उनी राजविराज दुई वर्ष बसेर फेरि जलेश्वर नै फर्किए । जलेश्वरकै ल.च.मु. हाईस्कूलमा पढ्न थाले । पत्रपत्रिकाहरु पढ्नमा रुची राख्ने उनले त्यसैबेला साथी उमामणि आदीबाट रविन्द्रनाथ टैगोरको उपन्यास ‘उजडा घर’ पाए । त्यो उपन्यास उनले अद्योपान्त पढे । किशोरकाल थियो । उपन्यास उजडा घर उनले कति बुझे वा बुझेनन्, त्यो बेग्लै कुरो हो । तर यसै उपन्यासले उनमा पढ्ने लत लगायो । उमामणिसँगको संगतले उनलाई पुस्तकालय पुर्यायो ।
लेखक तथा साहित्यकार रामजीप्रसाद उपाध्याय पोखरेल अर्थात राप्रउ पोखरेल (७७) मंगलबार सिफल स्थित निवासमा ६० वर्ष अघिको सन्दर्भ सम्झना गर्दै थिए । उनी भन्छन्, ‘‘रविन्द्रनाथ टैगोरको उपन्यासले मलाई जलेश्वरको राजेश्वरी अध्ययन मण्डललगायत सबै पुस्तकालयहरुको ढोकाढोकामा पुर्यायो । मैले त्यहाँ रहेका सामाजिक, जासुसी र अन्य विषय समेटिएका उपन्यासहरु सबै पढेर सक्याएँ । यसरी मेरो पढ्ने लत बढ्दै गयो ।’’
यसरी जलेश्वरका पुस्तकालयहरुमा रहेका उपन्यास मात्रै होइन, नाटक, समालोचना वा समीक्षा, जीवनीलगायत विविध विषयमा लेखिएका किताबहरु पनि पढ्दै गए । ति सैयौं किताब पढ्दा उनले कति बुझे कति बुझेनन्, तर उनले पढ्न छोडेनन् ।
उनले माक्र्सवादी दर्शन पनि पढे । त्यसैताका राहुल सांङ्कृत्यायन, यशपालका किताबहरु पनि पढ्दै गए । यसरी किताबप्रतिको रुचीले उनलाई जनकपुर पनि पुर्यायो । पछि जनकपुर कलेजमा पढ्दा त्यहाँका पुस्तकालयहरुमा भएका किताब पढ्नु अस्वाभाविक थिएन ।
तर, उनले जति किताब पढे, अधिकांश हिन्दी भाषाका किताब नै पढे । किनभने उनले पढ्ने स्कूल र कलेजमा प्रायः भारतीय शिक्षकहरु नै थिए । र, किताबहरु पनि अंग्रेजी र हिन्दी भाषामा नै बढी पाइन्थे । त्यसैले हिन्दी भाषामा दखल स्वाभाविक थियो । यसैकारण पनि हिन्दी किताबहरुमा ध्यान जान्थ्यो नै ।
उनले माक्र्स मात्रै नभएर हिन्दु दर्शनका पुस्तकहरु पनि पढ्न थाले । वास्तवमा तीसको दशकको प्रारम्भताका उनलाई हिन्दू दर्शनका पुस्तकहरुले तान्यो । उनलाई हिन्दू दर्शनको संसार बेग्लै लाग्यो । त्यसैले उनले माक्र्स दर्शन र हिन्दू दर्शन दुबैलाई एकसाथ हेर्न थाले । र, त्यसपछि उनले राजनीतिक विषयमा मात्रै होइन, साहित्य र संस्कृतिलाई पनि आफ्नो लेखनको विषय बनाउँदै गए ।
राप्रउ पोखरेल भन्छन्, ‘‘मैले जब उपनिषद् पढ्न थालेँ मलाई त्यो दिव्य चिज लाग्यो । भौतिकशास्त्र बुझ्नलाई उपनिषद् दर्शन त गाइड लाइन नै हुन्छ भन्ने सबैले स्वीकार गरेको विषय हो । अर्को कुरो, मैले महाभारत र पुराणहरु पनि पढेंँ । महाभारत त वृहत छ । महाभारतमा दिव्य संसार अटेको छ । त्यो त सबैले पढ्न पर्छ भन्ने मलाई लाग्छ ।’’
यसरी उनी फरक दृष्टिकोणकासाथ लेखन कर्ममा होमिदै गए ।
० ० ०
पुख्र्यौली थलो उदयपुरको जतनपुर भए पनि महोत्तरी जिल्लाको बिजलपुरामा रामजीप्रसाद उपाध्याय पोखरेल जन्मिए । उनका पिताजी उदयपुरबाट १३÷/१४ वर्षको हुँदा सिरहा तिर झरेका रहेछन् । त्यसको २०/२५ वर्ष अघि बिजलपुराको जंगल फडानी भएर बस्ती विकास भएको थियो । त्यहाँ उदयपुरबाट बसाईसराई गरेर आएका मगरहरुको ठूलो बस्ती थियो ।
त्यसैबेला राप्रउ पोखरेलका पिताजीलाई मगरहरुले आफ्नो पुरेत बनाएर बिजलपुरा ल्याए । र, उनका पिताजी पनि बिजलपुरा नै खेतीपाती जोडेर बसे ।
राप्रउका अनुसार उनका पुर्खा जतनपुरे पोखरेल हुन् । पोखरेलहरुको तीन चार हाँगा भएपनि मुल हाँगा एउटै भएको उनी बताउँछन् । उनका अनुसार कोही पोखरेल तत्कालीन सत्ताको नजिक भएर अगाडि बढ्दै गए । तिनले मौजा र विर्ता सम्हाल्दै हिँडे । त्यसै क्रममा कोही खोटाङ र ओखलढुङगा पुगे । उनका पुर्खा जतनपुर पुगे । उनका पुर्खाले सेन राजाहरुबाट विर्ता पाएका थिए ।
पछि खोटाङगे पोखरेलहरुले पृथ्वीनारायण शाहलाई सहयोग गरेका थिए रे ! त्यसबेला हरिनन्दन पोखरेल नाम गरेका एक व्यक्तिले पटकपटक गरेर ११ हजार रुपैयाँ ऋण पृथ्वीनारायण शाहलाई दिएका थिए । त्यो अभिलेखमै रहेको उनको भनाइ छ । तिनले पैसाले मात्रै नभएर हतियारले पनि सहयोग गरेका थिए । त्यसैले खोटाङगे पोखरेलहरुको विर्ता जोगियो ।
पोखरेल हाँस्दै भन्छन्, ‘तर उदयपुरेहरुले पुराना शासकको नूनको सोझो गर्ने भएकाले तिनीहरु खेदिए । पछि कतिको विर्ता फिर्ता भयो कतिको भएन ।’
राप्रउ पोखरेल एक सवा एक वर्षको हुँदा उनकी आमाको देहान्त भयो । त्यसको केही वर्षमा उनका तीन दिदी बहिनीको बिहे भयो र उनीहरु सबै आफ्नो आफ्नो कर्मघर तिर लागे ।
उनका दिदी भिनाजु जलेश्वरमा बस्थे । भिनाजु प्रहरीमा थिए । त्यसैले उनी आठ वर्षको हुँदा उनकी दिदीले जलेश्वर ल्याइन् र स्थानीये ल.च.मु. स्कुलमा पढ्नलाई भर्ना गरिदिइन् । त्यस अघि उनले बिजलपुरामै कायस्थ गुरुजीहरुसित कखरा सिकेका थिए ।
वि.सं. २०१०/०११ साल तिर उनी केही समयका लागि राजविराज गए । उनका भिनाजुको सरुवा राजविराजमा भएको थियो । उनी पनि दिदी भिनाजुसँगै राजविराज पुगे । र, दुई वर्ष बसे ।
यही राजविराजले उनको मनमा कम्युनिष्ट विचारको प्रष्फुटन गरिदियो । उमेरले सानै भए पनि त्यहाँको किसान आन्दोलन उनले प्रत्यक्षरुपमा देखे । त्यही कम्युनिष्टका नेताहरु कृृष्णराज बर्मा, कृष्णप्रसाद अधिकारी, चन्द्रशेखर लालहरु जेल गएको देखे । उनका भिनाजु प्रहरीमा भए पनि भिनाजुले नेताहरुलाई आन्दोलनमा लागेकाहरुलाई सधै सहयोग गरेको देखे । उनका भिनाजु आन्दोलनकारीसँग त्यति कडा व्यवहार देखाउँदैन थिए ।
यसरी बामपन्थी सोचबाट अभिप्रेरित भएका राप्रउलाई पुस्तकहरुको अध्ययनले झनै उत्साहित तुल्याउँदै लग्यो । दुई वर्षपछि उनी फेरि जलेश्वर फर्किए । र, त्यहीँबाट २०१७ सालमा एसएलसी पास गरे ।
उनी थप पढाइका लागि काठमाडौं उक्लिए । त्रिचन्द्रमा भर्ना भए । तर स्वास्थ्यले साथ दिएन । जनकपुर नै फर्किए । जनकपुरकै डिग्री कलेज (जुन अहिले रामस्वरुप रामसागर क्याम्पसका नामबाट चर्चित छ)मा पढ्न थाले ।
उनले प्रारम्भमा कलेजको नाम जनकपुर इन्टर कलेज रहेको र जनकपुर डिग्री कलेज हुँदै कलेज स्थापना गर्ने दाताहरु रामस्वरुप रामसागरका नाममा राखिएको कथा सुनाए ।
राप्रउ रामस्वरुप रामसागरको प्रसंगमा भन्छन्, ‘यी दुईले धनुषा र महोत्तरीभरिमा शिक्षा र स्वास्थ्यका क्षेत्रका व्यापक सहयोग गरेका छन् । मलाई लाग्छ सबैतिर गरेर पाँच सात वटा स्कूल नै स्थापना गरेका थिए । यसका अतिरिक्त सार्वजनिक सेवाका लागि धर्मशाला, पोखरी, पुल पुलेसा, अस्पताललगायतका क्षेत्रमा यिनले खुला मनले सहयोग गर्दै आएका हुन् । अझै कहिले काँही त दाजुभाइको चर्काचर्कीले स्कुल कलेजलाई फाइदा पुग्थ्यो । दाइले २५ विघा खेत दिएका छन् भने भाइले ५० विघा दिन्थे । फाइदा स्कुल कलेज, अस्पताललाई त हुन्थ्यो ! तर जे होस्, तिनीहरुजस्ता दानी मैले अरु भेटेको छैन ।’
र, जनकपुरको यसै कलेजबाट उनले २४ सालमा बीए पास गरे ।
त्यो समयमा जनकपुरमा पढे पनि जाँच दिन काठमाडौ आउनु पर्दथ्यो । एक पटक उनी आइएको जाँच दिन काठमाडौं उत्रिए । उनको सेन्टर परेको थियो, त्रिचन्द्र कलेजको नयाँ भवन । त्यसबेला तत्कालीन राजा महेन्द्रकी छोरी शान्ति सिंह पनि जाँच दिन आएकी थिइन् । उनले त्यहीँ नै चर्चित साहित्यकार भिमनिधि तिवारीले पनि जाँच दिँदै गरेको देखे ।
० ० ०
लेखक राप्रउ पोखरेलको सुरुआती समय पत्रकारिता क्षेत्रसँग पनि जोडिएको थियो । स्कुल पढ्दा नै उनले बाहिरी किताब पनि पढ्न रुची राख्ने भएकाले त्यसबेला निस्कने कम्युनिष्ट पार्टीको पत्रिका ‘नवयुग’को विक्रीमा उनको सहयोग रह्यो । त्योसँगै उनले सोभियत भूमि र त्यसैबेलादेखि प्रकाशन हुन थालेको पत्रिका ‘समीक्षा’ विक्रीका लागि खट्न थाले । यसरी उनले पार्टीलाई सहयोग गर्दै गए । राजविराजमा देखेको किसान आन्दोलनले उनलाई बामपन्थी विचारधारातिर आकर्षित गरेको थियो । पत्रपत्रिकासँगको संगतले उनलाई लेखनतर्फ पनि आकर्षित गर्यो ।
जब उनी जनकपुर कलेजमा पढ्न थाले, त्यसपछि उनले ‘समीक्षा’का लागि समाचारहरु पनि लेखेर पठाउन थाले । स्थानीय साथीहरुले प्रकाशन आरम्भ गरेको ‘नयाँ पाइलो’मा पनि सँलग्न भए ।
उनी भन्छन्, ‘मलाई स्कुल पढ्दा लेख्नु पर्छ भनेर कसैले उत्प्रेरित गरेनन् । पत्रपत्रिकासँग पनि पार्टीका कारण जोडिएको थिएँ । तर पछि मैले समीक्षा लगायतका पत्रपत्रिकाहरुमा लेख्न सुरु गरेँ ।
नेपाल कम्युनिष्ट पार्टीमा संलग्न भएकै कारण उनी सानै उमेरदेखि पार्टीका काममा खटिए । पोखरेलका अनुसार २०१५ सालको चुनावमा उनी तीन वटा जिल्लामा काम गर्न खटिएका थिए । उनी राम्रा कार्यकर्तामा गनिन्थे ।
वाम पार्टीमा लागेका कारण होला, कतिपय अवस्थामा उनी नरम पाराले आफ्नो उग्रता पोख्थे ।
उनी भन्छन्, ‘एक पटक मैले जनकपुर कलेजका प्रिन्सिपललाई फकाईफकाई धम्क्याएँ पनि । प्रिन्सिपल भारतीय नागरिक थिए तर उनले नेपाली नागरिकता पनि लिएका थिए । त्यसैले एक पटक मैले प्रिन्सिपलको राशन कार्ड हात पारेँ । र प्रिन्सिपललाई नरम पारामा दह्रो थर्काएँ पनि । फलतः प्रिन्सिपलको केही जोर चलेन । उनले राजीनामा दिनु पर्यो ।’
० ० ०
२०२४ सालमा राप्रउ पोखरेलले वीए पास गरे । २०२५ सालमा बिहे गरे । त्यस पछि विजलपुरामा रहेको स्कूललाई अपग्रेड गरेर उनी त्यहीँ पढाउन थाले । केही महिना पढाउँदैमा बिते ।
एक दिन उनका एकजना साथीले नेपाल राष्ट्र बैंकमा कर्मचारी चाहिएको खवर दिएर काठमाडौं जान सुझाए । उनी काठमाडौं आए । राष्ट्र बैंकमा अस्थायी जागिर पाए । र, एउटा कृषि कर्जा सम्वन्धी फिल्डमा खटिए । २०२८ सालमा उनी बैंकको स्थायी जागिरे भए । त्यहाँ केही वर्ष काम गरे ।
उनी भन्छन्, ‘२०३२ सालमा निजामति सेवामा शाखा अधिकृतको भ्याकेन्सी खुल्यो । दरखास्त हालेँ । पास भएँ । तर पार्टीमा पनि सम्वन्ध भएकोले मलाई निजामति सेवामा जाने मन थिएन । तर गएँ । मेरो पोस्टिङ निर्वाचन आयोगमा भयो । जहाँ मैले सात वर्ष विताएँ ।
त्यसपछि उनले निर्वाचन आयोगबाट सरुवा मागे । सामान्य प्रशासनका हाकिम आफै चकित थिए उनले सरुवा माग्न जाँदा । त्यसबेला निर्वाचन आयोगमा एक वर्षभन्दा बढी कोही अधिकारी बस्दैनथे । जबकी राप्रउले सात वर्षको समय निर्वाचन आयोगमै बिताए ।
सामान्य प्रशासनका अधिकारीसँग उनले अर्थ र गृह मन्त्रालय बाहेक अन्त जहाँ पनि जान्छु भनेका थिए । उनको सरुवा केही समय भित्रै भयो । र, विभिन्न विभाग हुँदै उनी २०६० सालमा सेवानिवृत्त भए ।
० ० ०
जनकपुरमा ‘नयाँ पाइलो’ पत्रिकासँग जोडिएपछि उनी पत्रकारितामा पनि संलग्न भए । उनले ‘समीक्षा’ विक्री गर्न छोडेर त्यसको सम्वाददाता भए र समाचार लेख्न थाले । बेलाबेलामा पर्चा पम्पलेटहरु लेख्नु त थियो नै । यसरी लेख्दै जाँदा उनले २०२०÷२२ साल तिरै नेपालको आर्थिक विश्लेषणलाई लिएर केही लेखहरु पनि लेखे ।
विस्तारै उनले धार्मिक ग्रन्थहरु पनि पढ्न थाले । त्यसपछि उनले गम्भीर विषयहरुमाथि लेख लेख्न थाले । उनी राष्ट्र बैंकका जागिरे भएकोले राष्ट्र बैंकको पत्रिका ‘मिर्मिरे’मा पनि लेख छापिन सुरु भइसकेका थिए । फुटकर लेखहरुमा कलम चलाउँदै जाँदा उनले रामायण सम्वन्धी एउटा लेख लेखे, जसमा प्रगतिवादी दृष्टिकोण प्रस्तुत गरिएको थियो ।
काठमाडौं भित्रिएपछि उनको लेखनले पनि तीव्रता लियो । उनले गम्भीर प्रकृत्तिका लेख र समीक्षा लेख्न थाले । ‘रुपरेखा’, ‘अभिव्यक्ति’ अनि रचनाहरुमा साहित्यिक लेख प्रकाशन गर्न थाले । यसरी उनको कलम राजनीति, आर्थिक विचारका साथै साहित्यमा पनि कुद्न थाल्यो ।
यसै क्रममा उनले ‘धर्म उद्भव र विकास’ शीर्षकको लेख लेखे । २०३४/०३५ साल तिरको कुरा हो । सो लेख राजनीतिक रुपले छाप्ने अवस्था थिएन । उनले बैंककै एकजना पुराना मित्रलाई देखाए । उनले ‘मिर्मिरे’मा छपाई दिए ।
दलीय दृष्टिकोण र विचार भएका लेख लेख्नु हुुन्न भन्ने उनलाई थाहा थियो । तर, भूपि शेरचन तथा मोहन कोइरालाका कविता र शंकर लामिछानेका लेखहरु पनि त्यही समयमा आएका थिए । तिनले पनि आफ्ना रचनामा परिवर्तनका कुरा उठाएका थिए । तिनका कविता छापिन्छन् भने मेरो लेख किन नछापिने भन्ने उनलाई लाग्दथ्यो । त्यसैले उनले आफ्ना विचार लेखिनै रहे । छापिँदै पनि गयो ।
त्यसपछि उनका लेख रचना र साहित्य चलेका पत्रपत्रिकाहरुमा प्रकाशित हुन थाल्यो । पहिलेपहिले रामजीप्रसाद उपाध्यायका नाममा लेख्दै आएका उनले राप्रउ पोखरेलका नामबाट लेख्न थाले । र, अन्ततः यही नाम स्थापित भयो ।
लेखक राप्रउ पोखरेल भन्छन्, ‘मेरो लेखनक्रम बढ्दै थियो । सरकारी जागिर चलिरहेकै थियो । २०४० साल तिर मैले एउटा राजनीतिक लेख लेखेँ । त्यही लेखमा मैले राप्रउ पोखरेल नाम राखेँ ।’
लेखहरु लेख्दै जाँदा पोखरेलले हिन्दू दर्शनका विषयमा पनि लेखे । बामपन्थी विचारबाट अभिप्रेरित राप्रउका यस्ता हिन्दू दर्शनसँग जोडिएका लेखहरु आउँदा पनि कुनै कम्युनिष्टले उनको लेखको चर्चा गरेनन् ।
उनी हाँस्दै भन्छन्, ‘कसैले पढेको भए पो भन्छन् त ! चर्चा परिचर्चा गर्नलाई त पढ्नु पनि त पर्याे नि । खासमा कम्युनिष्ट नेताहरुमा पढ्ने प्रवृत्ति एकदमै कम थियो । ती खाली सिद्धान्तका किताबमा कुदिरहे । यसैले पनि लेफ्ट मूभमेन्ट पछाडि परेको हो ।’
फूटकर रचनाहरु सयौं लेखेका राप्रउको कुनै किताब अहिलेसम्म प्रकाशित भएको छैन । उनी आफ्ना लेखहरुको संकलन निकाल्ने कोशिसमा छन् ।