site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाजुहरु चित्र नबनाऊ भन्थे, आमा बनाउन प्रेरित गर्थिन्
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

उनी त्यसबेला चित्र कोर्दा वाटर कलर प्रयोग गर्थे । बाक्लो आर्ट पेपरमा यसो रफ स्केच गर्यो । धर्काधुर्की कोर्यो । अनि वाटर कलरको प्रयोग गर्दै चित्रमा रङ्ग भ¥यो । यसरी उनको भावना क्यानभासमा प्रस्तुत हुन थाल्यो । चञ्चले उमेर भए पनि आफूले गर्नुपर्ने काममा धीर–गम्भीर थिए उनी । त्यसैले उनी चित्र कोर्नमै सक्रिय रहे । 
उनले त्यसैबेला केही सेट वाटर कलर पनि किने । आफूलाई आवश्यक रङ्गको जोहो गर्नु जरुरी पनि थियो । त्यसबेला वाटर कलर पनि कमै पाईन्थ्यो, तर उनी आफ्नो इच्छापूर्तिका लागि परेका थिए । चित्र जस्तो बनोस्, वाह ! वाह ! भनियोस् वा सामान्य । उनी आफ्नो कर्ममा निरन्तर लागिरहे । 
वरिष्ठ चित्रकार श्यामलाल श्रेष्ठ (७३) सँग गत साता बबरमहल स्थित उनकै निवासमा रहेको उनको चित्रकला ग्यालरीमा भेट हुँदा उनी भन्दैथिए, ‘मेरो आमाले गर्दा नै म नेपालको चित्रकारका रुपमा उभिएको छु । दाजुहरुले मेरो चित्रकारिता मन पराउँथेनन् । तर आमाले मलाई सधै हौस्याउनु भयो । ‘तलाईं इच्छा लाग्ने काम गर’भन्दै कागज र वाटरकलरका लागि थोरबहुत पैसा पनि दिनुहुन्थ्यो ।’  
श्यामलालका अनुसार प्रारम्भमा उनले बनाएका चित्र खासै राम्रा थिएनन् । तर, दृढ इच्छाशक्तिले उनलाई अगाडि बढ्न सदैव प्रेरित गरिरह्यो । उनी आफ्नो मनले अह्राएको काम गर्थे । उनको मनले चित्रकलाभन्दा बाहिर नजान भनिरहन्थ्यो । फलतः उनी चित्रकलाकै पेरिफेरिमा निरन्तर क्रियाशील रहे । 
उनले चित्रकलाको प्रारम्भदेखि दृश्य चित्र बनाउन सुरु गरेका हुन् । उनी विभिन्न ठाउँहरुमा गएर क्यानभासमा ती दृश्यलाई हुबहु उतार्थे । कहिलेकाँही त्यस्ता दृश्यमा कल्पना पनि नछिर्ने होइन । तथापि, यथार्थ चित्रले नै उनको क्यानभास भरिन्थ्यो । उनको चित्र देखेर र उनको कलाप्रतिको अथाह रुची देखेर उनकी आमा जहिल्यै उनलाई भन्थिन् “तिमी देशको एउटा कुशल कलाकार बन्छौ बाबु ।” 
आमाका यी शब्दहरुले श्यामलालको रंङ, कूची र क्यानभाससँगको सम्बन्ध झनै दह्रिलो हुँदै गयो । उनले एसएलसी पास गरेपछि ललितकला कलेजमा फाईन आर्ट पढ्न सुरु गरे । फलतः चित्रकलाको पढाईसँगै उनको कलाकारितामा निखार थपिँदै गयो ।
उता भाइको चित्रकलाप्रतिको अथाह प्रेम दाजुहरुले रुचाएका थिएनन् । उनीहरु भाइलाई नचाहिने काम गरिरहेको भन्थे । चित्र कोर्नुभन्दा जागिर खान सुझाउँथे ।
श्रेष्ठ भन्छन्, ‘‘तर मेरो प्रेरणा मेरी आमा नै हुनुहुन्थ्यो । उहाँले तिमी काम गर्दै जाउ, दाजुहरुको कुराले चित्त नदुखाउ भनेर सधै मेरो पक्ष लिनुभयो । यथार्थमा आमाको यही मद्दत मेरो जीवनकै एउटा महत्वपूर्ण पाटो हो ।’’
\"\"स्वदेश तथा विदेशमा गरेर कैयन पटक एकल र संयुक्त चित्रकला प्रदर्शनी गरिसकेका श्यामलाल श्रेष्ठको चित्र लेखनको सुरुआत बालकै हुँदा भएको हो । उनी पाँच सात वर्षका थिए, चित्र कोर्दा । त्यसबेला उनले घरका भित्ताभित्तामा कोईला र ईँटाका टुक्राले चित्र बनाउँथे । अर्थात् चित्रको नाममा जे बन्थ्यो बन्थ्यो । तर, उनले भित्ता कोर्न छाडेनन् । यसो गर्दा गाली खानु अस्वाभाविक होइन, तथापि उनले त्यसैमा आफ्नो जीवनको रङ्ग पाउँदै गए । अन्ततः चित्रकलानै उनको जीवनको अङ्ग बन्यो । 
भोटाहिटी क्षेत्रमा जन्मिएका श्यामलालको बाल्यकाल त्यसै क्षेत्रमा बित्यो । ठूलो परिवार थियो । घर सानो थियो । त्यो वातावरणमा पनि उनको कूची चलाउने रुचीमा कुनै कमी आएन । 
चित्रकलाकोे रुचीले उनलाई त्यसबेला यदाकदा हुने चित्रकला प्रदर्शनी हेर्न प्रेरित गथ्र्यो । मौका मिल्दा यस्ता चित्रकला प्रदर्शनी स्थलमा पुगेर उनी घण्टौ समय बिताउँथे । यसले उनमा प्रदर्शनी हेर्ने बानी पर्दैै गयो ।
चित्रकलामा रुची भएका श्यामलालले प्रारम्भिक चरणको पढाईका लागि धेरै विद्यालय फेरे । कहिले जेपी स्कूल त कहिले दरबार हाईस्कूल । कहिले अर्को कुनै स्कूल । अन्ततः उनले एसएलसी दरबार हाईस्कूलबाट दिए । 
श्यामलाल पुरानो कुरा सम्झिन्छन् । उनले हाँस्दै भने, ‘‘म पढ्न भनेर स्कूल भर्ना हुन्थेँ । खै के के कुरामा साथीहरु सित झगडा पर्दथ्यो । त्यो स्कूल छोड्थेँ र फेरि अर्को स्कूलमा गएर भर्ना लिन्थेँ । यसैले मैले तीन चार वटा स्कूलमा पढ्नु पर्यो ।’’ 
श्यामलालका ठूलो बुवाका छोरा कैलाशरामको ध्यान श्यामलालको चित्रकारितामा थियो । उनै कैलाश दाइले एक दिन श्यामलाललाई एउटा पुरानो भवनमा पु¥याए । त्यो चर्चित चित्रकार चन्द्रमान सिंह मास्केको घर रहेछ । 
श्यामलालले ती कलाकारद्वारा सिर्जित अनेकन कला देखे । उनी चकित परे । चन्द्रमान सिंह मास्केका पुराना शैलीका चित्रहरुले उनलाई आकर्षित ग¥यो । आफू सही ठाउँमा आईपुगेको उनले अनुभूत गरे । 
यस्तै १२–१३ वर्षका थिए उनी, त्यो बेला । कैलाश दाइले चन्द्रमानसँग भाइलाई चित्रकला सिकाई दिन आग्रह गरे । चन्द्रमान मास्केले पनि उनलाई घरमै आउन भनेँ । यसरी उनी चित्रकार चन्द्रमान सिंह मास्के कहाँ जान थाले । र, धर्काहरुलाई चित्रमा परिणत गर्ने कला सिक्न थाले ।
उनी भन्छन् ‘‘सिक्दै जाने क्रममा मैले लाईन कोर्ने काम सुरु गरेँ । यसरी उहाँले मलाई प्रारम्भिक अवस्थामा गाईड गर्नुभयो । धेरै पछि मैले अर्का प्रतिष्ठित चित्रकार लैनसिंह वाङ्देलसँग पनि केही सिक्ने मौका पाएँ ।’’
आमाको उत्प्रेरणा, चन्द्रमान मास्केको प्रारम्भिक चित्रकलाको शिक्षासँगै दरबार हाईस्कूलबाट एसएलसी गरेका श्यामलालले ललितकला कलेजबाट फाईन आर्टमा डिप्लोमा गरे । चित्रकलामा अध्ययन नगर्दाको अवस्था र अध्ययन गरिसकेको अवस्थामा आफूमा धेरै परिवर्तन आएको उनले महसुुुस गरे । प्रारम्भमा यथार्थ शैलीका चित्र कोर्न सिकेका श्यामलालले त्यो चित्रमा नविनता कसरी दिन सकिन्छ भनेर सोच्न थाले । यसरी उनको कला पूर्ण जूनको रुपमा उज्यालिँदै गयो । 
एउटा नवकलाकारले चित्रकला लेखनको सुरुआतमा यथार्थ शैलीको कला नै क्यानभासमा उतार्नुपर्छ भन्ने श्यामलाललाई लाग्दछ । उनी भन्छन्, ‘सुरुमै अति आधुनिक कला वा एब्स्ट्रयाक आर्टले कलाकारलाई अलिकति अलमलमा पार्छ । पहिले यथार्थ शैलीको कलामा पोख्त भइसके पछि त्यसमा भाव पक्ष बलियो बनाउँदै आधुनिक कलाका विभिन्न रङ्ग थप्दै जाँदा, त्यसमा बिम्ब र कला भर्दैजाँदा त्यसले चित्रकलालाई सर्वकालिक र कालजयी बनाउँछ ।’ 
उनका अनुसार बेलाबखत कलाकारहरुलाई मुड चल्छ । यस्तो मुड श्यामलाललाई पनि चल्छ । मुड चलेका बखत उनी एउटा आकृति सोच्छन् । सुरु त उनले आफ्नै यथार्थ शैलीबाटै गर्छन् । विस्तारै त्यसैमा नयाँपन दिँदै जान्छन् । यसरी कैयन चित्रकलामा उनी यथार्थ शैली समाउँदै आधुनिक रुपरङ्गमा पोखिएका छन् । 
\"\"जतिबेला उनी भरखर कूची चलाउँदै थिए, त्यतिबेला क्यानभास र मसीको जोहो गर्नु पनि कठिन थियो । तर, जस्तो सामान पाउँथे त्यही उठाउँथे । त्यसको व्यवस्था गर्नुपनि गाह्रो थियो । विभिन्न रङ्गका १०–१२ वटा सानासाना बट्टाहरु हुन्थे पसलमा । त्यो फेला परे त्यही किन्यो । हैनभने कहिले काँही धुलो रंङ्गले पनि काम चलाउँथे उनी । त्यसबेला धुलो रङ्ग पनि पाइन्थ्यो । चित्रकारिता धुलो रङ्ले पनि सहज भएको थियो । 
उनी भन्छन्, ‘वास्तवमा मेरो जीवन संघर्षपूर्ण नै रह्यो । घरकाले चित्र नबनाउ भन्थे । तर आमाको अगाध माया ममा थियो ।’ 
चित्रकलामा निपूर्ण भईसके पछिको सुरुआती दिनमा उनले आफ्ना सिर्जनाहरु एक ठाउँमा राखे । वाटर कलरबाटै बनेका चित्रहरु उनले त्यहाँ सजाएका थिए । त्यो प्रदर्शनीमा सानासाना क्यानभासका चित्रहरु भए पनि प्रदर्शनी हेर्न ठूलाठूला मानिसहरु आएको उनलाई सम्झना छ । तर दुईचार वटा मात्रै चित्र बिक्री भए । र, ३०–४० रुपैयाँ उनको हातमा परेको थियो ।
जे–जस्तो भएपनि उनी आफ्नो काममा दत्तचित्त भई लागिनै रहे । त्यो लगनशीलताले उनलाई एउटा कला प्रदर्शनी गर्ने वातावरण सिर्जना ग¥यो । त्यो प्रदर्शन नेपाल—भारत सांस्कृतिक केन्द्रमा भएको थियो र त्यसको उदघाटन् तत्कालिन भारतीय राजदूतले गरेका थिए । 
त्यो प्रदर्शनी उनका लागि राम्रो रह्यो । त्यो बेला श्यामलालले एउटा चित्रकलाको चार–पाँच सय रुपैयाँसम्म पनि पाए । त्यो बेला उनका धेरै चित्रहरु बिक्री भएका थिए ।
त्यो प्रदर्शनी उनका लागि प्रेरणाको अजस्र स्रोत भएको उनी बताउँछन् । उनी भन्दैथिए, ‘‘मेरा लागि चित्रकला प्रदर्शनी भएको स्थानमा कला पारखीहरुको आगमन नै ठूलो कुरो थियो । मैले सदैव त्यही चाहेँ । आज पनि मेरो चाहना त्यही छ ।’’ 
\"\"त्यसबेला चित्रकला बेचेरै कमाउने अवस्था थिएन । त्यसैले उनले जनक शिक्षा सामग्री केन्द्रमा जागिर खाए । त्यहाँबाट प्रकाशित हुने पुस्तकहरुमा चित्रहरु बनाउने, किताबहरुको कभर बनाउने र अनेक कलात्मक डिजाईन सम्वन्धी काम उनको भागमा थियो । आफूलाई दिइएको काम उनी मनलगाएर पूरा गर्थे । त्यहाँ कार्यरत कलाकारहरु मध्येमा वरिष्ठ उनै थिए । यसरी उनले जनक शिक्षामा लामो समय काम गरे । 
श्यामलाल भन्छन्, ‘‘त्यो बेला मेरो आर्थिक अवस्था कमजोर नै थियो । त्यसैले जागिर खानु जरुरी भयो । जनक शिक्षाको जागिरले मलाई सहयोग पनि गरेको हो । र चित्रकला सम्वन्धी काम नै गर्नुपर्ने भएकोले मैले रमाएर काम गरेँ ।’’ 
त्यसबखत तत्कालिन राजारानीको चित्र बनाउने चलन थियो । तर श्यामलालले कहिले पनि राजारानीको पोट्रेट चित्र बनाएनन् । बनाउने आवश्यकता पनि परेन । उनले त क्यानभासमा प्रकृति कोरे, जीवन कोरे, संस्कृति कोरे, बस् । त्यसैले उनको चित्रकलामा सधै नेपाली संस्कृति र जीवनको यथार्थ चित्रण प्रस्तुत हुँदै आएको छ । 
आफ्नो चित्र कर्ममा उनी रमाउँदै गए । सिक्दै गए । बनाउँदै गए । आज उनका चित्रमा दर्शन पनि प्रस्तुत हुँदै आएका छन् । त्यो बखत पाँच सात सय पाउने चित्रको मूल्य बढिसकेको छ । चित्रको साईज पनि बढी सकेको छ ।
\"\"जनक शिक्षामा काम गर्दा नै उनी पहिलो पटक जापान गए । त्यहाँको चित्रकला सम्वन्धी कतिपय जानकारी पनि पाए । एक महिनाको जापान बसाईमा उनले धेरै कुरा सिके । पछि जापानमै पनि उनले एकल चित्रकला प्रदर्शनी गरे । जहाँ उनको चित्रहरु रुचाइयो पनि ।
उनी फेरि पनि भन्दै थिए, ‘‘वास्तमा मैले पैसा नै कमाउनका लागि चित्रकला कहिल्यै गरिन । मेरो काम मात्रै मैले देखाएको हुँ । मेरो काम राम्रो हुनुपर्छ, पैसा त गौण कुरा हो ।’’
जापानका साथै टर्की, फ्रान्स, अमेरिका र कोरियामा उनको एकल चित्रकला प्रदर्शनी भईसकेको छ । फ्रान्समा मात्रै उनले दुई पटक चित्रकला प्रदर्शनी गरे । फ्रान्सको लुबरु म्युजियमले आफूलाई सधैंनै आकर्षित गरेको श्यामलाल बताउँदै थिए । सोही म्युजियममा आफूले ‘मोनालिसा’ चित्र पनि हेरेको उनले सगर्व बताए । लुबरु म्युजियममा पसेपछि कलाप्रेमीहरु निस्कनै चाहँदैनन् । त्यस्तै भयो —श्यामलाललाई पनि । उनी पनि घण्टौ बिताउँथे त्यो ग्यालरीमा । 
उनले फ्रान्स जाँदा त्यहाँ आयोजना गरिएको आफ्नो कला प्रदर्शनीमा फ्रान्सका वा विदेशका दर्शकहरुले आफ्नो चित्रलाई मन पराएको पाए । उनका कतिपय यथार्थ र सांस्कृतिक शैलीका चित्रहरु विक्री पनि भए ।
सँधै कामलाई ध्यान दिने श्यामलाल श्रेष्ठले चित्रकलामै आफ्नो समय अहिले पनि व्यतित गर्दै आएका छन् । केही वर्ष अघि उनी बिरामी परे । तर बिरामी परेको बेलामा पनि उनले फाटफुट चित्र बनाई नै रहे । 
सर्वथा चित्रकलामा चिन्तनशील रहने श्यामलालका चित्रमा पुराना चिन्तन पनि आएका छन् । कहिले काँही क्यानभासमा संस्मरण पनि कोर्छन् उनी । उनी भन्छन् ‘‘मेरा चित्रमा मेरै देशको कथा प्रस्तुत गर्दै आएको छु मैले ।’’
चित्रकलामा लामो समय बिताउँदा पनि कला सम्वन्धी कुनै संस्थामा उनको चयन भएन । उनको कामको प्रशंसा नभएको भने होईन । सधै उनी काममै रमाए । आज पनि उनी आफ्नै काममा रमाउँदै छन् ।
आज पनि उनी गुरु लैनसिंह वाङदेलको सम्झना गर्छन् । वाङदेलले कलाकारितामा आफूलाई धेरै सिकाएको सम्झिन्छन् श्यामलाल । 
अहिले उनीसँग एउटा चित्र छ जसमा बुद्धको सिंगो जीवन गाथा प्रस्तुत छ । तर आफूलाई मनपरेका कतिपय चित्र उनी बेच्दैनन् । 
यसरी दृश्य चित्रबाट आफ्नो कलालाई विश्वव्यापी बनाएका वरिष्ठ चित्रकार श्यामलाल श्रेष्ठ आज पनि चित्रकलामा नै रमाई रहेका छन् । बबरमहल स्थित आफ्नै निवासमा रहेको स्टूडियोमा बसेर उनी चित्र कोर्छन् । उनका ती चित्रहरुमा भूगोल छ । जीवन छ । प्रकृत्ति छ । संस्कृति छ । यथार्थमा, सारा संसार छ उनको चित्रकलामा ।

\"\"
तस्बिर : साैरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५  १०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro