दुई साधु जङ्गलमा हिँड्दै थिए । साँझ परेको थियो । बृद्ध साधुले जङ्गलमा कुनै भय छैन भन्दै चेला साधुलाई अनायासै सोधे । चेला छक्क परे । उनले मनमनै सोचे । यो जङ्गल सयौं चोटी रातविरात हिँडेका थियौँ दुवै जना । कैयौं रात सँगै जङ्गलमा बास बसेका थियौँ । कहिल्यै गुरूलाई डर लागेको थिएन । तर, आज यिनको मनमा भय किन आयो ?
जङ्गलको यात्रा लामो थियो । बृद्ध साधु असिनपसिन भएका थिए । बाटो मुन्तिर एउटा इनार देखियो । गुरूले आफ्नो झोला चेलालाई बोक्न दिए । इनारमा पानी पिउन गए । अर्का साधुलाई भयको कारण के होला भन्ने खुल्दुली थियो । पक्कै भयको कारण यही झोलामा हुनुपर्छ भन्ने सोचे । झोलामा हेरे । गम्छाले सुनको इँटालाई बेरेर राखेको देखे । भयको कारण पक्कै यही इँटा हुनुपर्छ भन्ने ठाने । हत्तनपत्त सुनको इँटा झिकेर खोल्सोमा मिल्काए । त्यत्रै आकार र वजनको ढुङ्गा गम्छाले बेरेर झोलामा राखे । बृद्ध साधु हतारिँदै आए । आफ्नो झोला लिए र काँधमा भिरे । झोला छामे । लामो सास फेरे । सँगसँगै अगाडि बढे ।
जङ्गल घनघोर थियो । बाटो लामो थियो । रात छिप्पिँदै थियो । बृद्ध साधु सशंकित हुँदै हिड्दै थिए । बेला बेला सुटुक्क झोला छाम्थे । असिनपसिन भएका थिए । चेला साधुले त्यहीँ जङ्गलमा बास बसौँ, साहै्र थाकियो भने । तर, बृद्ध साधुले होइन जङ्गलमा बास नबसौं । जङ्गल पार गरेर गाउँमा बास बसौँ भने । गुरूको बचन कसरी नमान्नू ? सकी न सकी हिँड्दै थिए । एक्कासी घोडाको टाप बजेको आवाज आयो । बृद्ध साधु सशंकित भए । यो केको आवाज हो ? को आइरहेको छ ? उनले हड्बडाउँदै भने ।
चेला साधु भने निस्फिक्री हिँड्दै थिए । उनी भयभीत थिएनन् । त्यसैले उनी निश्चिन्त थिए । उनले गुरुलाई ढाडस दिँदै भने त्यस्तो आवाज केही पनि आएको छैन । तपाईलाई भ्रम भएको हो । तपाइँ निश्चिन्त हुनुहोस् । कोही पनि आएको छैन । तपाई भयभीत हुनुको कारण मलाई थाहा थियो । त्यसैले तपाईँको भयको कारणलाई मैल इनार छेउको खोल्सामा मिल्काइसकेको छु । तपाई ढुक्क हुनुहोस् । तपाईले अब कुनै भय लिनु पर्दैन – चेलाले भने । यती सुनेपछी बृद्ध साधुले हत्तनपत्त झोला खोतले । झोलामा सुनको इँटा थिएन । उनले त ढुंगा बोकिरहेका थिए । ढुंगा सुनको इँटा हो भन्ने भ्रम पालिरहेका थिए । उनको भ्रम हट्यो । अनि भय पनि । अट्टहास हाँसो हास्न थाले उनी । यति लामो बाटो भयभीत हुँदै हिंँडेकोमा आफैँलाई खिसी गरे ।
भयको कारण उब्जिएको तनाव शिथिल भयो । गुरूले हाँस्दै भने – अब भय छैन । भयभीत हुने कुनै कारण छैन । केहीको डर भएन अब । गाउँ धेरै टाढा छ । थाकियो । त्यसैले यही जङ्गलमा बास बसौँ । रुखमुनि बिसाए । निन्द्रामा दुवै मस्त भए ।
हिजो ०५२–०६२ सालका पुष्पकमल दाहाल ‘प्रचण्ड‘ । छापमार सँगै हिँड्थे । सँगै खान्थे । कहिले गाउँमा बस्थे । कहिले जङ्गलमा । उनमा आत्मविश्वास थियो । उनी ऊर्जावान् थिए । निर्धक्क थिए । उनको एक इसारामा हजारौं लडाकु मार्न, मर्न तयार हुन्थे । उनमा समृद्ध देशको सपना थियो होला । आफ्नो ज्यान भन्दा जनताको उज्ज्वल भविष्यमा हिँडेका हुन् भन्ने विश्वास थियो छापामारमा । त्यसैले उनी जनतासँग सुरक्षित थिए ।
उनको जीवनमा कहिले भय नै आएन भनेको होइन । भय मानव जीवनमा आउँछ नै । तर, भय आए पनि भयभीत नभए आँफै हराएर जान्छ । जति भय आए पनि उनले उपेक्षा गरे । भयले जरो गाड्न पाएन । हुर्कन बढ्न पाएन । भय समुद्रको लहरजस्तै आयो । त्यसरी नै गयो । त्यसैले उनी भयभीत हुनु परेन । तनावमा परेनन् । ‘जनयुद्ध’ को नेतृत्व गरे । शान्ति प्रक्रियामा सामेल भए ।
आजका ‘प्रचण्ड’ सुरक्षित महलमा बस्छन् । महल अग्लो पर्खालले घेरिएको छ । पाँच दर्जन सुरक्षाकर्मी गोलीगट्ठासहित उनको सुरक्षामा रातदिन तैनाथ छन् । सबैभन्दा ठूलो दलको शीर्ष नेता भएका छन् । उनकै दलको सरकार छ । अलल्य सम्पत्तिका मालिक भएका छन् भनिन्छ । तर, पनि ढुक्क हुन सकेका छैनन् । उनको जीवनमा चयन छैन । शान्ति छैन । निन्द्रा छैन । भयभीत छन् । आफूलाई मार्ने धम्की आयो भन्दै छन् ।
आफैँले प्रशिक्षित गरेको चेलाले मार्ने भयो भनेर त्रसित छन् । आफू नरहे गणतन्त्र खतरामा पर्छ भन्दैछन् । सार्वजनिक सभामा रोइलो गर्दैछन् । किन ‘प्रचण्ड’ यसरी भयभीत बन्न पुगे ? साँच्चै ! भयको कारण ‘विप्लव’ नै होलान् कि ? अरू केही ?