यस देशमा हामी र हामीजस्ता व्यक्तिले धेरै मेहनत गरेका कारण चोरी पेसालाई संस्थागत गर्नसक्ने अवस्था आएको हामी सबैले महसुस गरेका छौँ । तर, अझै पनि खाने बेलामा पछि पर्ने, लोकलाजले यताउति गर्न धक मान्ने केही व्यक्ति बाँकी छन् ।
त्यस्ता ‘पाखण्डी’ का कारणमात्र हामी यस पेसामा संलग्न सबैले खुलारूपमा आफ्नो पेसा गर्न नपाएको र संविधानले नै संगठन बनाउन दिएको अधिकारलाई उपभोग गर्न नपाएको अवस्था छ । यसबाट हामीलाई चिन्ता हुनु स्वाभाविकै हो । अब संसारमा पनि नैतिकता, इमानदारी र सच्चरित्रता देखाउने दाँतमात्र भएको सत्य ट्रम्प काकाको ट्विटमा पनि बेलाबेलामा पढ्न पाइएकै छ । त्यसैले भोलि विश्वका अन्य देशले चोरीको पेसालाई वैधानिकता दिनुअघि नै नेपालले यस कार्यमा अग्रता लेओस् भन्ने मेरो आग्रह हो ।
आखिरमा हामीले गाँजाको त्यत्रा बोट जलायौँ, अहिले पश्चिमा विश्वले बिस्तारै गाँजालाई वैधानिकता दिँदैआएका छन् । ऊ बेला तिनै पश्चिमाको लहैलहैमा हामीले गाँजाको खेती नष्ट नगरेको भए खाडी मुलुक तेलमा धनी भएजस्तै हामी गाँजाले धनी हुन्थ्यौँ । कोलम्बियाका लागु पदार्थवाला कस्ता धनी छन् ? हाम्रा गाँजावालाको भने बेहाल छ । त्यही बैंककमा पनि अझै ठूलो तस्कर भनेर हाम्रो सम्मान छैन । अझै पनि बेलामा बुद्धि नपुर्याए हामी पछि पर्ने डरको कारणले पनि यथासक्य चाँडो चोर महासंघ गठन होस् भन्ने माग राखिएको हो ।
राष्ट्रिय चोर महासंघले साधारण चोरीलाई निमिट्यान्न पारी जनतालाई सहुलियत दिनेछ । अब उप्रान्त कसैले खल्ती काटेर वा घरको ढोका फोडेर चोर्न पाउनेछैन । किनभने महासंघ स्थापनापछि हामीले गर्ने काम खुला र पारदर्शी हुनुपर्नेछ । अरूले थाहा नपाउने गरी अर्काको सम्पत्ति चोर्दै आएको हुनाले चोरीको धन देखाउन लाज भएको कारणले पनि अब यस प्रथामा परिवर्तन ल्याउन अत्यन्त जरुरी भएको हो ।
चोर महासंघको गठन र भ्रष्टाचारलाई पारदर्शी बनाउनेबित्तिकै देशभर दलाली पेसाको अन्त्य भई काम गर्ने र गराउनेबीचमा मात्र विनिमय हुनेहुँदा तिर्नेलाई कम पर्ने र पाउनेले धेरै पाउने अवस्था आउँछ ।
उदाहरणका रूपमा एउटा सुरक्षा प्रमुखको नियुक्तिकै प्रसंग उप्काऊँ । एउटा अमुक व्यक्ति प्रमुख भयो भने पहेंलो धातु वा नाम नखुलेको कालो पदार्थ ओसारपसारमा रोकावट नआउने सम्भावना हुन्छ । कुनै पैसावाल अमुक व्यक्तिलाई पदमा पु¥याउन चाहन्छ । तर, पारदर्शीताको अभावका कारण उसले त्यो कुरा सिधै नियुक्त गर्ने व्यक्ति वा सो व्यक्तिको पनि ‘आका’ लाई भन्न सत्तैmन । हुन्छ के भने नियुक्त हुने व्यक्तिले १५ करोड पाए आफू नियुक्त भइदिन्छु र उसको काम सबै गरिदिन्छ भनेर वचन दिन्छ । त्यो कबुल गर्ने कर्मचारी आफँै पनि मन्त्रीकोमा पुग्दैन, कुनै दलाल प्रयोग गर्छ ।
दलाललाई उसले ‘१० करोड दिन्छु मलाई त्यो पदमा पु¥याईदेऊ’ भन्छ । अब दलाल एकदम इमानदार छ भने पनि कम्तीमा दुई त आफैँ राख्छ र मास्तिरका व्यक्तिलाई ८ आउने कुरा गर्छ नत्र त उसले दिने ५ मात्र हो । यसरी कुरो अघि बढ्दा नियुक्त गर्ने मन्त्री वा उसको पनि ‘आका’ वा भनौं स्वयंभु वा बुढानीलकण्ठले तिर्नेको आधा पनि पाउँदैनन् । तर तिर्नेले त जनतालाई १५ को १५० हुने गरी ठग्छ वा तस्करी गर्छ । अब भन्नुस्, भएन अन्याय ? ती सज्जन सुन व्यापारी मित्रले उनै ‘आका’कोमा गएर सिधै ‘फलानोलाई नियुक्ति दिनुस् १० लिनुस्’ भन्न पाएको भए उस्को ५ त सिधै बच्थ्यो । यता ती आकालाई पनि दलालमार्फत आउनेभन्दा करिब दोब्बर बढी आम्दानी हुन्थ्यो । अनि बल्ल पो कुरा मिल्थ्यो त । नत्र त सिधै ‘काम गर्ने कालु मकै खाने भालु’ भनेजस्तो भएन ?
कसैले भन्ला, चोरको संगठन नै बनेको छैन कसरी महासंघ बनाउने ? हो यहीँ हो हामीले छलाङ मार्नुपर्ने । अब संघ त जत्ति पनि छन्, अगाडि नआएका न हुन् । अख्तियारसँग मिलाएर खानेको समूह छैन ? राजस्वसँग सेटिङ मिलाउनेको ग्याङ छैन ? अनि भन्सारमा मिलाएर खानेको अर्को ग्रुप छैन ? तेल ल्याउँदा चोर्ने, पानीमा चोर्ने, दूधमा बदमासी गर्न पाऊँ भन्नेको आआफ्नो संगठन छैन ? नक्कली औषधि दिने पसले, गर्नै नपर्ने जाँच गराएर पैसा कमाउने डाक्टर, मिटर बिगारेर ठग्ने पम्प, बिजुलीको मिटर घुमाएर हसुर्ने कर्मचारी, मालपोतमा बसेर मालदार बन्ने कर्मचारी कति हुन् कति उदाहरण !
अनि यिनको त आपसी चिनजान मेलमिलाप र सेटिङ मिलेकै छ । खाली नामाकरण गर्नेसम्मको कुरा न भयो । अब नामाकरण गर्दा पनि एकदम सिधा सिधा गर्नुपर्छ ।
अब यस देशमा चोरीलाई सर्वमान्य पेसा बनाउनुपर्छ । जुन पेसामा सबैभन्दा धेरै व्यक्ति आश्रित छन्, ठूला नेता आफ्नो भविष्य बनाउन जहाँ बसेका छन्, धर्मगुरु चेलासहित जहाँ छिरेका छन् त्यही पेसामा लुकेर काम गर्नुपर्ने ? यो अति भयो ! अब सबथोक पारदर्शी गरिनुपर्छ । त्यसैले यस पेसामा लागेका व्यक्तिलाई पेसाकै नामबाट बोलाइनुपर्छ । साधारण पत्रकार हो भने पत्रकार, यो महासंघको सदस्य हो भने ‘लेखन चोर विशेषज्ञ’ ।
साधारण वकिल हो भने वकिल, हाम्रो सदस्य हो भने ‘कुशल बोली चोर’ । तर, चोरीमा पनि बौद्धिक चोरी गर्नेलाई बढी मान्यता दिइनेछ र अब उप्रान्त पनि बौद्धिक चोरलाई मात्र विश्वविद्यालयको कुलपति बनाइनेछ । यस्ता कुलपतिलाई ‘प्राज्ञिक चोर’ भनेर पनि विशेष सम्मानपूर्वक नाम लिइनेछ ।
अन्य पदहरूमा नियुक्त हुनेलाई पनि सोही अनुसारको पद र विभूषणले सम्मान गर्ने जसले गर्दा तिनको क्षमता र नैतिकतामा कसैलाई अन्योल नहोस् । जस्तो –पैसा दिएर राजदूत नियुक्त हुनेलाई विशेष सम्मान स्वरूप ‘डिम्लोम्याटिक चोर’, निर्वाचन आयोगमा पैसा तिरेर आयुक्त हुनेलाई ‘चुनावी चोर’, पैसा तिरेर राजस्वमा पद खान जानेलाई ‘राजस्व चोर’ जस्ता पदवी दिइनेछ ।
देशै चोर्न पल्केका केही विशेष व्यक्तिलाई भने राष्ट्रका सबैभन्दा शक्तिशाली नेता र पार्टी अध्यक्ष बनाइनेछ । अब उप्रान्त जसरी जंगलमा सिंहले सिकार खाएपछि मात्र अरूले भाग बिलो पाउँछन् त्यस्तै यिनले छाडेपछि मात्र अरूको भाग लाग्नेछ ।
पत्नी, दाजु, भाइ, साला, भेना, छोरा, साथीआदि नाता लगाएर गरिने दलालीको अन्त्य हुनेछ । अब उप्रान्त भविष्यमा गरिने चोरीका लागि सबैभन्दा सक्षम चोरले सबैभन्दा ठूलो नेतालाई सिधै भेटेर भविष्यमा उसले चोर्न सक्ने रकमको ठूलो भाग पहिल्यै बुझाउनु पर्नेछ ।
अब पानी, दूध, तेल र अन्य खानेकुराको प्याकेटमा नै राष्ट्रिय चोर महासंघलाई बुझाएको ट्याक्स भनेर पहिल्यै उल्लेख हुनेछ । हरेक काममा चोर महासंघले चोरीको भाग कति भनेर तोकिदिनेछ र त्यसै अनुसार सबै मूल्य निर्धारण हुनेछ । त्यसैले यो महासंघ गठन नहुन्जेल यस देशमा राम राज्य नआउने पक्का भएकाले सबैको यसमा सहयोग चाहिएको छ ।
विनित,
एक सच्चा चोर