काठमाडौं । निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरबाही गर्ने थप २ जना प्रहरी अधिकृत बर्खासीमा पर्ने देखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार अनुसन्धानमा उनीहरुको पनि लापरबाही देखिएको छ । “नाम अहिले नै नभनौं । अन्तिम अध्ययनमा छौं,’’ स्रोतले भन्यो । घटना भएको समयमा कञ्चनपुरमै कार्यरत २ जना अधिकृत बर्खासीमा पर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।
प्रहरी प्रवक्ता उत्तम सुवेदीले भने थप प्रहरी अधिकृत बर्खासीमा पर्नेबारे आफूलाई जानकारी नभएको बताए । “हाम्रो आन्तरिक समितिले प्रतिवेदन बुझाएको पनि छैन । घटनाको अनुसन्धान विभिन्न कोणबाट भइरहेको छ नै । सँगसँगै प्रहरीमाथि पनि छानबिन जारी छ ।’’
प्रहरी नियमावलीअनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) भन्दा तल्लो तहका प्रहरी कर्मचारी बर्खासी गर्ने अधिकार आईजीपी अर्थात् प्रहरी महानिरीक्षकलाई हुन्छ । इन्स्पेक्टरभन्दा माथिका अधिकृतको बर्खासी भने गृहसचिवस्तरीय निर्णयबाट हुन्छ । निर्मला हत्या प्रकरणको अनुसन्धानलाई लिएर कात्तिक ८ गते कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर जगदीश भट्टलाई बर्खासीमा परिसकेका छन् । गृह मन्त्रालयले विभिन्न ७ वटा आरोप लगाउँदै उनीहरुलाई सरकारी सेवामा अयोग्य नहुने गरी सेवाबाट बर्खासी गरेको हो । बर्खासीमा परेका एसपी विष्ट र इन्स्पेक्टर भट्टले गृहको निर्णयमाथि पुनर्विचार गर्न पुनरावेदन गर्ने तयारी गरेका छन् । गृहसचिवस्तरीय निर्णय मन्त्रीपरिषद्ले उल्ट्याउन वा सदर गर्न सक्छ ।
गत साउन १० गते साथीको घर जान हिँडेकी निर्मला साउन ११ गते मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको पुष्टि भए पनि हत्याराको पहिचान हुन सकेको छैन । तत्कालीन कञ्चनपुर प्रहरीको नेतृत्व र मातहतका प्रहरी इकाईले अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष गृहले गठन गरेको उच्चस्तरीय छानबिन समितिले समेत निकालेको थियो ।
सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वको टोलीले अनुसन्धानमा र साउन १० गते नै प्रहरीलाई निर्मला हराएको खबर गर्दा पनि प्रहरीले जवाफदेहीता नदेखाएको भन्दै प्रहरी अधिकारीमाथि कारबाहीको सिफारिस गरिएको थियो । प्रहरी अधिकारीकै योजनामा घटनासँग सम्बन्धित प्रमाण नष्ट गरिएको समितिले आशंका व्यक्त गरेको थियो । प्रहरी अधिकारीकै शंकास्पद भूमिका देखिएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजी धिरु बस्न्यातको नेतृत्वमा प्रहरीकै छानबिन गर्न समिति गठन गरेका थिए । त्यही समितिकै निष्कर्षका आधारमा आईजीपी सर्वेन्द्र खनालले कञ्चनपुरका तत्कालीन एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खासीको सिफारिस गरेका हुन् ।
‘‘आईजी साबले अनुसन्धानमा लापरबाही देखिए संलग्न प्रहरी अधिकारीलाई कारबाही सिफारिस गर्न नहिच्किचाउनू भन्नुभएको छ । अनुसन्धानमा दायाँबायाँ गर्नेलाई नछाड्ने कडा आदेश छ । हामी प्रहरीमाथि अनुसन्धानकै क्रममा छौं,’’ स्रोतले भन्यो ।
निर्मला हत्यापछि आईजीपी खनाल आफैं निर्मलाको घर र घटनास्थल पुगेका थिए । खनालले कञ्चनपुरमै रहेका अनुसन्धानमा संलग्न अधिकारीसँग नियपमत रुपमा अनुसन्धानको जानकारी लिइरहेको बताइएको छ ।
कञ्चनपुर प्रहरीले हत्या अनुसन्धान गर्ने जिम्मेवारी डिएसपी कृष्णराज ओझालाई दिएको छ । घटनाको अनुसन्धान जारी रहेको ओझाले बताए । निर्मला हत्याको अनुसन्धान सुरक्षा निकायका विभिन्न टोलीले आ–आफ्नै ढङ्गले गरिरहेका छन् । तर, घटनाको चित्तबुझ्दो ‘सुराक’ फेला पार्न सकेका छैनन् ।