कोइराला परिवारसँग डा. सुशीलचन्द्र बनर्जी र डा. शान्ति बनर्जीको परिवारिक सम्बन्ध थियो । डा. शान्ति बनर्जी सो परिवारकोे पारिवारिक फिजिसियन थिइन् । त्यसैले पनि कोइराला परिवारका केटाकेटीहरुसँगै डा. बनर्जी दम्पतिकी जेठी छोरी नुपुर (बनर्जी) भट्टाचार्य (७३) र उनका भाइबहिनी सँगसँगै हुर्किए । सुष्मा कोइराला स्कूलमा नुपुरकी अंग्रेजी विषयको शिक्षिका थिइन् । त्यसैले पनि एकदमै निकट थिइन् । नुपुरको शैलजा आचार्यसँग पनि उत्तिक्कै आत्मिय सम्बन्ध थियो । नुपुरमात्रै नभएर उनका भाइबहिनीहरुमा पनि कोइराला परिवारको अगाध स्नेह थियो ।
मंगलबार साँझ कुपण्डोलस्थित निवासमा कुराकानी गर्दै गर्दा वरिष्ठ गायिका, उद्घोषक, बालअधिकारकर्मी नुपुर भट्टाचार्यले एउटा प्रसंग उठाइन् । उनी रेडियो नेपालको जागिरे थिइन् । देशमा प्रजातन्त्र आएर निर्वाचनसमेत भई गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भइसकेका थिए । त्यसबेला उनको परिवार बागबजारमा डेरा लिएर बसेको थियो । बागबजारबाट रेडियो आउजाउ उनको प्रायः पैदल नै हुन्थ्यो ।
नूपुर भट्टाचार्यले सम्झिन् त्यो क्षण । भनिन््, “एकदिन म रेडियो नेपालबाट फर्किँदै थिएँ । देब्रे तिरबाट हिँड्दै थिएँ । त्यसबेला सिंहदरबारको पश्चिम ढोका मात्रै प्रयोग हुन्थ्यो । कसैले कुरा गर्यो, प्रधानमन्त्रीको गाडी आयो– प्रधानमन्त्रीको गाडी आयो । मैले पनि छेउ लागेर हेरेँ । झण्डा भएको गाडी आइरहेको थियो । म अलिक अघि बढेँं । अचानक गिरिजा दाजुको गाडी अगाडि गएर रोकियो । र झ्याल खोलेर उहाँले मलाई बोलाउनु भयो, “ए मैया, कता हिँडेकी ?”
यो प्रसंग सुनाउँदै गर्दा नूपुरको मुहार चम्कियो । गिरिजा बाबुले सोधेको देखेर उनी एकछिन अलमलिइन् । त्यसपछि सडककै छेउमा कुशलक्षेमका कुरा भए । गिरिजा बाबुले नूपुर पति डा. एस.के. भट्टाचार्यका बारेमा सोधे । र, त्यस पछि मात्रै उनको गाडी अगाडि बढ्यो ।
कुराकानीकै क्रममा त्यहीसमयको एउटा अर्को प्रसंग नूपुरले सुनाईन् । उनका अनुसार एक पटक नूपुर र डाक्टर भट्टाचार्यलाई गिरिजाप्रसाद कोइरालाले भेट्न बोलाए । नूपुरले निरन्जन कोइरालासँग “गिरिजा दाजुले किन भेट्न खोज्नु भएको” भनेर सोधिछन् । उनले पनि “गिरिजा दाजुले तिमीलाई बंगलादेशको राजदूत बनाएर पठाउन चाहनु भएको छ । तिमीले हुन्छ भन्नुपर्यो” भने । पछि नूपुरसँग पनि यही कुरा गिरिजा बाबुले गरे ।
नूपुर भट्टाचार्य भन्छिन्, “तर त्यही बेला मैले बालअधिकारका क्षेत्रमा भरखरै हात हालेकी थिएँ । म अपाङ्गता भएका बालबालिकाको क्षेत्रका काम गर्दै थिएँ । त्यसैले मैले त्यो काम छोडेर बंगलादेश जान सक्ने अवस्था नै थिएन । त्यसैले मैले गिरिजा दाजुलाई भनँे “यो तपाईँको ममाथिको अगाध विश्वास हो । तर, म डिसेबल बालबालिकाहरुको क्षेत्रमा देशकै लागि केही गर्दैछु । त्यसैले गिरिजा दाजु, म जान सक्दिन । म अहिलेकै काममा खुशी छु । मेरो कुरा सुनेर उहाँले पनि नाई भन्नु भएन ।”
०००
नूपुरका बुबाको मूलघर ढाका हो । त्यसबेला पूर्वी बंगालका नामबाट परिचित थियो ढाका र चटगाउँहरु । उनका बुबा ढाका मेडिकल कलेजमा मेडिकल पढ्दै थिए । तर ब्रिटिश शासनका विरुद्ध पनि उनको आवाज बुलन्द थियो । मुलुकको स्वतन्त्रताका लागि सुशीलचन्द्र भिडेर लागेका थिए । उनी विद्यार्थीकालमै विप्लवी भएका थिए । यसैकारण पनि सुशीलचन्द्र बनर्जी जेल परे । उनलाई हाउस एरेस्ट गरियो । यसरी अंग्रेजहरुका विरुद्धमा उनको कर्मले उनलाई चर्चामा ल्यायो । यसका अतिरिक्त उनको रुची गीत संगीतमा पनि थियो । एकजना उस्तादसँग पनि उनले संगीत सिकेका थिए ।
ढाकाबाट एमबीबीएस गरेपछि नूपुरका बुबा डा. सुशीलचन्द्र प्रथम विश्वयुद्धका समयमा बर्मा खटाइए । डाक्टरका रुपमा केही वर्ष त्यता उनी कार्यरत रहे । यता नूपुरका हजुरबुबालाई लाग्यो भोलि मुलुकमा पार्टीसन भयो भने गाह्रो हुन्छ । उनी दूरदर्शी थिए । त्यसैले उनी असम आए र त्यहीँको एउटा चिया बगानमा प्रशासनतर्फको काम हेर्न थाले । चिया बगान पनि ब्रिटिशहरुको नै थियो ।
स्वतन्त्रता आन्दोलनपछि भारत र पाकिस्तान दुई मुलुकका रुपमा विभाजित भए । त्यस पछि भागाभाग सुरु भयो । डा. सुशीलको परिवार असम आए ।
उता विश्वयुद्ध सकिएपछि नूपुरका बुबा पनि असम आए । तिनका बुबाले (नूपुरका हजुरबुबा)ले छोरा सुशीलचन्द्रलाई “म साहबलाई भन्छु तिमीले यहीँ काम गर्नुपर्छ” भने ।
तर ब्रिटिशका विरुद्ध विप्लवी भएर लागेका डा. सुशीलचन्द्रलाई तिनैका अण्डरमा बसेर काम गर्न उनको नैतिकताले दिएन । उनी आफ्ना पिताजीमाथि खनिए । “म जसका विरुद्ध लागेँ, त्यसैको मातहतमा काम गर्न सक्दिन ।” उनले आफ्ना पिताजीलाई हाकाहाकी भनेर आफ्नी पत्नी डा. शान्ति बनर्जीलाई लिएर बिहार राज्यको पूर्णियाँ पुगे ।
नूपुर भन्छिन्, “बुबा मेरी आमालाई लिएर हिँड्नु भयो । पूर्णियामा धेरै शरणार्थीहरु थिए । त्यहीँ बसेर बुबाले चिकित्सा पेशा थाल्नुभयो । उहाँ फुटबलको राम्रो खेलाडी पनि भएकोले फुटबल खेलाउन पनि थाल्नु भयो ।”
फुटबल खेलका कारण नूपुरका बुबाको सम्पर्क जोगबनीको फुटबल टिमसँग भयो । उनी जोगबनी पुगे । त्यहाँ विराटनगरका केटाहरुले पनि फुटबल खेलेको देखे । त्यस पछि उनले विराटनगरका खेलाडीहरुलाई पनि फुटबलको कोच दिन थाले ।
त्यो समयमा मिल्स एरियामा सानो स्वास्थ्य चौकी थियो । त्यहाँ डाक्टर थिएनन् । डाक्टर भएकोले डा. सुशीलचन्द्रलाई त्यहाँ आएका बिरामी जाँचीदिन भनियो । तर उनले आफूले काम नगर्ने भन्दै आफ्नी डाक्टर पत्नीलाई ल्याएर काममा लगाउन सक्ने बताए । यसरी केही दिनपछि नूपुरकी आमा डा. शान्ति मिल्स एरियाको अस्पतालमा डाक्टर भइन् । उनका बुबा स्वतन्त्ररुपमा बिरामीहरुको आँखाको जाँच गर्ने र विराटनगरका युवाहरुलाई फुटबल सिकाउने काममा लागे ।
नूपुर आफ्ना पिताजीलाई सम्झिँदै हाँसिन् । भनिन्, “कहिलेकाहीँ बुबाले २२ जना नै खेलाडी घरमा ल्याउनुहुन्थ्यो र भन्नु हुन्थ्यो– सबैलाई दुई दुई वटा अण्डा र एक एक ग्लास दूध देउ । अब कसैको घरमा तीन चार दर्जन अण्डा रहन्छ र ? तर पनि आमाले व्यवस्थापन गर्नुहुन्थ्यो । खेलाडीहरुका लागि डाईटको व्यवस्था हुन्थ्यो नै ।”
नूपुरका अनुसार पूर्वाञ्चलमा उनका बुबा, डा. सुशीलचन्द्र बनर्जीले नै फुटबल टुर्नामेन्टको सुरुआत गरेका हुन् । पछि नूपुरकी आमा डा. शान्ति बनर्जीलाई विराटनगर अस्पतालमा डाक्टर भईदिनका लागि आग्रह गरियो । र उनी विराटनगर अस्पतालमा सरकारी डाक्टर भईन् । तर नूपुरका बुबाले अस्पतालमा काम गरेनन् । उनले नेत्र विशेषज्ञका रुपमा सधै समाज सेवा गरे । अनि विराटनगरका युवाहरुलाई फुटबल खेल्न हौस्याए ।
नूपुर भन्छिन्, “मेरी आमालाई विराटनगर अस्पतालमा ल्याउनका लागि तत्कालिन समाजसेवी र राजनीतिज्ञहरुबीचमा कुरा भयो । त्यो बेला त राणाकालिन समय नै थियो । तरपनि कोइराला परिवारले मेरो आमासँग गएर कुरा राख्नु भयो । आमाले पनि नाई भन्नु भएन । आमाको समय अस्पतालमा बित्न लाग्यो । बुबाको भने आधा समय फुटबल ग्राउण्डमै बित्थ्यो । तर समयसमयमा बुबाले अस्पतालमा आएका बिरामीहरुको प्याथोलोजिकल टेष्ट भने गरिदिनु हुन्थ्यो । तर उहाँले आँखा जाँच्दा होस् वा प्याथोलोजिकल टेष्ट गर्दा होस्, कहिल्यै पैसा लिनुभएन ।”
नूपुरकी आमा जहिले पनि भन्थिन्, “विराटनगर अस्पतालको ईँटाईँटामा मेरो रगत छ ।” नूपुरका अनुसार उनी शनिवार पनि अस्पतालमै व्यस्त रहन्थिन् । यसका अतिरिक्त अस्पतालमा आएका स्याम्पल औषधिहरु जम्मा गरेर उनी त्यस भेगको वरपरका कैयन् गाउँमा पुगेर बिरामीको उपचार पनि गर्थिन् । यसरी नूपुरकी आमाले त्यस क्षेत्रका कतिपय गाउँलाई स्वस्थ गाउँ बनाएकी थिइन् ।
०००
नूपुर भट्टाचार्यको बाल्यकाल रमाइलोसँग बित्यो । उनीपछि उनका एक भाइ र तीन बहिनी थिए । बुवाआमा दुबै डाक्टर भएकोले दुवै व्यस्त रहन्थे । तर पनि आफूहरुलाई बुबा आमाले “क्वालिटी टाइम” दिएको उनको भनाइ छ । बुबा आमाको प्रशस्त माया पाएँ । थोरै समय दिँदा पनि टन्नै समय दिएको अनुभूति हुन्थ्यो नूपुर र उनका भाइ बहिनीहरुलाई ।
उनी भन्छिन्, “आमा बुबाले हामी सबैलाई सधै सत्य बोल्न सिकाउनु भयो । सत्य बोल्यो भने त्यसले मानिसलाई शक्तिशाली बनाउँछ । मलाई लाग्छ, त्यसैले पनि हामी सधै इमानदार भयौं ।”
विराटनगरमै जन्मेकी नूपुरको बाल्यकाल त्यहीँ बित्यो । त्यो बेला बालिकाहरुलाई पढाउने चलन थिएन । त्यसैले प्रारम्भमा उनले संगीत शिक्षा लिन सुरु गरिन् । उनका संगीत गुरु भारतको पूर्णियादेखि आउँथे । त्यसपछि उनका बुबाले उनले राम्रो शिक्षादीक्षा पाउन् भनेर कलकत्ताको शान्ति निकेतनमा भर्ना गरिदिए । त्यसबेला विराटनगरबाट केही केटीहरु कलकत्ताको शान्ति निकेतामा पढ्न गएका थिए ।
त्यसैबीच विराटनगरमै आदर्श बालिका विद्यालयको स्थापना भयो । कोइराला परिवार र स्थानीय समाजसेवीहरुको सहयोगमा सो बालिका विद्यालय खुलेको थियो । पछि नूपुर विराटनगर फर्किइन् र आदर्श बालिका विद्यालयमा पढ्न थालिन् ।
उनले २०१७ सालमा त्यही विद्यालयबाट एसएलसी दिईन् र बोर्ड दोस्रो भईन् । बालिकाहरुमा पहिलो भइन् । एसएलसी पास गर्दा उनी करिब १४ वर्षकी थिइन् ।
उनी भन्छिन्, “कलकत्ताको शान्ति निकेतनमा पढेकोले पनि मेरो पढाइको जग राम्रो भएको थियो । सबै विषयमा मैले राम्रो गरेकी थिएँ । त्यसैले पनि बुबा आमाले मेरा भाइबहिनीहरुलाई पनि केही समय कलकत्ताको शान्ति निकेतनमै पढ्न पठाउनु भयो ।”
०००
वि.सं. २०१७ सालमा एसएलसी परीक्षामा बोर्ड सेकेण्ड भएपछि उनी त्यसै वर्षदेखि स्थापित रत्न विद्या पदक लिन काठमाडौं आइन् । उनलाई त्यो क्षण आज पनि सम्झना छ । उनी जब पदक लिन दरबार पुगिन्, तत्कालिन रानी रत्नले उनलाई अथाह माया गरिन् । त्यस पछि मात्रै उनलाई लाग्यो, “ओहो ! मैले त ठूलै काम पो गरेकी रहिछुँ । मेरो प्राप्ती ठूलो रहेछ ।”
नूपुर भन्छिन्, “रानी रत्नले पदक दिएर हिँड्न पनि सक्थिन् । रानी थिइन् । तर मलाई तिमी के खान्छौ भनेर आफैसँग राखेर खाजा खुवाइन् । माया गरिरहिन् । खानेकुरा थप्न लगाईन् । करिब एक घण्टै मसँग बसिन् । मलाई आज पनि त्यो क्षण याद आउँछ ।”
उनीसँगै महेन्द्र विद्या भूषण लिने व्यक्तिहरुमा अंगुरबाबा जोशी, डा. अञ्जनीकुमार शर्मा, डा. दिनेशनाथ गोंगलहरु पनि थिए । रत्न विद्या पदक ग्रहण गरेपछि उनी विराटनगर फर्किईन् । पछि उनका बुबाले नूपुरलाई उच्चशिक्षा अध्ययनका लागि कलकत्ता पठाए । उनले उतैबाट मास्टर्स गरेर फर्किन् ।
०००
नूपुर मास्टर्स पढ्दै थिइन् । त्यसबेला भानु मोरङ संस्थासँग उनी पनि जोडिएकी थिईन् । त्यसका संस्थापक थिए, कलाकार चतुर्भूज आशावादी । सो संस्थाले गर्ने कार्यक्रमहरुमा नूपुर गीत पनि गाउँथिन् । उनी त्यो समयमा प्रायः गोपाल योञ्जनका गीतहरु बढी गाउँथिन् । त्यही रहँदा उनको भेट बच्चु कैलाश, शिवशंकर, तारादेवी जस्ता ठूला कलाकारहरुसित भयो ।
एक पटक चतुर्भूज आशावादीले नुपुरलाई चौध अञ्चल गीत प्रतियोगितामा भाग लिन काठमाडौं ल्याए । रेडियो नेपालको वार्षिकोत्सवका अवसरमा लोकगीत सम्मेलन हुँदै थियो । काठमाडौं आएर नूपुरले चतुर्भूज आशावादीको संकलन र लयमा “लेकलेक हिँड्ने लेक मृग, कस्ले पो देख्छ भोक तिर्खा...” बोलको लोकगीत गाइन् । त्यो लोकगीत प्रतियोगितामा दोस्रो भयो ।
यसरी पुरस्कृत भए उनको एकै पटक पाँच वटा गीत रेकर्ड भयो । नूपुरलाई ती गीतहरुले गायिकाका रुपमा स्थापित गर्यो । त्यो बेला भोग्यप्रसाद शाह रेडियो नेपालका डाईरेक्टर थिए ।
नूपुर भन्छिन्, “त्यसपछि लामो समय ग्याप रह्यो । मैले कलकत्ताबाट मास्टर्स सिध्याएँ । विराटनगर फर्किएँ । त्यस पछि मेरो बिहे भयो डाक्टर एसके भट्टाचार्यसँग । र म विराटनगर नै बसेँ । २०३० सालमा मेरा पति डा. भट्टाचार्यको सरुवा काठमाडौं भएपछि मात्रै म काठमाडौं आएँ ।”
त्यतिबेला नूपुरलाई उनकी आमाले काठमाडाैं पुगेपछि गीत गाउन सुरु गर्ने सल्लाह दिएकी थिईन् । आमाले आफ्नो क्षमता खेर नफाल्नु भनेकोले पनि उनी एक दिन रेडियो नेपाल गइन् । रेडियो नेपाल जाँदा भोग्यप्रसाद शाह नै डाईरेक्टर रहेको थाहा पाईन् । शाहसँग भेटिन् नूपुरले । र आफूले फेरि गीत गाउने कुरा उठाईन् ।
तर रेडियोका निर्देशक शाहले नूपुरलाई आश्चर्यचकित तुल्याउँदै भने, “गीत गाउँदै गर्नु, अहिलेलाई रेडियोमा उद्घोषकको जागिर खान आउ ।” नूपुरलाई ढुँगो खोज्दा देउतै मिले जस्तो भयो । त्यस पछि उनी उदघोषककारुपमा रेडियो पसिन् । बीबीसीले दिएको तालिम लिईन् । शान्ता श्रेष्ठसँग महिला कार्यक्रम संचालन गर्न थालिन् । यसरी उद्घोषणको निरन्तरताले उनलाई महिला कार्यक्रममा मात्रै नभएर विभिन्न किसिमका कार्यक्रमहरुसँग जोड्दै लग्यो । उनी कार्यक्रमलाई उत्कृष्ट कसरी बनाउन सकिन्छ भनेर लाग्दै गईन् ।
नूपुर भन्छिन्, “मैले विराटनगरमा रहँदा गोपाल योञ्जनका गीतहरु नै बढी गाएकीले उहाँको संगीतमा केही गीतहरु गाउने इच्छा थियो । तर उहाँसँग भेट हुन सकिरहेको थिएन । पछि अनेक गरेर उहाँसँग भेट भयो र गोपाल दाइको संगीतमा मैल तीन वटा गीत गाएँ, “म आँशुमा डुबुँ की सन्तापमा डुबु...”, “पुतली हो पुतली...” र “संसारका सारालाई ती जसले काखमा पाले...” बोलका गीतहरु गाएँ । उहाँले संगीत गर्नुभएको एउटा गीत “संसारका सारालाई....”, मैले गोपाल दाइको निधन पछि मात्रै रेकर्ड गर्न पाएँ । यो गीत गोपाल दाइले सुन्न पाउनु भएन । यसलाई समय लिएर बनाउन चाहन्छु भनेरै उहाँले यो गीत बनाउन ढिलो गर्नुभयो ।”
काठमाडौं आएपछि नूपुरले धेरै गीत गाईन् । नातीकाजी, शिवशंकर लगायतका संगीतकारहरुको संगीतमा उनले आधुनिक गीत र भजनहरु पनि प्रशस्त गाईन् । कतिपय उनले मनपराएर गाईन्, कति बाध्यताले गाईन् तर गायनमा उनको निरन्तरता रहिनै रह्यो ।
०००
नूपुरले कार्यक्रम उद्घोषण गर्न सुरु गर्दाको एउटा घटना सुनाईन् । महिला कार्यक्रममा पनि फर्माइसी गीत बज्दथ्यो । त्यसमा कहिलेकाहीँ कसै कसैको नाम हालिन्थ्यो । कम अनुरोध आएका बेला यस्तो गरिन्थ्यो । यसरी अनेकका नाम गीत फर्माईसीकर्ताको नाममा पर्दथ्यो । एक पटकको कार्यक्रम रेकर्डिङमा नूपुरले बोल्दाबोल्दै नारायणहिटीबाट फलाना फलाना भनेर नाम लिईन् । यो सुनेर रेकर्डिस्टले नूपुरलाई भएन भएन भनेर ईशारा गरे । अनि पछि दिदी नारायणहिटी त दरबार हो, के भन्नु भएको तपाईँले भनेपछि पो उनी छक्क परिन् ।
नूपुर यो घटना सम्झँदै हाँसिन् । भनिन्, “पछि हामी सबै खुब हास्यौं । त्यो त रेकर्डिङ प्रोग्राम भएकोले गाह्रो भएन । तर हल्ला भने भयो नुपुर दिदीले आज त हसाउनु भयो भनेर । वास्तवमा मलाई पाण्डव सुनुवार, बासुदेव मुनालले धेरै सिकाए । शान्ता श्रेष्ठ दिदी र पुरुषोत्तम सापकोटासँग पनि उदघोषणकलाका बारेमा धेरै सिकेँ ।”
नूपुर भट्टाचार्यले महिला कार्यक्रम चलाउँदा पनि भ्याएसम्म महिला अधिकारका कुरा उठाइनै रहिन् । त्यस्ता अधिकारका विषयलाई लिएर कहिलेकाहीँ चर्चा पनि चले । तिमीले यति सारो भन्नु हुँदैन पनि भने । तर उनले पनि महिला अधिकार र बालअधिकारका कुरा मिलेसम्म आफूले संचालन गर्ने कार्यक्रममा उठाइरहिन् ।
पछि उनी आफैं महिला अधिकार र बाल अधिकारका लागि भिडेर लागिन् । आज यो उमेरमा पनि उनी बाल अधिकारका लागि सक्रिय छिन् ।