नेपालका राजनीतिक दलहरू कुनै कर्तव्य गर्दै छैनन्, कुनै नैतिकताका बन्धनमा बाँधिएका छैनन्, कुनै जनहितका काम गर्दै छैनन्, कुनै सिद्धान्त वा वादलाई अघि लगाउने काम पनि गर्दै छैनन् । यिनीहरू सबै त एउटा कुशल कलाकार हुने होडबाजीमा नाटकका नवरस मिसाई राजनीतिमा नाटकबाजी गर्दैछन् । यस्तो नाटकबाजीको उद्देश्य सत्तामा पुग्ने, जनता ठग्ने, पैसा कमाउने अनि त्यही पैसाले फेरि आफ्नो शासन गर्ने अभीष्ट पूरा गर्ने हुन्छ । त्यस्तो नाटक राष्ट्रिय राजनीतिक रंगमंचमा सधै मञ्चित हुन्छ, मिडियाले तिनको नाटकका अनेक भावभंगीमाको बयान गर्छन् । अनि, जनतालाई हरेकपल्ट झुक्याइन्छ ।
साहित्य वा नाटकका नवरस हाम्रा सबै राजनीतिक दललाई राम्रोसँग कण्ठ छ । कुनै बेला माओवादी भन्नेबित्तिकै जनतामा एक प्रकारको डरलाग्दो र आवेगयुक्त दल भन्ने पथ्र्याे । उसले त्यसबेला भयानक रस प्रस्तुत गरेको थियो । पछि २०६३ पछि बिस्तारै माओवादी भयानक रसबाट रौद्र रूपमा परिणत भयो । अर्थात् कालको अग्रदूतबाट रिसाहाको प्रतिनिधिमात्र बन्यो । त्यसबेला नेपाली कांग्रेसले वीर रसको प्रयोग ग¥यो । कांग्रेसले एक प्रकारको राजनीतिक नायक बनेर देखायो । नेकपा (एमाले) शान्त रसको भूमिका खेलेर बस्यो । माओवादीलाई ऊ जत्रै बनाइदिँंदा पनि धेरै विरोध गरेन, चुपचाप बस्यो ।
त्यसपछि विभत्स रूपमा मधेसी दलहरू देखापरे । मधेस आन्दोलनमा कालरूपी अभिनय गरेका नेता सबैले जनतालाई मर्न र मार्न उक्साउने उद्दण्ड पात्रको भूमिका पूरा गरे । जे होस्, बल्लतल्ल संविधान बन्यो । संविधान बन्ने क्रममा भारतले विदूषकको भूमिकामात्र खेल्यो । त्यसैले उसले सोचअनुसारको संविधान बनेन । पश्चिमा राष्ट्रले अर्थपूर्ण करुण रसको प्रदर्शन गरेपछि राप्रपा नेपालसमेत पग्लिएर देश धर्म निरपेक्ष बन्न पुग्यो । संविधानमा भनेजस्तो नपुगेपछि भारतले फेरि विभत्स रूप देखायो । नेपाली जनतालाई इन्धन र औषधि बन्द गरेर भारतले अर्को नाटक देखायो । त्यस नाटकलाई नेपाली जनताले असफल बनाइदिँंदा भारतको भूमिका विदुषकको जस्तोमात्रै देखियो । विभत्स रूपको भारतको भूमिका हास्य रसमा गएर सकियो ।
सरकारबाट निस्किएको नेकपा (एमाले) अहिले संविधान संशोधनको विषय आएपछि रौद्र रूपमा देखिएको छ । उसलाई अचानक देशको अखण्डता र जातीय सौहार्द दुःखेर आएको छ । संघीयता चाहिँंदै नचाहिएका एमाले अध्यक्ष केपी ओलीलाई भएकै खण्डमा पनि तीनवटा भन्दा बढी हुनुहुँदैन भन्ने थियो । तर सरकारमा जाने हुटहुटी कसरी बढेर गयो भने सातवटा प्रदेशको संविधानलाई सर्वोत्कृष्ट घोषणा गरेर अघि बढे । एमाले नायक बन्यो, ओली प्रधानमन्त्री । त्यस रसलाई सूत्रधारले वीर रस भनेर घोषणा गरिदिए । नेपाली कांग्रेसले हास्यरसको भूमिका पायो, नजित्ने प्रधानमन्त्रीको निर्वाचनमा होमिएर सुशील कोइरालाले मुस्किलले बनाएको साखमा नमीठो दाग लगाए ।
अब अहिले चलिरहेको राजनीतिक नाटकमा प्रवेश गरौँं । अहिले बुटवलको आन्दोलन र त्यहाँ भएको विरोधको ठूलो चर्चा चलिरहेको छ । त्यो विरोधका कारण संविधान संशोधन प्रस्ताव तुहिने अवस्था छ । एमालेले संविधान संशोधन तुहाउन बुटवलको पूरा समर्थन पाएको छ तर पाँच नंबर प्रदेश टुक्य्राउँदा नेपालको अखण्डता र जातीय सद्भाव सकिने अनि दुई नंबर प्रदेश पूरै मधेसी हुन दिने किन ? यसको उत्तर जनतालाई दिनु पर्दैन ? त्यस बेला वीर रसको भूमिकामा थियौंँ तर अहिले सरकारमा नभएको कारण रौद्र भूमिकामा भएको हुनाले यसो गर्नुपरेको भन्न त नमिल्नु पर्ने हो नि ? तर, मिल्छ । सत्ता नपाउन्जेल मिल्छ । सत्ताको भोक नहुँदो हो त संघीयताको विरोध उतिबेलै गर्नु पर्थेन ? त्यसबेला कस्ले रोक्यो त भन्दा नाटकका निर्देशक दक्षिणी भाइले । अब सरकार बाहिर पुग्दा दक्षिणी भाइको प्रभाव सकियो । रौद्ररूप देखाउने मौका पाइयो ।
कुनै बेला भयानक रूप देखाएका मधेसी दल बीचमा एकदम शान्त रूप देखाएर बसे । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शान्त र अद्भुत रूप देखाए । तिनले देखाएको रूपमा मोहित भएर दाहालले मन्त्रिपरिषद्मा पास गराएर संविधान प्रस्ताव संसद्मा प्रस्तुत गरेपछि बुझे – उनलाई त बेवकुफ बनाइएको रहेछ । मधेसीले तुरुन्तै भूमिका परिवर्तन गरे । शान्त र अद्भुत रूप देखाएका मधेसी मोर्चाका दलले रौद्र रूपमा प्रवेश गर्ने छाँट देखाए ।
नेपालका ठूला नौटंकी राजनीतिक दलको निर्देशकको भूमिकामा आफूलाई प्रदर्शित गर्न चाहने भारतले फेरी मञ्चमा प्रवेश गरेको छ । भारतका प्रतिनिधि रणजीत रे अहिले शृंगार रसको अभिनय गर्दै नाटक खेल्न व्यस्त छन् । उनी अब सरकार र मधेसीबीच माया, प्रेम, विश्वासको रस घोलेर पिलाउन व्यस्त बनेका छन् । मधेसीलाई घरमै बोलाएर खाना खुवाए, कान फुके र दाहाललाई गएर बेलुकी खुट्टा हल्याउँदै वीरता प्रदर्शन गरे । अझ एमालेलाई पनि कानमा समातेर ठाममा ल्याउन सक्ने विश्वास पनि दिलाए । भारतकै राजदूतले नै भनेपछि कसरी नपत्याउनु ? एकातिर संसद् चल्न सकेको छैन । अर्कोतिर पाँच नंबर प्रदेशका जनता सडकमा आइसके, उता दाहाल र देउवाभने संविधान संशोधनमा दुई तिहाई पुग्नेमा एकाएक ढुक्क देखिएका छन् । मान्नैपर्छ रेलाई, दसौं पटक धोका दिएर पनि पुनः तिनको मन जित्नसक्ने अभिनयका लागि !
अब के हुन्छ त ? उत्तर सहज छ । नाटकवाला राजनीतिकर्मी अझै नाटकैमा रमाउनेछन् । माओवादीले देशमा विग्रह गराउन ल्याएको संघीयताले उद्देश्यअनुरूप विग्रहको बीउ त रोप्यो तर यो विग्रहको समाधानको जिम्मा पनि अहिले तिनै दाहालको काँधमा पारिदिएको छ । दाहाल सरकार छाड्न सक्दैनन् बरु यसका लागि फेरि ओलीको राष्ट्रवादी दौराको फेर समात्न जान बेर लगाउने छैनन् । देउवा सधैँजस्तै देश र जनताभन्दा स्वार्थलाई हेर्ने मनःस्थितिमा छन् । लोकमानसिंह विरुद्ध खुरुक्क महाभियोग पारित नगरेर त्यसको बलमा संविधान संशोधन र आफू प्रधानमन्त्री हुने सपना देखेर मस्त छन् । मधेसी मोर्चा पनि मस्त छ ।
विवाद र अस्थिरता रहँदासम्म नेताको पद र पैसाको बहाव निश्चित् छ । निर्वाचन भयो र अब पनि हारे भने राजेन्द्र महत्वकांक्षादेखि उपेन्द्र दबाबसम्मको दिन सकिँदैछ । त्यसैले यिनको नाटक बन्द हुँदैन । नाटकको सूत्रधारले त आफ्नो विग्रहमुखी नाटक समाप्त नहोस् भन्ने चाहनु स्वाभाविकै हो । र, त्यसका लागि रे जस्तोसुकै अभिनय गर्न तयारै छन् ।
तर जनता बोल्दैनन्, उनीहरू मूक दर्शक हुन् । जनता चुपचाप लुटिइन्छन्, आमाको अस्मिता लुटिएको चाल पाएर पनि जीवन बिताउने बहानामा दौडी रहन्छन् । लंगौटी फुस्किसकेको छ तर दौडिरहेका छन् । जनताका लागि त विजयको अर्थ दुई मुठी सास फेर्नसक्नुमै सीमित जो रहेको छ ।