site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
किन महत्वपूर्ण मानिँदैछ अमेरिकी मध्यावधि निर्वाचन ? ट्रम्पलाई पनि प्रतिष्ठाको विषय
Sarbottam CementSarbottam Cement

अमेरिका । आउने मंगलबार अर्थात नोभेम्बर ६ मा अमेरिकामा मध्यावधि निर्वाचन हुदैंछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत चुनावी मैदानमा छन् । तर, यो राष्ट्रपति चुन्ने निर्वाचन भने होइन । राष्ट्रपतिको कार्यकाल अझ दुईवर्ष बाँकी छ । मंगलबारको निर्वाचन नतिजाले अमेरिकी राजनीति र राष्ट्रपति ट्रम्पको आगामी कार्यकाललाई समेत प्रभावित गर्नेछ । यही भएर राष्ट्रपतिसमेत र्‍यालीहरुमा सहभागी छन् ।

अमेरिकाको संसद जसलाई कांग्रेस भनिन्छ त्यसका लागि मंगलबार अमेरिकी मतदाताले भोट गर्नेछन् । ४३५ कंग्रेस सिटका लागि चुनाव हुनेछ । १०० मध्ये ३५ जना सिनेट सिटका लागि पनि चुनाव हुँदैछ । ३६ राज्यमा राज्य संचालन गर्ने गभर्नर पदका लागि पनि चुनाव हुँदैछ ।

मतदानकै दिन रातिसम्म यसको प्रारम्भिक नतिजा आईसक्नेछ । यो नतिजाले अमेरिकाको राजनीतिलाई प्रभाव पार्ने भएकाले निकै चासोका रुपमा हेरिएको छ । कंग्रेस सदस्यका लागि जनसंख्याका आधारमा क्षेत्र निर्धारण गरिन्छ । यही आधारमा आफ्नो क्षेत्रका लागि मतदाताले कंग्रेसमा प्रतिनिधित्व गर्ने सदस्य चुन्ने छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकाको संविधानमा राष्ट्रपतिलाई राज्य सञ्चालनको सबै कार्यकारी अधिकार दिइएको छ । तर, सन्तुलन गर्न अर्थात चेक एण्ड ब्यालेन्सका लागि शक्तिशाली संसद र न्यायपालिका छन् । यसलाई अमेरिकी संविधानको सवैभन्दा महत्वपूर्ण विशेषता मानिन्छ । तिनै निकायलाई एक आपसमा निर्भर बनाईएको छ । एउटा निकाय आफ्नो सनकका भरमा मात्र अगाडि बढ्न सक्दैन । 

कंग्रेस र सिनेटमा प्रतिनिधित्व गर्ने विधायकसँग कानुन पास गर्ने, राष्ट्रपतिद्वारा प्रस्तावित खर्च स्वीकृत गर्ने, नगर्ने लगायतका अधिकार छन् । 

Global Ime bank

यो निर्वाचनमा स्वास्थ्य बीमा, अर्थतन्त्र र इमिग्रेसन मुख्य मुद्दा भएका छन् । यी मुद्दामा मुख्य प्रतिद्वन्द्वी पार्टी रिपब्लिकन र डेमोक्रयाट चुनावी मैदानमा छन् । हात्ती र गधा चुनावी चिन्ह भएका यी दुई पार्टीबाहेक अन्य साना पार्टी र स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् । 

अहिले कांग्रेस र सिनेटमा रिपब्लिकन पार्टीको बहुमत छ । राष्ट्रपति ट्रम्पपनि रिपब्लिकन पार्टीलाई नै प्रतिनिधित्व गर्छन् । 

कंग्रेसमा अहिले २३५ सदस्य रिपब्लिकन छन् । डेमोक्रयाटको सदस्य संख्या जम्मा १९३ छ । ७ पद खाली छन् । बहुमतका लागि २१८ सदस्य हुनुपर्छ ।  कंग्रेस सदस्य प्रत्येक २ वर्षका लागि चुनिन्छन् । 

सिनेटमा प्रत्येक राज्यवाट २ जनाका दरले ५० राज्यवाट १०० जना छानिन्छन्  । माथिल्लो सदन मानिने सिनेटमा अहिले रिपव्लिकन पार्टीकै बहुमत छ । त्यहाँ अहिले ५१ जना सिनेटर रिपब्लिकन पार्टीका छन् । ४७ डेमोक्रयाट सिनेटर छन् । २ जना स्वतन्त्र सिनेटर छन् । सिनेटरको पदावधि ६ वर्षको हुन्छ । 

स्वास्थ्य बीमा, इमिग्रेसन जस्ता क्षेत्रमा डेमोक्रयाट केही उदार मानिन्छन् । यी मुद्दामा रिपव्लिकन र डेमोक्रयाट पार्टीबीच ध्रुव्रीकरण  छ । त्यसले अहिलेको निर्वाचनमा डेमोक्रयाट पार्टीले जित्यो भने राष्ट्रपतिलाई आफ्नो अनुदार नीतिहरु कार्यान्वयन गर्न कठिन हुनेछ । यही कारण अहिलेको निर्वाचन राष्ट्रपतिका लागि प्रतिष्ठाको विषय भएको हो । 

अमेरिकी मतदाताले राष्ट्रपतिको दुईवर्षको कार्यकाललाई रुचाएको वा नरुचाएको यो निर्वाचनले देखाउनेछ । राष्ट्रपतिमा ट्रम्प आएपछि अमेरिकी राजनीतिमा ध्रुविकरण भईरहेको छ । राष्ट्रपतिलाई मन पराउने वा  घृणा गर्नेहरु विभाजित अवस्थामा छन् ।

यदि डेमोक्रयाट पार्टीले कंग्रेस र सिनेटमा जित्यो भने इमिग्रेसन लगायतका मुद्दाहरु राष्ट्रपतिले चाहेजसरी कार्यान्वयन हुने छैनन् । राष्ट्रपति आफ्नो लहडमा अगाडि बढ्न पाउने छैनन् । 

त्यसैले राष्ट्रपतिले यो मध्यावधि निर्वाचनमा चीनले प्रभाव पार्न खोजेको जस्ता आरोप लगाइरहेका छन् । चीन र अमेरिकाबीच अहिले राम्रो सम्बन्ध छैन । अमेरिकाले चिनिया सामानमा भन्सार थपिरहेको छ । चीन र अमेरिका व्यापार सम्वन्ध अहिले खराब अवस्थामा छ । यसले अमेरिकालाई भन्दा चीनको अर्थतन्त्रलाई नराम्रो प्रभाव पारिरहेको छ । 

पुरानै चुनावी मुद्दा

यो निर्वाचनमा पनि मुख्य मुद्दा स्वास्थ्य बीमा, अर्थतन्त्र र इमिग्रेसननै भएका छन् । यी मुद्दा अमेरिकामा प्रायः सबै चुनावमा उठ्ने गर्छन् । स्वास्थ्य बीमा अमेरिकी मतदाताको सबैभन्दा चासोको विषय हो । यसले न्यून र मध्यम आय हुने सबै अमेरिकीलाई छुन्छ । अर्थतन्त्र भने रोजगारसँग जोडिएको छ । अहिले अमेरिकाको अर्थतन्त्र मजबुत छ । वेरोजगारी दर न्यून स्थानमा झरेको छ । आर्थिक वृद्धिदर पनि पहिलेभन्दा उच्च छ । चीनसँगको उतार चढाव व्यापारीक सम्वन्धले अमेरिकाको अर्थतन्त्रलाई खासै समस्या परेको छैन । फाइदै पुगेको देखिन्छ । 

इमिग्रेसन मुद्दा अहिले सर्वाधिक चर्चामा छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई जगाइरहेका छन् । उनी इमिग्रेसन मुद्दामा अनुदार छन् । आप्रवासी कम गर्नु पर्छ भन्ने उनको नीति छ । केही दिन अघि अमेरिकामा विदेशीवाट जन्मिने सन्तानले स्वतः अमेरिकी नागरिकता पाउने अधिकार अन्त्य गरिने राष्ट्रपतिले अभिव्यक्ति दिए । यसले पनि अर्को नयाँ तरंग ल्याएको छ । राष्ट्रपतिले संवैधानिक यस अधिकारलाई कार्यकारी निर्देशन जारी गरेर हटाउने वताएका छन् । 

यो चुनावमा नेपाली समुदाय 

यो निर्वाचनमा नेपाली समुदायको चासोपनि बढेको छ । कयौं उमेदवारले नेपालीलाई भेटेरसमेत भोट मागेका छन् । मेरिल्याण्ड, टेक्सस, कोलोराडो जस्ता नेपाली धेरै भएका राज्यमा नेपालीहरु चुनाव अभियानमा पनि देखिएका छन् । राज्य विद्यायकमा नेपाली ह्यारी भण्डारी प्रतिस्पर्धामा छन् । उनको भाग्यको फैसला पनि नोभेम्बर ६ मा नै हुनेछ । उनी डेमोक्रयाट पार्टीवाट मेरिल्याण्ड राज्यको विद्यायकका रुपमा मैदानमा छन् । 

कोलोराडोमा गभर्नर पदका प्रत्यासी जेरार्ड पोलिस नेपाल बुझेका व्यक्ति हुन् । उनी नेपाललाई सहयोग गर्न गठन भएको नेपाल ककस समूहका सह संयोजक समेत हुन् । उनले नेपालसँग व्यापार विस्तार गर्न कोलोराडोमा एउटा कार्यालय खोल्नेसम्म बताएका छन् । 
अमेरिकी नागरिकता लिएका करिब १ लाख नेपालीले यो मध्यावधि निर्वाचनमा मत हाल्ने अनुमान गरिएको छ । 

स्वास्थ्य बीमा, इमिग्रेसन जस्ता विषय नेपाली समुदायका लागि पनि चासोका विषय हुन् । अधिकांश नेपाली न्यून र मध्यमबर्गको आय हुने बर्गमा पर्ने हुँदा स्वास्थ्य बीमा सजिलो र सर्वसुलभ होस् भन्ने चाहन्छन् । धेरै नेपालीको झुकाब डेमोक्रयाट पार्टीप्रति देखिन्छ । तर, सार्वजनिक रुपमा रिपब्लिकन हौं भन्ने नेपालीहरु पनि छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement