site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको भाउ साढे ५ वर्षपछिकै उच्च

काठमाडौं । नेपाली बजारमा बहुमूल्य धातु सुनको भाउ पाँच साढ पाँच वर्षयताकै उच्च भएको छ । आज आइतबार छापावाल सुनको भाउ तोलाको ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  खस्किँदै गएको अमेरिकी अर्थतन्त्र, अन्तर्राष्ट्रिय बजारमा शक्तिशाली मुद्रा अमेरिकी डलर कमजोर हुँदै जानजस्ता कारण सुनको भाउ उच्च हुँदै गएको व्यवसायीको भनाइ छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आइतबार  तोलाको ६१ हजार २ सय रुपैयाँ पुगेको हो । एकै दिन तोलामा ६ सय रुपैयाँ बढेर छापावाल सुनको भाउ साढे पाँच वर्षयताकै उच्च भएको हो । यसअघि २०७० भदौ १२ गते सुनको भाउ स्थानीय बजारमा इतिहासकै सबैभन्दा बढी तोलाको ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको आधिकारिक ‘रेकर्ड’ छ ।

“सुनको भाउ तोलाको ६१ हजार २ सय रुपैयाँ पुगेको छ, यति उच्च भएको यो भाउ करिब साढे पाँच वर्षपछि हो,” महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले आइतबार बाह्रखरीसँग भने, “ठ्याक्कै यति नै भन्न नसकिए पनि स्थानीय बजारमा सुनको भाउ अझै बढ्ने अनुमान छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बज्राचार्यका अनुसार अमेरिकाको अर्थतन्त्र पछिल्लो पटक ओरालो लाग्नुका साथै अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ खस्किँदै गएका कारण अमेरिकीले सुनमा लगानी बढाउँदै लगेपछि यसको भाउ उच्च हुँदै गएको हो । त्यसबाहेक अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धदेखि चीन र उत्तर कोरियाबीचका पछिल्ला समझदारीका कारण सुनको भाउ बढ्दै गएको हो ।

“भाउ उच्च हुँदै गएका कारण कारोबार भने कम परिमाणमा भइरहेको छ,” उनले भने, “अब तोलामा ७ देखि ८ हजार रुपैयाँसम्म घट्यो भने सुन किन्नेहरू ह्वात्तै बढ्नेछन् । विगतमा तोलाको ५५ हजारसम्म पुगेपछि भाउ घटेर ४७ हजारसम्म आउँदा सुन किन्ने व्यापक बढेका थिए ।”

उनका अनुसार छिमेकी भारतको अर्थतन्त्र ओरालो लागेका कारण भारतीय रुपैयाँ (भारु) पनि डलरको दाँजोमा कमजोर हुँदै गएको छ । यसबाट सुनको भाउ बढ्न बल पुगेको हो तर, स्थानीय बजारमा डलरको भाउ बढेको देखिए पनि अन्तर्राष्ट्रिय बजारमा खस्किएको छ जसको प्रभाव सुनको भाउ बढाउनमा परेको छ ।

नेपालमा विवाहको सिजन (माघ–फागुन) चलिरहेका बेला सुनको भाउ बढे पनि कारोबार भने कम मात्रामा भइरहेको महासचिव बज्राचार्यले बताए । नेपाली बजारमा सुनको भाउ घटबढमा विवाह वा चाडबाडको कुनै भूमिका नहुने उनको अनुभव छ तर, भारतीय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा सुनको भाउ तलमाथि हुने उनले बताए । 

“भारतमा दिनकै हजारौं किलो सुन बिक्री हुने गर्छ,” उनले भने, “त्यही भएर भारतीय सुन बजारको उतारचढाव हाम्रो बजारमा पर्नु स्वाभाविक हो ।”

महासंघका अनुसार हाल नेपालमा दैनिक २० किलोबराबर सुन बिक्री हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंक वा उसले तोकेका अन्य ‘क’ वर्गका वाणिज्य बैंकबाट दैनिक २० किलोसम्म सुन खरिद गर्न पाउँछन् ।

महासंघका अनुसार गत साता शुक्रबार छापावाल सुन तोलाको ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार र बुधबार ३ सय रुपैयाँले बढी तोलाको ६० हजार ९ सय पुगेको थियो । माघ १ देखि ४ गतेसम्म तोलाको ६१ हजारमा कारोबार भएको थियो । ८ गते भने ३ सयले घटेर ६० हजार ८ सयमा झरेको थियो । 

गत मंसिर २५ मा तोलाको ६० हजार रुपैयाँ पुगेको सुनको भाउ त्यसअघि कात्तिक २० गते पनि तोलाको ६० हजार र कात्तिक ८ गते ६० हजार ४ सय रुपैयाँसम्म पुगेको थियो । 

त्यसैगरी तेजाबी सुनको भाउ पनि आइतबार ६ सयले बढेर तोलाको ६० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार ६० हजार ३ सय, बिहीबार र बुधबार ६० हजार ६ सय तथा मंगलबार ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । माघ १ देखि ४ सम्म तेजाबी सुन तोलाको ६० हजार ७ सयमा कारोबार भएको थियो । 

चाँदीको भाउ पनि आज १० रुपैयाँले बढेर तोलाको ७ सय ६५  पुगेको छ । यसअघि पछिल्ला तीन दिन तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार माद्द १३ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ माघ ६ मा ६० हजार ८ सय, ७ मा ६० हजार ९ सय, ८ मा ६० हजार ७ सय, ९ र १० मा ६० हजार ९ सय र माघ ११ मा ६० हजार ६ सय रुपैयाँ थियो । 

प्रकाशित मिति: आइतबार, माघ १३, २०७५  १७:५१
प्रतिक्रिया दिनुहोस्