site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘बोल्ड’ पद्मावती
Sarbottam CementSarbottam Cement

युगकवि सिद्धिचरण श्रेष्ठको आँगनमा गट्टा खेलेर हुर्किइन् पद्मावती सिंह । सिद्धिचरणको घर आफैँमा साहित्यिक ‘बगान’ थियो ।

बगैँचामा ढकमक्क फुलेका फूलमात्रै होइन, रछ्यानका वोटवृक्ष पनि साहित्यिक लाग्थे उनलाई । सिद्धिचरण आँगनको पल्लो छेउमा घोत्लिइरहन्थे । पद्मावतीलाई लाग्थ्यो– के लेख्दा हुन् त्यहाँ बसेर सिद्धिचरण बा !

सिद्धिचरणले कापीमा कलममात्रै दौडाइरहेको देख्दा उनको मनमा कौतूहल पैदा हुन्थ्यो ! सिद्धिचरणकै आँगनमा खेले, हुर्किएकै कारण उनमा पनि साहित्यिक अभिरुचि पैदा भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

एकदिनको कुरा हो, उनले ख्यालख्यालैमा कथा कोरेकी थिइन् । कसलाई सुनाऊँ, के गरौँ भन्ने द्विविधा उत्पन्न भइरहेको थियो । यसो विचार गरिन्– सिद्धिचरण बुबालाई नै कथा सुनाउँछु ।

‘पत्थरको हृदय’ शीर्षकमा उनले कथा लेखेकी थिइन् । सिद्धिचरणलाई उनले एकै सासमा कथा सुनाइन् । कथा सुनेपछि सिद्धिचरण निकैबेर घोरिए । ला ! बिग्रिएछ कि क्या हो ! उनको मुटुको धड्कन तेज भयो । खुसीको कुरा– सिद्धिचरणले उनको कथा मन पराए । ‘पहिलो पटक भए पनि सीप झल्किएको छ, फेरि–फेरि पनि लेख्नू है नानु’ भन्दै उत्प्रेरणा पनि थपे । ०२२ सालतिरको कुरा हो यो ।

Global Ime bank

त्यसपछि उनले त्यो कथा ‘आरती’ साप्ताहिकलाई दिइन् । सोही हप्ता कथा प्रकाशन भयो । उनको साहित्यिक यात्रा आरम्भ भयो ।
उनी स्मरण गर्छिन्, “सिद्धिचरण बुबा नै मेरो साहित्यिक द्रष्टा हो । मेरो साहित्यिक दीपमा उहाँले नै वर्तन थप्नुभएको हो । उहाँ

जहिल्यै भन्नुहुन्थ्यो– आजकलको जमानामा बाबुबाजेको माध्यमबाट आफ्नो चिनारी दिने होइन । तिमीले राम्रो गर्‍यौ भने समाजमा तिम्रै नाम अघि बढ्छ । त्यतिमात्र होइन, तिम्रै नामबाट तिम्रो शाखासन्तान चिनिन्छन्, कुरा बुझ्यौ ?”

सिद्धिचरणको सत्प्रेरणाले पद्मावती सिंहको एउटा साहित्यिक मानक स्थापित भयो । र, नेपाली साहित्यिक जगतमा नारीवादी साहित्यकारको रूपमा उनको नाम दर्ज भयो ।

० ० ०

उनी सुखसयलमै हुर्किएकी हुन् । उनका बाजे हरिभक्त सरदार दरबारका ‘भारदार’ थिए । १७ भाइका गुरुसमेत थिए उनी । उनका बुबा परशुरामभक्त माथेमाचाहिँ ‘मीर सुब्बा’ थिए । तर, राणाहरूको पतनपश्चात् उनी डा. केआई सिंह (कुँवर इन्द्रजित सिंह)को ‘युनाइटेड डेमोक्रेटिक पार्टी’मा आबद्ध भएर राजनीतिमा फाल हाले । पद्मावतीलाई घुर्मैलो सम्झना मात्रै छ ।

बुबा कडा मिजासका थिए । त्यही भएर हुनुपर्छ, परशुरामभक्त र डा. केआई सिंहका कतिपय स्वभाव मिल्थे । ०१४ सालमा केआई सिंहको क्याबिनेटमा उनका बुबा उद्योग वाणिज्यमन्त्री बनेका थिए । त्यही क्याबिनेटमा हो लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री भएको । अन्यन्त उद्दण्ड स्वभावका कारण डा. केआई सिंहको सरकार लामो समय टिकेन र पछि नेपाली कांग्रेसका तर्फबाट सुवर्णशमशेर मुलुकको २१ औँ प्रधानमन्त्री बने ।

०१५ सालको आमनिर्वाचनमा परशुरामभक्त पाटनबाट उठेका थिए तर कम्युनिस्ट उम्मेदवारसँग पराजित हुन पुगे । “पिताजी पनि लेख्न अभिप्रेरित नै गर्नुहुन्थ्यो । छोरीले लेखोस् भन्ने चाहना नै थियो । तर, ०२० सालमा उहाँ निधन भयो,” उनले स्मरण गरिन् ।

काठमाडौंको कन्या मन्दिर हाइस्कुलबाटै उनको अक्षराम्भ भयो । सोही स्कुलबाट उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरिन् । आईएससी र बीएससीचाहिँ उनको त्रिचन्द्र कलेजबाट भएको हो । उच्च शिक्षा अध्ययन विज्ञान विषय लिए पनि माध्यमिक तहको अध्ययन गर्दा उनी नेपालीमा अब्बल थिइन् । कृष्णचन्द्रसिंह प्रधान उनका गुरु थिए । भीमदर्शन रोक्काले अंग्रेजी अध्यापन गर्थे । दुवैजना लेखक नै भएकाले उनलाई साहित्यको मार्गमा अघि बढ्न झनै सजिलो भयो । मार्गद्रष्टासमेत बने शिक्षकद्वय ।

पाठ्यपुस्तकका अलावा बाह्य पुस्तक पढ्न उत्तिकै रुचि राख्थिन् उनी । कक्षाबाट बचेको समय भारतीय पुस्तकालयमा बिताउँथिन् र मनग्य ज्ञान आर्जन गर्थिन् । दाइहरूले ल्याएका उपन्यास÷कथाका पुस्तक लुकीलुकी भने पनि पढ्न छुटाउँदिनथिन् ।

त्यस्तै उनले अर्को प्रसंग पनि सुनाइन्–

उनी सानैदेखि कथा भन्न र सुन्न उत्तिकै रुचि राख्थिन् । कतै सुनेको कथा अन्यत्र गएर दुरुस्तै सुनाउन सक्ने खुबी थियो उनमा । कतिसम्म भने कहिलेकाहीँ नयाँ कथा सुन्न नपाउँदा कतै देखेको र सुनेको घटनालाई आफैँ कथा बनाएर सुनाउँथिन् र साथीसंगीलाई मन्त्रमुग्ध बनाउँछिन् । त्यसले पनि उनको ‘कथाशिल्प’लाई उजिल्याउँदै लग्यो ।

उनले गीत, निबन्ध, कथा उपन्यास सबैमा उत्तिकै कलम चलाएकी छन् । तथापि कथामा जति रस उनलाई अरुमा बस्दै बसेन । ‘तिम्रो कथा लेखन उत्कृष्ट छ । कथा वाचन शैली तारिफयोग्य छ । चारैतिर छरिने होइन, कथाको लट्ठालाई नै बलियोसँग समाऊ है’ भनेर कृष्णचन्द्रसिंह प्रधानले सुझाएपछि उनी आँखा चिम्लिएर कथा लेखनमा लागिन् ।

० ० ०

धराभन्दा पर गएर लेखन सम्भव हुँदैन । त्यसैले उनी भन्छिन्, “समाजमा घटित विभिन्न घटना÷परिघटना नै कथा लेखनका मूल स्रोत हुन् । अनुभूतिभन्दा पर जीवन हुँदैन र जीवनभन्दा माथि साहित्य÷सिर्जना पनि हुँदैन,” उनी प्रष्ट्याउँछिन् ।

समाचार पढ्दा कतै पुगेर आँखा टक्क रोकिन्छ । पढ्दा नपढ्दै मनमा उछाल आउँछ । दिमागमा सिरुले घोचेजस्तो चसक्क बिझ्छ । उनी घण्टौँ घोत्लिरहन्छिन् । र, जन्माउँछिन् कथा ।

“विषयले लखेट्न थालेपछि कथा नलेखी धरै पाउँदिन,” उनी मरिमेटेर हाँस्छिन् ।

सुरुआतदेखि अहिलेसम्म उनको लेखनको समय राति हो । “जब दिमागमा विषय बास बस्छ र सन्दर्भ खोतल्न थाल्छ, तब म नलेखी सुत्नै सक्दिनँ,” उनी हाँस्न थालिन्, “प्रायः कथा लेख्ने दिन घरधन्दा सकेर राति ८ बजे नै सुत्छु र भोलिपल्ट बिहान १ बजे उठेर लेख्न थाल्छु ।” 

अघिल्लो रात तयार पारेको कथाको खेस्रा भोलिपल्ट दिउँसोभरि बसेर पुनर्लेखन गर्छिन् उनी ।

उनी अक्सर एकै बसाइमा कथा टुंग्याउँछिन् । उपन्याससमेत एक महिनाभित्रै पूरा गर्छिन् । ‘समानान्तर आकाश’ उनले २७ दिनमै लेखेको उपन्यास हो, जसले ०६२ सालको साझा पुरस्कार हात पार्‍यो ।

० ० ०

‘मौन स्वीकृति’ उनको आँखा अगाडि घटेको घटना हो, जसले उनलाई कथा नलेखी धरै दिएन । उनकी फूपू ओमबहालमा बस्थिन् ।

परिवारकी एक्ली छोरी थिइन् । नपुग्दो केही थिएन । दुःखको कुरा उनमा अपांगता थियो, हिँड्दा एउटा खुट्टा लत्रिन्थ्यो । पद्मावती वाल्यावस्थामा हुँदा ती फूपू अनुहारमा शृंगार पोतेर झ्यालबाट बाहिरमात्रै हेर्थिन् । बारम्बार कपडा फेरिरहने र साँझपख पनि कोरीबाटी गर्ने बडो अचम्मको स्वभाव थियो उनको ! गल्लीमा ओहोर–दोहोर गर्ने तन्नेरी युवकलाई आँखा नथाकुन्जेल हेरिरहन्थिन् । कतिपय युवकलाई त जिस्क्याउँथिन् पनि ।

सानो छँदा उनलाई ‘दिदीले के गरेको होला ?’ जस्तो लाग्थ्यो ।

पछि उनले सुनिन्–
घरमा काम गर्न आउने युवकसँग शारीरिक संसर्ग भएछ उनी गर्भवतीसमेत हुन पुगिछन् । आफन्त र छरछिमेकले थाहा पाए बर्बाद हुन्छ भन्ने भयले परिवारले टाढाको गाउँतिर लगेर छाडिदिए रे उनलाई !

सानोमा त उति साह्रो ख्याल भएन । जब पद्मावतीले कलम चलाउन थालिन्, त्यो विषयले उनलाई गहिरोसँग पिरोल्न थाल्यो ।

सोच्थिन्– ती दिदीको पनि त मन हो नि ! उनका पनि अनेक चाहना हुँदा हुन् । अर्काले अँगालोमा बच्चा बेरेको, सन्तानलाई दूध चुसाएको, श्रीमान्–श्रीमती सँगै बजार गएको देख्दा उनको पनि मन कति कल्पिँदो हो ! तर, उनका सपनाहरू कहिल्यै पूरा हुँदैनथे ।

त्यसैले उनले समाजले तय गरिदिएका सारा बन्धन चुँडालेर युवकलाई शरीर सुम्पिदिइन् र आफ्नो चाहना पूरा गरिन् । त्योबाहेक उनीसँग अर्को के विकल्प थियो र ?

अनि जन्माइन् ‘मौन स्वीकृति’ । ‘मधुपर्क’मा उत्कृष्ट यौनकथाको रूपमा प्रकाशित भयो । तत्कालीन परिवेशमा यौनका विषयमा कलम चलाउनु चानचुने कुरा थिएन, दुस्साहस गरिन् उनले !

० ० ०

उनी पो सुविधासम्पन्न परिवारमा हुर्किइन्, पढिन् र लेखन क्षेत्रमा सक्रिय भइन् । तर, उनीजस्तै महिलाहरू आफ्नो सिर्जनशीलतालाई चुलाचौकाको चौघेरोमै खुम्च्याएर घरमा दलिन गन्न बाध्य थिए । उनले टुलुटुलु हेर्न सकिनन् । त्यसो त साहित्य चेतनाको दियालो हो ।

समाजमा उज्यालो नपुगेको ठाउँमा दीप प्रज्ज्वलित गर्नु उसको पहिलो दायित्व पनि हो । त्यसैले उनको सिर्जनामा नारीवाद मुखरित हुन थाल्यो ।

“अहिले पो साहित्यमा महिलाको उपस्थिति सबल बन्दैछ । ऊबेलामा त लेखनमा महिला अगाडि आए भने विभिन्न बात लगाएर निरुत्साहित तुल्याइन्थ्यो,” उनको अनुहारमा सन्नाटा छायो ।

केहीबेर गम खाइन् र भन्न थालिन्, “अहिले पनि महिला लेखकले केही सिर्जना बाहिर ल्यायो भने उसलाई निरुत्साहित तुल्याइन्छ । आफ्नै लोग्नेले लेखिदियो होला, या अरु कसैले लेखिदियो होला भनेर होच्याउन थालिन्छ ।”

लेखनमा मात्र होइन, अरु क्षेत्रमा पनि महिला अघि बढेको देखिनसहने जमात अझै उस्तै छन् । पुरुषभन्दा अघि लागेका महिलाको दाम्पत्य जीवन नै धरापमा परेको देखेको छु भन्छिन् उनी । तथापि उनी त्यसलाई चिर्दै अघि बढिन् । “समाजले के भन्ला भनेर आफूलाई खुम्च्याउने होइन । जस्तै व्यवधान आए पनि पन्छाउने सामथ्र्य बटुलेर महिला अघि बढ्नुपर्छ,” उनले भनिन् ।

उनी स्वयंले पनि घरमा उपन्यास लेखेकी छैनन् । ‘समानान्तर आकाश’ विराटनगर पुगेर लेखिन् । ‘निःशब्द यात्रा’ लेख्न चितवनको सौराहा पुगिन् र पछिल्लो पुस्तक ‘मौन संवाद’ पनि घरबाहिरै बसेर लेखिन् ।

“घरमा लेख्न भनेर बस्यो । कहिले को आउँछ, कहिले को पाहुना आएर अल्मल्याउन थाल्छ, पूरा गर्नै सकिन्न । पुरुषलाई जस्तो ‘आज मलाई लेख्नु छ, मलाई बिथोल्ने होइन है’ भनेर ढोका थुनेर कहाँ लेख्न पाउनु ? चुल्होचौकोको काम सकेर उब्रिएको समय लेखनमा छुट्याउनुपर्छ,” उनले जिब्रो काढिन् ।

अनि जन्मियो ‘समानान्तर आकाश’
पद्मावतीलाई चिनाउने कृति हो ‘समानान्तर आकाश’ ! त्यो पनि वास्तविक जीवनमा भएको घटना हो । समाजमा दीनहीन अवस्थामा रहेका महिलाको वास्तविक जीवन भोगाइ उपन्यासमा सादृश्य उतारिएको छ ।

“समानान्तर आकाश मेरो आफ्नै दिदीको कथा हो । मेरो घरपरिवारबाहेक अरूलाई खासै थाहा छैन यसबारे !” उनी मुसुक्क हाँसिन् र रचनागर्भ कोट्याउन थालिन् ।

वास्तवमा उपन्यासकी प्रमुख पात्र सुस्मिता उनकी आफ्नै दिदी हुन् । घरमा दिदी हुँदाहुँदै भिनाजु अर्की युवतीसँग सल्किएको प्रसंगलाई उनले उपन्यासमा जोडेकी छन् ।

नारीलाई भोगविलासको चेतबाट मात्र हेर्ने पुरुष पात्र अविनाशले सुस्मितामाथि गरेको शोषण र त्यसबाट उत्पन्न परिस्थिति नै उपन्यासको मूल विषय हो । नारीको मातृत्व सुखबाट बञ्चित राख्न खोज्ने अविनाशसँग सुस्मिता निर्निमेष विद्रोहको आवाज बोल्छे ।

यहीबाट उनीहरूको सम्बन्ध धमिलिँदै जान्छ । तत्कालीन परिस्थितिमा नारीको अवस्था कस्तो थियो र गाउँघरमा नारीलाई कसरी हेरिन्थ्यो भन्ने देखाएकी छन् । आफू कामको सिलसिलामा पाँच वर्ष गोरखामा बस्दा भोग्नु परेको प्रसंग जस्ताको तस्तै ल्याएकी छन् ।

“गाउँठाउँमा ‘आइमाई पनि मान्छे हुन् र !’ भन्दै महिलालाई भोग्य वस्तुको रूपमा मात्रै हेरिँदो रहेछ ! अतः ‘समानान्तर आकाश’ नलेखी सुखै पाइनँ,” कथाको उपक्रम जोडिन् उनले ।

उपन्यास लेखनसँग जोडिएको अर्को सन्दर्भ पनि रहेछ–

दिवंगत साहित्यकार कमलमणि दीक्षित र उनको परिवारबीच पारिवारिक नाता सम्बन्ध छ । दीक्षितले उनलाई बहिनी भनेर सम्बोधन गर्थे । कुरैकुरामा दीक्षितले सिंहलाई एकदिन दिदीकै विषय समेटेर उपन्यास लेख्न सुझाए । 

“आ... आफ्नै परिवारको कथा के लेख्नु ?” उनले अटेर गरिन् ।

दीक्षितले भने, “तिमीले नलेखे भागिरथी श्रेष्ठले लेख्छिन् । म सबै घटना उसैलाई बेलिबिस्तार लगाउँछु ।”
त्यसपछि भने उनले उपन्यास नलेखी धरै पाइनन् ।

“दिदी शारदा सिंहको मात्रै होइन, त्यसमा मेरो जीवन भोगाइ पनि गाँसिएको छ,” उनी मच्चिएर हाँसिन् ।

० ० ०

समालोचकका आँखामा महिला साहित्यकार पर्दै पर्दैनन् । अरुको बखान गरेपछि पुछारमा ‘पद्मावती सिंहले पनि यो विषयमा कलम चलाएकी छिन्’ भनेर लेख्ने समालोचकहरू प्रशस्त छन् उनका नजरमा ।

“समालोचकको काम महिला लेखकलाई सहानुभूति देखाउने मात्रै हो,” उनी दुखेसो पोख्छिन् ।

तथापि, पछिल्लो समय यो परिस्थितिमा केही फेरबदल आउन थालेको प्रतीत हुन्छ ।

नेपाली साहित्यको आख्यान विधाले नारी हस्ताक्षर पाउन नसकेको अवस्थामा पद्मावती सिंह उज्वल नक्षत्रको रूपमा देखा परिन् ।

तत्कालीन अवस्थामा यौनको विषयमा लेख्नेबित्तिकै छाडाको संज्ञा दिइहालिन्थ्यो । प्रेमा शाह त्यसको भुक्तभोगी हुन् । पारिजात पनि उपेक्षाको पात्र बनिन् । पुरुषले जे लेखे पनि पच्ने, महिलाले ‘यौन’ शब्द उच्चारण गर्नेबित्तिकै लखेटिहाल्ने सोचलाई परास्त गर्न उनी धेरथोर सफल नै भइन् ।

“पुस्कर लोहनीले साहित्यका नाममा ठाडठाडै अश्लील शब्द लेख्छन् । त्यहाँ कुनै साहित्य हुँदैन । ‘कोक शास्त्र’जस्तो मात्रै भेटिन्छ, तथापि उनको आलोचना कमै पढ्न पाइन्छ,” उनको अनुहारको रोगन बदलियो ।

कसैले यौन पनि साहित्य हो र ? भन्ने प्रश्न पनि गर्छन् । “यौन जीवनको अभिन्न पाटो हो भने साहित्य त्यसबाट अछुतो कसरी रहन सक्छ ? तर, शब्द र शैली कस्तो प्रयोग गर्ने भन्नेमा चाहिँ सोचविचार पुर्‍याउनुपर्छ,” उनी भन्छिन्, “खराब शब्द प्रयोग नगरी पनि यौन कथा लेख्न सकिन्छ भन्ने कुराको सफेद दृष्टान्त हो ‘आरुको फूल’ ।”

० ० ०

लेखन साधना हो । आज लेखेर भोलि नै ठूलो लेखक बनिन्छ भन्ने छैन । तथापि निरन्तर खोज, अध्ययन र लेखनमा नवीन प्रयोग गरिरहनुपर्छ । हिजोआज एउटा कृति बजारमा आएको छैन, लेखकमा दरिइहाल्नुपर्छ भन्ने मनोविज्ञान हावी भएको छ, त्यसले पनि लेखन क्षमतामा निखारता आउन नसकिरहेको उनी अड्कल काट्छिन् ।

“अरुले लेखेका पुस्तक अध्ययन गर्ने, नयाँ–नयाँ ठाउँ घुम्ने र विषयमाथि निरन्तर चिन्तन र अध्ययन गर्ने हो भनेमात्रै राम्रो कृति पस्कन सकिन्छ,” उनले आफ्नो अनुभव सुनाइन् ।

पद्मावतीका ‘कथादि’, ‘कथायाम’, ‘कथाकार’, ‘पद्मावती सिंहका कथाहरू’, ‘समयदंश’ र ‘मौन स्वीकृति’ कथासंग्रह तथा ‘समानान्तर आकाश’ र ‘निःशब्द यात्रा’ उपन्यास प्रकाशित छन् । पछिल्लो समय उनी ‘मौन अक्षर’ प्रकाशनको तयारीमा जुटेकी छन् । उनका उपन्यासको केन्द्रीय पात्र महिला नै हुन्छन् । सहायक पात्रको रूपमा मात्रै पुरुष देखा पर्छन् ।

किन त ?

उनी मुसुक्क हाँस्छिन् र जवाफ फर्काउँछिन्, “महिलाको सबलीकरणका लागि उपन्यासकारले योभन्दा अरु के गर्न सक्छ र !”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १, २०७३  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय