site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
रवीन्द्र दाइलाई पार्टीभित्र भावी प्रधानमन्त्रीकै रूपमा हेरिएको थियो 
Sarbottam CementSarbottam Cement

२०५४ साल नेपाल कम्युनिस्ट पार्टीलाई भ्रामरीले छोप्यो । एउटै सिरानी गरेर सुतेको दाजुभाइ भिन्न भएझैँ सग्लो घर चिरा पर्‍यो । भर्खर एकतृत हुँदै गरेको कम्युनिस्ट आन्दोलन विभाजनको चक्रव्यूहमा फस्यो । एउटै गन्तव्य हिँडेकाहरूको बाटो अलगअलग भयो । नेकपा एमाले फुटेर एमाले मालेमा विभक्त भयो  ।

एमाले इतरका शक्तिहरूलाई हर्षबढाइँ हुँदो हो । तर, एमाले पार्टी निर्माणका लागि रगत पसिना बगाएका निम्ति भयानक दुस्वप्न थियो । कयौं रात ऐंठन भइरह्यो । भर्खरै मूल घरबाट अलग्गिएको । अनेरास्ववियूलाई विद्यार्थीमाझ लोकप्रिय हुनु थियो । अलग पहिचान दिनु थियो । सयौँ विद्यार्थीहरूलाई प्रगतिशील झन्डामुनि गोलबन्द गर्नु थियो । आन्दोलनको आँधीबेहरी सिर्जना गरेर मेचीमहाकाली जागरण पैदा गर्नुथियो ।

२०५५ सालको हिउँद । सायद फागुनको महिना । भर्खर अनेरास्ववियूमा आवद्ध भएकी थिएँ । विद्यार्थी आन्दोलनप्रति लत बस्दै थियो । स्कुले उमेर । किशोर चेत । राजनीतिप्रति सम्मोहन पैदा भइसकेको थिएन भनौँ । एकदिन हल्ला सुने– पाँचखालमा विशाल भेला डाकिएको छ  । जिल्लाभरबाट विद्यार्थी भेला हुँदैछन् । प्रमुख अतिथि छन्–जाज्ज्वल्यमान एवम् उदीयमान विद्यार्थी नेता रवीन्द्र अधिकारी ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसअघि विद्यार्थी नेताहरूसँग भेट नभएको होइन । काभ्रेकै तिमालमा आयोजना भएको जिल्ला सम्मेलनताक राजेन्द्र राई, वसन्त मानन्धर, विशाल भट्टराई दाइहरूसँग भेट भएको थियो । विद्यार्थी आन्दोलनप्रतिको तीव्र चासो पाँचखाल भेलाले नै पैदा गर्‍यो ।
देशकै ठूलो पीएन क्याम्पस पोखरा र त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरका स्ववियु सभापति, स्ववियु काउन्सिलका अध्यक्ष, त्रिवि सभाका सदस्यसमेत भइसकेको अधिकारी विद्यार्थीको चासोको केन्द्र हुनुहुन्थ्यो ।

रवीन्द्र अधिकारी पाँचखाल सुनेपछि मेरो केटौले दिमाग पनि कौतूहलताले भरिएको थियो । र, उनीबारे मस्तिष्कमा अनेकौ विम्बका छटा कुँदिएका थिए । होचो कद । खिरिलो ज्यान । गज्याङगुजुङ कपाल । मैले त्यतिबेला देखेको रवीन्द्र दाइ सोचेभन्दा विल्कुल भिन्न हुनुुहुन्थ्यो ।

Global Ime bank

\"\"

वाक्पटु रवीन्द्र दाइ विद्यार्थीबीच निकै लोकप्रिय हुनुहुँदो रहेछ । उहाँको भाषण सुन्न विद्यार्थीमात्र होइन, वयोवृद्धसमेत झ्याम्मिएका थिए । उनको जादुयी मुस्कान अनेरास्ववियूमा गोलबन्द हुने आधार थियो । ऊर्जाशील भाषण र देशभक्तिको ओजले विभाजनको छोटो समयमै अनेरास्ववियूले देशभर जागरण पैदा गर्ने अस्त्र बनेको थियो ।

० ० ०

स्कुल कमिटीहुँदै जिल्ला कमिटी सदस्यमा निर्वाचित भएकी थिएँ । पार्टी भवितव्यमा परिहाल्यो । विभाजनको मार खेप्यो । विभाजनपछि संगठनका सक्रिय हुने कि न हुने दोधारमा थिएँ । तर, रवीन्द्र दाइको प्रेरणाकै कारणले हुनुपर्छ विद्यार्थी आन्दोलनबाट विमुख हुन सकिनँ । अनेरास्विवियूको काभ्रे जिल्ला उपाध्यक्ष हुँदै रापस (राष्ट्रिय परिषद् सदस्य) निर्वाचित भएँ । र, रवीन्द्र दाइले नै केन्द्रीय कमिटीमा मनोनीत गर्नुभयो । यसरी मेरो राजनीतिको जग र छहारी दुवै रवीन्द्र दाइ बन्नुभयो ।

० ० ०

अनेरास्ववियू (मालेको विद्यार्थी संगठन) लाई विभाजनपछि औचित्य पुष्टि गर्न हम्मेहम्मे परेको थियो । संगठनमा अनेरास्ववियु (एमालेको विद्यार्थी संगठन) को एकलौटी वर्चस्व थियो । देशभरका स्ववियुमा अनेरास्ववियुकै नेतृत्व थियो ।  शून्यमा थियो अनेरास्ववियू । ऊर्जावान् नेतृत्वबाहेक केही थिएन । कार्यकर्ताको खडेरी लागेको हुँदो हो ।

तर, त्यो रिक्तता धेरैबेर रहन पाएन । विभाजनपछि नेतृत्व सम्हालेका योगेश भट्टराईले आन्दोलनको कमाण्ड सम्हाल्नुभयो । रवीन्द्र दाइ त्यसको आर्किटेक । कुरैकुरामा रवीन्द्र दाइ भन्नुहुन्थ्यो– “संगठनले आन्दोलन निर्माण गर्ने होइन, आन्दोलनले संगठन निर्माण गर्ने हो ।”
२० को दशकमा अनेरास्ववियुको जन्म भयो । ३० को दशकमा टंक कार्कीले विद्रोहको विम्ब बनाउनु भयो । बहदलीय व्यवस्थाको अभ्युदयपछि ५० को दशकका राष्ट्रियता र देशभक्तिको जागरणसँग विद्यार्थी आन्दोलनलाई जोड्न सफल हुनुभयो– योगेश, रवीन्द्र दाइ ।
म रापस थिएँ । भर्खर प्रवेशिका परीक्षा दिएकी थिएँ । जिल्लामै खबर पुग्यो– अनेरास्ववियूको नेतृत्वमा योगेश भट्टराईसहितको एक टोली कालापानी मार्चपासमा निस्कँदैछ ।

रवीन्द्र दाइ खै कुन व्यवधान आइपरेर जान पाउनुभएन । भट्टराईले शिव गुरुङसहितको टोली लिएर मार्चपासमा निस्किनुभयो।

महाकाली सन्धी अनुमोदनको विषयलाई लिएर पार्टी विभाजन भयो । एमालेसहितको विपक्षी कित्ताबाट मालेलाई उग्रराष्ट्रवादी करार गरिरहेछ । त्यति नै बेला भारतीय फौजलाई ‘कालापानी छाड्, हाम्रो भूमि फिर्ता दे !’ गोलीले भुट्ने त होइन भनेर थरथरी भएँ । तर, दुई सातापछि टोली काठमाडौं फर्किएको खबर प्राप्त भएपछि मात्रै मन हलौँ भयो ।

बहुदल आएपछि शिक्षामा चरम निजीकरण भयो । सत्तारूढ घटक नै त्यसमा सक्रिय रहे । राजनीतिबाट किनारामा लागेका बहुदल ल्याउन सक्रिय रहेकाहरूले नै शिक्षा व्यापारको थलो बनाए । त्यसबाट रुष्ट हुनुहुन्थ्यो– रवीन्द्र दाइ । रापसका बैठकमा पनि त्यो कुरा मुखर हुन्थ्यो । सरकारी स्कुल सुक्दै जाने, निजी मोटाउँदै जाने अवस्था अन्त्य नभए  सर्वसाधारणले शिक्षा ग्रहण नै गर्न नआउने परिस्थिति सिर्जना हुन्छ भन्ने भयले उहाँले शैक्षिक आन्दोलनको शंखघोष गर्नुभयो ।
केशर महलमा थियो शिक्षा मन्त्रालय । सर्वसुलभ र गुणस्तरीय शिक्षाको माग राख्दै ज्ञापनपत्र बुझायौँ । सरकारले के सुन्थ्यो !

त्यसपछि हामी मन्त्रालयको चौरमा दिनरात अनसन बस्यौँ । म सरस्वती पोखरेल, शोभा कोइरालालगायत अनसनमा बसेका थियौँ । रातभरि पानी परिरहन्छ । स्याँठ उस्तै छ । सरकार भने मस्त निद्रामा परेझैँ छ  । तर पनि रवीन्द्र दाइको अनुहारमा रत्तिभर थकान देखिँदैनथ्यो । भन्नुहुन्थ्यो “हामो ऊर्जा नै आन्दोलन हो । हामी थाक्नू भनेको क्रान्तिको आगो निभ्नु हो ।”

० ० ०
२०५५ साल साउन २२ गते तत्कालीन शाहज्यादा पारश शाहले चलाएको बा ३ च ६९२ नम्बर (तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह अध्यक्ष रहेको महेन्द्र प्रकृति संरक्षण कोषको गाडी ) पजेरोको ठक्करबाट गायक प्रवीण गुरुङको निधन भएको खबर बाहिरियो । अनेरास्ववियूको अध्यक्षमा भर्खर निर्वाचित भएका थिए– रवीन्द्र अधिकारी ।

उनले शाहज्यादालाई कारवाहीको माग गर्दै हस्ताक्षर संकलनको काम थाले । झन्डै पाँच लाख ३४ हजार हस्ताक्षरण संकलन गरेर दरबारमा बुझाइयो । हस्ताक्षर बुझ्न तत्कालीन राजाका मुख्य सचिव पशुपतिभक्त महर्जन आफैँ पश्चिम गेट (केशर महल अगाडि) आएका थिए ।

त्यसको साता दिनपछि २०५५ भदौ १५ गते दरबारबाट रवीन्द्र अधिकारीलाई नै सम्बोधन गरेर पत्र आयो । जहाँ लेखिएको थियो– “श्री पाँच महाराजधिराज सरकारका हजुरमा तपाईंसमेतले गत साउन २२ गते गायक प्रवीण गुरुङको सडक दुर्घटनाबाट मृत्यु भएको सम्बन्धमा २०५७ सालमा भदौ ७ गते चढाउनुभएको ज्ञापनपत्र जाहेर हुँदा मौसुफबाट दुर्घटनाको अनुसन्धान कारवाही टुंगो लागेपछि यथार्थ विवरण जाहेर गर्न हुकुम भएबमोजिम सम्माननीय प्रधानमन्त्रीलाई मिति २०५७–५–१२ मा लेखिएको व्यहोरा जानकारी गराउँछौं ।”
हस्ताक्षर संकलन गर्न रत्नपार्कमा बस्दाको पनि स्मरणीय प्रसंग छ ।

हामी अनेरास्ववियूका नेता–कार्यकर्ता दिनभर सेता तुल टाँगेर बस्थ्यौँ । पेटमा अन्नपानी नपरेका कयौँ कार्यकर्ता थकानले आलसतालस देखिन्थे । बाटो हिँड्नेलाई थाकेको सन्देश नजाओस् भनेर रवीन्द्र दाइ माइक घन्काउनुहुन्थ्यो– “रक्तक्रान्तिको ज्वालामुखीमा... !”
त्यसपछि बज्थ्यो– “अनेरास्ववियूको भन्डा हो यो, रगतले रङ्गिएको रातो... !”
मुर्झाएको जोस जाँगरले त्राण पाइहाल्थ्यो ।

० ० ०

सानो कदको जीउडाल भए पनि आन्दोलनको निकै ठूलो उचाइ हुनुहुन्थ्यो– रवीन्द्र दाइ । एउटा आन्दोलक सकिएपछि अर्को आन्दोलन घोषणा गरिहाल्ने– राजनीतिमा थकाइ हुँदैन भन्ने स्वभावको । ०५७ सालमा उहाँले अर्को आन्दोलनको शंखघोष गर्नुभयो– यातायात र मनोरञ्जनको क्षेत्रमा विद्यार्थीलाई ५० प्रतिशत सहुलियतको माग राखेर ।

\"\"

धर्ना, जुलुस र नाराबाजीबाट शुरू भएको आन्दोलन तोडफोड र आगजनीमा परिणत भयो । प्रहरीले आन्दोलनकारीको टाउका फोड्यो । आक्रोशित विद्यार्थीले सरकारी गाडीलाई निशाना बनाए । बिदाका दिनमा चलेका सवारी विद्यार्थीको नियन्त्रणमा रहे । कति खरानी भए । काठमाडौंका सडकमा रगतको भेल बग्यो ।

झन्डै दुई महिनाको कठोर आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले वार्ता समिति बनायो । सरकारसँग वार्ता पनि गर्ने आन्दोलन पनि जारी राख्ने । हाम्रो रणनीति थियो । अन्ततः माग पूरा भयो । रवीन्द्र अधिकारीको नेतृत्वको आन्दोलनले विद्यार्थीलाई यातायात र मनोरञ्जन क्षेत्रमा ३३ प्रतिशत सहुलियत दियो ।

० ० ०
अनेरास्ववियूको अध्यक्ष, तीन पटक सांसद निर्वाचित र विकास समितिको सभापति हुँदा राम्रो काम गरेकाले निकै उत्साहित हुनुहुन्थ्यो । हाँसिरहने अनुहारमा थप कान्ति छाएको थियो । तर, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएको चार–पाँच महिना नहुँदै वाइडबडी काण्डमा मुछिएपछि निकै चिन्तित र उदास देखिनुहुन्थ्यो । हामीसँगको भेटमा सधैँ प्रश्न गरिरहनुहुन्थ्यो– “राम्रो काम गर्दागर्दै किन अपगाल आउँछ ?”

विद्यार्थी इन्चार्ज भएका नाताले अनेरास्ववियुको अभिभावक हुनुहुन्थ्यो । उहाँ निर्देशन दिनुहुन्थ्यो– “कमिटीमा आर्थिक अनुशासन पालना नभए, कठोर हुनू, दण्डित गर्नू !” आफैँमाथि गम्भीर आरोप लागेपछि उहाँ खिस्रिक्क पर्नु स्वभाविकै थियो । तर, त्यसको जवाफ दिने जिम्मा समयलाई छाड्नुभएको थियो । भन्नुहुन्थ्यो–“म निर्दोष रहेको कुरा समयले प्रमाणित गर्नेछ ।”

आफूमाथि लागेको आरोप कामले नै पखाल्ने अभियानमा हुनुहुन्थ्यो । तर, दारेढुंगामा दौडधूप टुंगियो । यो मरेपछिको चर्चा होइन– रवीन्द्र दाइ पार्टी आन्दोलनमात्र होइन, समग्र कम्युनिस्ट आन्दोलनको अगुवाइ गर्न सक्ने व्यक्ति हो । पार्टीभित्र भावी प्रधानमन्त्रीकै रूपमा चर्चा हुन्थ्यो । 

क्रियाशीलता र क्षमताका हिसावले पार्टीभित्रका कयौ समकालीनलाई पछि पार्नुभएको थियो । अन्तिममा मृत्युको समेत प्रिय हुनुभयो । प्रिय रवीन्द्र दाइ ! तपाइको अपत्यारिलो मृत्युबाट मैले मात्र होइन अनेरास्ववियुले पनि अभिभावक गुमायो ।
(अक्षर काकासँगको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय