site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको भाउ तोलाको ६५ हजारसम्म पुग्ने 

काठमाडौं । पछिल्ला दस दिनदेखि निरन्तर बढिरहेको बहुमूल्य पहेँलो धातु सुनको भाउ थप उचाइमा पुगेको छ । लगभग ६ वर्षयताकै उच्च भएको भाउ अझै बढेर तोलाको ६५ हजार रुपैयाँसम्म पुग्ने व्यवसायीको अनुमान छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुनको भाउ तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो भाउ हिजो सोमबारको दाँजोमा १ सय रुपैयाँले बढी हो । पछिल्ला १० दिनदेखि बढेको गति हेर्दा सुनको भाउले आकास छुने व्यवसायीको भनाइ छ ।

“अन्तर्राष्ट्रिय बजार विश्लेषकहरूले सुनको भाउ चाँडै नै जुन तहसम्म पुग्ने अनुमान गरेका छन्, त्यसलाई हिसाब गर्दा हाम्रो बजारमा सुन तोलाको ६५ हजार रुपैयाँसम्म पुग्ने छ,” महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले मंगलबार बाह्रखरीसँग भने, “ठ्याक्कै यहि दिन भन्न नसकिए पनि तोलाको ६५ हजार पुग्दा अचम्म नमाने हुन्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बज्राचार्यका अनुसार अमेरिकाको अर्थतन्त्र पछिल्लो पटक ओरालो लाग्नुका साथै अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ खस्किँदै गएका कारण अमेरिकीले सुनमा लगानी बढाउँदै लगेपछि यसको भाउ उच्च हुँदै गएको हो । त्यसबाहेक अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धदेखि चीन र उत्तर कोरियाबीचका पछिल्ला समझदारीका कारण सुनको भाउ बढ्दै गएको हो ।
छापावाल सुनको भाउ मंगलबार तोलाको ६२ हजार ६ सय रुपैयाँ पुगेको छ । यो भाउ लगभग ६ वर्षयताकै उच्च हो । यसअघि २०७० भदौ पहिलो साता सुनको भाउ स्थानीय बजारमा इतिहासकै सबैभन्दा बढी तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको आधिकारिक ‘रेकर्ड’ छ ।

उनका अनुसार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ५ सय अमेरिकी डलर पुग्ने अनुमान गरेका छन् । यो भनेको आज मंगलबारको विनिमयदरअनुसार १ लाख ७२ हजार ९ सय ३ रुपैयाँबराबर हो । एक औंसबराबर ३१ ग्राम हुन्छ । ३१ ग्राम भनेको २.६६७ तोला हो । ११.६६४ ग्रामबराबर एक तोला हुन्छ ।

“भाउ उच्च हुँदै गए पनि कारोबार भने लगभग ठप्प जस्तै छ । भाउ बढ्न थालेदेखि बजार उठ्न सकेको छैन,” महासचिव बज्राचार्यले भने, “अब तोलामा ७ देखि ८ हजार रुपैयाँसम्म घट्यो भने सुन किन्नेहरू ह्वात्तै बढ्नेछन् । होइन भने बजार माथि आउन गाह्रो छ । विगतमा तोलाको ५५ हजारसम्म पुगेपछि भाउ घटेर ४७ हजारसम्म आउँदा सुन किन्ने व्यापक बढेको हाम्रो अनुभव छ ।”

उनका अनुसार छिमेकी भारतको अर्थतन्त्र ओरालो लागेका कारण भारतीय रुपैयाँ (भारु) पनि डलरको दाँजोमा कमजोर हुँदै गएको छ । यसबाट सुनको भाउ बढ्न बल पुगेको हो तर, स्थानीय बजारमा डलरको भाउ बढेको देखिए पनि अन्तर्राष्ट्रिय बजारमा खस्किएको छ जसको प्रभाव सुनको भाउ बढाउनमा परेको छ ।

नेपालमा विवाहको सिजन (माघ–फागुन) चलिरहेका बेला सुनको भाउ बढे पनि कारोबार भने कम मात्रामा भइरहेको उनले बताए । नेपाली बजारमा सुनको भाउ घटबढमा विवाह वा चाडबाडको कुनै भूमिका नहुने उनको अनुभव छ तर, भारतीय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा सुनको भाउ तलमाथि हुने उनको भनाइ छ । “भारतमा दिनकै हजारौं किलो सुन बिक्री हुने गर्छ,” उनले भने, “त्यही भएर भारतीय सुन बजारको उतारचढाव हाम्रो बजारमा पर्नु स्वाभाविक हो ।”

महासंघका अनुसार हाल नेपालमा दैनिक २० किलोबराबर सुन बिक्री हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंक वा उसले तोकेका अन्य ‘क’ वर्गका वाणिज्य बैंकबाट दैनिक २० किलोसम्म सुन खरिद गर्न पाउँछन् । “अमेरिका र चीनको व्यापार विवाद सकारात्मक टुंगोमा पुग्यो भने अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ केही सस्तो हुने अनुमान छ,” उनले भने ।

महासंघका अनुसार हिजो सोमबार छापावाल सुनको भाउ तोलाको ६२ हजार ५ सय, आइतबार र गएको साता शुक्रबार ६२ हजार ३ सय, बिहीबार र बुधबार ६२ हजार २ सय, मंगलबार ६१ हजार ५ सय, सोमबार ६१ हजार ४ सय र आइतबार ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । माघ १ देखि ४ गतेसम्म तोलाको ६१ हजारमा कारोबार भएको थियो ।  
गत मंसिर २५ मा तोलाको ६० हजार रुपैयाँ पुगेको सुनको भाउ त्यसअघि कात्तिक २० गते पनि तोलाको ६० हजार र कात्तिक ८ गते ६० हजार ४ सय रुपैयाँसम्म पुगेको थियो । 

त्यसैगरी तेजाबी सुनको भाउ पनि आज मंगलबार १ सयले बढेर तोलाको ६२ हजार ३ सयमा कारोबार भइरहेको छ । हिजो सोमबार ६२ हजार २ सय, आइतबार र गएको साता शुक्रबार ६२ हजार तथा त्यसअघिका दुई दिन तोलाको ६१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । माघ १ देखि ४ सम्म तेजाबी सुन तोलाको ६० हजार ७ सयमा कारोबार भएको थियो । 
चाँदीको भाउ भने पाँच दिन स्थिर रहेर आज ५ रुपैयाँ वृद्धि भई तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । माघ १६ देखि २१ सम्म चाँदीको भाउ तोलाको ७ सय ८५ रुपैयाँ थियो । माघ ८ गते ७ सय ५० मा कारोबार भएको थियो । 

महासंघका अनुसार माघ २२ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ माघ १५ मा ६१ हजार ५ सय, १६ र १७ मा ६२ हजार २ सय, १८ र २० मा ६२ हजार ३ सय र माघ २१ मा ६२ हजार ५ सय रुपैयाँ थियो । 


 

प्रकाशित मिति: मंगलबार, माघ २२, २०७५  १७:३७
प्रतिक्रिया दिनुहोस्