site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
देउवा चौथो पटक प्रधानमन्त्री बन्लान् ?

नेपालको राजनीतिमा जे पनि हुन्छ । को, कहिले, के बन्छ केही थाहा हुँदैन ? संविधान सभाको पहिलो निर्वाचन हारेर बसेका माधवकुमार नेपाल कता कताबाट पछाडिको ढोकाबाट संसद्मा छिरेर पनि प्रधानमन्त्री भए । सर्वोच्च अदालतका प्रधान न्यायाधीश खिलराज रेग्मी आफ्नो पद कायमै राखेर प्रमुख कार्यकारी पनि भए । पुष्पकमल दाहाल पहिलो संविधान सभाको निर्वाचनपछि सबैभन्दा ठूलो दलको अध्यक्ष भएर पनि ९ महिने प्रधानमन्त्री भए । तर, दाहालले कतैबाट अघि बढ्न दिन नचाहेका उनैका उपाध्यक्ष बाबुराम भट्टराईले भने १८ महिना शासन चलाए ।

भारतले कहिल्यै प्रधानमन्त्री हुन दिँदैन भनेर प्रचार गरिएका सुशील कोइरालासमेत २० महिना प्रधानमन्त्रीको पदमा टिके । यस्तो देशमा तीन पटक प्रधानमन्त्री भइसकेका र संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सक्लान् र भन्ने प्रश्न आफैँमा विसंगत देखिन सक्छ । संसदीय पद्धतिमा त स्वाभाविकरूपमा प्रधानमन्त्री हुनुपर्ने नै उनैले हो । 
कुनै पनि ज्योतिषीसँग सोध्यो भने वा गुगल ब्वाइजस्ता भविष्य देख्ने भनिएका व्यक्तिलाई भेट्यो भने त शेरबहादुर देउवालाई पुनः देशको प्रधानमन्त्री बन्छन् भनेर सहजै भनिदिन्छन् । उनको अहिलेको शक्ति र प्रभावलाई हेर्नेले पनि उनलाई प्रधानमन्त्री नबन्लान् भनेर भन्न सक्दैनन् ।

अझ, नेकपा (माओवादी केन्द्र)सँग गरिएको सम्झौताअनुसार उसले धोका दिएन भने देउवा अबको पाँच महिनामा सहजै प्रधानमन्त्री बन्ने पनि देखिन्छ । तर, संविधान संशोधन तथा निर्वाचनका सन्दर्भहरू जसरी अघि बढेका छन् तिनले भने नेपाली कांग्रेसलाई सरकारबाट केही समय टाढै राख्ने संकेत गर्दैछन् । समयमै यी संकेत कांग्रेसको नेतृत्वले बुझेन भने सत्तामा पुग्दापुग्दै कांग्रेस सत्ताबाट धेरै पर हुत्तिने जोखिम पनि प्रष्ट देखिएको छ ।
आजको दिनमा शेरबहादुर देउवा नेपालका सबैभन्दा शक्तिशाली राजनीतिक नेता हुन् । उनी प्रधानमन्त्री हैनन् तर प्रधानमन्त्रीभन्दा शक्तिशाली छन् । उनको इच्छाबिना नेपालको राजनीतिले कुनै दिशा लिन सत्तैmन । तर, बलशाली योद्धाको प्राण जंगलमा बसेको सुगामा हुने कुनै दन्त्य कथामा जस्तै देउवाको शक्तिको स्रोत पनि जंगलबाट राजनीतिमा पसेको माओवादी केन्द्रको मुठीमा परेको छ । हुनत, ६०१ जनाको संसद्मा ८३ स्थानमात्र भएको माओवादी आफँैमा खासै बलियो छैन तर यसले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई पनि आफूअन्तर्गत राखेर शासन चलाउन सकेको छ । किनभने कांग्रेसका २०७ र नेकपा (एमाले)का १८२ संसद सदस्यभन्दा उसको ८३ सिट बढी प्रभावकारी छ ।

KFC Island Ad
NIC Asia

यी दुवै दललाई ३०१ सांसद (अहिले केही पद खाली भएका कारण अलि कम) जोडेर साधारण बहुमत पु¥याउन माओवादीको साथ नभई सम्भव देखिदैन । त्यसैले अहिलेको राजनीतिक खेलमा एमाले तथा नेपाली कांग्रेस मिलेनन् भने माओवादी शक्तिको केन्द्रमा बसी नै रहने देखिन्छ । 
माओवादीका लागि सबैभन्दा ठूलो चुनौती आउँदो निर्वाचनमा आफ्नो दलको प्रभाव थप खस्कन नदिनु नै हो ।

तर, अबको निर्वाचनमा अहिले जत्तिकै अवस्थामा टिक्न पनि माओवादीलाई सरकारमा बस्न र सकभर आफैँले निर्वाचन गराउन पनि जरुरी देखिन्छ । यही उद्देश्य पूर्तिका लागि देउवालाई कुनैपनि बेला धोका दिन दाहाल हिचकिचाउने छैनन् । जसरी केपी ओलीले दाहाललाई अन्तिम समयमा आएर भद्र सहमति भएकै छैन भनेर प्रधानमन्त्रीको कुर्सी हस्तान्तरण गर्न मानेनन् त्यसैगरी दाहालले पनि देउवालाई सहजै पद बुझाउने संकेत देखिँदैन । एमालेले प्रधानमन्त्रीमा समर्थन दिने भयो भने दाहाल सहजै नेपाली कांग्रेससँगको सहमतिबाट बाउँठिन सक्छन् । 
नेपाली राजनीतिका खतरनाक खेलाडी देउवाले यो संकेत नबुझ्ने कुरै भएन ।

Royal Enfield Island Ad

मंगलवार बालुवाटारमा भएको दाहाल, ओली र देउवाको बैठकमा नै देउवाले अनीष्टको आशंका गरिसकेका छन् । संविधान संशोधनको विधेयक संसद्बाटै कुनै निर्णयमा पु¥याउनै पर्छ भन्ने देउवाको विशेष अडान एमाले तथा माओवादीबीचको पुरानो प्रेमको पुनरुत्थान हुन नपाओस् भनेर प्रकट भएको हुनुपर्छ । संविधान संशोधन विधेयक संसद्बाटै कुनै निर्णयमा पुग्ने भयो भने त्यसले माओवादी तथा एमालेबीच प्रतिस्पर्धाको अवस्था ल्याउने निश्चित छ ।

त्यस्तो प्रतिस्पर्धामा विधेयक दुई तिहाईबाट पारित भए पनि नभए पनि एमाले–माओवादी मिलन केही समयका लागि थाती रहने सम्भावना छ । संशोधन प्रस्ताव असफल हुँदा नैतिकताको आधारमा दाहालले राजीनामा दिने संभावना पनि छँदैछ । त्यसो भयो भने त प्रधानमन्त्रीको कुर्सी देउवालाई अझ चाँडो प्राप्त हुनेछ । 
जे होस्, यहाँ देउवा प्रधानमन्त्री हुन्छन् कि हुँदैनन् भन्ने आँकलन गर्न खोजिएको हो । माओवादी तथा कांग्रेसको सहमति कायमै रहन्छ वा भत्कन्छ भन्ने विवाद आउन अझै केही महिना बाँकी नै थियो तर परिवर्तित राजनीतिक अवस्थाले भने समयलाई अघि घचेटिदिएको छ । संविधान संशोधन विधेयक सरकारले पूरै फिर्ता लियो भने सायद नेपाली कांग्रेसको सरकारबाट बर्हिगमन हुनसक्छ ।
अहिले सरकार परिवर्तन भएन वा नेपाली कांग्रेसले निर्वाचन गर्न पनि माओवादी सरकारलाई नै जिम्मेवारी दिन राजी भयो भने के हुन्छ ? 
देउवा तथा दाहालबीच भएको नौ महिनामा सरकार फेर्ने सहमतिको ढाँचा परिवर्तन गरेर सबै निर्वाचन गराउन दाहाललाई दिएको अवस्थामा पनि दाहाल र देउवाको दोस्ती अब लामो जाने छाँट देखिँदैन ।

माओवादीको प्रतिद्वन्द्वी नेपाली कांग्रेस होइन । यी दुई दल मिलेर निर्वाचनमा जान सक्दैनन् । गएको अवस्थामा पनि नतिजामा ठोस फरक पर्दैन । किनभने नेपाली कांग्रेसका मतदाताले माओवादीलाई भोट हाल्दैनन् र माओवादीका मतदाताले नेपाली कांग्रेसलाई मत खसाल्दैनन् । माओवादीलाई बलियो हुन एमालेका मतदाता नै खोस्नुपर्छ ।

संभावना चाहिं माओवादी एमालेसँग मिलेर निर्वाचनमा जान सक्छ । यसरी निर्वाचनमा गयो भने माओवादीको अहिलेको राजनीतिक आकार कम नहुने संभावना बलियो हुन्छ । एमाले पनि सबैभन्दा ठूलो दल हुन माओवादीलाई सँगै लिएर जान पछि नपर्ला । निर्वाचनका लागि त्यस्तो गुटबन्दी भयो भने अब हुने संसद्को निर्वाचनपछि पनि नेपाली कांग्रेस सरकारमा नपुग्न सक्छ । 

अब देउवाले के गर्लान् त ?
अहिले नै सरकारले संविधान संशोधन फिर्ता लिएर जाने अवस्था आयो भने देउवाले यस सरकारबाट समर्थन फिर्ता लिन सक्छन् । त्यस अवस्थामा देउवाले एमालेसँग दोस्तीको हात बढाउन पनि सक्छन् । एमालेसँग कम्तीमा स्थानीय निर्वाचनसम्म मिलेर जान सकेको खण्डमा आफ्नो दलप्रति जनताको कस्तो समर्थन छ त्यो पनि प्रष्ट हुने र अगाडिको रणनीति त्यहीअनुसार बनाउन कांग्रेसलाई सजिलो हुन्छ । तर, संविधान संशोधनको विधेयक फिर्ता लिने दाहाललाई तुरुन्तै धोका दिन एमालेलाई भने सहज हुँदैन ।
कुनै पनि रूपमा संसद्को निर्वाचन हुन्जेलसम्म नेपाली कांग्रेस सरकारमा जान पाएन भने पनि आउँदो संसदीय निर्वाचनमा उसले सबैभन्दा ठूलो दलको आकार गुमाउन चाहँदैन । यसका लागि देउवाले सशक्त प्रतिपक्षीको भूमिका पूरागर्नु बाहेक अर्को विकल्प देखिँदैन ।

के गर्नुपर्छ ?
भारतले नेपाललाई लगाएको नाकाबन्दीपछि धेरै नेपाली भारतसँग चिढिएका छन् । यस्तो अवस्थामा मधेसको समस्या समाधानार्थ अघि बढेर देउवाले मधेसको मतदातालाई आफूसँगै राख्ने कोसिस गरेका छन् । तर मधेससँग हात मिलाउँदा मधेसी जनतासँग भन्दा भारतीय प्यादासँग बढी नजिक भएको देखिन पुगेको छ । र, त्यसलाई मधेसी जनता आफैँले पनि सहन सक्तैनन् । यस विषयमा देउवाले विशेष ध्यान पु¥याउन जरुरी हुन्छ । हामी भारतसँग राम्रो सम्बन्धमा बस्न चाहन्छौँं तर भुटानीकरण मान्दैनौं भनेर नेपाली कांग्रेसले स्पष्ट शब्दमा भन्न र प्रचार गर्न सक्नुपर्छ । यस्तो गर्न सकेको अवस्थामा जनताको समर्थन कमजोर हुँदैन ।
कांग्रेसले बुझ्न नसकेको सबैभन्दा कटु सत्य के हो भने हाम्रो दक्षिणको छिमेकीलाई नेपाल बलियो नहोस् र यहाँ सधैँ कलह रहिरहोस् भन्ने चाहना छ भने उसले नेपाली कांग्रेसलाई कहिल्यै अघि बढ्न दिँदैन ।

किनभने नेपाली कांग्रेस अघि बढ्यो भने नेपाल बलियो हुन्छ र आर्थिक रूपमा पनि अघि बढ्ने संभावना हुन्छ । तर कांग्रेसले भारतको बृहत्तर सोच बुझेर तदनुरूप आफ्नो रणनीति बनाउने गरेको छैन । भारतसँग नजिक देखिएर अघि बढनेमात्र सोच लिएको देखिन्छ, चाहे पूर्व राष्ट्रपति रामवरण यादव हुन वा अन्तिममा आएर यो खाल्डोमा परेका सुशील कोइराला हुन् ।
अर्को उपाय, नेपाली कांग्रेसले चुस्त, सशक्त र स्वच्छ सरकार दिनसक्छ भन्ने अवधारणा जनतामा फिंजाउन सक्नुपर्छ । वास्तवमा जनतामा कांग्रेसप्रति वितृष्णा बढेको देखिन्छ । सरकारमा बस्ने वा ठूला पदमा नियुक्ति दिन सक्नेले भ्रष्टाचार आफैँबाट रोक्नसक्नु पर्छ ।
अन्त्यमा, 
स्थानीय निर्वाचनभन्दा अघि देउवा सरकारमा जान सकेनन् भने र निर्वाचनमा एमाले माओवादीसँग मिलेर वा अन्य कुनै तवरले बहुमत नजिक पुग्यो भने शेरबहादुर देउवाको चौथोपल्ट प्रधानमन्त्री हुने आकांक्षा र गिरिजाप्रसाद कोइरालासँग बराबरी गर्ने अभिलाषा पूरा नहुन पनि सक्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७३  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro