एका बिहानैको माघको ठिही र पोखरीमा सात डुबुल्की मार्नुपर्ने तीला (मकर) संक्रान्तिको कल्पनाले आजसम्म पनि आंग जिरिङ्ग हुन्छ । सोच्छु, ठूलोवुबा हामीसँग कति कुरा त्यसै जिस्किएर भुन्नुहुन्थ्यो र हामी सधैँ पत्याउथ्यौँ पनि । उहाँ भन्नुहुन्थ्यो – तीला संक्रान्तिको दिन बिहान सखारै अर्थात् उज्यालो नहुँदै पोखरीमा सात डुबुल्की मार्यौ भने पानीभित्रै भगवानले हातमा तीलका सातवटा लड्डु हालिदिनु हुन्छ ।
बोल्दाखेरी उहाँको भंगीमा कति सहज हुन्थ्यो भने हामीलाई पत्याउन करै लाग्थ्यो । अझ उहाँले त्यसमा आफ्नो बाल्यकालको लोभलाग्दो कथा पनि मिसाउनु हुन्थ्यो । त्यसै त ती परीकथामा रुमलिने दिन थिए । कथाहरुले सानैदेखि निकै आर्कर्षित गर्थे मलाई । कथा मानवले गढ्ने हो र त्यो सत्यको नजिक रहेपनि सत्य नै चाहिँ होइन भन्नेपनि निकै हुर्केपछिमात्रै थाहापाएकी हुँ ।
उसबेला सबै सत्यजस्तै लाग्थ्यो । र त्यो सत्य नै पनि सुन्दर थिए ।
सानोमा तीलको लड्डु असाध्यै मनपराउने हामी सबै १० जना दिदीबहिनी र दाजुभाइ सात वटा लड्डुको लोभमा ठूलीमाको साथ लागेर सखारै नजिकैको पोखरीमा नुहाउन पुग्थ्यौँ र सकीनसकी सात डुबुल्की मार्थ्यौँ पनि ।
हाम्रो टोलका थुप्रै बुज्रुकहरु हुन्थे त्यसबेला जो पोखरीमा नुहाउने हामीलाई हेरेर हाँस्थे । र, त्यसमा हाम्री ठुलीमा पनि हाँसो मिसाउनुहुन्थ्यो । त्यो हाँसोको अर्थ वा रहस्य धेरैपछि मात्रै थाहा पायौँ हामीले । अझै पनि उसबेलाका हाम्रो संक्रान्ति स्नानको कथा गाउँका काकाहरुले सम्झाइरहने र सबैलाई हँसाइरहने गर्नुहुन्छ ।
तराईमा र अझ पोखरी र कुण्डहरु भएको सहर जनकपुरमा त्यसबेला पनि लुगलुग कमाउने जाडो र शीतलहर चल्थ्यो । पोखरीको पानीमाथि बाक्लो कुहिरोको बादल परैबाट देखिन्थ्यो । मानौ त्यो बरफको पोखरी हो, पानी पनि त्यस्तै । र पनि हामी पोखरीमा उत्रन्थ्यौं । यो क्रिया लामो समय चलेपनि लड्डु कहिल्यै हात नपरेर हामी जिल्लाराम भएर फर्कन्थ्याैँ र ठूलोबुबासँग दिनभर गनगन गर्थ्याैं ।
उहाँ भन्नुहुन्थ्यो तिमीहरुले गन्ती बिगार्यौ होला नभए त जलदेवीले बच्चालाई खाली हात फर्काउनुहुन्न । ल ठीकै छ, अर्कोपल्ट ठीकठीक गन्ती गर्नु है । सातको सातै पुर्याउनुपर्छ ।
हामी फेरि पनि होजस्तो गरेर उहाँको विश्वास गथ्र्याैँ । हाम्रो बाल मनले कहिल्यै पनि सोचेन आखिर दस जनामध्ये कसैले पनि सही गन्ती गर्न सकेनौ होला र ?
हामीलाई बिहानै नुहाउन लगाउने ठूलोबुबाको बठ्याँई अहिले सम्झदा पनि मुहारमा चन्द्रमा उघ्रन्छ ।
आमा भन्नुहुन्थ्यो – जाबो सातवटा तीलको लड्डुका लागि बिहानै नुहाउन जानुपर्दैन । बिरामी पर्छेस् । म त्यसभन्दा धेरै दिन्छु दिनभरी खालिस् । हामीलाई भने जलदेवीको हातबाटै लड्डु पाउने लोभले चिसो पोखरीमा सात डुबुल्की मार्न ऊर्जा थपेजस्तो हुन्थ्यो ।
सोच्छु ठूलीमाँले पनि त कहिल्यै वुबाले त्यसै ढाँट्नुभएको हो, बिहानै नुहाउनु पर्दैन भन्नुहुन्थेन । संभवतः त्यो उहाँहरुका लागि अनुशासनको एउटा पाटो पो थियो कि? हामीमध्ये कोही बिरामी परेको थाहा छैन । पानी पनि निर्मल हुन्थ्यो । नुहाउँदा नुहाउँदै कति पानी निल्थ्यौँ हामी ।
नुहाएर फर्कँदा भने आमाले आगो बालेर राख्नुहुन्थ्यो । मिथिलामा उक्त दिन तीलको डाँठकोे आगो ताप्नु अनिवार्यजस्तै थियो । हामी पनि कपालबाट पानीको थोपा थोपा चुहाउँदै आगो ताप्थ्यौँ र घुरनिरै आइपुगेको विभिन्न प्रकारको लड्डु खाएर बस्थ्यौँ । थालभरी नै हुन्थ्यो लड्डु । यद्यपि, जलदेवीले हामीलाई सातवटा लड्डु नदिएको पीडाबोध र हामीले गन्ती बिगारेको अपराधबोध भने केही समयसम्म कायमै रहन्थ्यो । तर, अर्को वर्ष जसरी पनि जलदेवीको हातबाट लड्डु लिने प्रण मनमनै गर्थ्याैँ । मैले चाहिँ गरेकै हो, अरुको थाहा भएन ।
...
मिथिलामा माघे संक्रान्तिमा बिहानै पूजापाठगरी तील, भुजा र च्युराको लड्डु खाने प्रचलन छ । आमाले बिहानै प्रसादस्वरुप काँचो तील र गुड खान दिएर भन्नुहुन्थ्यो – मेरो तील बहन्छौ नि हैन छोरी ! त्यसो भन्नुको अर्थ हुन्थ्यो भोलि पर्दा सन्तानको धर्म निर्वाह गर्छौ कि गर्दैनौ ? हामी बहन्छाैँ आमा भनेर खितितिती हाँस्थ्यौ । मलाई वास्तवमा त्यसबेला आमाले भन्नु भएको कुराको अर्थ थाहा थिएन । मिथिलाको संस्कृति गजबको लाग्छ मलाई । प्रत्येक पर्व र उत्सवको उत्साहसँगै एउटा पाठ र संस्कारसमेत प्रवाहित भएको हुन्छ । जो समयक्रमसँगै बालबालिकाले ग्रहण गर्दैजाने हो ।
त्यस दिन भने भोजनमा खिचडी, तीलको चटनी, तरुलसहित विभिन्नप्रकारको तरुआ, घ्यु, पापड तरकारीलगायतको परिकार पाक्छ । कतिपय घरमा माछा खाने प्रचलन रहे पनि जनकपुर धार्मिक नगरी भएर होला हाम्रोमा धेरै पर्व शाकाहारी नै हुनेगरेको थियो । त्यसदिन हामीहरु दिनभरी नै खाएको खायै गथ्र्यौँ । अघाउन्जेल ।
हाम्रो घरमा पनि छिट्टाभरी लड्डु पाक्थ्यो । परिवार ठूलै थियो हाम्रो । तरपनि हामी सानो छँदा तीला संक्रान्तिमा कम्तीमा १२ हिउँद अध्यारोमै पोखरीमा सात डुबुल्की लगायौ होला । अहँ, लड्डु भने कहिल्यै हात परेन । अहिले ठूलोवुबा परलोक हुनु भयो । तर, उहाँले छोडेर जानुभएको यस्तै थुप्रै स्मृतिले घरी हँसाउँछ भने घरी गहिरो सोचमा पुर्याउँछ मलाई । सोच्छु हामीसँग अनेकौँ सम्झना छन् र नै तिनले बेला बेला बाँच्ने ऊर्जाको काम गर्छन् ।
हाम्रो बालक्रीडाको इतिहास बोकेको त्यो जनकपुरको पोखरीमा माघको बिहानी वा अन्य कुनै बिहानीमा कुनै बच्चाले क्रीडा गरेको दृश्य अब दुर्लभ भएको छ । पूर्खाले गढेका ती जलदेवीको दन्त्यकथा हामीभन्दा तलको पुस्तामा हस्तानान्तरण हुन नसकेकै हो त ?
अचानक धेरै ठूलो परिवर्तन महसुस हुनथाल्छ यतिबेला । आजभोलि साच्चै आमाहरुले बच्चालाई पोखरीमा नुहाउन पठाउँदैनन् । किनभने पोखरी ढल बग्ने स्थायी स्थान भएको छ । र त्यहीँ मनाउछौँ हामी छठजस्तो महापर्व पनि । कस्तो विडम्बना !