site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामाजिक सुरक्षा योजना घाँडो बन्ने जोखिम 
SkywellSkywell

अमेरिका । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई निकै तामझामसाथ सार्वजनिक गरेको छ । देशमै आमूल परिवर्तन गर्ने कार्यक्रम जसरी यसको प्रचारप्रसार गरियो । सरकारी संयन्त्र जनताका लागि निकै ठूलो कार्यक्रम ल्याएको सन्देश दिन प्रयास गरिरहेको  छ । सरकारी तवरबाट प्रचार प्रसार सामग्री बाँंडिएका छन् । एकोहोरोरुपमा कार्यक्रमको सकरात्मक पक्षमात्र देखाइएको छ । तर, यो योजना सुन्दा र पढ्दा राम्रोजस्तो देखिएपनि सरकारका लागि भविष्यमा घाँडो पनि बन्न सक्छ । 

यो सरकार दुई तिहाइ बहुमत प्राप्त बलियो भए पनि काम गर्न नसकेको आलोचना खेपिरहेको थियो । यही दबाबले सरकारले हतारमा यो योजना सार्वजनिक गरेको हुनुपर्छ । कार्यक्रमको प्रचार शैलीले पनि यस्तै देखाउँछ । 
यो देशका सबै जनतालाई छुने बृहत् योजना होइन ।  योजनाले देशको कुल जनसंख्यामध्ये निकै कमलाई मात्र समेट्छ । दोस्रो, यस योजनामा निजी क्षेत्रमा कार्यरत तलबी कर्मचारीको पैसा पनि सरकारी कोषमा जम्मा गर्न लगाउँछ । सरकारी कोषमा पैसा जम्मा भएको पैसाको दुरुपयोग हुने जोखिम सधैँ रहन्छ । 

यो योजना तत्काललाई निजी क्षेत्रमा काम गर्ने तलबी कर्मचारी केन्द्रित छ । विदेशमा केही अवधिका लागि काम गर्न गएका झन्डै ४० लाख युवा, निर्वाहमुखी कृषिमा आश्रित जनसंख्याको ठूलो हिस्सा र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई यस कार्यक्रमले कसरी समेट्छ भन्नेमा प्रष्ट छैन । विदेशमा हुने युवा र निर्वाहमुखी कृषीमा आश्रित व्यक्तिलाई समेट्न सजिलो पनि छैन ।  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाका अनुसार निजी प्रतिष्ठानहरुमा झन्डै साँडे पाँच लाख श्रमिक कार्यरत छन् । त्यसैले यो योजनाको सुरुमा यही पाँच लाखलाई समेट्ने प्रयास गरिएको छ ।

KFC Island Ad
NIC Asia

तत्काललाई यस कार्यक्रमले सरकारी कर्मचारी, शिक्षा, सुरक्षा निकायमा काम गर्नेलाई समेट्दैन । यी साढे पाँचै लाख यो योजनामा आबद्ध भए भने गोल्छाका अनुसार यो योजना कार्यान्वयनका लागि बन्ने कोषमा मासिक कम्तीमा पनि साढे २ अर्ब रुपियाँ जम्मा हुन्छ । यो पैसाको व्यवस्थापनका लागि सरकारले कर्मचारी संचय कोषजस्तै संस्था बनाउने बताएको छ । यो नयाँ बन्ने संस्थाले कोषको प्रभावकारी संचालन गर्ने सुनिश्चितता छैन । उक्त संस्थामा जम्मा भएको रकम लगानी गर्नुपर्ने हुन्छ । यसले गर्दा सरकार फेरि लगानी र व्यवसायमा संलग्न हुने भयो । यो दक्षता सरकारसँग नभएको पटकपटक पुष्टि भइसकेको छ । 

नेपाली सेनाको कल्याणकारी कोष, कर्मचारी संचय कोषलगायत पनि लगानीका विषयमा विवादमा आउने गरेका छन् । कर्मचारी संचय कोषले नेपाल वायु सेवा निगमलाई अर्बौं रुपियाँ ऋण दिएको छ । यो उठेन भने के हुन्छ ? सेनाको कल्याणकारी कोषले जथाभावी वित्तीय संस्थामा पैसा राख्दा डुबेका उदाहरण पनि थुप्रै छन् । सरकारी व्यवस्थापनमा रहेको नेपाल वायु सेवा निगम टाट उल्टिने दिशामा छ । यो योजना सञ्चालन गर्ने कोषमा पनि यस्तै जोखिम आउँदैन भनेर ठोकुवा गर्न सकिन्छ र ? 

Royal Enfield Island Ad

भारतमा पनि यस्तै सरकारी कोष अहिले समस्याग्रस्त बनेको छ । अमेरिकामा सन् १९३५ मा स्थापना गरिएको सामाजिक सुरक्षा नम्बर प्रणालीलाई व्यवस्थापन गर्ने कोष पनि संकटमा पर्दै गएको छ । यसको विकल्पमा बहस भइरहेका छन् । 
यो योजनालाई अमेरिकाको सोसियल सेक्युरिटिज नम्बर प्रणालीसँग तुलना गर्ने हो भने पनि धेरै पक्ष मिल्दैन । अमेरिकामा जन्मेदेखि मृत्यु हुँदासम्म सबैको आठ वटा नम्बरमा जिन्दगी चल्छ । गरिब भएमा सरकारसँग सुविधा लिनदेखि किस्तामा मोवाइल सेट लिँदासमेत यो नम्बर चाहिन्छ । घर किन्दा होस् वा बैंकमा खाता खोल्दा त्यही सोसियल सेक्युरिटिज नम्बर आवश्यक पर्छ ।

अमेरिकी नागरिकलाई मात्र होइन यहाँ शरणार्र्थीदेखि ग्रिनकार्ड लिने सबैले यो नम्बर पाउँछन् । कहीँ कतै रोजगारी गर्दा पनि यही नम्बर चाहिन्छ । काम गरेपछि जति पारिश्रमिक पाइन्छ त्यसमा एसएसएन ट्याक्स तिर्नुपर्छ । यसका विभिन्न नियम छन् तर, ६५ वर्ष पुगेपछि सरकारले त्यो एसएसएन ट्याक्स बापत लिएको रकम फिर्ता दिँदै जान्छ । अमेरिकामा रोजगारी गरेपछि तलब पाउँदा एसएसएन ट्याक्स कट्टी हुन्छ । त्यही आठ वटा नम्बरमा गएर बस्छ । सुरु तलब, मुख्य तलब भन्ने हुँदैन । चाहे घन्टाको न्यूनतम पारिश्रमिक १० डलर पाउने होस् वा निकै बढी तलब खाने व्यक्ति होस् त्यहीअनुसार एसएसएन कट्टा हुन्छ ।

रोजगार गर्नेले कमाएको पैसाबाट कट्टी हुने हो रोजगारदातासँग यसको केही सम्बन्ध हुँदैन । तर, नेपालको योगदानमा आधारित समाजिक सुरक्षा योजनामा रोजगारदातालाई २० प्रतिशत थप्न भनिएको छ । नेपालको निजी क्षेत्रले यसको विरोध त गरेको छैन तर यसमा खासै खुसी र उत्साही पनि देखिँदैन ।

उद्यमी गोल्छाका अनुसार यस कार्यक्रमवाट रोजगारदाताको खर्च अर्थात् लागत बढ्छ । सरकारले दैनिक ज्यालादारीका हकमा न्यूनतम तलब तोकेको छ । त्यसमा समायोजन गर्नुपर्छ भन्ने रोजगारदाताको भनाइ छ । 

गोल्छाले भनेजस्तो तलबमा समायोजन गर्दा काम गर्नेले पाउने पारिश्रमिक कम हुन्छ । भविष्य राम्रो हुन्छ भनेर आफ्नो आम्दानीको ठूलो हिस्सा तत्काललाई गुमाउन नचाहने धेरै हुन सक्छन् । अहिले नै गुजारा नचले भविष्यका लागि साँच्ने पो कसरी ? यसले निजी प्रतिष्ठानमा सुरु तलब, अरु सुविधा भन्ने प्रचलनलाई बढाउन पनि सक्छ । यस्तो पक्षले यो योजना कार्यान्वयनलाई चुनौतीपूर्ण बनाउँछ । 

आठ वर्षअघि नेपाल सरकारले सामाजिक सुरक्षाका लागि सबै प्रकारको आयमा एक प्रतिशत कर लिन थालेको थियो । त्यसबेला सबै नेपालीलाई राष्ट्रिय पहिचान नम्बर दिने र यो एक प्रतिशत पनि जसले तिर्छ उसकै नाममा जम्मा गर्ने भनिएको थियो । राष्ट्रिय पहिचान नम्बर अहिलेसम्म दिइएको छैन । अहिले त्यो एक प्रतिशत करबाट १८ अर्ब रुपैँया जम्मा भएको बताइएको छ । तर, कसको कति पैसा हो यो कहीँ कतै भनिएको छैन । 

राष्ट्रिय पहिचान नम्बर भए परिवारको पहिचान र आर्थिक अवस्था खुल्ने भएकाले सरकारका सामाजिक सुरक्षा योजनाहरुको कार्यान्वयन प्रभावकारी हुन्छ । को गरिब को धनी भन्ने पनि थाहा हुन्छ । अमेरिकामा सबै सरकारी सेवा त्यही आठ अंकको एसएसएनसँग जोडिएको छ । यही अंकको आधारमा कसले कति आम्दानी गरिरहेको हुन्छ सेवा सुविधा दिने निकायलाई थाहा हुन्छ । त्यसैले यसको दुरुपयोग पनि कम हुन्छ । तर, समाजिक सुरक्षा योजनामा काम गर्ने व्यक्तिले मात्र पहिचान नम्बर पाउने हुँदा नेपालमा यसको प्राभावकारिता पनि सीमित हुन्छ । 

यस योजनाका बारेमा सार्वजनिक नीति अनुसन्धानमा संलग्न हाल विवेकशील साझा पार्टीमा रहेका सूर्यराज आचार्यले ट्विट गरेका छन् – ‘‘योगदानमा आधारित सामाजिक सुरक्षा (भत्ता) सही नीति हो । तर, यसले गर्दा नयाँ युग नै सुरु भयो भन्ने उत्ताउलो प्रचारबाजी देख्दा उदेक लाग्यो । सरकारले सामान्य रोजगारीका लागि देश मै रोजगारीको जोहो गरोस्, सबैले नयाँ युगको अनुभूति गर्ने छन् ।’’ 

यो रोजगारीमा आधारित योजना देशमा जति धेरैले काम पाए त्यति नै सफल हुने हो । अमेरिकामा एसएसएन नम्बर प्रणाली अहिलेसम्म चल्नुको कारण पनि आर्थिक विकास र बेरोजगारी दर न्यून हुनु हो । नेपालमा रोजगारका अवसर कम भएको अवस्थामा यस कार्यक्रमले नयाँ युगको सुरु गर्दैन । कतै यो कार्यक्रमले निजी क्षेत्रलाई हतोत्साहित बनाएर अझ बढी युवालाई कामका लागि विदेश जान बाध्य बनाउने त हैन ? त्यसो भयो भने त यो योजना देशका लागि घाँडै बन्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०७५  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro