्रश्न उठाएकी थिइन् । यसले डा. पोखरेलमा नेपालभरि नै आँखा उपचार सेवालाई फैलाउने इच्छा मौलायो । र यहीबाट उनले सुरु गरे यसका लागि थप काम । 

आँखा अस्पतालमा सक्रिय डा. रामप्रसाद पोखरेलले आँखा अस्पतालको समूहलाई नै परिचालित गरि नेपाल नेत्रज्योति संघको स्थापना गरे । नेपाल नेत्रज्योति संघले देशका विभिन्न स्थानमा आँखा अस्पताल स्थापना गर्ने अवधारणा ल्यायो । यसका लागि मास्टर प्लान पनि उनैले तयार गरे । 

त्यहि अनुरुप लहानमा आँखा अस्पतालको स्थापना भयो । डब्लु एच ओबाट आएको पैसा थियो । यसरी लहानमा सगरमाथा चौधरी आँखा अस्पताल स्थापना भयो । त्यहाँका लागि उनले जर्मनबाट डाक्टर हेनिङलाई झिकाए । उनले नेपाल बसेर नेपाली सिके । र लहान गए । उनी लहानमा ३१ वर्ष बसे । आज लहानको आँखा अस्पताल विश्वकै दोस्रो ठूलो आँखा अस्पतालमा गनिन्छ ।

यसैगरी उनले अरु पनि केही विदेशी आँखा विशेषज्ञहरु झिकाएर नेपालका विभिन्न क्षेत्रमा आँखा अस्पतालहरुको स्थापनामा जोड दिँदै गए । 

यसरी नेत्रज्योति संघको पहलमा भैरहवा, नेपालगंज र विराटनगरमा पनि आँखा अस्पतालको स्थापना गरियो । आज हरेक आँखा अस्पतालमा अत्याधुनिक उपकरणहरुकासाथ उपचार सेवा प्रदान गरिँदै आइएको छ । 

०००

त्यसबेला नेपालमा आँखाका डाक्टरहरु कम थिए । उनको प्राथमिकतामा आँखाको उपचारमा दक्ष चिकित्सकहरु बढाउनु पनि थियो । त्यसैले उनले भारतका विभिन्न प्रतिष्ठित व्यक्तिहरुसित सम्पर्क गरेर नेपालमा आँखा उपचारका लागि आँखा रोग विशेषज्ञको संख्या बढाउने प्रयासमा जोड दिनथाले । उनले धेरै डाक्टरहरुलाई आँखाको विशेषज्ञ तालिमका लागि भारतका विभिन्न मेडिकल कलेजहरुमा पठाएर एमडी एमएस लिने व्यवस्था मिलाउँदै गए । आँखा रोगको उपचारमा दक्ष जनशक्ति तयार हुँदै आयो ।

प्रा.डा. पोखरेल भन्छन्, “मैले त्यो समयमा चुनौति स्वीकार गरेरै यो काम थालेको थिएँ । सरकार सकारात्मक थिएन् । तर पनि मैले काम गरिरहेँ । विदेशीहरु सित सहयोग मागेरै पनि आँखाको उपचारमा लागिरहेँ ।”

उनले आँखा अस्पतालका लागि दिएको योगदान र गरेको कामले नै उनी ‘आँखा बा’ का नामबाट नेपालमा चिनिएका छन् । उनले धेरै डाक्टरहरुलाई आँखाका क्षेत्रमा ल्याए । उनका चेला धेरै छन् ।

उनैले ‘ओ.ए.’ (अप्टिमेट्री असिस्टेन्ट) को तालिम दिन सुरु गरे । दक्ष प्राविधिक जनशक्तिको अभावलाई पूर्ति गर्नु उनको मुख्य उद्देश्य भयो । एमडी वा एमएस विशेषज्ञताका लागि डाक्टरलाई विदेश तालिमका लागि पठाउने मात्रै नभएर अप्टीमेट्री सहायकको तालिम दिने नयाँ कामको सुरुआत गर्नु पनि ठूलो कार्य थियो । यसरी नै आँखा उपचारमा दक्ष जनशक्ति तयार हुँदैगए । आज उनको सिको गर्दै धेरै मुलुकहरुले ‘ओए’ तालिम दिँदै आएका छन् । त्यो पनि डा. पोखरेलले नै तयार पारेको पाठ्यक्रमका आधारमा । 

प्रा.डा. रामप्रसाद पोखरेलकै सक्रियतामा तिलगंगा आँखा उपचार कार्यक्रम पनि सुरु भयो । यतिबेला उनका अति विश्वासपात्र चिकित्सक डा. सन्दुक रुईतले तिलगंगाको कमान सम्हालेका छन् । उनी अत्यधिक खुशी छन्, डा. रुईतले तिलगंगा आँखा प्रतिष्ठानलाई यो उचाइमा पुर्‍याएकोमा । 

प्रा.डा. पोखरेल भन्छन्, “आज पनि आँखाका डाक्टरहरुको आवश्यकता छ । आज अन्य रोगका कारण आँखाका रोगी बढिरहेका छन् । सुगर, प्रेसरले आँखालाई असर पु¥याइरहेको छ । त्यसैले रेटिनालगायत अन्य विषयमा आँखाका डाक्टर धेरै चाहिएको छ । त्यसैले यतातिर सरोकारवालाहरुले सोच्ने बेला भएको छ ।”

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro