लेख्नका लागि अन्य केही विषय थिए, तल केहीको चर्चा पनि गरिन्छ । तर – ‘‘माग्ने पनि उतै, भारतबाटै ल्याइन्छन्, आउँछन्’’ ओखलढुंगाकी उर्धबैंसे (अर्ध होइन उर्ध ) महिलाको खरो टिप्पणीले यसपटक शिवरात्रिलाई छनोटमा पारिदियो । हजारौं हो कि कतिऔं हो यो शिवरात्रि ? उत्तर थाहा भएन तर यसपटक पशुपति क्षेत्रको मृगस्थलीतिर जाने उकालो सिंढीमा विभत्स कुष्टरोगीको दृश्यतिर इसारा गर्दै ती महिलाले गरेको यही टिप्पणीले विषय बदली दियो । शिवरात्रिको भिडमा सधैं देखिने दृश्यभित्र माग्नेहरूको बेग्लै हुल पनि हरेक वर्ष दोहोरिने गर्छ ।
हिन्दु आस्थाका आराध्यदेव, समस्त प्राणीजगत् अर्थात् पशुजगतका नाथ, पशुपतिनाथको क्षेत्र यसपटकको शिवरात्रिमा पनि श्रद्धालु मानिसको घुँइचोले भरिएकै थियो । व्यवस्थापनलाई भने अस्तव्यस्त लेख्दा बढी तथ्यपरक हुने देखिन्छ । व्यवस्थापन थियो तर अपर्याप्त र असुघ्घर । शिवरात्रिमा विस्तृत जानुअघि यसपटक लेख्नैपर्ने पहिलो विषय चाहिँ आयोगहरुमा हुनलागेको नियुक्ति र संसदीय सुनुवाइ हो ।
वित्त, समावेशी, मधेसी र थारु आयोगमा जो जो नियुक्त हुँदैछन् त्यसअघि नै तिनीहरु नैतिक संकटमा परेका छन् । संविधानको मर्यादा तोडेर तिनको नियुक्ति हुँदैछ । यस्तो पदमा सिफारिस गर्दा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षीदलको नेता हुनुपर्ने व्यवस्था संविधानले गरेको छ । यसो गर्नुको मतलब आयोगमा हुने नियुक्तिमा दलीयकरण नहोस् बरु सर्वमान्य वा अत्यधिक समर्थन प्राप्त होस् भन्ने संवैधानिक उद्देश्य हो ।
अहिले नियुक्त हुनेहरु परिषद्का सदस्य अर्थात् प्रमुख प्रतिपक्षी दलको नेतालाई औपचारिक सूचना नै नगरी बहुमतको दम्भमा टेकेर भएको सरकारी निर्णयबाट हुनेछन् जुन अवैधानिक छ । पचास प्रतिशतभन्दा धेरैबढी जनमत यो निर्णयको विपक्षमा छ भन्ने स्पष्ट छ ।
एकातिर, प्रतिपक्षीविना गरिएको निर्णय र यही कारण संसदीय सुनुवाइमा नेपाली काग्रेस सहभागी नहुँदा व्यक्त भएको जनमत । अर्कोतिर संविधानको मर्यादा राख्न चाहने र संविधान कतैबाट उल्लंघन नहोस् भन्ने ठूलो जनमत यहाँ छ । त्यो जनमत संविधानविपरीत गरिएको सरकारी यो निर्णयप्रति सहमत हुने कुरै भएन । जनमत विपरीत, संविधानको बर्खिलाफ भएको यो बहुमतीय सरकारी निर्णय भयो, संसदीय भएन । सरकारी कम्युनिस्ट बाहेक यस निर्णयको पक्षमा उभिने अरु छैनन् । यसकारण यो निर्णय दलीय भयो, कम्युनिस्ट एकदलीय । यत्रो जनमत विपरीतको नियुक्ति कुन नैतिकताले लिने नियुक्तहरुले ?
स्पष्ट बुझिएको जनमत र संविधानको मर्यादाका लागि यीमध्ये कसैले त्याग गर्नसक्छ ? वा अवैधानिक नियुक्ति लिन्न भन्नसक्छ ? संसदीय समिति संसदीयजस्तो भएन, सरकारी रबरछाप भयो । यसको नेतृत्वदेखि कम्युनिस्ट सदस्यहरु सांसदभन्दा बढी, सरकारी हुकुम प्रतिपालकजस्ता देखिए । संविधानको रक्षाका लागि, सदस्यहरुले अरु विषयमा दिएजस्तै सरकारलाई निर्देश गर्नुपथ्र्यो – प्रतिपक्षीदलको नेता जो परिषद्का पदेन सदस्य हुन् उनलाई राखेर सिफारिस गराऊ वा यसलाई नै अनुमोदन गराऊ । सबै पक्षको विश्वास आर्जन हुनुपर्ने आयोगमा बहुमतले निर्णय गरिने संवैधानिक कल्पना हुन्थ्यो भने त्यहाँ प्रतिपक्षी सदस्य राख्नैपर्थेन ।
त्यसो त, बहुमतको नाममा प्रधानमन्त्री केपी ओलीको नियुक्तिसँगै वा सरकारी संरचनाको आरम्भमै राष्ट्रपतिबाटै संविधान उल्लंघन गराइएको हो । बहुमतबाट संवैधानिक प्रावधानको उल्लंघन गर्नुको मनसाय बहुमतले विधि हेरिँदैन मनपरी गर्नसक्छ भन्ने हो । यसको स्पष्ट अर्थ, संसदीय विधिविपरीत बहुमतको स्वेच्छाचारी र अधिनायकवादतिर सरकारको कदम थप गएको छ ।
अर्को विषय, नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्ने चर्चा । महासमितिमा दिएको सार्वजनिक वचन सभापति शेरबहादुर देउवाले तोडेको बताउँदै पार्टीका जिल्ला सभापतिहरुले विशेष महाधिवेशन माग गर्ने चर्चा सुरु भएको छ । तल्लैतहबाट पार्टी प्रतिनिधि हुनुपर्ने र एकपटक आरक्षण कोटा लिएको सदस्यले दोहोर्याएर कोटा नपाउने, प्रत्यक्षतिर जानुपर्ने भन्ने महासमितिको मागलाई स्वीकृत गर्ने मौखिक तर सार्वजनिक वचन सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले दिएका थिए ।
तर, सभापति देउवासँग पार्टी केन्द्रीय समितिमा रहेको बहुमतले त्यो वचन तोडिदियो । यसबाट सभापति देउवा स्वयंले दिएको वचन तोडेको, उहाँको आफ्नो भनिएका सदस्यहरु कार्यकर्तामाझ जान डराएको वा पार्टीभित्रको जनमतमा अगाडि नै हारेको, आरोप लाग्न थालेको छ । महासमितिको स्वीकृत मागलाई केन्द्रीय समितिले उल्लंघन गरेको दावीसहित कांग्रेसमा विशेष महाधिवेशनको चर्चा भएको हो ।
अर्को, अर्थतन्त्रको उल्टो यात्रा, स्वतन्त्र अभिव्यक्तिलाई निरुत्साहित गर्न रचिएका कानुनी प्रपञ्च र सरकारको रबैया पनि लेखनका विषय थिए । अनपेक्षित निधनमा परेका व्यक्तित्वसमेत लेखनका लागि योग्यपात्र हुन् । राजपाले सरकारलाई दिएको समर्थन पनि बुधवार फिर्ता लियो । कम्युनिस्टको एकता र कांग्रेसमा गुटबन्दी । आदि, यस्ता विषयबीच शिवरात्रि मुखमै पर्यो । शिवरात्रिमा जे देखियो अहिले नलेखे पछि सन्दर्भ सकिएला ।
चारपाँच वर्षदेखि लगातार हेर्दै आएको शिवरात्रिको चहलपहलमा विशेषताहरु भेटिन्थे । यसपटक भने ती महिलाको भनाइले विषय थमाइदियो । छोड्नै मन मानेन । पाटी, पौवा र सत्तलहरुको जीर्णोद्धारका लागि असरल्ल राखिएका सामग्री आँखा बिझाउने थियो अनि दशनार्थीलाई अप्ठ्यारो पर्ने गरी छरपस्ट । पशुपति दर्शनका लागि बिहानबाटै श्रद्धालुको लाम, सडकमा जाम तर ट्राफिक प्रहरीले त्यस्तो बेला पनि दोहोर यातायात चल्न दिएर सिठ्ठी सान फुक्दैथिए । यात्रु दर्शनभन्दा पनि त्राहीमाम् भन्दै हिँड्नुपर्ने । दुईबजे दिउँसोतिरबाट यसरी भिड ओइरियो कि यातायात साधन त के त्यो क्षेत्र तील राख्ने ठाउँ पनि नपाइनेजस्तै बन्यो ।
दशनार्थी मन्दिर प्रवेशका लागि यसपटक चार लहर व्यवस्था गरिएको रहेछ । पशुपनि दर्शनका लागि अतिरिक्त शुल्कको व्यवस्था यसपटक सुनिएन । अरु भिड थियो तर विगत वर्षको जस्तो रौनक थिएन । योगीहरु खासै थिएनन्, जोगीहरु पनि कमै देखिए । भारतको प्रयागराज (इलाहावाद) मा कुम्भमेला चलिरहेकाले योगी, जोगी कम आएको अनुमान त्यहाँ सुनियो । योगसाधनाका उच्च सन्त, महन्त पशुपतिले शिवरात्रिमा खासै तानेको देखिँदैन । कारण व्यवस्थापनको कमीले पनि हुनसक्छ ।
शिवरात्रिमात्रै होइन नेपालका पर्व परम्पराहरु प्रायः अध्यात्म चिन्तन निस्सृत, प्रकृति, जनजीवन र सामाजिक पक्षसँग जोडिएर संस्कृतिको स्वरुपमा स्थापित छन् । रुख, जनावर, सर्प र भ्यागुतालगायत सृष्टिका वस्तुलाई पुज्ने हाम्रो परम्परामा हिन्दु आस्थाले पत्थरलाई पनि देव वा देवाधिदेव बनाएको छ, विश्वास खन्याएको छ र जीवन्त पारेको छ ।
नेपालको धर्मपक्षसँग जोडिएको, आध्यात्मपक्ष, प्रकृति र संस्कृतिका विषयमा गहिरो अध्ययन,अन्वेषण भएजस्तो लाग्दैन । थिए प्रपन्नाचार्य (काले राई) र योगी नरहरिनाथ । उनीहरुको अध्ययन धार्मिक मान्यतासँग मात्र बढी जोडियो । पर्व परम्पराको अध्यात्म, प्रकृति, आर्थिक र संस्कृतिसँग रहेको तादात्म्य खासै खोलिएन । हाम्रो गीत, संगीत, संस्कृति र जनजीवनको विविध विषयमा अन्य विदेशीले नै अध्ययन, अनुसन्धान गरेको सुनिन्छ,पढिन्छ । शिवरात्रिको आधुनिक अनुसन्धान पनि अन्यत्रबाटै होला । आफूले नसकेपछि यही आशा गरौँ ।
एक उन्मुक्त वक्ता जोगी देखिए । सायद् भारतबाट आएका र शिवरात्रि आफ्नै पर्व ठानेर निर्भीक । तर, अर्का युवा पशुपतिका कारिन्दा थिए कि ? भिडमा सोध्न सम्भव भएन । उनी फुर्तीसाथ ती जोगीलाई हप्काउँदै थिए, टर्रो हिन्दीमा । तमासा नगर, नदेखा । भिड हेर्दै थियो, भिडले आफ्नै बहादुरी हेरेको ठान्दै थिए सायद् ती युवक । उनको तनक्क तन्किएको हाउभाउले यस्तै प्रदर्शित हुन्थ्यो । के हामी त्यस्तालाई राम्रो मुखले तर प्रभावकारी वचनले सम्झाउन सक्तैनौ ? त्यो हाम्रो सनातनी कर्तव्य पनि त हो ।
पशुपति भगवानको आम्दानी कति हुन्छ ? श्रद्धालुले चढाए जति । तर, गुठी पनि प्रशस्तै छ भन्ने सुनिन्छ । भगवानको आर्थिक स्रोत पनि मानिसले अपारदर्शी बनाएको छ । केही वर्ष, चढाइएको दानदातव्य सार्वजनिक गरेझैँ गरिएको हो । अहिले त्यो पनि सुनिँदैन ।
पशुपति क्षेत्र, जता हेर्यो लथालिङ्ग छ फोहर, दुर्गन्धित । मन्दिर वरपर चाहिँ केही गर्न खोजेजस्तो देखिन्छ । त्यस बाहेक सबै वर्ष उस्तै, उस्तै । अलिकति तल उपत्यकाको सम्यता स्रोत मानिने वाग्मतीभन्दा ठूलो लाग्ने ढल छङछङ नदीमा खसिरहेछ । हिन्दु धर्मको ठूलठूला गफ चुट्ने र राष्ट्रलाई नै हिन्दू उद्घोष गर्नेहरुको ध्यान यता वा यस्ता पवित्रस्थलको पवित्रता कायम गर्न किन जाँदैन ? पशुपति क्षेत्र विकास कोष त कोष नै भयो, होला केही गर्दै । तर, शिवरात्रिमा व्यवस्थापन जे देखिन्थ्यो त्यो दुःखद थियो । बेइज्जती ।
सिँढीमा जताततै कुष्ठरोगीको लाम, मगन्ते । विभत्स घाउबाट पानी र पीप बगाउँदै मूढोझैं लडेका छियाछिया शरीर । कसले ल्यायो तिनलाई ? अरुबेला यस्ता रोगी मगन्ते कमै देखिन्थे । माग्ने महिला पनि छन् बालबच्चासमेत । भनिन्छ, यस्ता मगन्ते परिचालन गर्ने गिरोहहरु नै छन् । खासगरी भारतका केही क्षेत्रमा । सुने, पढेअनुसार मगन्ते उत्पादन गर्ने गिरोहको अर्को दुःखदायी र पापी कर्म छ । त्यो फेहरिस्त यहाँ सम्भव भएन ।
त्यस्तै कुष्ठग्रस्त रोगीको तस्बिर लिँदैथिए मंगोलियन अनुहारका विदेशी पर्यटक । यो दृश्यले प्वाक्क कुरा आयो –‘‘यी विदेशीले आफ्नो मुलुकमा नेपालको हबिगत भनी तस्बिर देखाउने भए । कोही त्यस्तै जिम्मेवारीमा रहेको भए, अन्तर्राष्ट्रियकरण समेत हुनेभयो, हाम्रो हबिगत ।’’ यो कुरा सुनेकी ती ओखलढुङ्गे महिलाले भनिन् – ‘‘यी, यस्ता मगन्ते पनि उतै भारतबाट ल्याइएका हुन्, विदेशीले चाहिँ नेपाली हबिगत ठान्ने भए ।’’ नाम सोध्न खोज्दा भिडमा हराइसकेकी उनको यही वाणी प्रेरणा बन्यो यसपटक शिवरात्रि लेख्न ।