‘लैङ्गिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने राष्ट्रिय नाराका साथ २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाइने महिला हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि सुरु भएको छ । अभियानका क्रममा प्रधानमन्त्रीले दिएको सन्देशमा ‘‘नेपालले महिला हकअधिकारको संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको छ, सरकारले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ’’ भनिएको छ । निर्मलाका बाआमाले प्रधानमन्त्रीको भनाइ पत्याउलान् त ? जति अभियान चलाइए पनि नेपालमा महिलामाथि हिंसा र दुव्र्यवहार घटेको देखिँदैन ।
कञ्चनपुरकी १३ वर्षकी किशोरी निर्मला पन्तको बलात्कारपछि भएको विभत्स हत्यालाई न्याय दिलाउन यो अभियान सफल होला त ? घटना भएको चार महिना हुँदा पनि हत्यारा पत्ता लागेको छैन । एउटी अबोध बालिकाको बलात्कार र हत्या हुन्छ । अपराधीलाई सजाय माग गर्दै उनका दुःखी मातापिता नै अनशन बस्नुपर्छ । अनशनमै छँदा पिताले मानसिक सन्तुलन गुमाएर उपचार गर्नु परेको छ । निर्मलाको जीवनको मूल्य, निर्मलाका मातापिताको जीवनको मूल्य र निरीह निमुखा नेपालीको जीवनको मूल्यलाई समृद्धि र सुशाशनको चुट्किलाले मात्र न्याय गर्ला त ? निर्मलाको निम्ति न्यायको माग गरेर जनताले टाँगेका पोस्टरसमेत सरकारले च्यातेर फाल्न लगायो । यो त चरम कायरताको उदाहरण हो । सरकारको नियत र नेपालीको नियतिलाई प्रधानमन्त्रीको राष्ट्रिय संदेश, शुभकामना र अभियानले कसरी प्रतिविम्बित गरेको छ त ? हुँदाहुँदै निर्मलासम्बन्धी समाचार नै नछाप्ने आदेश दिएर केको परिचय दिइरहेछ यो सरकार ?
त्यसो त, २०३८ सालमा नमिता, सुनिताको पनि यस्तै प्रकृतिको हत्या भएको थियो । शासकहरूले त्यति बेला पनि घटना दबाएका थिए । तर, अहिले परिस्थिति र जनमानस फरक छ । आज नेपाली जनता, दिदीबहिनी, दाजुभाइ निर्मलाको पक्षमा देशभर सडकमा उत्रेका छन् । त्यसैले दोषीको उम्कन नसक्ला कि भन्ने अपेक्षा देखिन्छ । तर, यसपटक पनि निर्मलाका हत्यारा उम्के भने अर्काे वर्षबाट महिला हिंसाविरुद्धको अभियान नमनाए पनि हुन्छ । यसै पनि यस्ता अभियानहरू अन्तर्राष्ट्रिय लहैलहैमा मनाइरहनुभन्दा यसको लक्ष्य कति हासिल भयो भनेर स्थानीय र राष्ट्रियरुपमा मूल्यांकन गर्नु जरुरी छ । तथ्यांकले महिनौं र वर्षेनी महिला तथा बालबालिका माथिको हिंसा र दुव्र्यवहार बढ्दै गएको देखाउँछ भने अभियानको सार्थकता रहँदैन ।
अहिलेका सन्दर्भमा भन्ने हो निर्मलाको न्यायका लागि बोल्न र आवाज बुलन्द गर्न नसक्नेहरुले अभियानको अवधिमा सडकमा झन्डा बोकेर हिंड्न पाखण्ड प्रदर्शनमात्र मानिनेछ ।
हाम्रो समाज दिनदिनै संवेदनहीन बनिरहेको छ। आफ्नो र अरूको पनि जीवनसँग जानेर वा नजानेर खेलबाड गरिरहेका घटनाक्रम बढ्दो छ । हाम्रो दैनिक व्यवहारमा अरूप्रतिको सम्मान, मिलेर बाँच्ने सोच र एकले अर्काको भावना बुझ्ने सहज मानवीय संवेदनामा समेत ह्रास आइरहेको बुझ्न कुनै आईएनजीओको अनुसन्धान प्रतिवेदन पढिराख्नु पर्दैन । आफ्नो बानी, व्यवहार र मिडियामा दैनिकरूपमा प्रसारित हुने समाचार पढे, सुने वा हेरे पुग्छ ।
हाम्रा महिला अधिकार कर्मी र महिलाकै हक हितमा खुलेका संघसंस्था सधै महिलाको हक, अधिकार र कानुनका आवाज उठाउछन् । कानुन त छन् नि तर खै त हत्या, हिंसाका घटना निर्मूल भएका ? किनभने चरित्र ठीक नभईकन, भित्रैबाट मानिस नसुध्रेसम्म, भित्री ज्ञान नजागेसम्म कानुनले मानिसलाई परिवर्तन गराउन सक्तैन । जसरी कुनै अभियान वा सन्देशले न्याय दिलाउन सक्तैन ।