काठमाडौं । प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका नेताहरुले देश शान्ति र स्थिरतातर्फ अघि बढेको भाषणबाजी गरिरहँदा विदेशमा रहेका नेपालीले भने विपरीत सन्देश दिएका छन् । नयाँ संविधान जारी भई स्थानीय, प्रदेश र संघ तीनवटै तहका निर्वाचन सम्पन्न भइसकेको अवस्थामा पनि उनीहरुले नेपाल असुरक्षित रहेको उल्लेख गर्दै शरणार्थीको लागि आवेदन दिँदा त्यस्तो सन्देश गएको हो ।
पछिल्लो वर्ष सन् २०१७ मा मात्र विश्वका २१ देशमा ६ हजार ५८ नेपालीले शरणार्थीको हैसियत माग गर्दै दिएको आवेदनमाथि सम्बन्धित देशले कारवाही अघि बढाएका छन् । यीमध्ये ३ हजार ६ सय ७४ आवेदन नयाँ हुन् भने २ हजार ३ सय ८४ समीक्षा गर्न बाँकी पुराना आवेदन हुन् ।
द्वन्द्वको अन्त भई देश शान्तितर्फ अघि बढ्दा पनि नेपालीहरु किन नेपाललाई असुरक्षित देखाउँदै शरणार्थीको हैसियत माग्दै छन् त ? “यिनीहरु राजनीतिक शरणार्थी होइनन्, आर्थिक शरणार्थी हुन् । उनीहरु शरणार्थीको बहानामा अर्थको खोजी गर्न हिँडेका हुन्,” समाजशास्त्री तथा वेदैशिक रोजगार विज्ञ गणेश गुरुङले बाह्रखरीसँग भने, “यो देशले आन्तरिक रोजगार सृजना गर्न असफल भएको सन्देश हो ।”
शरणार्थीको लागि नेपालीको सबैभन्दा बढी आवेदन जापान, अमेरिका र बेलायतमा पर्ने गरेको छ । नेपालीलाई सबैभन्दा बढी शरणार्थीको हैसियत प्रदान गर्नेमा भने क्यानडा र अमेरिका देखिन्छन् ।
सन् २०१७ मा सबैभन्दा बढी शरणार्थीको लागि नेपालीले जापानमा आवेदन दिएको देखिन्छ । त्यसपछि क्रमशः अमेरिका, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया र क्यानडामा बढी आवेदन परेको थियो । नयाँ र पुराना हेर्न बाँकी गरी सन् २०१७ मा जापानमा २ हजार ८ सय ३९, अमेरिकामा १ हजार ८ सय ४२, अष्ट्रेलियामा १ सय ८३, दक्षिण कोरियामा १ सय ४९ र क्यानडामा १ सय ४४ जना नेपालीको आवेदन परेको थियो ।
त्यस्तैगरी सन् २०१७ मै ग्रिसमा १ सय १२, फ्रान्समा ९३, इटालीमा ९०, साईप्रसमा ८६, दक्षिण अफ्रिकामा ७१, ब्राजिलमा ६५, जर्मनीमा ३५, अष्ट्रियामा २३, बुल्गेरियामा १३, स्वीडेनमा २५, आयरल्याण्डमा ६, स्लोभेनियामा ५, हंगेरीमा ५, इजरायलमा ५ र बेल्जियममा ५ जना नेपालीले शरणार्थीको लागि आवेदन दिएका थिए ।
शरणार्थीको माग गर्दै नेपालीले दिएका मध्ये ८५ प्रतिशतभन्दा बढी आवेदन अस्वीकृत हुने गरेका छन् । तैपनि आवेदन दिनेको संख्या प्रत्येक वर्ष बढ्दो छ । सन् २०१७ मा परेका आवेदनमध्ये जम्मा ५ सय ५० आवेदनमात्र स्वीकृत भएका थिए । अमेरिका, क्यानडा र बेलायत तीन देशले मात्र शरणार्थीको हैसियत माग गर्दै परेको नेपालीको केही आवेदन स्वीकृत गरेका थिए ।
“राजनीतिक कारणले नेपालमा कसैको ज्यान खतरामा छैन भन्ने कुरा धेरैले बुझेका छन्,” समाजशास्त्री गुरुङ धेरै नेपालीको आवेदन अस्वीकृत हुनुपछिको कारण यस्तो ठान्छन् ।
शरणार्थीको हैसियत माग गर्दै सम्बन्धित देशमा आवेदन दिने नेपालीको संख्या प्रत्येक वर्ष बढ्दो छ । दश वर्षे माओवादी द्वन्द्वकालको तुलनामा पछिल्ला वर्ष विदेश पुगी शरणार्थीको हैसियत माग्दै आवेदन दिने नेपालीको संख्या निकै बढेको छ ।
प्रधानमन्त्री केपी ओलीले बिमस्टेक शिखर सम्मेलनदेखि संयुक्त राष्ट्रसंघको महासभासम्म पुगी राजनीतिक संक्रमण समाप्त भएको र देश विकास, प्रगति र समृद्धिको मार्गमा अघि बढेको सन्देश दिइरहँदा विभिन्न वहानामा विदेश पुगेका नेपालीले शरणार्थीको लागि आवेदन दिने गति रोकिएको छैन ।
सन् २०१६ मा ६ हजार ३ सय नेपालीले विभिन्न देशमा शरणार्थीको लागि आवेदन दिएका थिए भने सन् २०१५ मा यस्तो आवेदन दिने नेपालीको संख्या ५ हजार ८ सय थियो । सन् २०१४ मा ४ हजार ६ सय नेपालीले शरणार्थीको हैसियत माग गर्दै आवेदन दिएको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्ष सन् २०१३ मा यो संख्या ३ हजार ८ सय थियो ।
बाह्रखरीलाई प्राप्त तथ्याङ्कअनुसार माओवादी द्वन्द्व चलिरहेको अवस्था सन् २००० देखि २००६ सम्मको ७ वर्षको अवधिमा कूल १३ हजार ५ सय नेपालीले विभिन्न देशमा शरणार्थीको हैसियत माग गर्दै आवेदन दिएका थिए । २०६२–०६३ सालको जनआन्दोलन सफल भएपछि तत्कालिन माओवादी सरकारसँग शान्ति सम्झौता गर्दै शान्त्रि प्रक्रियामा सहभागी भएको थियो । त्यसपछि संविधानसभाको लागि दुई वटा निर्वाचन भए । संविधान जारी भयो । नयाँ संविधानअनुसार स्थानीय, प्रदेश र संघ तीनवटै तहका निर्वाचन सम्पन्न भए । प्रायः सबै दलले राजनीतिक संक्रमण अन्त भएको घोषणा गरेका छन् । तर, विदेशमा शरणार्थीको लागि आवेदन दिने नेपालीको संख्याले भने देशममा ‘आर्थिक संक्रमण’ रहेको स्पष्ट देखाएको छ ।
सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादी शान्ति प्रक्रियामा आएपछिको ११ वर्षको अवधिमा (सन् २००७ देखि २०१७ सम्म) कूल ४३ हजार ५८ जना नेपालीले विभिन्न देशमा शरणार्थीको लागि आवेदन दिएका छन् । सन् २००० देखि २०१७ सम्म कूल ५६ हजार ५ सय ५८ जना नेपालीले शरणार्थीको हैसियत माग्दै विभिन्न देशमा आवेदन दिएको पाइएको छ ।
“जापान, अमेरिका, क्यानडा, बेलायत जानसक्ने मान्छे सामान्य परिवारको हुँदैन । यिनीहरु खाडी, मलेसिया जाने स्तरका होइनन्, अलि पैसा भएको परिवारका सदस्य हुन् । यिनीहरुसँग ती देशमा पुग्ने नेटवर्क पनि छ, लागेको खर्च तिर्नसक्ने क्षमता छ र इच्छाशक्ति पनि छ,” समाजशास्त्री गुरुङको तर्क छ, “राजनीतिक शरणार्थीको खोल ओडेर उनीहरु बढी पैसा कमाउन चाहन्छन् । तर यी वास्तवमा आर्थिक शरणार्थी हुन् ।”
समाजशास्त्री गुरुङको बुझाइमा विभिन्न विकसित देश गई शरणार्थीको लागि आवेदन दिने नेपालीहरु वैदेशिक रोजगारको सिलसिलामा खाडी राष्ट्र र मलेसिया जानेभन्दा भिन्न छन् । यिनीहरु गरिब परिवारका होइनन् । छोटो समयमा धेरै पैसा कमाउने महत्वकांक्षाले यस्ता नेपाली ठूलो रकम खर्ची विकसित राष्ट्र पुग्छन् र शरणार्थीको लागि आवेदन दिन्छन् । “अर्थतन्त्रले रोजगार सृजना गर्दै गयो भने यो क्रम रोकिन्छ,” गुरुङ भन्छन् ।