site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बिरासत’ प्रति सभापतिको दुःखद टिप्पणी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक परिवार ‘कोइराला’ बिरासतप्रति गर्नुभएको आक्रोशपूर्ण टिप्पणीले दुःखद तरंग उत्पन्न गरेको छ । यो विषय लेखका लागि रुचिकर होइन । अप्रिय हो । तर, शीर्ष नेताको अभिव्यक्तिले नेपाली राजनीतिमा दिने सन्देश लेखकीय विषय बन्ने रहेछ, बन्नैपर्छ । सभापति देउवाको टिप्पणीको पक्षप्रतिपक्षमा यी हरफ कोरिदै छैनन् । तर, सबैमा अनुरोधका शब्द लेख्ने जमर्को भने हो । 

दुई नम्बर प्रदेशको वीरगञ्ज भूमिबाट सभापति देउवाले ‘नेपाली कांग्रेस कोइरालाहरुको बपौती होइन, कोइराला हुँदैमा सभापति बन्न पाइँदैन । हामी जेलनेल पर्दा अहिलेका कोइरालाहरू कहाँ थिए ? शेखर कोइरालाको हैसियत के ? उनलाई अनुशासनको कारबाही गरिन्छ ।’ भने । उनको लबज यस्तै थियो । वीरगञ्जबाट तीरजस्तै छोडिएको शब्दवाणले नेपाली राजनीतिको सोचलाई घायल पारिदिएको छ र कांग्रेसमा बढ्न थालेको द्वेषको मानसिकताको पोल खोलिदिएको छ, अर्थात् निर्वस्त्र गरिदिएको छ । 

नेपाली कांग्रेस देशको सन्दर्भमा सबैभन्दा जेठो राजनीतिक दल हो  । सात दशकभन्दा लामो इतिहास निर्माण गरेको यो दलको आदर्शप्रति अहिलेसम्म लाखौं जुझारु नेता, कार्यकर्ता जोडिएका छन् । हजारौं परिवारको बिरासत जोडिएको छ । हजुरबा कांग्रेस, बा र आमा पनि कांग्रेस र छोरा, नाति पनि कांग्रेस । यस्तै यस्तै बिरासतका कडीहरुले आजसम्म कांग्रेस जिउँदो छ र नेता,कार्यकर्ता हुने मौका मिलेको छ । 

संघर्षको लामो यात्राबाट नेपाली कांग्रेसले इतिहासमात्रै होइन, सँगै राजनीतिक संस्कार पनि बनाएको छ । राजनीतिमा बिरासतलाई ‘आइसोलेसन’ गर्न सकिँदैन । कारण, पारिवारिक सम्बद्धता पनि रहन्छ । कोही नेता भएर, कोही परिवारले अपनाएको आदर्श पछ्याउँदै समर्थक वा मतदाता भएर, त्यहाँ बिरासत लगातार रहन्छ । कोही पारिवारिक बिरासतसँगै संस्थाको बिरासतमा उभिन्छन् र कोही संस्थाको बिरासतमा नेता, कार्यकर्ता बन्छन् । कांग्रेस स्वयंमा इतिहासको बिरासत हो, आदर्शको, दर्शन, संस्कार र संघर्षको बिरासत । 

बाबु, बाजे र बज्यैले अपनाएको पेसा, व्यवसाय वा धर्मकर्मलाई नाति, नातिना र छोरा, छोरीले पछ्याउनु आश्चर्य होइन । सानैदेखि देखासिकी स्वाभाविक हो । राजनीति सेवा हो । यही सेवामा लागेको परिवारको सदस्य प्रतिष्पर्धाका लागि उत्रन्छ भने त्यहाँ बिरासत आरोपित गर्नु स्वतन्त्रता र प्रजातन्त्रलाई कुठित पार्नु हो । बिरासतै नभएकाले मात्र राजनीति गरिन्छ, धानिन्छ र राजनीति तिनको मात्रै कर्म हो भनिन्छ भने त्यो दृष्टिदोष हो । लोकतान्त्रिक राजनीतिको मैदान सबैका लागि खुला हुन्छ, हुनुपर्छ । त्यो मैदानबाट कोही नेता बन्छ, कोही कार्यकर्ता नै रहन्छ । संस्थाको लागि भने सबै कार्यकर्ता नै हुन् । चिन्ताको विषय चाहिँ राजनीतिक सेवाको बिरासत छोड्दै बन्न थालेको खाल्डो (भ्याकुम) प्रति हो । अर्थात् चिन्ता, बिरासतको हकदार पुस्ता पलायन हुँदै अर्कै पेसामा जानुले हुने पारम्पारिक संस्कार शून्यताप्रति हुनुपर्ने हो ।  

इतिहासतिर फर्किएर हेर्ने हो भने, त्यो लुक्दैन । इतिहास नांगै हुन्छ । आफैले बिर्सिए पनि इतिहासको सम्झने ‘मन’ हुन्छ, त्यो ‘बिस्र्यूं कसोरी’ भन्छ । कांग्रेसको आफ्नै इतिहास छ, कोइरालाहरुको आफ्नै भूमिका र देउवाको पनि आफ्नै । यस्तै योगदान र भूमिकाहरुको सम्मिलन अहिलेको कांग्रेस हो । इतिहासलाई कोट्याएर होच्याउनु, घोच्याउनु र थच्याउनु सर्वकालिक सुसंस्कार होइन । यसो गर्दा कोही वा राम्रो इतिहास अगाडि बढ्दैन । हिजो कोट्याउने हो भने हामी कुनै दिन लाज के हो ? बुझ्न नजान्ने, छोप्नै नसक्ने र नमान्ने थियौँ । जब बुझ्यौँ तब निर्वस्त्र शरीरलाई वस्त्रले आच्छादित गर्नथाल्यौँ, थप सफा वस्त्रले ।  तन त ढाकियो तर मन ?

राजनीतिमा बिरासत विश्वव्यापी हो, छ । कहिले कतै, कहिले यतै । अमेरिकामा बुस परिवारका सदस्य अझै राजनीतिमा छन् । दक्षिण एसियामा कुनै दिन श्रीलंकामा पनि रह्यो । बंगलादेश पनि अपवाद भएन । भारतमा जबाहरलाल नेहरुको बिरासत अहिले पनि छ । भारतीय जनता पार्टीका कतिपय नेताका छोरा, बुहारी राजनीतिमा सम्लग्न छन् । पाकिस्तानमा भुट्टो परिवारका सदस्य सबैले राजनीतिक मैदान छाडिसकेका छैनन् । के यिनले पाप गरेका हुन् राजनीतिमा होमिएर  ?

हो, बिरासतको अर्को पाटो छ, विरोध गर्नैपर्ने । जहानिया, वंशीय र एकाधिकारवादी बिरासत विरोधयोग्य हो, त्याज्य छ । नेपालकै उदाहरण लिँदा, जहानिया राणातन्त्र, शाह वंशीय राजतन्त्र, जो जन्माधिकारमा शासक बन्ने बिरासत थियो, त्यसको विरोधमात्रै होइन त्याग नै भयो । अर्को विदेशी उदाहरण उत्तर कोरिया हो जहाँ किम वंश बिरासत शासनसत्ताको प्राधिकार बन्ने परम्परा छ । अर्को वर्गीय एकाधिकारवादी बिरासतको शासन पनि त्याज्य छ । 

लोकतान्त्रिक स्वतन्त्रतामा बिरासत प्रधान हुँदैन । प्रतिष्पर्धा प्रधान हुन्छ । परिवारका अग्रजले गरेको योगदानको केही लाभांश होला, सहानुभूति र पहिचान बन्ला । तर, लोकतान्त्रिक राजनीतिमा यही नै पर्याप्त होइन, यत्तिले नै पुरस्कृत हुन पाइँदैन, सकिँदैन । यो सबैले बुझेको कुरा हो । लोकतन्त्रमा बिरासत भए, नभएका सबैले एकै थलोमा प्रतिष्पर्धा गर्नुपर्छ, जुझ्नुपर्छ । त्यही भएर त होला कोइराला पनि गाउँबजार पुगेका अरू नेता,कार्यकर्ता जस्तै । 

नेपाली कांग्रेस बिरासतको धनी पार्टी हो । प्रकाशमान सिंह हुन् कि, विमलेन्द्र निधि,रामचन्द्र पोखरेल हुन् वा आङदम्बेहरु नै किन नहुन् । यादव हुन् कि, शेरचन, गौचन । जताततै भेटिन्छ कांग्रेस बिरासत । बिरासतको घना छाहारीमा कांग्रेसको वृक्ष उभिएको हो । सायद, सभापति देउवा झोक्किँदा त्यस्तो अविच्छिन्न बिरासत बिर्सनुभएछ  । बिरासत त के, परिवारको नाताले राजनीतिक पद र लाभ लिएका दर्जनौ उदाहरण सरकारधारी दलतिर फर्किएर खोज्न पर्दैन कांग्रेसले आफैभित्र हेर्यो भने पनि भेटिनेछन् ।

राजनीति संस्कार बसाल्ने पद्धति पनि हो । सहिष्णुता, त्याग, धैर्य र क्षमाशीलता राजनीतिकर्मीको सुशोभन हो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराइ(किसुनजी) र गिरिजाप्रसाद कोइरालावीचको संगतमा उत्तरार्धतिर तिक्तता बढ्यो । तर, गिरिजाप्रसाद कोइरालाले उहाँहरुप्रति तिखो टिप्पणी सार्वजनिक गरेको कहिल्यै सुनिएन । यो मामलामा सुशील कोइराला पनि जोगिनु भएकै देखिन्छ । सिंह र भट्टराईले पनि कानै घोच्ने र मुटु दुख्ने टिप्पणी खासै सार्वजनिक गर्नुभएन । सकभर जोगिनुभयो । कांग्रेसको संस्कार यस्तै थियो, यस्तै देखिन्छ भन्ने लाग्छ । जमलको पश्चिम कुनामा पार्टी कार्यालय थियो,त्यति ठूला नेताले कार्यकर्ताको तीखो गुनासो र जबर्जस्ती कुरालाई पनि हाँसेर सहन गरेको देखेको थिएँ । ती सम्झनाले पछि बुझेँ क्षमाशील, सहिष्णु, धैर्य र जमल कुनाको त्याग र संघर्षको राजनीति । त्यो दृश्यले अहिले आएर राजनीतिमा अभिभावकीय महत्व पनि बुझ्न थालें । यही स्थितिमा युवा शेरबहादुर देउवालाई पनि देखेँ, चिने ।  

यी हरफ कांग्रेस सभापति देउवाप्रति मात्र अनुरोध गरिएका होइनन् । यी हरफ नेपाली राजनीतिमा पदासीन हैसियतका कारण बनेको (?) अहिलेका कथित शीर्ष नेतादेखि कार्यकर्तासम्मका लागि पनि हुन् । तिनीहरुकै समान प्रतिष्पर्धा र संघर्ष गर्न तयार हुनेहरु बिरासतकै कारण निषेधित, प्रतिबन्धित वा अयोग्य हुने होइनन् । तिनीहरु वा बिरासतका भाग्यशालीहरुसमेत राजनीतिक कर्मको अग्निज्वालाबाट खारिएर उत्रनैपर्छ । थालमा पस्किएर ल्याउँदैन बिरासतले । सक्रिय कर्मले साकार पार्नैपर्छ, बन्नैपर्छ । बिरासत होस् या नहोस् तर राजनीतिमा आउनेका लागि, प्रतिष्पर्धा रोज्नेहरुका लागि र  देश वा जनताको सेवा गर्छु भन्नेहरुलाई दुत्कार्नु, अर्को अर्थमा निरुत्साहित गर्नु राजनीति होइन । 

पार्टी सभापति पदमात्र होइन । अभिभावकीय दायित्वसमेत हो । अभिभावकले आफ्ना कुनै कार्यकर्ता र सदस्यलाई निर्मम टिप्पणी गर्नु राजनीतिको निर्दयी अवस्था हो । अभिभावक स्नेहको पुञ्ज हो, बन्नुपर्छ । अहिलेको नेपाली राजनीतिमा यही कमी हुँदैछ । नेपाली राजनीतिमा अहिष्णुताको बोलबाला बढ्दैछ । यस्तो दृश्य बहुदलीय वर्तमान राजनीतिका लागि शुभ लक्षण होइन । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा किन चुक्नुभयो ? पटक पटक प्रधानमन्त्री र कांग्रेसजस्तो इतिहास निर्माता पार्टीको सभापति देउवा सबैको भरोसा हो तर उहाँ किन आफ्नै सदस्यको पार्टी बिरासतको र संस्कारको प्रताडना बोली बन्नुभयो । चित्त दुःखाएर अनुरोध छ ‘सभापतिजी तपार्इँबाट अब यस्तो कहिल्यै नहोस् ।’ निवेदन यही हो । बुझे, देशको नेता हुँ भन्ने सबैले यो अनुरोध बुझ्दा सही सम्भावना ज्यूँदो रहला । अन्यथा, देश दुर्घटनाको डिलमा छ । अहिले यत्ति संकेत, अहिष्णुताले प्रजातन्त्र कुण्ठित गर्छ । नेतृत्व असफल हुन्छ । ‘विज्ञेषु किं अधिकम् ।’
    
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५  ०८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro