site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब भरियाले ज्यालामा पैसा होइन, चामल मागे !
SkywellSkywell

लखनउबाट इन्जिनियरिङ गरेर फर्किएपछि तत्कालीन राजा महेन्द्रको महत्वाकाङ्क्षी योजना महेन्द्र राजमार्ग निर्माणको प्रारम्भिक काममा उनको समय बित्यो । नारायणगढ बुटवल भालुवाङ सडक खण्डको निर्माण पूर्वको  सुरुवाती तयारी, सर्वे, डिटेलिङ र एलाईनमेन्ट गर्ने कार्यमा करिब दुई–साढे दुई वर्षको समय उनले पश्चिमको जंगल तिरै बिताए । र, काम सकिएपछि काठमाडौं फर्किए । सडकको परियोजना कार्यालयबाट उनीहरुका लागि तोकिएको काम सकिएको थियो । त्यसैले उनीसहित केही इन्जिनियरहरु काठमाडौं उक्लिए ।

वरिष्ठ इन्जिनियर मुकुन्दप्रसाद उपाध्याय पोखरेल (८२) भन्छन्, “वास्तवमा समयका दृष्टिकोणबाट राजमार्ग निर्माणको त्यो काम दुई–तीन वर्षको अवधिको मात्रै भए पनि हामीले प्राप्त गरेको अनुभव र उपलब्धि बीस वर्षकोभन्दा कम थिएन ।”

उपाध्याय बुटवलबाट काठमाडौ आउँदा सडक विभाग अन्तर्गत रहने गरी झोलुङ्गे पुल (सस्पेन्सन ब्रिज) इकाइको स्थापना भइसकेको थियो । मुलुकका कैयन क्षेत्र पहाडैपहाडले भरिएकाले झोलुङ्गेपुलको आवश्यकता पहिलेदेखि नै महसुस गरिएको थियोे । यसै कारण पनि सानातिना झोलुङ्गे पुल बन्दै आएका थिए । तर धेरै पछि मात्रै सस्पेन्सन ब्रिज इकाइको स्थापना भएको थियो ।

KFC Island Ad
NIC Asia

त्यसबखत सस्पेन्सन ब्रिज युनिटमा वरिष्ठ इन्जिनियर सत्यमान श्रेष्ठलाई इकाई प्रमुखको जिम्मेवारी दिइएको थियो । त्यस अघि इन्जिनियर उपाध्यायले ई. सत्यमान श्रेष्ठसँग सडक कार्यालयमा रहँदा नै काम गर्ने मौका पाएका थिए । श्रेष्ठ धेरै सिनियर इन्जिनियर थिए । उनी आफ्ना मातहतका नयाँ इन्जिनियरहरुलाई नजानेका विषयमा सम्झाउने र सिकाउने काम पनि गर्थे । उनैले बुटवलबाट काठमाडौं फर्किएका मुकुन्दप्रसाद उपाध्यायलाई सस्पेन्सन ब्रिज इकाईमा काम गर्न बोलाए ।

उपाध्याय भन्छन् “मैले पहिले पनि उनीसित काम गरिसकेको र उनको नजरमा पनि परेकोले होला, मेरो नाम पनि झोलुङ्गे पुलमा जाने इन्जिनियरहरुमा आयो । यसरी सत्यमानजीका कारण म सडक कार्यालयबाट झोलुङ्गे पुल डिभिजनमा सरुवा भएँ । र, नयाँ प्रकृत्तिको काममा लाग्ने मौका पाएँ ।”

Royal Enfield Island Ad

वि.सं. २०२१ साल तिरको कुरा हो । त्यसबेला अमेरिकी सरकारको सहयोगमा नौ वटा झोलुङ्गे पुल एकसाथ निर्माण हुने योजना बनेको थियो । र, मुकुन्द उपाध्यायलाई प्युठान जिल्लाको भिङ्ग्री खोलामा पुल हाल्न युनिटले खटायो ।

सडक विभागको काम छोेडेपछि सडकमार्गसँगै जोडिएको एउटा महत्वपूर्ण अङ्ग झोलुङ्गेपुल निर्माणकालागि अब उनले समय दिनुपर्ने भएको थियो । झोलुङ्गेपुलको  कामको प्रकृति नितान्त भिन्न भएपनि उनले यस सम्वन्धी काम सिक्दै गए । काम गर्दै गए ।

झोलुङगे पुलको काममा सबैभन्दा गाह्रो काम भनेकै त्यसका लागि चाहिने सामानहरु साइटमा पुर्‍याउनु नै हुन्थ्यो । दुई डाँडाको बीचमा नदी÷खोला बगिरहेका हुन्थे । र, त्यही डाँडाहरुमा दुई तिर पिलर हालेर बलियो तार वारिपारि गरेर झोलुङगे पुल बनाउनु पर्दथ्यो । सहज पक्कै थिएन, त्यो काम । तर मुकुन्दप्रसाद उपाध्यायको मन बलियो थियो । काम गर्ने जोश जाँगर पनि उत्तिकै थियो । त्यसैले पुल निर्माणका लागि चाहिने आवश्यक सामग्री बोकेर उनी रक्सोलदेखि कोइलाबास, दाङ हुँदै प्युठानको भिङ्ग्रीसम्म पुगे । आफू र साथीहरु मात्रै होइन, पुलका लागि आवश्यक सामान पनि सही सलामत पुर्‍याउनु पर्दथ्यो । जुन काम फलामे च्युरा चपाउनुसरह नै थियो ।

उपाध्याय भन्छन्, “झोलुङगे पुलमा प्रयोग गरिने सबै सामान फलामका थिए ।  झोलुङ्गेपुल झुन्ड्याउनका लागि अति आवश्यक मानिने केबुल (तार) सबैभन्दा गह्रौँ सामान थियो । त्यसमाथि दाङ पुगेपछि सयौँ बोरा सिमेन्ट पनि त्यसमा थपिए । यसरी अथाह भारी भरियाहरुलाई बोकाउँदै हामी प्युठानको भिङ्ग्री नदीको किनारमा रहेको परियोजनास्थलसम्म पुग्यौं ।”

अनेक आरोह अवरोहका साथ महिनौ लगाएर उपाध्याय र उनको समूहले भिङ्ग्रीमा झोलुङगे पुलको निर्माण गर्‍यो । जहाँ केही नेपाली सहकर्मी थिए भने केही अमेरिकी सहकर्मी पनि थिए । यसरी उनले पहिलो पटक नयाँ कामको थालनी गरे र दुई डाँडा वारिपारिको गाउँलाई पुलका माध्यमबाट छोटो दूरीमा सीमित गरे ।

यो पुलको निर्माणले त्यस क्षेत्रको सामाजिक आर्थिक विकासमा गतिलो योगदान दिएको उपाध्यायको कथन छ ।

\"\"

०००

७० वर्ष अघि अंग्रेजी शिक्षाका लागि महत्वपूर्ण मानिने “फस्र्टबुक”का केही शब्द बाल्यकालमै भट्याउन पाएका थिए मुकुन्दप्रसाद उपाध्यायले । कुल ६ महिनाको काठमाडौं बसाइले फस्र्टबुक र चङ्गाप्रति उनको आकर्षण बढाएको थियो । ६ महिना काठमाडौं बसेपछि फेरि विष्णुपुर अर्थात सिरहाको बिसनपुरा फर्किए । त्यस उप्रान्त सुरु भयो उही धुलोमाटोको रमिते जिन्दगी । कागजको चङ्गा बनाएर त्यसमा पुच्छर उनेर उडाउने कामले तीव्रता पायो । गाउँका साथी बटुलेर चङ्गा उडाउँदै दिन बितेको उनले पत्तै पाएनन् ।

आज राजधानीको सर्वाधिक चर्चित पर्यटकीयस्थलमा गनिन्छ, ठमेल । यही ठमेलमा उनको मावल थियो । तराईबाट पहिलो पटक मावल आउँदा उनी आठ वर्षका थिए । त्यसैबखत उनले अंग्रेजीको फस्र्टबुकका केही शब्दहरू सिके, मामाका छोराहरूको सिको गर्दै ।

वरिष्ठ इन्जिनियर मुकुन्दप्रसाद उपाध्याय पोखरेलले जीवनमा अनगिन्ती आरोह अवरोह व्यहोरे । जमिनदार खानदानमा जन्मिएर पनि उनको जीवन संघर्षपूर्ण नै रह्यो । पढिसकेर सिभिल इन्जिनियर भएपछि जागिरे जीवनमा पनि गाह्रो कामको जिम्मा आफ्नै काँधमा बोके । यसरी खट्नु उनको रुचि पनि थियो । अनि युवा उमेरको जोश पनि ।

बाल्यकालको एउटा घटना उनको जीवनमा स्मरणीय घटना बनेको छ । यही घटनाले उनको जीवनको मार्ग परिवर्तन गरिदियो । दश/एघार वर्षको उमेर हुँदा जनकपुरमा यो घटना नभएको भए सम्भवतः यतिबेला उनी गाउँमै रहेर या त किसानको भूमिकामा सीमित हुन्थे, अथवा संस्कृत पढेर तत्सम्बन्धी काममा व्यस्त रहने थिए, तर लेखिएको थियो इन्जिनियर बन्ने अनि दुःख कष्ट व्यहोर्ने ।

गाउँमा व्रतबन्ध भइसकेपछि ठूलो दाजुसितै उनी जनकपुर गए । दाजुले उनलाई स्थानीय संस्कृत स्कुलमा भर्ना गरिदिए । आफूभन्दा बीस÷बाइस वर्ष जेठा दाजुको कुरा काट्न सकेनन् । मन नलागे पनि संस्कृतको शुद्धोपाठमा ध्यान दिन थाले ।

एक दिन संस्कृत स्कुलका एक सहपाठीले कुनै बालकको तेह्रदिने काजकिरियामा उनलाई लगेछन् । फर्कंदा उनका हातमा दानमा आएका केही सामानहरु थिए । त्यो देखेर आमा समान भाउजुले उनलाई गाली गरिन् । इन्जिनियर उपाध्याय भन्दैथिए, “यहीँबाट संस्कृत पढ्ने काम त्यागेँ र म गाउँ फर्किएँ ।”

गाउँ फर्किएपछि संस्कृत पढ्दा सिकेको शुद्धो पाठ आफ्नो बाटो लाग्यो, उनी  आफ्नै बाटो लागे । फेरि सुरु भयो साथीभाइसितको रमाइलो । खेतबारी घुम्ने, हरूवा चरुवासितै भैँसी चराउने । चंगा उडाउने । उता कान्छो छोराको उछलकूद देखेर उनका पिताजी खरदार नित्यराज पोखरेलले उनका लागि एउटा किराना पसल खोलिदिने मनसाय बनाए । यति भएपछि एउटा छोराका लागि बसीखाने मेलो हुन्छ भन्ने बुबाआमाको सोचाइ थियो ।

तर, फस्र्टबुकसँगको नाता कतै न कतै जोडिएको थियो, त्यसैले अचानक उनी पढ्नैका लागि भनेर बिसनपुराभन्दा दुई कोस परको गाउँ भलुवाही पुगे, जहाँ उनकी माहिली दिदीको बिहे भएको थियो । भलुवाही आउने जाने गरिरहने र त्यहाँ एकै उमेरका साथीहरुसित सम्बन्ध भएकोले पनि भलुवाहीमा उनको दिन सहज बित्यो । यसरी भलुवाही पुगरे स्कुल पढ्न सुरु गरेका मुकुन्दप्रसादले भलुवाहीबाट सात कक्षा र सिरहाको चन्द्र हाइस्कुलबाट ऐक्षिक गणित लिएर एसएलसी पास गरे ।

एसएलसी गर्दागर्दै उनले त्यसपछि काठमाडौं गएर पढ्ने मनस्थिति बनाए । काठमाडौं नै आफ्नो शैक्षिक गन्तव्य बनाउने विषयमा उनी दृढ निश्चयी थिए ।

एसएलसीपछि विज्ञान विषय पढ्न काठमाडौं आएका उनी त्रिचन्द्र कलेजमा भर्ना भए । नभए त्यसबेला बनारस, पटना, दरभङ्गा, मधुवनीलगायतका भारतीय सहरमा पढ्ने चलन थियो ।

दुई वर्षपछि त्रिचन्द्र कलेजबाट आइएससी पास गरेर उनी कोलम्बो प्लान अन्तर्गत इन्जिनियरिङ अध्ययनका लागि लखनउ गए ।   

०००

वि.सं. २०१८ सालमा उनी लखनउ इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ गरेर फर्किए । घर गए । तर उनका दाजुहरु उनलाई जागिर खान दिने पक्षमा थिएनन् । कान्छो भाइ घरमै बसेर खेतीपातीमा लागोस् भन्ने दाजुहरुको चाहना थियो । तर, परिवारमै पढेलेखेको व्यक्ति पहिलो भएकाले होला उनको इच्छा कसैले पनि तलबितल पार्न सकेनन् । उनी दाजुहरुका चाहना किनारा लगाउँदै काठमाडौं आए ।

सरकारी काम नै गर्ने सोच बनाएका उनले चिनेजानेकाहरुसंग सम्पर्क गर्दै गए । र त्यसैक्रममा उनको इन्जिनियर वीरेन्द्रकेशरी पोखरेलसंग भेट भयो । उनले नै महेन्द्र राजमार्ग बन्दै गरेको सन्दर्भमा सडक विभागमा जागिर खान भने । र, उनी पनि महेन्द्र राजमार्गको नारायणगढ भालुवाङ सडक खण्डको सर्वे, एलाइनमेन्ट र डिटेलिङको काममा जुट्न तराई झरे । उपाध्यायसंगै अरू इन्जिनियरहरु पनि थिए ।

उनले ५०÷५५ वर्षअघिको कुरा सम्झिए, “दाउन्नेदेखि भालुवाङसम्मको सडक खण्डको सर्वे र एलाइनमेन्ट गर्ने काममा म खटिएँ । भर्खर इन्जिनियरिङ गरेर फर्केको, जोश जाँगर र उत्साह जत्ति थियो । त्यसैले जंगल पनि भनिएन, डर पनि मानिएन । मलाई त काम सिक्नु थियो । म खाली काम सिक्ने प्रयासमा मात्रै लागेँ । जसरी भएपनि मलाई नयाँ नयाँ काम सिक्नु थियो ।”

संभवतः उनले गरेको काम हेरेरै इन्जिनियर सत्यमान श्रेष्ठले इन्जिनियर मुकुन्द उपाध्यायलाई झोलुङ्गे पुलको काम गर्न ईकाईमा ल्याएका थिए । यसपछि उनको यात्रा मोडियो, डाँडाकाँडा, पर्वत पहाड तिर । दुई विशाल डाँडा वा पहाडको बीचमा दुईतिर फलामे पिलर वा सिमेन्टको मिश्रणलाई चट्टानस्वरुप जमाएर फलामे तारको प्रयोग गरी झोलुङ्गे पुलको निर्माण गर्नु पर्दथ्यो । यसरी एउटा पुल बनाउँदा सामान्यतया दुई वर्षको समय लाग्ने इ. मुकुन्द उपाध्याय बताउँछन् ।

झोलुङ्गे पुलमा तीन दशकभन्दा बढीको ऊर्जाशील समय खर्चिएका मुकुन्दप्रसाद उपाध्याय पोखरेल भन्छन् “सजिलोे काम होइन झोलुङगे पुल निर्माण गर्नु । तर सजिलो नहुँदा नहुँदै पनि एउटा लामो कालखण्ड मैले झोलुङगे पुलको निर्माणमा बिताएँ । र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका धेरै ठाउँमा झोलुङगे पुलको निर्माण गरेँ ।”

आफ्नो कर्ममा निरन्तर सक्रिय रहेका इ. उपाध्यायले जीवनमा धरैपटक ठेस र चोट पनि खानु पर्‍यो । आफूले गर्दै नगरेको कामको दोषी भएर सजाय पनि भोग्नुपर्‍यो । कहिले काँही आफूभन्दा माथिका हाकिमहरूको तारो पनि बन्नुपर्‍यो । कहिले गर्दागर्दैको काम पनि साधन स्रोतको अभावमा कमजोर बन्न पुग्यो । दोष उनकै भागमा आयो । कहिले यात्रामा भोकभोकै पनि रात गुजार्नु पर्‍यो । यसरी उनले लामो समय संघर्ष गरे । दुःख खेपे ।

इन्जिनियर उपाध्याय भन्छन्, “मैले धेरै कुरा सिकेको छु, यस्ता दुःख, पीडा र अप्ठ्यारा परिस्थितिहरुबाट । मेरो कामप्रतिको लगावले नै मलाई सडकको काम, झोलुङ्गे पुलको काम मात्रै नभएर घर निर्माणको काम पनि सिकाएको छ ।”

०००

भिङ्ग्रीबाट काठमाडौं फर्किएपछि उही दैनिकी सुरु भयो । बिहान १० बजे अफिस जाऊ, ५ बजे घर फर्क । कार्यालयमा पुगेपछि साथीहरुका बीचमा झोलुङ्गेपुलका विषयमा सामान्य चर्चा–परिचर्चा चल्नु स्वाभाविक थियो । आफूले पहिलोपटक काम गर्दाको अनुभव एक–आपसमा बाँड्थे उनीहरु ।

सबै उत्साहित थिए– नयाँ प्रकृतिको कामप्रति । सिभिल इन्जिनियर भए पनि अध्ययनका क्रममा थोरबहुत सस्पेन्सन ब्रिजबारे नजानेका होइनन् यिनले, तर फरक प्रवृत्तिको काममा रुचि बढ्नु स्वाभाविक थियो उनका लागि ।

त्यसैबीचमा उनले नराम्रो घटना व्यहोर्नुपर्‍यो ।

मुकुन्द उपाध्याय सम्झिन्छन् त्यो क्षण, “हामीले इन्जिनियरिङ अध्ययन गर्दा इन्जिनियरिङ मात्रै पढ्यौं । इन्जिनियरिङ गर्दा नै हामीलाई प्रशासन वा लेखासम्बन्धी काम सिकाउने कुरो पनि भएन । प्रशासन कसरी चलाउने अथवा लेखाले जस्तै हिसाबकिताब कसरी राख्ने भन्ने विषय मेरो क्षेत्रभित्र पर्दैनथ्यो । तर यही विषय बारेमा नजानेर दुःख पाएँ ।”

भिङ्ग्री झोलुङ्गेपुल निर्माणका लागि उनीहरुसँगै एक एक जना लेखापाल र स्टोरकिपर साईटमा गएका थिए । परियोजनास्थलमा भएका सानादेखि ठूलासम्मको खर्चबर्च र सामानको रेखदेख उनीहरुले नै गर्थे ।

लेखापालले हिसाबकिताब राख्थे । स्टोरकिपरले सामानहरुको जिम्मा लिएका थिए । टोलीप्रमुख भएको नाताले उनी अन्तिम दस्तखत गर्थे । ती लेखापालले खर्चबर्चको टिपोट रामै्रसित राखेका होलान् भन्ने उनलाई लाग्दथ्यो । आफ्नै सहकर्मीमाथि अविश्वास गर्ने कुरो पनि थिएन । त्यस्तै स्टोरकिपरले पनि राम्रै गरेका थिए भन्ने उनको बुझाई थियो ।

काठमाडौं फर्किएपछि लेखा हेर्ने खरदार र स्टोर हेर्ने खरदारकाबीच व्यापक भनाभन चलेछ । ती दुईको वाक्युद्धले नराम्रो रुप लियो । एकले अर्कालाई भ्रष्टाचारी ठहर्‍याए । र, एकदिन स्टोर किपरले लेखापाल माथि भिङ्ग्रीको पुल निर्माणका क्रममा भ्रष्टाचार गर्‍यो भनेर मुद्दा हालिदिए । त्यो मुद्दामा इन्जिनियर मुकुन्दप्रसाद उपाध्याय पनि तानिए ।

उनी भन्छन्, “यसैबेला मैले खाँदै नखाएको विष मलाई लागेको थियो । आफ्नो काम तनमनले गरिरहेको म जस्तो मानिसलाई हठात् थुना, अड्डा–अदालत धाउनुपर्ने अवस्था आयो । यसले मलाई मानसिकरुपमा कमजोर बनायो ।”

जागिरबाट मुद्दा चलुन्जेलसम्म निलम्बनमा परेका उनी फेरि कामको खोजीमा लागे । काठमाडौंको बसाई थियो । त्यसैले काम खोज्दै हिँडे । त्यसबेला नेपाल प्रज्ञा प्रतिष्ठानको भवन निर्माण हुँदै थियो । उनलाई इ. शंकरनाथ रिमालले प्रज्ञा प्रतिष्ठानको भवन निर्माणको काममा बोलाए । यसरी उनी संलग्न भए प्रज्ञा प्रतिष्ठानको भवन निर्माणमा । त्यसपछि दूरसंचारको भवनको निर्माणमा खटिए । यसरी दुई चार वटा भवनहरु उनको निर्देशनमा निर्माण भयो ।  

यसरी इन्जिनियर उपाध्याय सडकको काम र झोलुङगे पुलको काममा मात्रै होईन्, भवन निर्माणको काममा पनि सक्रिय भए । केही समयपछि विशेष अदालतले उनलाई सफाई दियो । उनी आफ्नै पदमा फर्किए । र, फेरि सुरु भयो उनको दैनन्दिनी, झोलुङगे पुल निर्माणको ।

०००

झोलुङ्गेपुलका क्षेत्रमा आफूलाई समाहीत गरिसकेपछि के पूर्व, के पश्चिम सबैतिर काम हेर्नैपर्ने थियो । त्यसैले एक पटक उनी पुल सर्वेको सिलसिलामा कर्णाली अञ्चलको विकट जिल्ला मुगु पुगे । मुगुमा एउटा नयाँ पुलको सम्भाव्यता अध्ययन र एउटा पुरानो पुलको मर्मतका सम्बन्धमा पनि अध्ययन गर्नुपर्ने थियो ।

इ. उपाध्याय भन्छन्, “मेरो मामाको छोरा रजनीनाथ प्याकुरेल त्यसबेला मुगुमै कार्यरत थिए । मुगालीहरुको मनको पीडा अनुभूत गर्दै म पुलको सर्भेमा खटिएँ । दुईवटै पुलको सर्भेको काम सकिए पछि म जुम्ला फर्कर्ने तरखरमा लागेँ ।”

उनी जुम्ला झर्न आफूलाई साथी पनि हुने र आफ्ना सामानहरु बोक्न सजिलो हुने सोच्दै भरिया खोज्न थाले । मुगुबाट जुम्ला दुई दिनको पैदल यात्रा थियो । हवाईजहाज चल्थेन ।

उनी भन्छन्, “एक साँझ म नजिक आएर एकजना मानिसले आफू भरिया हुन तयार रहेको बताए, तर उनले मसँग एउटा अचम्मको शर्त तेस्र्याए । उनले भने, “जुम्ला पुगेपछि मैले पाउने ज्यालावापतको रकमको चामल उपलब्ध गराई दिनुपर्नेछ । यदि यो शर्त मान्ने हो भने मात्रै म जुम्ला जान्छु । उनको यो कुरा सुनेर मेरो मन कुँडियो । कस्तो कठिन जीवन ! चामलको भात खान पनि शर्त राख्नुपर्ने ?”

उनले भरियालाई चामल उपलब्ध गराईदिने शर्त माने । जुम्ला पुगेपछि कसैगरी तिनका लागि चामलको बन्दोबस्त गरिदिने उनले सोच बनाए । र भोलिपल्ट झिसमिसे नहुँदै उनीहरुले मुगुको सदरमुकाम गमगढी छोडे । उनी पनि भरियाको पछिपछि लागे ।

\"\"

जुम्ला झरिसकेपछि एउटा होटलमा सामान थान्कोमान्को लगाएर उपाध्याय भरियालाई लिएरै सीडीओ कार्यालय तिर लागे । यहाँ उनले शर्तअनुरूप दिनुपर्ने ज्यालाबापतको रकमको चामल भरियाका लागि व्यवस्था गरिदिनुपर्ने थियो । जुम्लामा त्यसबेला खाद्यको चामल सीडीओको सिफारिसमा मात्रै वितरण हुन्थ्यो ।  

उनी सीडीओको कार्यकक्षमा पुगे र आफू झोलुङ्गेपुल डिभिजनमा कार्यरत इन्जिनियर भएको बताए । र, उनले आफू आउनुको कारण पनि सीडीयोलाई  सुनाए ।

इ. मुकुन्द उपाध्याय हाँस्दै भन्छन्, “मेरो परिचय पाएपछि उनले मलाई दह्रो करेन्टको झट्का लगाउने गरी भने, “तपाईंको सरुवा यहीँ जुम्लामा भएको छ । तपाईं आइहाल्नु भयो, अब यहीँ बस्नुस् । वास्तवमा यो खबरले मलाई ठूलो झट्का दिएको थियो । मैले केही सोच्नै सकिनँ ।”

जे होस्, उनको पहिलो काम भरियालाई चामल उपलब्ध गराइदिनु थियो । त्यो काम गरे । मुगुका भरिया पनि दङ्ग पर्दै चामल बोकेर आफ्ना गाउँ फर्किए ।  

यता जुम्लाका सीडीओ उपाध्यायलाई काठमाडौं फर्किन नदिने प्रयत्नमा लागे । उपाध्याय आफूले काठमाडौं गएर सर्वेको रिपोर्ट बुझाउनै पर्ने अडान लिन थाले । निक्कै गलफत्तीपछि मात्रै सीडीओ उनलाई छोड्न राजी भए । भोलीपल्ट उनी काठमाडौं फर्किए ।

आफ्नो जीवनको उर्जाशील समय सडक, झोलुङगे पुल र भवन निर्माणमा खर्चिएका इ. मुकुन्दप्रसाद उपाध्याय पोखरेल सरकारी जागिरबाट अवकास भएपछि पनि झोलुङगे पुलको निर्माणमा जोडिएका थिए । उनी आज स्वीकार्छन्,  “त्यो समयमा निर्माण गरिएका झोलुङगे पुलहरुले त्यस इलाकाको सामाजिक आर्थिक विकासमा योगदान दिएको पक्कै हो ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १७, २०७५  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro