site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
काठमाडौंमा हेलिकोप्टर भित्रिन र बाहिरिन नयाँ नियम

काठमाडौं । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टरलाई काठमाडौंबाट बाहिरिन र भित्रिन नयाँ ‘हेली लेन’ कार्यान्वयनमा ल्याएको छ । 

हेली लेन भनेको काठमाडौं प्रवेश गर्दा र बाहिरिँदा हेलिकोप्टरलाई सुरक्षा संवेदनशील मानिएका क्षेत्रमा नपर्ने गरी तोकिएको उचाइ प्रयोग गरी उडान–अवतरण गर्न बनाइएको क्षेत्र हो । 
उड्डयन प्राधिकरणले काठमाडौं उपत्यकाका सुरक्षा संवेदनशील मानिएका प्रमुख दुई स्थान राजधानीको राष्ट्रपति भवन र भक्तपुर गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थलमाथिबाट हेलिकोप्टर उडान (बाहिरिँदा र भित्रिँदा दुवै बेला) नपर्ने गरी हेली लेन कार्यान्वयनमा ल्याएको हो ।

“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान–अवतरण रुटलाई बाधा नपर्ने गरी हवाई ट्राफिक चाप कम गर्न र उडान सुरक्षामा थप योगदान पुर्याउने उद्देश्यले हेली लेन कार्यान्वयनमा ल्याएका हौं,” प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले सोमबार बाह्रखरीसँग भने, “यसबाट हेलिकोप्टर र विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल (एटीसी) टावरबीच ‘भेरी हाई फ्रिक्वेन्सी’ (भीएचएफ) कुराकानी पनि कम हुन्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्राधिकरणको एयर ट्राफिक व्यवस्थापन विभागका प्रबन्धक मुकेश दाहालका अनुसार त्रिभुवन विमानस्थलबाट उडेको हेलिकोप्टरलाई काठमाडौंबाट बाहिरिन पूर्वतर्फ साँगा र नालामाथिको आकाश प्रयोग गर्नुपर्ने छ । हेली लेनमा अहिलेलाई यी दुई स्थान थपिएका हुन् । त्यसबाहेक अन्य स्थान यथावत राखिएका छन् । 

“नयाँ हेली लेन एक महिनासम्म परीक्षणका रूपमा लागू गरिएको छ । यस अवधिमा थप सुधार गर्नुपर्ने गरिने छ भने एटीसी, हेलिकोप्टर कम्पनी र चालकदलबाट व्यावहारिक सुधार गर्न सुझाव आए सुधार गर्ने छौं,” दाहालले भने, “केही सुझाव वा परिमार्जनको प्रस्ताव नआए एक महिनापछि यही हेली लेन पूर्णरूपमा कार्यान्वयनमा आउने छ ।”

उपमहानिर्देशक पोखरेलका अनुसार सुरक्षा संवेदनशील मानिएको क्षेत्र राष्ट्रपति भवनमा जमिनबाट १ हजार फिट उचाइसम्म हवाईजहाज उडानमा प्रतिबन्ध लगाइएको छ भने हेलिकोप्टरका हकमा भवनमाथि जुनसुकै उचाइमा भए पनि उडान गर्नै पाइँदैन ।

त्यसैगरी गठ्ठाघरस्थित सेनाको हातहतियार भण्डारण स्थलमाथि भने जमिनबाट ५ सय मिटर (१ हजार ६ सय फिट) उचाइभित्र जहाज उडाउन पाइँदैन भने हेलिकोप्टर त्यस क्षेत्रमाथि उडाउन प्रतिबन्ध लगाइएको उनले जानकारी दिए ।

“ती दुवै सुरक्षा संवेदनशील क्षेत्रलाई नयाँ हेली लेनभित्र पारिएको छैन,” उनले भने, “यसबाट उड्डयन सुरक्षामा केही योगदान पुग्ने विश्वास छ ।” मुलुकमा गणतन्त्र आउनुअघि नारायणहिटी दरबारमाथि जहाज तथा हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाइएको थियो । गणतन्त्र स्थापनापछि नारायणहिटी छाडेर राष्ट्रपति भवनमाथि उड्न प्रतिबन्ध लगाइएको हो ।

प्रबन्धक दाहालका अनुसार पुरानो हेली लेनमा काठमाडौंबाट पूर्व हुँदै हेलिकोप्टर बाहिरिँदा भक्तपुरस्थित चाँगुनारायणको डाँडा, सुन्दरीजल, साँखु हुँदै जानुपथ्र्यो । पश्चिमतर्फ जाँदा भने सीतापाइला, मैजु (मनमैजु), टोखा, थानकोटलगायत स्थान यथावत राखिएका छन् । 

“नयाँ हेली लेन कार्यान्वयनमा आएपछि हेलीकोप्टर उडान–अवतरण अझै सहज हुनेछ,” उनले भने, “अब ६ हजार फिटभन्दा कम उचाइमा हेलिकोप्टरलाई काठमाडौं बाहिर लान र भित्र आउन मिल्छ, जसले गर्दा त्रिभुवन विमानस्थलको हवाई ट्राफिक चापमा बाधा पनि पुग्दैन ।” पुरानो हेली लेनको उचाइ ४ हजार ८ सय फिट थियो ।
  

प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १८:४५
प्रतिक्रिया दिनुहोस्