site stats
बाह्रखरी :: Baahrakhari
देश
५ लाख चन्दा माग्दै कालो मसी छ्यापिदिए : कंसाकार

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले ‘५ लाख रुपैयाँ चन्दा माग्दै आफूमाथि कालो मसी छ्यापिएको’ बताएका छन् । 

निगमले २४ अर्ब रुपैयाँमा खरिद गरेका दुईथान ठूलो (वाइड बडी) आकारका जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँबराबर भ्रष्टाचार भएको भन्दै सार्वजनिक लेखा समितिको एक उपसमितिले प्रतिवेदन तयार गरेको भोलिपल्ट शुक्रबार दिउँसो कंसाकारमाथि उनकै कार्यकक्षमा कालो मसी छ्यापिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“दिउँसो ३ः४५ बजेतिर एकजना केटो हातमा पत्रिका लिएर मेरो कार्यकक्षमा प्रवेश गर्यो र आउनासाथ म क्रान्तिकारी माओवादी हुँ ५ लाख चन्दा चाहियो भन्यो,” महाप्रबन्धक कंसाकारले बाह्रखरीसँग भने, “मैले विप्लव माओवादी हो भन्दा उसले होइन मोहन बैद्य माओवादी भन्यो । त्यसपछि मैले ५ लाख होइन, मेरो खल्तीमा ५ हजार छ त्यही लैजानुस् भनेँ । त्यति कुरा हुन्जेल कोठामा अर्को व्यक्ति मुसुमुसु हाँस्दै प्रवेश गर्‍यो र चन्दा माग्नेले पत्रिकामा बेरेर मसी ल्याएको रहेछ, तुरुन्तै अनुहारमा पर्ने गरी छ्यापिदियो ।”

उनका अनुसार मसी छ्याप्नासाथ तुरुन्तै दुवैजना कोठबाट बाहिर भागे । कार्यालयका सुरक्षा गार्डले समाउन खोज्दा पनि तिनीहरू फुत्किन सफल भए । पछि कार्यालयमा बुझ्दा ती व्यक्ति हिजो–अस्ति पनि आएका रहेछन् । उनीहरू पूर्वतयारीका साथ आएका रहेछन् । 

घटना घटेपछि काठमाडौं प्रहरीका एसएसपी वसन्त लामाले सुरक्षा चाहिन्छ कि भनेर टेलिफोन गरेको तर आफूले सुरक्षा नचाहिने जानकारी गराएको कंसाकारले बताए । प्रहरीले कार्यालयको ‘सीसीटीभी फुटेज’ हेरेर ती व्यक्ति पहिचान गर्ने प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।

“यो सबै पूर्वयोजनासहित नियतबस गरिएका कायर काम हो, मलाई तर्साएर राजीनामा गराउन यस्तो घृणित काम गरिएको हो,” कंसाकारले भने, “मेरो अनुमानमा ती माओवादी होइनन्, गुन्डामात्र हुन् र मसी छ्याप्ने त एउटा बहानामात्र हो । चन्दा माग्नेले मसी छ्याप्दैन, बरु पैसा कति दिन सकिन्छ भनेर मोलमोलाइ (बार्गेनिङ) गर्छ ।”

संसारमै सस्तो मूल्यमा दुईथान वाइड बडी जहाज किनेर ल्याई देश विकासको काम गर्दा कसैलाई नपचेको आरोप कंसाकारले लगाए । “त्यति सस्तोमा जहाज किन्दा पनि किन नयाँ किनिनस्, किन जहाज निर्मातासँगै किनिनस् भन्दै नबुझिकन संसददेखि सरकारसम्मले सोध्दा अचम्भित छु,” कंसाकारले भने, “यही कुरो पचाउन नसक्ने ‘समूह’ ले ममाथि मसी छ्यापेको हो भन्नेमा म ढुक्क छु ।”

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०७५  १९:०७
प्रतिक्रिया दिनुहोस्