उनी मुम्बई (त्यसबेलाको बम्बई) मै थिएटरमा व्यस्त थिए । पुना फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युटबाट अभिनयमा डिप्लोमा गरिसकेपछि उनी प्रतिष्ठित नाट्य संस्था ‘इप्टा’ सँग जोडिए । त्यहीँ रहँदा उनले नाटकका साथै सिनेमाहरुमा पनि काम पाउँदै गए । वि. सं. २०३८ सालमा उनी हिन्दी फिल्म ‘उँची उडान’को छायांकनका लागि काठमाडौं आए ।
उनी मुम्बईमा हुँदै तत्कालिन शाही नेपाल चलचित्र संस्थानले ‘जीवन रेखा’का लागि अभिनेता टीका पहाडी (६९)सँग अभिनयका लागि सम्झौता गरेको थियो । त्यो नेपाली फिल्ममा उनी नायिकाको पिताजीको भूमिकामा अनुबन्धित थिए । पहाडीलाई छायांकनको खबर पाउनासाथ नेपाल आउन भनिएको थियो । त्यसैले नेपाली फिल्ममा अभिनय गर्ने लालसाका कारण उनले मुम्बईमा हात आएका कैयन फिल्महरु छोडेका थिए । ‘जीवन रेखा’को निर्माण पक्षले बोलाई हालेको खण्डमा मुम्बई छोडिहाल्नु पर्छ भनेरै उनले धेरै फिल्मलाई नाईँ भनेका थिए । तर ‘जीवन रेखा’मा अभिनय गर्न आउ भनेर टीकालाई खबर आएन । फिल्मकोे छायांकन डेढ वर्षसम्म रोकियो ।
‘उँची उडान’को छायांकनका लागि काठमाडौं आएका टीका पहाडी, फिल्मको युनिटसँग केही औपचारिकता पूरा गर्नका लागि चलचित्र संस्थानको कार्यालयमा पुगे । त्यहाँ टीकालाई उनकै कारणले ‘जीवन रेखा’को छायाँकन साँढे एक वर्ष ढिला भएको कुरा सुनाइयो । टीका छक्क परे ।
वरिष्ठ अभिनेता टीका पहाडीसँग रेडियो कार्यक्रम ‘नेपथ्य’का लागि पुराना कुरा गर्दा उनले यो प्रसंग उप्काए । उनी भन्दै थिए, ‘मैले ‘जीवन रेखा’का लागि मुम्बईका केही फिल्महरु छोडेको थिएँ । यहाँ भने उल्टै मलाई मेरो कारणले फिल्ममा ढिला भएको भनियो । अनि मैले स्पष्ट भनें, ‘मेरो कारणले फिल्म नअड्कोस् । बरु म फिल्म छोडिदिन्छु ।’
पछि उनले थाहा पाए उनका लागि भनिएको भूमिका फिल्मका निर्देशक प्रकाश थापाले टीकालाई दिन मानेनन् । यसैले फिल्म लामो समयसम्म रोकियो । पछि फिल्ममा टीकाको लागि तोकिएको चरित्र ‘जीवन रेखा’का निर्देशक प्रकाश थापा आफैंले गरे । फिल्ममा टीकालाई अर्को भूमिका दिईने कुरा चल्यो । तर, त्यो रोल पनि पछि अर्जुनजंग शाहीले गरे । अर्थात् ‘जीवन रेखा’मा टीकाले अभिनय गरेनन् ।
यद्यपि, ‘जीवन रेखा’मा अभिनय गर्ने अथाह रहर थियो टीका पहाडीमा । उनले कैयन हिन्दी फिल्महरु ‘जीवन रेखा’का लागि छोडेका थिए । फिल्ममा बुढोको चरित्रकालागि चयन भएकोले ‘इप्टा’मा आफूले गर्ने तीन वटा नाटकमा उनले ३० वर्षकै उमेरमा बुढो पात्रकारुपमा अभिनय गरे । अर्थात नेपाली फिल्ममा आफूलाई प्राप्त भएको भूमिकालाई जीवन्त तुल्याउन उनी मुम्बईमै पनि सक्रिय थिए । विडम्बना, काठमाडौं आउँदा उनलाई नै छायाँकन रोकेको आरोप लगाइयो ।
‘उँची उडान’का लागि मुम्बईबाट नेपाल आएका टीका पहाडीलाई ‘जीवन रेखा’ले पत्याएन । तर, पनि उनी मुम्बई फर्किएनन् । उनी आफ्नो मातापिताको सेवाका लागि नवलपरासीस्थित आफ्नो गाउँ, जहदा— मझौनी गए । उतै खेतीपातीमा रमाए ।
टीका भन्छन्, ‘आफ्नो करियर यहाँ नबन्ने देखेरै म मुम्बई गएको थिएँ । तर जब उँची उडानका लागि नेपाल आएँ, घर परिवारको स्थिति देखेर मुम्बई फर्किन सकिन । घर र मातापिताकोे अवस्था आफ्नै आँखाले नदेखेको भए म सायद मुम्बईमा नै हुन्थेहुँला ।’
०००
टीका पहाडीको अभिनय यात्रा स्कूलको कक्षा कोठाबाटै सुरु भयो । स्कूलमा पढ्दापढ्दै शिक्षकहरुले टीका र उनका सहपाठीहरुलाई नाटकमा अभिनय गर्न हौस्याए । स्कूलमा आधा घन्टा, पैतालिस मिनेटका नाटकहरु गरिन्थ्यो । कहिले काँही एक घण्टाकै नाटक पनि गरे तिनीहरुले । अर्थात टीकासहितका विद्यार्थीहरु बाल मञ्चमा शिक्षकहरुबाट उभ्याइए । यसैले जग बसाल्यो टीका पहाडीमा, नाट्यकर्मको ।
उनी आठ कक्षासम्म गाउँमा पढे र नौ कक्षामा गोरखपुर (भारत)को स्कूलमा भर्ना भए । पहाडीका अनुसार उनले वि.सं. २०२२/०२३ साल तिर पढाईका लागि घर छोडे । त्यहीँ उनले पहिलो पटक सिनेमा हेर्ने मौका पाए । गाउँमा थिएटर गरिरहेका उनलाई सिनेमाले तान्यो । सिनेमाप्रतिको लालसा बढेर गयो ।
जब उनी कलेजमा पुगे, त्यस पछि उनले फेरि रंगमञ्चमा अभिनय गर्ने मौका पाए । किनभने कलेजमा बेलाबखत नाटकहरु भइरहन्थ्यो । आफ्नो रुचीको विषय भएकोले पनि उनको आकर्षण त्यसतर्फ रह्यो ।
त्यही रहरले टीका पहाडीलाई पुनास्थित ‘फिल्म एण्ड टेलिभिजिन इन्टिच्युट’को मार्गमा अगाडि बढ्न अभिप्रेरित गर्यो । गोरखपुरमा हेरेको सिनेमाले उब्जाएको लालसाकै कारण उनी पुना फिल्म इन्स्टिच्युटमा जाने तिर सोच्न थाले ।
उनी यसका लागि सक्रिय भए । त्यसैबीचमा उनले पुनाबाट पढेर आएका जगन्नाथ तिमिल्सिनासंग भेट गरे । उनीसंग सल्लाह गरे । भारतीय दूतावासमा सम्पर्क गरे । त्यसका लागि तयारी गरे । अन्ततः निरन्तरको लगनले टीकालाई उनको गन्तव्यमा पुर्यायो ।
उनी वि.सं. २०३० सालमा पुना फिल्म इन्स्टिच्युटमा अभिनयमा डिप्लोमा गर्न गए । बाल्यावस्थादेखि थालेको अभिनय यात्राको एउटा महत्वपूर्ण मोडमा उनी पुगेका थिए । यो संस्था उनको जीवनको एउटा बलियो आधारशीला नै थियो ।
०००
पुना फिल्म इन्स्टिच्युटमा उनी एक महिना ढिलो पुगे । उनीभन्दा अगाडि एक महिला अभिनय पढ्नका लागि चयन भएर गएकी थिइन् । तर, उनले नसके पछि त्यो ठाउँमा टीका पहाडीलाई पठाइयो । यसैले गर्दा उनी एक महिना ढिला पुगे ।
टीका पहाडी भन्दैथिए, ‘पुना जानुभन्दा अगाडि मैले थिएटर नगरेको भए सायद मलाई साह्रै गाह्रो हुन्थ्यो होला । तर, मेरो बालवय र किशोरकालको थिएटरकर्मले मलाई सजिलो गरायो । जहाँसम्म अभिनयको सिद्धान्त वा परिभाषाको कुरो थियो, त्यो मैले बताउन नसके पनि म अभिनय गरेर देखाउन सक्थेँ । यसैले शिक्षकलाई पनि सायद प्रभावित बनायो ।’
पुनाका प्रोफेसरहरुलाई टीकालाई पढाउन सक्ने विश्वास थियो । प्रोफेसरलाई थाहा थियो टीका एक महिना ढिलो आएका हुन् भन्ने । उनले पढाईलाई पिकअप गर्छन् भन्ने विश्वासमा टीकाले दाग लाग्न दिएनन् । उनी पढ्दै गए । अगाडि बढ्दै गए ।
उनीभन्दा अगाडि पुना इन्स्टीच्युटमा १३ जना नेपाली थिए । तपानाथ शुक्ला, लक्ष्मीनाथ भट्टराई, बासुदेव विष्ट, मधुकर बस्न्यातहरु आआफ्नो विधामा अध्ययन गर्दैैथिए । लक्ष्मीनाथ शर्मा एक वर्ष पछि मात्रै आए ।
उता टीकाका साथीहरु थिए, मिथुन चक्रवर्ती, नसिरुद्धिन शाह, ओम पुरी, सवाना आजमीहरु । पुनामा सबैले सबैसंग सिक्थे । एकले अर्कासंग नजानेको कुरा सिक्थे । प्रोफेसरले त कन्सेप्ट मात्रै दिन्थे । बाँकी आफै गर्नुपर्दथ्यो ।
अभिनय कक्षामा रहेका उनले अभिनयको क्लास गर्दै गए । पुना इन्स्टिच्युटका विद्यार्थीहरुले बनाउने साना साना सिनेमाहरुमा अभिनय पनि गरे । विश्व प्रसिद्ध सिनेमाहरु पनि हेरे । अर्थात् अभिनय र सिनेमा अनि सिनेमा र अभिनयमा नै उनको समय बित्दै गयो ।
टीका पहाडीसँग अभिनयकाबारे चर्चा गर्दा उनी भन्छन्, ‘कुनै पनि चरित्रलाई जीवन्तरुपमा प्रस्तुत गर्नु नै अभिनय हो भन्ने मलाई लाग्छ ।’
टीकाले पुना फिल्म इन्स्टिच्युटमा पढ्दाका कथा पनि सुनाए । उनका अनुसार पहिलो पटक आफैले कथा तयार पारेर अभिनय गरेर देखाउनु पर्दथ्यो । पहिलो पटक विना सम्वाद र तीन महिना पछि सम्वाद सहित । राम्रो नराम्रो प्रोफेसरले भन्थेनन् । त्यहीँ रहेका २२ जना विद्यार्थीहरुका बीचमा छलफल हुन्थ्यो । अभिनय गरेर देखाएको कुरा कसले कसरी बुझे, त्यही अनुरुप छलफल हुन्थ्यो । यसरी छलफल र टीकाटिप्पणीहरुले नै सिकाउँथ्यो साराकुरा ।
टीका भन्छन्, ‘हामी सातामा एउटा फिल्म हेर्दथ्यौं । हामीले हेरेको त्यो फिल्मको पुरा विश्लेषण गर्नुपर्दथ्यो । फिल्म हेरेर के के पत्ता लगाउन सक्छौ लगाउ भन्थे प्रोफेसरहरु । यसरी आफू ज्ञानी बन्ने प्रयासमा रहन्थ्यौं हामी सबै ।’ टीकाका अनुसार पुनामा विद्यार्थीहरुको बुभ्mने र सोच्ने क्षमता बढाइन्थ्यो । वरिष्ठ फिल्मकर्मीहरु सत्यजित रे, मृणाल सेन, गुलजार जस्तालाई बोलाएर उनीहरुसँग फिल्मका बारेमा डिस्कसन गराइन्थ्यो ।
०००
पुनामा पढाइ सकेको छ महिना पछि टीका नेपाल फर्किए । त्यसबेला नेपालमै केही गर्नुपर्छ भन्ने मानसिकताका साथ उनी नेपाल फर्किएका थिए । तर, यहाँ त सबै जना सरकारी जागिरे कलाकार देखे उनले । काम भए पनि नभए पनि तलब पाउँथे । कला क्षेत्रमा लागेर पनि काम गर्नुपर्ने बाध्यता थिएन । यहाँ सिर्जनशील काम नभएको देखेपछि उनी बम्बई नै फर्किए ।
उनी सम्झिन्छन् त्यो क्षण, ‘म काठमाडौं आउँदा पहिलो रंगीन फिल्म ‘कुमारी’ बन्दै थियो । जसको ५० प्रतिशत काम सकिइसकेको थियो । मैले त्यसमा मौका पाउने कुरै थिएन । कुमारीपछि कति वर्षमा फेरि फिल्म बन्ला ? नबन्ला ? भन्ने प्रश्नमा म रुमल्लिएँ । लगत्तै मुम्बई फर्किएँ ।’
यद्यपि, पुनामा पढ्दा टीकाको मनमा विश्वास थियो की ‘म एउटा राम्रो कलाकार बन्छु’ । यही आत्मविश्वासले उनलाई बलियो बनाएको थियो । कस्ता कस्ता कलाकारले संघर्ष गर्नुपर्ने मुम्बईमा उनले काम गर्नुपर्ने ठाउँको खोजी गरे र उनले समाए, मुम्बईको प्रख्यात रंगमञ्च संस्था, ‘इप्टा’ अर्थात ‘इन्डियन पिपुल्स थिएटर, एसोसिएसन । जहाँ पृथ्वीराज कपुर, बलराज साहनी, देव आनन्द, ए.के. हंङ्गल, सबाना आजमीलगायतका कलाकारहरु काम गर्थे ।
उनले इप्टाका माध्यमबाट आफूलाई त्यहाँ स्थापित गर्ने अवसर पाए । उनको यो कामले उनलाई साथ दियो । एकै वर्षमा टीका पहाडीलाई त्यहाँका वरिष्ठ रंगकर्मीहरुले कुशल रंगकर्मीकारुपमा मुल्याँकन गरे । प्रशंसा गरे । त्यहीँ उनले फिल्म निर्माताहरुसित भेट्ने मौका पाएँ । र त्यहीँबाट उनको मुम्बईमा फिल्मी करियरको सुरुआत भयो ।
उनले नाटकमा त काम गरे नै । त्यसैले उनलाई फिल्म पनि दिलायो । रंगमञ्चकै कारण उनले मुम्बईमा रहँदा १२/१५ वटा फिल्महरुमा काम पनि गरे । टीभीले पनि उनलाई बोलाउन थाले । तर उनी फिल्मभन्दा पनि रंगमञ्चमा नै रमाइरहेका थिए । यद्यपि उनले सत्ते पे सत्ता, बसेरा, जमाना लगायतका हिन्दी फिल्महरुमा काम गरेका थिए । उनी इप्टामा रहँदा नाटकको व्यवस्थापनमा पनि जुट्थे । उनको काम देखेरै उनलाई अध्यक्ष कैफि आजमी, उपाध्यक्ष ए.के.हङगलहरुले मनपराउँथे ।
टीकाले एउटा रोचक प्रसंग सुनाए, ‘मैले एक पटक बरिष्ठ कलाकार ए.के. हंङगललाई सबैका अगाडि गाली गरेँ । उनी संस्थाका उपाध्यक्ष थिए । ए.के. जस्ता सिनियर र प्रतिष्ठित कलाकारलाई गाली गर्दा सबैले मलाई इप्टाबाट निकाल्ने कुरा उठाए । तर पछि ए.के. हंङगलले ‘म नाटकमा आफ्नो इन्ट्रीको समय बिर्सेर चुरोट पिउन गएको थिएँ, त्यसैले टीकाले मलाई कडा बोलेको हो’ भन्दै आफ्नो गल्ती भएको कुरा स्वीकारे । उनले टिकाले जे गरे राम्रो गरे सम्म पनि भनेँ । त्यस पछि मलाई इप्टामा सबैले मान्न थाले ।’
उनको सोचले सार्थक काम गर्यो । उनको संघर्षको स्वरुप बेग्लै भयो । उनले मुम्बईको त्यो भीडमा आफूलाई चिनाउने सजिलो माध्यम भेट्टाएका थिए, थिएटर । भारतीय चर्चित कलाकारहरुको संगमस्थल ‘इप्टा’मा उनको कामले उनलाई सर्वत्र परिचित मात्रै तुल्याएन, अपितु कैयन फिल्म मेकरहरुले उनलाई काम पनि दिए । त्यसबेला उनलाई टीभीमा पनि बोलाइयो ।
उनका अनुसार इप्टामा हुने हरेक नाटकको कुनै न कुनै पत्रिकाले समीक्षा लेखिरहेको हुन्थ्यो । समीक्षामा कलाकारहरुको नाम पनि उल्लेख हुन्थ्यो । कलाकारको कामको पनि विश्लेषण गरिन्थ्यो । पत्रिकामा छापिएको नाटकको रिभ्यु देखेर एक पटक मनोज कुमारले शशि कपुर मार्फत टीकालाई बोलाएको टीका सम्झिन्छन् ।
मुम्बईमा आज पनि थिएटरको उत्तिक्कै महत्व रहेको उनको भनाई छ । जतिबेला टीका इप्टासंग जोडिएका थिए, तिनले एकै रातमा तीन तीन शो नाटक पनि मञ्चन गरेका थिए । त्यसबेला पब्लिक डिमाण्डलाई नकार्ने अवस्थानै पनि थिएन ।
इप्टामा जसजसले काम गरे, ती सबै अनुशासनमा बाँधिएर बस्थे । ती कैफि आजमी हुन वा ए.के. हङ्गल अथवा सवाना आजमी, नसिरुद्धिन, ओम पुरी वा टीका पहाडी । र, थिएटरमा अनुशासनका लागि टीका एकदमै कडा मानिन्थे । इप्टामा उनका साथीहरु रमन कुमार, राकेश बेदी, सुधिर पाण्डे, सवाना आजमी, फारुख शेख, भरत कपुरलगायतलाई अहिले पनि उनी सम्झिन्छन् ।
इप्टामा टीकाले सात वर्ष बिताए । उनी इप्टाका खम्बा नै बनेका थिए । तर, उँची उडानको छायाँकनका लागि नेपाल फर्किएका टीका आमाबुबाको सेवार्थ नेपाल नै बसे । उनी मुम्बई फर्केनन् । उनका पिताजीले धेरै भने, मुम्बई फर्कि भनेर । तर मातापिताका अर्का ‘श्रवणकुमार’ टीकाले नेपाल छोडेनन् । उनी सक्रिय भए, खेती किसानीमा ।
उनी गाउँमै थिए । एकपटक एउटा पत्रिकामा खबर देखे, उनका पुना फिल्म इन्स्टिच्युटका पुराना साथीहरु नाटक लिएर लखनउ आउँदै रहेछन् । उनी नवलपरासीको आफ्नो गाउँबाट लखनउ तर्फ लम्किए । लखनउमा टीकालाई देखेर त्यस समूहका निर्देशक एम.एस. सत्यु खुशी भए । सत्यु आर्ट फिल्मका चर्चित निर्देशक हुन् ।
टीका पहाडीले लखनउको त्यो घटना सम्झिँदै बयान गरे, ‘मलाई देख्नासाथ सत्युले भने, ‘अब म साथीहरुलाई गाइड गर्दिन् । तिमी गर’ । मैले भनेँ ‘मैले बिर्सिसकेँ । म त अचेल धान, गहुँ, मकैका बारेमा मात्रै जान्दछु’ । सत्युले मानेनन् । उनले मेरो जिम्मा लगाएरै छोडे । मैले दुई शो नै कलाकार साथीहरुलाई गाइड गरेँ ।’
लखनउमा दुई दिनसम्म प्रदर्शन भएको नाटकमा केही नयाँ कलाकारहरु पनि थिए । तिनले टीका पहाडीसँग भेट भएपछि टीकालाई सुनाएछन्, ‘तपाईलाई भेट्न जुरेको रहेछ । नभए हामी बितेको चार पाँच वर्षदेखि तपाईको नाम सुनिरहेका छौं । टीका होता तो ऐसे करता, टीका होता तो वैसै करता !’
०००
माता पिताको सेवासँगै खेती किसानीमा जुटेका अभिनेता टीका पहाडीले जीवन रेखामा काम गरेनन् । उनको बसोबास गाउँमै थियो । खेतीमै रमेका थिए उनी । तर पुनामैै पढेका निर्देशक लक्ष्मीनाथ शर्माले टीकालाई छोडेनन् । लक्ष्मीनाथ पहिलो फिल्म निर्देशन गर्दै थिए, ‘बदलिँदो आकाश’ । लक्ष्मीनाथले टीकालाई बदलिँदो आकाशमा लिए । अभिनय गराए । र ,यहीँबाट टीका पहाडीको नेपाली फिल्म तिरको यात्रा सुरु भयो ।
टीका भन्छन्, ‘संस्थानको फिल्म जीवन रेखामा एग्रिमेन्ट गरेको तर खेल्न नपाएकोले मैले संस्थानकै अर्को फिल्म ‘बदलिँदो आकाश’मा एग्रिमेन्ट गरिन । सीधै काम गरें ।’ यस पछि उनको नेपाली फिल्मी यात्रा सुरु भयो । जुन यात्रा आज पनि चलिनै रहेको छ ।
(तस्बिरः टीका पहाडीको फेसबुकबाट)