‘‘हामीबीच शारीरिक सम्बन्ध आक्कलझुक्कलमात्र हुन्थ्यो । उनी सधैँ अफिसको कामले थकित छु भन्थे । म दुई छोराछोरीको लालनपालन, सासुससुरा, नन्दआमाजु, चाडबाड मै व्यस्त । कमाउने एक जना । खाने छ जना । सजिलो पक्कै पनि थिएन । हुनत, बिहे अगाडि मेरो पनि कमाइ थियो । म पनि काम गर्थेँ । राम्रै कमाउथेँ । तर, छोरो जन्मे पछि छोडेँ । उन्ले’नि केही भनेनन् । पछि बिस्तारै घर व्यवहार नै प्यारो लाग्न थाल्यो । सबै ठीकै थियो, तर सधैँ अपुरोजस्तो लागिरहने । तैपनि खानलाउन पाएकै छ, घर परिवार छँदैछ । सबै सबैको भाग्यमा कहाँ हुन्छ र भनेर चित्त बुझाउथेँ ।’’
यो सबै भनिरहँदा शान्ति (नाम परिवर्तन) को अनुहारमा उदासी देखिन्थ्यो । कताकता हराएर आँफैलाई खोज्दै हो कि जस्तो लागिरहेथ्यो मलाई । लामो सास फेरेर उनले भनिन् ‘‘मैले त नरोई रात बिताएकै छैन होला । हरेक रात खै के हुन्थ्यो, आँसु झर्थ्यो ।’’ उनले हाँस्दै थपिन्, ‘‘बिहान फेरि चिटिक्क पर्यो । सासुलाई रातो नलगाई नहुने । सिन्दुर, पोते र चुराले म सधैं सिँगारिन्थेँ, तर आफ्नो अनुहार ऐनामा हेर्न पनि मुस्किल हुने । कस्तो हिप्पोक्रिट लाग्ने आफैँ ।’’
हाम्रो आजको तेश्रो सेसन थियो । अघिल्ला दुई सेसन खासै कुरा भएनन् । पहिलो दिन त फेरि आउँछु भनेर जुरुक्कै उठेर गएकी थिइन् उनी । दोस्रोमा उनी आफ्ना छोराछोरी, घर परिवारकै कुरामा अल्मलिइन् । केही प्रश्न गरिहाल्दा पनि ठ्याक्कै उत्तर दिन हिच्किचाइन् । समस्या के हो भन्दा पनि भन्न गाह्रो मानिन् । त्यस्को तीन साता हराएर फेरि आइपुगेकी थिइन् उनी । तर अचम्म, त्यस दिन आफ्नो कुरा सुनाउने नै मनःस्थितिमा थिइन् ।
मैले पनि ‘टेक्निक’ र ‘अप्रोच’को पछि नलागी उनलाई नै बोलिरहन दिएँ बेला बेलाको आवश्यक प्रश्नबाहेक । लाग्यो उनको कुरा सुन्दिनु नै सायद उनका लागि ‘थेरापी’ हो । तर, पनि कुरा के हो भन्ने विषयमा खुल्दुली लागि नै रहेथ्यो । जहिले पनि ‘प्रीसेसन’ हुने तर यो केसमा त्यो पनि थिएन । दुइटा सेसन त्यतिकै गइसकेको थियो । यसपटक पनि खाँटी कुरा खुल्न सकेको थिएन । मेरो मस्तिष्कले उनलाई बोल्न नै दिनु राम्रो भनिरहेको थियो । त्यसैले कुरामात्रै सुन्दै थिएँ तर मेरो मनको हुटहुटी खपिनसक्नुको थियो । उनी आफ्नो बिगतमा बगिरहेकी थिइन् ।
‘‘एकदिन उन्को (शान्तिको पतिको) मोबाइल बजिरह्यो । उनी घरमा तलमाथि कतै थिए । एकनास बजेको भएर मोबाइल हेरेँ । मेसेजहरू टन्नै थिए । नहेरेको भए हुन्थ्यो, हेरेँ, थाहा भयो । उनी अरू कसैको प्रेममा रहेछन् । म रन्थनिएँ । केही बोल्न केही गर्न सकिन । कसैलाई केही भनिन् । खै के मनमा आयो सिधै पशुपती गएँ । दिनभरि त्यहीँ बसेँ । मनमा कति कुरा खेल्योखेल्यो ! साँझ पर्न लागेपछि छोराछोरी सम्झिएँ । घर फर्किएँ तर घरबाट निस्केको म र फर्केको ममा आकाशपातालको फरक थियो ।’’
मैले बिस्तारै सोधे, ‘‘मबाट के चाहनु हुन्छ ?’’ उनले भनिन्, ‘‘थाहा छैन के खोजेको हो मैले । बस्, मेरो कुरा सुन्दिने कोही छ भन्नेमात्रै पनि हो कि ?’ अनि कुरा थपिन्, ‘यो कुरा भएको आज १० वर्ष भइसक्यो । तर, म अझै त्यहीँ छु । अझै अत्यास लाग्छ, मलाई उसले अझै धोखा दिइरहेको छ कि भनेर । उसले जति छैन भने पनि, जति माफी मागे पनि मेरो मन अझै त्यहीँ डुल्छ । छोरो विदेश गइसक्यो । म ५० की भइसकेँ । छोरीको बिहे गर्ने बेला हुन लाग्यो तर मलाई भने अझै शान्ति छैन ।’’
मैले सोधेँ – ‘‘अहिले तपाईं दुईको सम्बन्ध कस्तो छ ?’’ फिस्स हाँसेर उनले जवाफ दिइन् – ‘‘कस्तो हुनु ? अझै मेरा आँखा ओभाएका छैनन् । अझै पनि म अतृप्त नै छु । अहिले पनि हामीबीच खासै सम्बन्ध हुँदैन । म कुरा गर्न खोज्छु, उनी टार्न खोज्छन् । मेरो शरीर नै यस्तै हो कि ?’’
मैले उनी सँगै लामो सास फेरे । केही बेर बोल्नै सकिन । उनका आँखा रसाएछन् । म पनि गम्भीर भएँ । उनले मलाई एकटक हेरिन् र फेरि बोल्न थालिन् – ‘‘तपाईं पनि छक्क पर्नु भो, हैन ? कस्तो मान्छे होला भनेर ! यति पीडा सहेर पनि कसरी बसेको होला भनेर ! तर के गर्नु ? कहाँ जाऊँ ? काम छोडेको नै ३० वर्ष भइसक्यो । मलाई केही आउँदैन भातभान्छा बाहेक । फेरि कस्कोमा जाउँ ? माइती पनि बलिया छैनन् । कस्लाई सुनाऊँ आफ्नो मनको बह ? सबै फोस्रा सहानुभूतिमात्र दिन्छन् । अहिले पनि लगभग आफूलाई एक्लै नै महसुस गर्छु । मेरो समस्या मेरा पतिले १० वर्षअघि धोखा दिएकोभन्दा पनि मैले आफुलाई कहिल्यै सम्पूर्ण महसुस गर्न सकिन, पुरुष प्रेम पाइन भन्ने नै हो जस्तो लाग्छ । यो अतृप्ततालाई कहाँ बिसाऊँ ? के गरूँ, के भनुँ ? कहिले कहीँ त लाग्छ म पनि घर बाहिरै जाऊँ । ऊजस्तै स्वतन्त्र विचरण गरूँ । तर, सक्दिन । म सधैँ उसैको आश गर्छुु । निर्लज्ज भएर उसैसँग निःशब्द याचना गर्छुँ । आफैँलाई धिक्कार्छु, मैले मेरो स्वाभिमानलाई कहाँ बेचे भनेर । तर, मेरो अर्को उपाय छैन । परिवार छ, छोराछोरी छन्, सबैको जिन्दगी र भविष्य धरापमा कसरी पार्नू ? तर म हरेक रात रुन्छु, कहिले बिगत सम्झेर कहिले आज देखेर ....!’’
यति भन्दाभन्दै डाको छुट्यो, उनको । म स्तब्ध भएँ । सुनिरहेँ । पहिलोपटक यस्तो फरक सेसन थियो मेरा लागि । मेरो दिमागले काम गर्न सकेको थिएन । मैले के भन्दा, के गर्दा उनलाई सजिलो हुन्छ, म आफैँ अन्योलमा थिएँ । बस्, पानीको गिलास उनको अगाडि सारिदिनु बाहेक केही गरिन । उनले गिलास समाइन् ।
शान्तिको कुरा सुन्दैजाँदा दुई तीनवटा विषय देखिएको थियो, वैवाहिक सम्बन्धमा देखापर्ने यौन असामञ्जस्य, विवाहबाहिर गाँसिएको सम्बन्धको असर, पतिपत्नीबिचको तनाव र समस्या, पतिपत्नीबीचमा यौन र यौनिकतासम्बन्धी बुझाइको स्तर, अनि शान्तिमा नजानिँदो पारामा गाँसिएको केही मानसिक समस्या । यी सारा बूँदालाई गहिरो गरी खोतल्नु जरुरी थियो ।
हुनत, शान्तिमा मात्रै खोतलेर यसको सही उपचार भेट्टाउन सकिन्नथ्यो । उनका पतिको साथ र सोको आवश्यकता शान्तिलाई बुझाउनु जरुरी थियो । यो काम अर्को सेसनमा गर्ने विचार गरँे । शान्ति र उनका पतिबीचको सम्बन्धका बारेमा धेरै कुरा जान्न बाँकी नै थियो । धेरै नखुलेका पत्र पल्टाउन आवश्यक थियो । समस्या कहाँबाट कसरी सुरु भयो ? वैवाहिक जीवनमा कस्ताकस्ता उतार चढाव आए, पतिपत्नीबीचका समानता, असमानता, सोच आदिको निक्र्योल गर्नु जरुरी पनि थियो ।
विडम्बना, यी सबै कार्य गर्नै सकिएन । यो केस अपूरो नै रह्यो । त्यस दिन उनको कुरा सुनिदिएकोमा उनले रुँदै धेरैधेरै धन्यवाद दिइन् । यसरी बिदा भएकी शान्ति फेरि अर्को सेसनका लागि कहिल्यै आइनन् । केही यस्तै अपूरा केसहरु रहन्छन् जसलाई टुङगोमा पुर्याउन पाए निष्कर्ष कस्तो निस्कन्थ्यो होला भन्ने कौतुहल रहिरहन्छ । जब उपचार खोज्ने मान्छे नै आउँदैनन् भने काउन्सलर (मनोविमर्शकर्ता) मात्र तयार भएर केही हुन्न ।
यो केस सम्झिँँदा नेपाली समाजमा कति यस्ता नारी होलान् जो यस्तै र अरू थुप्रै विवाहसँग जोडिएका समस्यालाई आफ्नो भाग्य सम्झिँदै सधैँ आँफैसँग लड्दै होलान् भन्ने लाग्छ । यस्ता विषयको कल्पनाले पनि अत्यास लगाउँछ । वैवाहिक सम्बन्धलाई जसरी समाजले उत्कृष्ट सम्बन्धको रूपमा सम्मान दिएको छ त्यस्को तुलनामा सम्बन्धमा सिर्जित समस्यालाई सामान्य मानेर नकार्दै आएको पनि पाइन्छ । फेसबुकलगायतका सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगले मानिसलाई धेरै व्यक्तिसँग त जोडेको छ तर सँगै अति व्यक्तिगत पनि बनाउँदै लगेको छ ।
केही वर्षअगाडि पाप र धर्ममा अडिएको समाज अहिले तिमी र म, मेरो र उसकोमा टाढिँदै गएको छ । यस्को असरबाट कुनै पनि पुरुष वा नारी अछुतो छैनन् । यस्ले मानिस मानिस बीचको दूरी त घटाएको छ नै साथै सम्बन्धमा चिसोपना पनि ल्याएको छ । छेउकै सम्बन्धबाट भागेर मानिसले बाहिर सजिलै सम्बन्ध बनाउन सक्ने भएको छ र सम्बन्धबाट आफूले न्याय पाएको छ कि छैन ? जाँच्न पनि सक्ने भएको छ ।
हुनत, सामाजिक परिपाटीमा आएको परिवर्तनभित्र यसलाई मात्र पनि दोष दिन मिल्दैन । शिक्षाले फैल्याएको चेतनाले आज के महिला के पुरुष, दुवैले आफ्नो आवश्यकताका विषयमा सोच्न थालेका छन् । यो एउटा ठूलो प्रगति पनि हो तर यससँगै समाज र यसले वर्षौंदेखि बोकेका जडतामा भने खासै परिवर्तन आएको छैन । फलस्वरूप, सम्बन्धमा मौलाएका अत्यधिक पीडाबाट शान्तिजस्ता कैयौं महिला छट्पटाइरहेका होलान्, कतिपय पुरुष आफ्नो घर परिवार मिलाउन नसक्ता बेखुस होलान् र कति दम्पती चाहेर पनि समस्याको समाधान वा उपचारतर्फ नलागेका होलान् । अनि यहीँबाट सुरु भएको होला बिस्तारैबिस्तारै मानसिक विक्षिप्तता !
समयमै समस्यालाई समस्याको रूपमा नहेरिनु, महिला र पुरुषको शारीरिक आवश्यकतालाई दुई बेग्लाबेग्लै दृष्टिकोणबाट हेरिनु, महिला आफँैमा आत्मनिर्भर नहुनु र त्यसले गर्दा आवश्यक निर्णय लिन नसक्नु, महिला र पुरुष दुवैको हुर्काइ पालनपोषण बेग्लाबेग्लै तवरबाट गरिनुलगायतका अरु थुप्रै कारणहरु हुन सक्लान् ।
तर, यी सबै हुँदाहुँदै मानसिक समस्या के हो, यसको उपचार कसरी हुन्छ, यो समस्या कसरी सुरु हुन्छ जस्ता सामान्य कुरा जान्नबुझ्न र यसको समाधानतर्फ समाजले सरोकार राख्नेलाई प्रोत्साहन नगर्दासम्म यस्ता समस्याहरु निरन्तर बढि नै रहन्छन् । शान्ति जस्ता काउन्सिलिङ (मनोविमर्श) केन्द्र सम्म पुगेर पनि उपचार गराउने आँट गर्नसक्तैनन् । अनि, यो परिस्थितिमा धमिराले खाएको काठको अवस्थाजस्तै समाजका अङ्गहरू फुसुफुसु धुलो हुँदै गएको हेर्नुबाहेक अरू केही गर्न सकिने अवस्था पनि रहँदैन् !