site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रगतले सहीछाप गर्दै पञ्चायतविरुद्ध यसरी खुल्यो संगठन 
SkywellSkywell

इन्जिनियरिङमा भर्ना हुँदाको प्रसंग उठ्यो । उनले कलेजका प्रिन्सिपल पीआर रामास्वामीलाई सम्झिए । उनको गला अवरुद्ध भयो । उनका आँखाभरि आँशु भरिए । केही समय उनी बोल्न सकेनन् । 

अनि सम्हालिँदै बोले, “कहिलेकाहिँ मानिसकैरुपमा पनि ईश्वर भेटिन्छन् ।”  

जब उनी थामिए, त्यस पछिको कथा उनले सुनाए । कोलम्बो प्लान अन्तरगत उनी इन्जिनियरिङ पढ्न  मद्रास युनिभरसिटीको गभर्मेन्ट कलेज अफ टेक्नोलोजी, क्वानमाटोर पुगे । 

KFC Island Ad
NIC Asia

पुगेपछि कलेजमा गएर सम्पर्क गरे । पढाई तीन महिनाभन्दा अगाडि बढीसकेको रहेछ । यो हुनु स्वाभाविक पनि थियो । किनभने राजदरबारमैै चार महिना स्कलरसीपको फाईल अड्केको थियो ।

इन्जिनियर समेत रहेका पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरे (७५)सँग उनको चावहिलस्थित निवासमा कुरा गर्दैगर्दा उनले इन्जिनियरिङको पहिलो दिनको चर्चा गरे, ‘‘म आफ्ना सारा कागजात बोकेर प्रिन्सिपलका अगाडि पुगेँ । प्रिन्सिपल पीआर रामास्वामीले कागजहरु हेरेपछि मेरो उमेर २१ वर्ष नाघिसेको कुरा उठाउँदै भर्ना गर्न कठिन भएको बताए । म झसंग भएँ । लौ अब के हुने हो !’’  

Royal Enfield Island Ad

यो स्थितिले उनको पढाईमा अवरोध आउने जस्तो देखियो । घिमिरेलाई प्रिन्सिपलले अर्को तीन चार हप्ता कुर्नुपर्ने बताए । उनकै अगाडि प्रिन्सिपल आफै पनि घोरिए । अनि भनेछन् ‘‘तिमीले बीएससी गरेको भए म केही गर्न सक्थेँ ।’’

प्रिन्सिपलको मुखबाट बीएससीको कुरा सुन्नासाथ लक्ष्मण घिमिरेले आफूले बीएससी पास गरेको बताउँदै सारा कागजात देखाए । त्यसपछि त लक्ष्मणभन्दा खुसी देखिए प्रिन्सिपल रामास्वामी ।

पूर्वमन्त्री घिमिरे भन्छन्, ‘‘मलाई के लाग्छ भने यो संसारमा इश्वर पनि मानिसकै रुपमा छन् र ती कुनै न कुनैरुपमा मानिससँग भेट हुन्छन् । तिनले सहयोग गरिरहेका हुन्छन् । मेरा लागि रामास्वामी ईश्वरको रुपमा अगाडि आईपुगेका थिए ।”

यसरी प्रिन्सिपलले लक्ष्मण घिमिरेलाई इन्जिनियरिङमा भर्ना गरे । रामास्वामी उनका गडफादर नै बने । प्रिन्सिपल रामास्वामीले लक्ष्मण घिमिरेलाई आफ्नो विषयमा पुस्तकालयमा बोलाएर व्यक्तिगतरुपमा कोचिङ नै दिए । तीन महिना ढिलो भएको र गाह्रो विषय भएकोले उनले व्यक्तिगतरुपमा कोचिङ दिएका थिए । 

आज पनि रामास्वामीको शालिन व्यक्तित्व सम्झिन्छन् लक्ष्मणप्रसाद घिमिरे । आज पनि सम्झनामा आउँछ रामास्वामीले लाईब्रेरीमा पढाएको । उनले लगाएको सेतो कमीज र लुङ्गी । 

तोकिएको अवधिमा उनको इन्जिनियरिङको पढाई सकियो । उनी फर्किए काठमाडौं । शिक्षा मन्त्रालयमा डिग्रीसहित आफूले बीई पास गरेको  जानकारी गराए । शिक्षाले उनको सर्टिफिकेटहरु यातायात मन्त्रालयमा पठाएछ । र, केही समय पछि उनको अस्थायी जागिर धनगढी सडक खण्डमा खट्ने गरी भयो । 

तर, उनलाई बीईले मात्रै पुगेको थिएन । उनी एमई अर्थात इन्जिनियरिङमा मास्टर्स पनि गर्न चाहन्थे । त्यसैले उनी धनगढी गएनन् । 

कुरो बुझ्दै जाँदा  एनआईडीसीमा काम गर्दा बाहिर पढ्न जाने मौका मिल्न सक्ने उनले थाहा पाए । एनआईडीसीका अध्यक्ष कृष्णबहादुर देउजा थिए । उनले देउजालाई भेटेर आफ्नो पढाईको विस्तृत विवरण बताए । केही अलमल भएपनि उनले एनआईडीसीमा जागिर पाए । यस्ता सजिला पनि दिन रहेको उनी बताउँदै थिए । 

केही समय पछि लक्ष्मणप्रसाद घिमिरेले एमई गर्ने मौका पाए । एआईटी अर्थात एसियन इन्टिच्युट अफ टेक्नोलोजीमा एमई गर्न आवेदन दिनका लागि एउटा विज्ञापन निस्किएको थियो ।

घिमिरेले एउटा रोचक प्रसंग सुनाए । जब एआईटीका लागि आवेदन दिने समय आयो, एनआईडीसीमा उनका ब्रान्च अफिसरले पनि आवेदन दिए । अफिसरको खासै नम्बर राम्रो थिएन । उनीहरुका साथै अरुले पनि आवेदन दिएका थिए ।

छनोट हुनेबेलामा ब्रान्च अफिसरको नाम आयो । त्यो बेला दीर्घराज कोइराला शिक्षा सचिव थिए । लक्ष्मण घिमिरेकोे सम्वन्ध कोइरालासँग भएको र  आफ्नो पढाई पनि राम्रो भएकोले आफू जान पाउनुपर्ने जिकिर गरे । तर सचीव कोइरालाले ‘तपाईको उमेर छ । पछि पनि पढ्न जान पाउनु हुन्छ । अहिले उहाँलाई जान दिनुस’ भने । 

लक्ष्मणले कोइरालालाई वैकल्पिक उम्मेदवारका रुपमा आफ्नो नाम पठाई दिन अनुरोध गरे । यसले उनलाई अर्को पटकलाई सजिलो हुन्थ्यो । कोइरालाले पनि त्यसै गरी नाम पठाए । तर, केही दिन पछि एआईटीले घिमिरेको नाम स्वीकृत गरेर पठायो । यसरी उनी एआईटी पुगे, मास्टर्स गर्नलाई । 

एआईटीमा पढाई कडा थियो । एआईटीका प्रोफेसर जोन हुक जोन्सले दिएको एउटा स्पीचले उनले त्यहाँ पनि ज्युज्यान दिएर पढ्नु पर्ने अठोट गरे । 

एआईटीमा नेपालबाट गएका पहिलो विद्यार्थी थिए लक्ष्मणप्रसाद घिमिरे । त्यहाँ फेल भएर फर्किँदा घिमिरेको नाम मात्रै बदनाम नभएर नेपालकै नाम बदनाम हुन्थ्यो । एक पटक जापानका दुई जना विद्यार्थी फेल भएर जापान फर्किए । तिनको नाम कहिलेपनि आएन । जहिले आयो जापानकै नाम आयो । जापानका विद्यार्थी फेल भए नै भनिए ।

त्यसैले उनले नेपालको नाम जोगाउनै पनि जोडतोडका साथ पढ्नै पर्ने थियो । उनले आफ्नो पुराका पुरा ध्यान पढाईमा नै लगाए । र पास पनि गरे । 

\"\"

०००

राजनीतिज्ञ तथा इन्जिनियर लक्ष्मणप्रदास घिमिरे रामेछापको बाबियाखर्कमा जन्मिए । केटाकेटी उमेरको केही समय उनको नुवाकोटमा बित्यो । उनका पिताजी नारायणप्रसाद घिमिरे जागिरको सिलसिलामा नुवाकोटमा थिए ।  वि.सं. २००६ सालमा उनका पिताजीको सरुवा तेह्रथुम माल अड्डामा भयो । तेह्रथुम जाँदा केही दिन घरमै बिताए । त्यसैबेला उनका पिताजीलाई भेट्न रामेछाप चिसापानीकै पण्डित होमप्रसाद घिमिरे आएका थिए । 

घिमिरेका पिताजीले आफ्नो माहिला छोरा लक्ष्मणका विषयमा होमप्रसादसँग कुरा गरे । उनले भनेछन्, “यसले क ख पनि राम्ररी जानेको छैन । यसलाई पढाउनु पर्ने !”

पण्डित होमप्रसादले पनि हुन्छ म लगेर पढाई दिन्छु भनेछन् । जीवनमा एउटा मुकाम हासिल गर्नुपर्ने थियो सायद । त्यसैले पनि उनले केही नभनी जान्छु भने । र पण्डित होमप्रसादको पछि लागे । 

राजनीतिज्ञ लक्ष्मणप्रसाद घिमिरे भन्छन्, ‘‘म २००६ सालमा पंडित होमप्रसादसँग दोलखाको मेलुङ गएँ । त्यहाँको भाषा पाठशालामा पढ्न थालें । र, २००७ सालको आन्दोलनको केही झलक मैले मेलुङमा नै देखेँ । त्यहाँ क्रान्तिकारीहरुले मेलुङको अड्डा कब्जा गरेका थिए । तोप पडकाएका  थिए । मलाई झिनो सम्झना छ ।’’

वि.सं. २००८ सालमा उनका पिताजीको सरुवा काठमाडौंमा भयो । र २००९ सालमा उनी पनि काठमाडौं आए । 

संस्कृतको पढाई सुरु गरिसकेका उनले काठमाडौंमा पनि संस्कृत पढ्न सुरु गरे । त्यसबेला संस्कृतको पढाई दरबार हाईस्कूलको तलतिरको कोठाहरुमा हुन्थ्यो । उनले त्यहीँ लघु सिद्धान्त कौमूदी, हितोपदेश, अमर कोष पढ्दै र घोक्दै गए । 

उता दरबार हाईस्कूलको माथिका कोठाहरुमा अंग्रेजीको पढाई हुन्थ्यो । दिन बित्दै जाँदा उनले महसुस गरे, अंग्रेजी पढ्ने विद्यार्थीहरु संस्कृतका विद्यार्थीहरुको तुलनामा अलिक चल्तापुर्जा र एक्टिभ थिए । घिमिरेलाई लाग्यो, हैन यो अंग्रेजी पढाई पो ठिक हो कि क्या हो ?

तर उनका पिताजीको इच्छा लक्ष्मणलाई संस्कृतको विद्वान पण्डित बनाउने थियो । पिताजीका इच्छा विपरित पनि जान गाह्रो थियो । उनीहरु काठमाडौंमा डिल्लीबजारमा डेरा गरी बस्थे । 

त्यहीँ उनका नाता पर्ने काका पनि बस्थे । उनी जागिर पनि खान्थे र बेलुकी नक्सालको नन्दीरात्री विद्यालयमा १० कक्षामा पढ्थे ।

एक दिन उनले काकाको कानमा आफ्नो इच्छा बताए, ‘अंग्रेजी पढ्ने मन’ भएको । उनका काकाले दाइले मान्नु हुन्न पनि भने । तर उनले काकालाई फकाए । एक पटक हेरौ न । कति पढन सकिन्छ कति सकिँदैन । पछि नसके संस्कृत त पढ्नु छँदैछ ।

काकाले भतिजको कुरा नकार्न सकेनन् । सायद आफू पनि अंग्रेजी पढ्दै गरेकोले हुनसक्छ उनले लक्ष्मणका लागि फस्र्ट बूक किनेर ल्याईदिए ।  उनी त्यो फस्र्ट बूकमा रहेका हरेक अक्षर र शब्दहरुबाट परिचित हुँदैगए । सिक्दैगए । बुझ्दै गए ।

दुई महिनामा फस्र्ट बूक लक्ष्मण घिमिरेले चिर्लिप्पै सिध्याए । एकदिन साँझ उनका काकाले दाइका अगाडि लक्ष्मणको कुरा उठाए । त्यसै समयमा लक्ष्मणले अंग्रेजी पढ्ने इच्छा राखेको खोले । पिताजीले मान्ने कुरै थिएन । मानेनन् । हुन्न भनिहाले । यसले संस्कृत पढेर पण्डित बन्नु पर्छ । 

त्यस पछि उनका काकाले भनेछन्, ‘‘यसले अलिअलि त अंग्रेजी पढेर बुझि पनि सक्यो ।’’ लक्ष्मणका पिताजी चकित परे । 

उनी भन्दैथिए, ‘‘एउटै कोठामा बस्ने छोराले अंग्रेजी पढेको पिताजीलाई थाहा नभएकोले पिताजी छक्कै पर्नु भयो । त्यस पछि पिताजीले हुन्छ भन्नु भयो । तर सुरुमै सर्त तेस्र्याउनु भयो, त्यसो भए अंग्रेजी पढेर तैले इन्जिनियर बन्नु पर्छ ।’’

पिताजीको यो सर्तसंगै उनको अंग्रेजी स्कूलको पढाई सुरु भयो । उनका काकाले भोलिपल्टै उनलाई पद्मोदय स्कूल लिएर गए । रामबहादुर नाम गरेका शिक्षकसँग भेटे र भतिजले अंग्रेजी पढ्न खोजेको कुरा बताए । उनले आफ्ना भाइ श्यामबहादुर कहाँ पठाए । उनका भाइ श्याम ट्युशन पढाउँथे । 

यसैबीचमा श्यामले लक्ष्मणलाई सात कक्षाको किताब किन्न लगाए । यसरी लक्ष्मण सात कक्षा प्राईभेटरुपमा पढ्न थाले । 

सात कक्षाको पढाईमा राम्रो गरेपछि उनले पद्मोदयमा नै आठ, नौ र दश कक्षा पढे । २०१४ सालमा एसएलसी प्रथम श्रेणीमा पास गरे । 

उनका अगाडि उनका पिताजीको सर्त खडा थियो । पिताजीको इन्जिनियर बन्ने सर्तलाई सार्थक तुल्याउन आईएससी पढ्नु पर्छ भन्ने तत्वज्ञान भइसकेको थियो । उनले एसएलसीमा अप्सनल म्याथ पनि पढेका थिए । 

संस्कृत ब्याकग्राउण्डबाट अंग्रेजी विषयको पढाईमा जाँदाको समयमा उनलाई थोरै गाह्रो हिसाबका विषयमा हुनगयो । उनी भन्छन्, ‘‘मेरा पिताजीले मलाई डेढा र अढैया पनि गुन्न सिकाउनु भएको थियो । त्यस्ता हिसाब कन्ठै पारेको थिएँ । त्यसैले अलिकति अप्ठेरो भएपनि त्यति गाह्रो भएन् ।’’ 

त्यो तीन वर्ष उनले पूरा मेहनत गरे । पहाडबाट आएको मानिस यहाँका मानिसभन्दा कम हुनुहुँदैन भन्ने उनको मनले अह्राएको थियो । त्यसैले पनि उनले मेहनतलाई पहिलो प्राथमिकतामा राखे । त्यसमाथि पिताजीको इन्जिनियर बन्नुपर्ने सर्त अगाडि नै उभिएको थियो । जबकी त्यतिबेला पनि ईन्जिनियर भनेको के हो र यसले के काम गर्छ भन्ने उनलाई थाहा थिएन ।

०००

त्रिचन्द्र कलेजबाट आईएससी पास गरिसकेपछि उनले स्कलरसीपमा इन्जिनियरिङ विषय लिएर पढ्नका लागि प्रयास गरे । अनेक व्यक्तिहरुको सम्पर्कमा गए । यसरी करिब एक डेढ वर्ष बित्यो । त्यसबीचमा उनले फर्म पनि भरे ।  अन्ततोगत्वा उनको छनोट जर्मनीमा एरोनोटिकल ईन्जिनियर पढ्ने गरी भयो । तर जर्मनीबाट कन्फरमेसन दुई वर्ष पछिलाई मात्रै आयो । अर्थात उनी दुई वर्ष पछि मात्रै जर्मनी जान पाउने भए ।

त्यसैले उनले फेरि बिएससीमा भर्ना लिए । र, सन् १९६५ सालमा उनले बीएससी पास गरे फस्र्ट डिभिजनमा । उनको नाम बोर्डमै आयो । यहाँ उनको राजनीतिप्रतिको रुची पनि जोडिन आउँछ । 

\"\"

वि.सं. २०१४ सालमा एसएलसी गरेका उनले २०१५ सालकै निर्वाचनमा सूर्यप्रसाद उपाध्यायलाई सहयोग गरेका थिए । जब २०१७ साल पुष १ को घटना भयो, उनको राजनीतिप्रतिको चेत झनै जागरुक भयो । बीपीको नाम आफैमा विशाल थियो । उनी चर्चित थिए । बीपीलाई गरिएको व्यवहारले ‘यो त राम्रो भएन’ भन्ने उनलाई लाग्यो ।

वि.सं. २०१९–२० साल तिर जनकपुर अञ्चलबाट काठमाडौंमा आएर पढ्ने विद्यार्थीहरुको समूह बनाउने काममा घिमिरे जुटे । र समूहको नाम दिए, गौरीशंकर छात्र समिति । यसले गर्दा राजाको कदम ठीक भएन भनेर उग्र विचार राख्ने साथीहरुसँग उनको संगत बढ्दै गयो । र एउटा जमात खडा हुँदै गयो ।

त्यसको केही समय पछि नै शिवबहादुर खडका, विपिन कोइराला, हेमन्त कोइराला, श्रवण कोईराला, भवेन्द्र बराल, भरत बराल र लक्ष्मण घिमिरेहरुले ‘राष्ट्रिय रेभूलेशनरी काउन्सील’को स्थापना गरे । सबैले रगतले सहीछाप गर्दै एउटा संगठन बनाए ।
यो जोश र उर्जा कताबाट आउँथ्यो कताबाट । उनलाई थाहा छैन । तर त्यही उर्जाले उनीहरु आफ्नो कर्ममा लागिरहेका थिए । 

त्यसबेला चिनेको नेता भनेको कमल चित्रकार मात्रै थिए । उनीसँग केही कुरा हुन्थ्यो । यसरी जोश र उर्जाले उनीलगायत उनका साथीहरुलाई राजाको कदमका विरुद्ध सक्रिय गराउँथ्यो ।  घिमिरे भन्छन्, ‘‘यो संगठन स्वतःस्फूर्त रुपमा स्थापित भएको थियो । यसका बारेमा कसैलाई सुईको पनि थिएन । कमल चित्रकारलाई पनि हाम्रो कामका बारेमा थाहा थिएन ।’’ 

यसरी युवा विद्यार्थीहरुलाई परिचालित गर्दै उनीहरु अगाडि बढे । 

यसरी दिन बित्दै थियो । लक्ष्मण घिमिरेहरुको बीएससीको परीक्षा पनि सिद्धियो । त्यसलगत्तै एउटा काण्ड भयो । जुन डीआईजी काण्डका नामबाट चर्चित भयो । त्यही विषयलाई लिएर घिमिरेलगायतका आन्दोलनकारीहरुले व्यापक आन्दोलन गरे । यिनीहरुलाई प्रहरीले समातेर लगे । 

उनी भन्छन्, ‘‘हाम्रा साथी मध्ये एक जना साथीले सबै कुरा बक्नु भयो । यसले सबैलाई गाह्रो बनायो । पुलीसले टर्चर पनि खुबै दिए । सहनै नसक्ने गरी टर्चर गरेका थिए । अर्को कुरो, हाम्रो बयानको फाईल बनाउँदा पंञ्चायतको सेरोफेरोमा रहेका धेरै व्यक्तिहरुलाई पनि त्यस बयान भित्र पारिएको थियो । र यो काम तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले गरेका थिए ।’’

त्यो बयान भित्र डा. तुलसी गिरीलगायतहरुको नाम पनि मुछेर राखिएको घिमिरे सम्झिन्छन् । पछि त्यो मुद्दाको फाईल दरबार पुग्यो । राजा महेन्द्रले त्यो फाईल लामो समय दरबारमा राखे ।

केही समय हनुमान ढोकामा बसे उनीहरु । त्यसको पाँच छ महिना पछि दरबारले त्यस विषयमा मुद्दा नचलाउनु भन्यो । त्यस पछि उनीहरुलाई जेल चलान गरियो । र जेलमा रहँदा नै नै उनको बीएससीको रिजल्ट आयो । उनी बोर्डमा आउने गरी पास भए ।
उनका अनुसार उनीहरुलाई राजाको कदमको पीडाबोधले त्यो काम गराएको थियो । जबकी काँग्रेसँंग उनीहरुको खासै लेनादेना थिएन ।

करिब डेढ वर्षपछि लक्ष्मण घिमिरे जेलबाट छुटे । पंचायतकालमा पनि अजिब हुने उनी सभ्झिन्छन् । भन्छन्, ‘‘पञ्चायतको काम कारबाही अचम्मको थियो । जेल हाल्नलाई एउटा हवलदारले समाई दिए पुग्थ्यो । तर छुट्नलाई दरबारमै  फाईल पुग्नु पर्दथ्यो । समात्न कुनै बहाना चाहिन्थेन । अञ्चलाधीश र सीडीयो त धेरै ठूला भईहाले । 

करिब डेढ वर्ष पछि उनी जेलबाट बाहिर निस्किए । अनि त्रिचन्द्र कलेज गए । त्यसबेला केमेस्ट्रीका डिपार्टमेन्ट हेड थिए ध्रुवमान सिंह प्रधान । पढ्ने भएकोले लक्ष्मण घिमिरेलाई सबैले माया पनि गर्थे । काठमाडांैमा बस्दा बिहान बेलुका खानलाई नै गाह्रो भएकोले उनले प्रधान सरलाई केही सहयोग गर्न अनुरोध गरे ।

उनले पनि कलेज प्राचार्यलाई भनेर ल्याबको डेमोस्ट्रेटरमा लगाई दिए । केही हल्का भयो उनलाई । त्यसबीचमा उनको जर्मनीको एरोनोटिकल ईन्जिनियरको सिट फुत्की सकेको थियो । पिताजीको सर्त फेरि अगाडि आयो । त्यसैले उनले कोलम्बो प्लान अन्तरगत सिभिल इन्जिनियरिङ पढ्नलाई फर्म भरे । पिताजीलाई दिएको वचन पुरा गनुर्् पनि त थियो । 

त्यसबेला कोलम्बो प्लान अन्तरगत विद्यार्थीहरु पठाउँदा व्यापक स्कृनिङ गरिन्थ्यो । पुलीस रिपोर्ट लिईन्थ्यो । तर उनको सबै पढाईको नम्बरले लक्ष्मणलाई नै अगाडि पार्‍यो । अन्तरवार्ता लिनेहरुले पनि उनलाई  र्‍याखर्‍याखती पारे । तर नम्बर काट्न सकेनन्, कसैले । 

अन्तर्वार्तामा उनले त्यही अनुरुपको उत्तर दिए । कतिले उनलाई पढ्न पठाउनु पर्छ भने । कतिले राजनीति गर्ने विद्यार्थीलाई पठाउनु हुन्न पनि भने । तर अन्तिम फाईल राजदरबार पठाईयो । त्यसबेला त्यस्तै चलन थियो । शिक्षा सचिवले पठाउने भने । मन्त्रीले लेखेछन्, ‘‘पञ्चायत विरोधीलाई पढ्न पठाउन हुन्न ।’’ यसरी दरबार पुगेको फाईल चार महिना पछि बाहिर फर्कियो । जसमा उनको नाम पनि समावेस थियो ।

उनलाई बनारस हिन्दु युनिभरसिटी अन्तरगतको इन्जिनियरिङ कलेजमा पढ्न पठाईने भयो । तर फेरि एउटाले अत्तो थाप्यो । बनारसमा पुगेर यसले झनै राजनीति गर्ने भयो भनेर । त्यसैले यसलाई दूरदराजको कलेजमा पठाउनु पर्छ । त्यस पछि लक्ष्मणप्रसाद घिमिरेलाई मद्रास युनिभरसिटी अन्तरगतको गभर्मेन्ट कलेज अफ टेक्नोलोजी, क्वानमाटोरमा पढ्ने गरी पठाईयो । आज यो ठाउँ, भारतको तामिलनाडुमा पर्दछ ।

०००

२०३०–०३१ साल तिर एआईटीबाट ईन्जिनियरिङमा मास्टर्स पास गरेपछि उनलाई सिंगापुरमा काम गर्ने प्रस्ताव आयो । उनी जान तयार पनि भए । तर एआईटीका एकजना प्रोफेसर ड्रुले उनको यो कदमलाई रोके । उनले लक्ष्मणलाई नेपाल नै फर्किन उत्पे्ररित गरे । र भने ‘तिमीले नेपालमै केही गर्नुपर्छ । यदि भोलिका दिनमा कामबाट सन्तुष्ट भईएन भने त्यतिबेला मसँग सम्पर्क गर्नू । म अर्को कुनै व्यवस्था गराैंला ।’

\"\"

त्यसपछि उनले सिंगापुर आउन नसक्ने खवर दिए । र नेपाल फर्किए । तर जब यहाँ आए, उनले पाउनु दुःख पाए । उनको सर्टिफिकेट जसले पनि हेर्थे, भन्थे तपाईलाई दिने जागिर नै छैन । अन्ततः हर्क गुरुङको सिफारिसमा दैनिक अठार रुपैयाँ पाउने गरि सडक विभागमा जागिर खान सुरु गरे । 

उनी भन्छन्, ‘‘मरता क्या नही करता भन्दै ज्यालादारी जागिर खान सुरु गरेँ । त्यसको केही समय पछि अस्थायी भएँ । र सडक विभागमा करिब पाँच छ वर्ष काम गरेँ ।’’

उनले सिंगापुरबाट आएको जागिरको प्रस्तावलाई नाई भनेका थिए । यदि गएको भए उनको तलब त्यहाँ त्यसबेला २ हजार डलर हुन्थ्योे । जबकी नेपालमा दैनिक १८ रुपैयाँ उनको कमाई थियो ।

काठमाडौंमा उनको काम गराइ थियो सडकको सर्वे र डिजाईनहरु गर्ने । यसका लागि कैयन पटक विदेशीहरुसित पनि काम गरे । विदेशीहरुसंँग काम गर्दा सर्वे घिमिरे र उनका साथीहरुले गर्थे । तर रिपोर्ट बनाउने र सहि गर्ने काम विदेशीले गर्थे । जब आफै गरिन्छ भने आफैले कन्सलट्यान्ट किन न खोल्ने ? यो प्रश्न उठे पछि सडक विभागमा काम गर्ने चारै जना इन्जिनियरहरु ईश्वरराज वन्त, प्रकाशचन्द्र जोशी, पेम्बा लामा र लक्ष्मण घिमिरेले संयुक्तरुपमा ईष्ट कन्सल्ट्यान्टको स्थापना गरे । 

यसरी पृथक कामको प्रारम्भ भयो । नेपालमा पहिलो पटक निजी क्षेत्रबाट इन्जिनियरहरुको कन्सलट्यान्ट सुरु भयो । त्यसले काम पनि पायो, त्रिशुलीदेखि धुन्चेसम्मको सडक सर्वेको । 

घिमिरे हाँस्दै भन्छन्, “हामीले जागिर छोडदा कतिपय साथीहरुले हामीलाई तिमीहरु बौलायौ पनि भने । सडकको जागिर भनेको सुनको खानीमा काम गर्नु सरह मानिन्थ्यो त्यसबेला । तर हामी जागिर छोडेर हिँडेका थियौं । केही नयाँ काम गर्न । र यो एउटा पायोनियर संस्थाकारुपमा स्थापित पनि भयो ।”

र, आज पनि ईष्ट कन्सल्टको नाम यस क्षेत्रका लाग्ने धेरैले लिँदै आएका छन् ।

०००

जनमत संग्रहताका लक्ष्मण घिमिरेहरुले खुलारुपमा बहुदलको प्रचार गरे । र, जनमत संग्रह पछि सडक विभागबाट राजिनामा दिएर निजी क्षेत्रबाटै काम गर्न थाले ।  यद्यपि घिमिरेको सम्पर्क नेपाली काँग्रेस पार्टीसँग थियो । 

एक पटक वीरेन्द्र दाहालले गिरिजाप्रसाद कोइरालालाई लक्ष्मणप्रसाद घिमिरेको चावहिलस्थित घरमा लगे । त्यहाँ लामो कुराकानी भयो । लक्ष्मणलाई पनि लाग्यो, वास्तवमा हाम्रा नेता यी हुन् । त्यसबेला गिरिजाप्रसाद कोइराला भारत प्रवासबाट नेपाल फर्किसकेका थिए । 

घिमिरे भन्छन्, ‘‘यसरी गिरिजा बाबुसँग मेरो सानिध्य बढ्दै गयो । म पार्टीको काममा पनि लाग्दै गएँ । अन्ततः बहुदल प्राप्ति पछि वि.सं. २०४८ सालको निर्वाचनमा पार्टीले मलाई चुनाव लड्ने टिकट दियो । म निर्वाचन लडेँ , जितँे र सांसद भए । केही महिना पछि मन्त्री पनि भएँ ।’’ 

मन्त्रीको प्रसंग आउँदा उनले एउटा पुरानो प्रसंग उप्काए । बीएससी पढ्दा घिमिरे मेजर दानबहादुरको पुतलीसडकमा रहेको घरमा डेरा लिएर बस्थे । त्यसै घरमा डेरा लिएर बसेका थिए, नवराज सुवेदी, भोजराज घिमिरे र बालाराम घर्तीमगर पनि । पञ्चायतकालमा नवराज सुवेदी, भोजराज घिमिरे र बालाराम घर्तीमगर मन्त्री भए । र लक्ष्मण घिमिरे भने बहुदल आए पछि जलस्रोत मन्त्री भए । यो कोइन्सिडेन्ट नै थियो कि मेजर दानबहादुर कहाँ बसेका चार जना व्यक्ति मन्त्री भए । 

यति कुरा गरिरहँदा राजनीतिज्ञ तथा इन्जिनियर लक्ष्मणप्रसाद घिमिरेको ओँठमा हाँसो खुलीरहेको थियो । 


 
   

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro