site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५० वर्ष नाघेपछि मोतिबिन्दुको उच्च जोखिम, यसरी सकिन्छ बच्न

काठमाडौं । धनुषाका वर्ष ५७ का मनोजकुमार यादवले दाहिने आँखा धमिलो देख्न थालेको ५ वर्ष भएको थियो । उनलाई सुरुमा आँखा धमिलो हुने, पोल्ने लक्षण देखिएको थियो । आर्थिक अवस्था कमजोर । बिहान के खाने बेलुका के खाने भन्ने समस्याले गाँजेको थियो उनको परिवारलाई । “कसरी जानु आँखाको उपचारका लागि अस्पतालसम्म, पैसा छैन । मैले काम नगरे घरको चुलोमा आगो बल्दैन । त्यसमाथि पनि श्रीमती क्यान्सरबाट थलिएकी छन्,” उनले गुनासो पाखे । लामो समयसम्म घरायसी औषधी गाईको दूध लगाए तर ठिक भएन । निको हुनुको साटो अझ आँखा पूरै नदेख्ने भए । तरपनि सधैं गर्दै आएको ज्यामी काम एउटा आँखाको सहारामा गरिरहेका थिए । गएको चैतदेखि त देब्रे आँखा पनि धमिलो हुँदै गयो ।

गत शुक्रबार तिलगंगा आँखा प्रतिष्ठानले गरेको मोतिविन्दुको निःशुल्क शल्यक्रिया शिविरमा उनले दुवै आँखाको शल्यक्रिया गराए । उनी अब दुवै आँखा देख्ने भएका छन् । “मैलै अब यो संसार हेर्न सक्तिन जस्तो लागेको थियो । सधैं लौरोको सहारामा बाँच्नुपर्ने रहेछ भन्ने सोचेको थिएँ । आज मैलै ५ वर्षदेखि हराएको उज्यालो पाएको छु,”  यादव खुसी व्यक्त गर्छन् ।

ओखलढुंगाकी ७६ वर्षिया कमलसरा राईले पनि प्रष्टसँग आँखा देख्ने भएकी छन् । मोतिविन्दुबाट ३ वर्षदेखि धमिलो संसारमा बाँचिरहेकी कमलसरा तिलगंगा आँखा प्रतिष्ठानले सिन्धुलीको फिकल गाउँपालिकामा गरेको शिविरमा ४ घण्टा हिँडेर ज्वाइँसँग आएकी थिइन् । “सुरुमा आँखा धमिलो हुँदै आँखा नै नदेख्ने भयो । कतै जानुपर्यो भन्ने लठ्ठीको सहारामा जानुपथ्र्यो । केहि लाग्यो कि भन्नेर धामी–झाक्रँीकोमा झारफुक गर्दा पनि निको भएन । अस्पताल लगिदिने छोरानाति भए ऋण गरेर भएपनि लग्थे होला तर के गर्नु, छैनन् । छोरीहरुको आर्थिक अवस्था नाजुक छ । उनीहरुलाई भन्न पनि मन लागेन,” उनले सुनाइन्, “अब आँखा देख्ने भएँ, घिस्रेर हिड्ँनु पर्दैन । कसैलाई दुःख दिनु पर्दैन, यसैमा धेरै खुशी छु ।” 

सिन्धुली सोखुकी ४१ वर्षीया जानुका खत्रीलाई १९ वर्षको उमेरमा आँखामा बादल लाग्ने, आँसु आउने समस्या देखापर्यो । “घरायसी उपचारसँगै झारफुक लामो समयसम्म गर्दा पनि ठिक भएन । गाउँमा अस्पताल छैन । लामो समयसम्म आँखाको समस्या भोग्नुपर्यो,” उनले भनिन् । गत वर्ष ओखलढुंगामा आँखा शिविर आउँदा उनले दाहिने आँखाको मोतिविन्दुको शल्यक्रिया गरेर आँखा देख्ने भएकी थिइन् । चिकित्सकले अर्को पनि आँखा शल्यक्रिया गर्नुपर्छ भनेका थिए । दुवै आँखा शल्यक्रिया गर्दा काम गर्न नसक्ने डरले गरिनन् । यो पटक भने देब्रे आँखाको पनि शल्यक्रिया गराइन् । अब उनी दुवै आँखा राम्रोसँग देख्न सक्छिन् । 

सिन्धुली फिकल गाउँपालिकाकी नन्दकुमारी राईको आँखा तिरमिराउने, धमिलो देख्ने समस्या देखा परेको २ वर्ष भएको थियो । उनी लठ्ठीको साहराले हिँडडुल गर्थिन् । नन्दकुमारी पनि ३ घण्टाको ओरालो बाटो हिँडेर नातिसँग आँखा शिविरमा आइन् । आउँदा मलिन, थाकेको अनुहार लिएर नातिको हात पक्रेर लठ्ठीको सहारामा आएकी नन्दकुमारी जाँदा राम्रोसँग आँखा देख्ने भएर गइन् । उनीजस्ता १ सय २३ जनाको आँखाको शल्यक्रिया भएको थियो फिक्कल गाउँपालिकामा गएकबो बिहीबार र शुक्रबार ।

मोतिबिन्दु सामान्यतयाः ५० वर्ष नाघेपछि देखिने आँखा रोग विशेषज्ञहरु बताउँछन् । वरिष्ठ आँखाको नानी रोग विशेषज्ञ डा. रचना सिंह रानाका अनुसार बढ्दो उमेरसँगै कपाल फुलेको जस्तै मोतियाबिन्दु पनि आँखाभित्रको लेन्स पाक्दै जाने एक समस्या हो । मोतिबिन्दुको समयमै उपचार गरेमा अन्धोपना भइसकेको ज्योति पनि फर्काउन सकिन्छ । 

लेन्स पाक्दै जाँदा आँखा धमिलो हुनुका साथै विस्तारै आँखाको ज्योति हराएर अन्धोपन हुन्छ । विशेष गरेर मोतिबिन्दु घाममा काम गर्नेलाई बढी देखिने हुन्छ । सुरुमा नै यसको उपचार भएमा आँखालाई जोगाउन सकिन्छ तर ढिलो भए जलबिन्दु हुन्छ, जसको कुनै उपचार नै छैन । आँखा नै गुमाउनुपर्छ । 

तिलगंगा आँखा प्रतिष्ठानले २३ वर्षमा २ लाख ४९ हजार जनाको मोतिबिन्दुको शल्यक्रिया गरेको जनाएको छ । १९९४ देखि २०१७ सम्ममा प्रतिष्ठानबाट ५४ लाख २४ हजार ७ सय जनाले आँखाको सेवा लिएका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा २ करोड महिलामा मोतिबिन्दुका कारण अन्धोपनाको समस्या देखापरेको छ । १२ करोड महिलामा आँखासम्बन्धी विभिन्न समस्या छ । इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेसको अध्ययनअनुसार सन् २०५० सम्ममा मोतिविन्दुबाट अन्धोपनाको समस्या ३ गुणाले बढ्ने देखाएको छ । 

मोतिबिन्दु के हो ?
चिकित्सकहरुका अनुसार मोतिबिन्दु भन्नाले आँखाको लेन्सको पारदर्शितामा कमी (धमिलोपना) आउने दृष्टि क्षमतामा कमी हुनु हो । मोतिबिन्दु प्रायः ५० वर्ष उमेर नाघेका मानिसमा देखा पर्ने हुन्छ । कसै–कसैलाई भन्ने सानैमा पनि देखिन सक्छ । गर्भ अवस्थामा आमाले धुम्रपान तथा मद्यपान गरेमा पनि बच्चामा मोतिबिन्दुको समस्या देखा पर्न सक्छ । 
हाम्रो आँखाको लेन्स पारदर्शी हुन्छ । यो मुख्यतः प्रोटिन र पानी मिलेर बनेको हुन्छ । मोतिबिन्दु रोगमा पारदर्शी हुनुपर्ने लेन्स विभिन्न कारणले गर्दा विस्तारै अपारदर्शी हुन जान्छ, जसले गर्दा रेटिनामा बन्ने आकृति स्पष्ट हुँदैन र व्यक्तिको दृष्टि कमजोर हुँदै जान्छ । मोतिबिन्दुको सवैभन्दा प्रभावकारी उपचार नै शल्यक्रिया हो । यो रोग औषधीले ठिक हुँदैन । 

लक्षण 
आँखा धमिलो हुँदै जानु
रंगीबिरंगी देख्नु
उज्यालोमा हेर्दा गाह्रो हुने वा तिरमिराउने
चश्माको पावरमा परिवर्तन आइरहने ।

कसरी बच्ने ?
५० वर्ष उमेर नाघेपछि ६–६ महिनाको अन्तरालमा आँखा जाँच गर्ने
घामबाट बच्ने
गर्भ अवस्थामा मद्यपान तथा धुम्रपान नगर्ने 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro