यसपटक पनि पाकिस्तानी लेखक नयाँ दिल्लीमा देखिएनन् । म सहभागी भएको अघिल्लोपटकको सन् २०१७ फेबु्रअरी २४ देखि २६ सम्म भएको कार्यक्रममा पनि तिनको उपस्थिति थिएन । त्यसबखत पाकिस्तानी लेखकलाई भारतले भिसा नदिएको विषयले कार्यक्रममा ठूलै तरङ्ग पैदा गरिदिएको थियो । फोरम अफ साउथ एसियन राइटर्स एन्ड लिटरेचर (फोस्वाल) द्वारा आयोजित कार्यक्रमका अधिकांश वक्ताले लेखकलाई भिसा नदिएकोमा भारत सरकारको कडा आलोचना गरेका थिए । लेखक, साहित्यकार तथा कलाकारको कुनै सीमा नहुने र तिनलाई कुनै परिधिभित्र बाँध्न नपाइने, तिनलाई सहजै भिसा दिनुपर्ने आशयका वक्तव्य आएका थिए ।
फोस्वालकै यस पटकको ‘साउथ एसियन फेस्टिभल अफ सुफिज्म एन्ड बुद्धिज्म’ (फेबु्रअरी २२–२४) कार्यक्रममा भने पाकिस्तानको अनुपस्थितिबारे वक्ताहरु कसैले पनि शब्द उच्चारण गरेनन् । अनौपचारिक कुराकानीमा भने यो विषयले बाक्लै चर्चा पायो । यसबाटै बुझ्न सकिन्छ, कार्यक्रम आयोजक मुलुक भारत र उसको निकटतम छिमेकी पाकिस्तानबीचको तनाव उत्कर्षमा पुग्न लागेको छ । ‘अबको ६ महिनापछि सार्क राष्ट्रका लेखकहरु पुनः यस्तै कार्यक्रममा भेटिने छौँ,’ फोस्वालकी अध्यक्ष अजीत कौरले भनिन्, ‘पाकिस्तान पनि आउन सक्नेछ तर उसले आउनेखालको व्यवहार देखाएमा ।’ सार्क राष्ट्रका लेखकहरूको साझा सङ्गठन फोस्वालका आगामी फेस्टिभलमा पाकिस्तान गयल हुने अनुमान यस पटकको कार्यक्रमको समापनमा दिएको कौरको अभिव्यक्तिले स्पष्ट पार्छ ।
स्वतन्त्रतापश्चात् भारतबाट पाकिस्तान अलग्गियो । त्यही समयदेखि नै यी दुई दक्षिण एसियाली मुलुकबीच सौहार्द सम्बन्ध बन्न सकेको छैन । यस्सो कहिलेकाहीँ अब त दुई देशका चिसा सम्बन्धमा न्यानो आउलाजस्तो लाग्यो भने तत्कालै अवस्था फेरिइहाल्छ । र, दुई देशबीच घाँटी कोराकोर हुन थालिहाल्छ । सन् १९४७ मा भारतले बेलायती उपनिवेशबाट मुक्ति पाएलगत्तै यी दुई (भारत–पाकिस्तान)बीच जम्मु–कास्मिरको विषयलाई लिएर विवाद उत्पन्न हुन पुगेको थियो । कास्मिरको भू–भागलाई लिएर दशकौँदेखि आमनेसामने हुँदैआएका भारत र पाकिस्तानको शत्रुतापूर्ण इतिहास पुरानो छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएसँगै दुई देशबीच कास्मिर मुद्दाका कारण ३ पटक युद्ध भइसकेको छ ।
नरेन्द्र मोदी सन् २०१४ मा प्रधानमन्त्री बनेपछि दुई देशबीच सम्बन्ध सुधारका नयाँ प्रयास थालिएको देखिएका थिए । पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ मोदीको शपथ ग्रहण समारोहमा नयाँदिल्ली पुग्दा अब यी दुई मुलुकबीच सम्बन्धमा न्यानोपना आउने अनुमान गरिएको थियो । तर, अवस्था सोचेजस्तो बन्न सकेन ।
दुई वर्ष बित्न नपाउँदै पन्जाब (भारत)को पठानकोट र कास्मिरको उरीमा भारतीय सेनामाथि भएको आक्रमणपश्चात् दुई देशबीच सुध्रँदो सम्बन्धमा पुनः गतिरोध आयो । सन् २०१६ को यस घटनापछि यी दुई छिमेकीबीच हालका मितिसम्म कुनै संवाद हुन सकेको छैन । कुनै पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्थाले भारत–पाकिस्तानलाई एउटै टेबलमा बसाएर वार्ता गराउन उल्लेखनीय प्रयत्न गरेका छैनन् । यस्तो अवस्थामा विशेष भूमिका खेल्नुपर्ने दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) स्वयं मृतप्रायः छ । सार्कका मुलुकहरूबीच आपसी सहयोगको उद्देश्यले स्थापित यो सङ्गठनको औचित्यमाथि नै अब प्रश्न गर्नुपर्ने अवस्था आएको छ ।
अचम्म त के छ भने भारतले यही मङ्गलबार पाकिस्तानी भूभागमा गरेको बम हमलालाई लिएर त्यहाँको सञ्चार माध्यममा प्रधानमन्त्री मोदीको खुबै प्रशंसा भएको छ । हमलाको प्रशंसा गरिनु र वार्ताका निम्ति दबाब नदिनुलाई कुनै पनि मूल्यमा उचित मान्न सकिन्न । युद्धलाई कुनै पनि अर्थ र मूल्यमा समर्थन गर्न सकिन्न । युद्ध जहिले पनि मानवताविरोधी कित्तामा उभिन्छ । र, संसारमा वार्ताबाट समाधान नहुने कुनै विषय पनि छैन । युद्धबाट सबैभन्दा बढी असर बालबालिका, महिला, गरिब तथा किनारीकृत जनतामा पर्छ । कम्तीमा पनि लेखक–साहित्यकार युद्धको विपक्षमा उभिन जरुरी छ । सार्कको ‘एपेक्स बडी’को मान्यता पाएको दक्षिण एसियास्तरको फोस्वालजस्ता साहित्यिक संस्थाले यस विषयमा केही बोल्नुपर्छ ।
यतिखेर भारतमा निर्वाचनको वातावरण तात्न थालेको छ । पाकिस्तानमाथि हमलाका कारण प्रधानमन्त्री मोदीलाई सकारात्मक असर गर्ने व्याख्या पनि त्यहाँ हुन थालेको छ । उग्र राष्ट्रवादी सोच बोक्ने भारतीयको सङ्ख्या उल्लेखनीय रहेका कारण पाकिस्तानमाथि मोदी सरकारले हमला गर्दा निर्वाचन जित्न मद्दत पुग्ने अनुमानसमेत गर्न थालिएको छ ।
यही फेब्रुअरी १४ का दिन कास्मिरको पुलवामा भन्ने ठाउँमा भएको आक्रमणमा झण्डै ४ दर्जन सुरक्षाकर्मीको मृत्युपछि यी दुई छिमेकीबीच तीक्तता थप बढ्न थालेको हो । अल इन्डिया सिने वर्कर्स एसोसिएसन नामक संस्थाले भारतमा पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाएको घोषणा नै ग¥यो । चिसिँदै गएको भारत–पाकिस्तानबीचको सम्बन्धलाई थप चिस्याउने होइन, न्यानोपन कसरी आउँछ भन्नेबारे नसोच्नु विडम्बना नै मान्नुपर्छ । यो आलेखको मुख्य ध्येय ती दुई मुलकबीचको सम्बन्ध वा सम्बन्धमा कसले नकारात्मक भूमिका खेल्यो भनी कोट्याउनु होइन । बरु, सार्क स्तरीय (साउथ एसियन फेस्टिभल अफ सुफिज्म एन्ड बुद्धिज्म) भनिएको साहित्यिक कार्यक्रममा पाकिस्तान किन छुट्यो भन्ने चिन्ता व्यक्त गर्नुमात्र हो । पाकिस्तान यस पटकको कार्यक्रममा आएको भए थोरै भए पनि दुई देशबीचको सम्बन्ध सुदृढ गर्न मद्दत पुग्थ्यो भन्ने नै हो । घृणाले घृणा नै बढाउँछ । आपसी सद्भाव र एकअर्काको सम्मानले सम्बन्ध सुधार हुन्छ । भारत उसै पनि विशाल मुलुक हो । उसले अन्य देशले भन्दा छाती अलि ठूलो पार्नुपर्ने अपेक्षा गरिनु अन्यथा होइन ।
बुद्धिज्म र सुफिज्मलाई केन्द्र बनाइएको यस पटकको कार्यक्रममा पाकिस्तानको अभाव सहभागी सबैमा खट्किएको विषय रह्यो । सुफिज्म त्यसमा पनि विशेषगरी यसको आध्यात्मिक र अन्य मूल्यलाई बुझ्दा पाकिस्तानको सहभागिता झनै महत्वपूर्ण देखिन्छ । पाकिस्तान मुस्लिम बहुल मुलुक हो । सुफिज्म मुस्लिम धर्मसँग जोडिएर आउँछ । मुस्लिम धर्म सुफिज्मको एउटा हाँगा रहेको कार्यक्रममा स्मरण गरिएको थियो । साहित्यमा पनि पाकिस्तान अगाडि नै छ । त्यहाँका तेहमिना दुर्रानी, कुर्रत उल ऐन हैदर, नासिर काजमी, मोहम्मद हनिफ, हैदर कुरेसीजस्ता ख्यातिप्राप्त स्रष्टाका रचना भारतमा मात्र होइन नेपालमा पनि रुचिका साथ पढिन्छ । यस्ता लेखक भारतद्वारा आयोजित फेस्टिभलमा उपस्थित हुँदा हुन् त पाकिस्तान सरकार सोच्न बाध्य हुन्थ्यो ।
यी दुई देशका बीच बढ्दो टकरावका कारण नै सन् २०१६ मा पाकिस्तानको राजधानी इस्लामावादमा हुने भनिएको सार्क सम्मेलन अझै पनि हुन सकिरहेको छैन । २०१४ मा नेपालले १८औँ सम्मेलन गरेको थियो । त्यसपछि सार्कका सदस्यहरु एउटै मञ्चमा बस्न सकिरहेका छैनन् । सन् १९८५ मा स्थापना भएको सार्कको अहिलेसम्म ३४ वटा सम्मेलन भइसक्नुपथ्र्यो, दुर्भाग्य १९औँ सम्मेलन नै अड्कन पुगेको छ । सार्क मजबुत हुँदो हो त भारत–पाकिस्तानलाई वार्ताको टेबलमा बसाउने वातावरण बन्न सक्थ्यो । नत्र यस्ता संस्थाको औचित्य नै के रहला र !
भारत र पाकिस्तान संवाद चाहन्छन् र त्यसकै माध्यमबाट तीक्तता मेट्न चाहन्छन् भने दुवै देशका साहित्यकार–कलाकार माध्यम हुन सक्छन् । राजनीतिक वा सरकार तहको वार्ता त अब परको कुरा भइसकेको छ । यस्तो परिस्थितिमा भारतले पाकिस्तानी लेखक–कलाकारलाई आफ्नो देशमा निम्त्याउँदा सबैको स्याबासी पाउँथ्यो । तर, किन हो भारत त्यस्तो स्याबासी लिन चाहिरहेको देखिन्न ! विशेषतः सार्क स्तरीय भाषा, साहित्य वा कलाका सम्मेलनले भाइचारा अभिवृद्धिलाई आफ्नो प्रमुख ध्येय बनाउन सके आपसी असमझदारी हट्न मद्दत पुग्छ । कविता वाचन गर्नु, गीत गाउनु, कार्यपत्र प्रस्तुत गर्नु आदि–इत्यादि त निरन्तर चली नै रहेका छन् । यस्ता कुरा इन्टरनेटका सहयोगमा पनि सहजै पाउन सकिन्छ । तर, दुई देश (भारत–पाकिस्तान) वा अन्य मुलुकबीच पनि भत्कँदै गएको मनलाई जोड्ने एउटा सेतु बन्न सक्दा सार्क लिटरेचर फेस्टिभल वा सार्क सुफिज्म वा बुद्धिज्मको सफलता झल्कन्छ ।