साहित्य
अपांगता जीवनको अवसान होइन, बरु अवसर हो । यदि त्यसो हुँदैनथ्यो भने बदलिँदैनथ्यो लक्ष्मी घिमिरेको जिन्दगी । र, शायदै बन्थिन् प्रेरणाको पर्याय ।
१६ वर्षको लाउँलाउँ–खाउँखाउँकै उमेरमा ढाड भाँच्चिएर ह्विलचेयरमा जिन्दगी धकेलिरहेकी लक्ष्मी कसैको सहाराबिना नै एक्लै हिँडडुल गर्न सक्छिन् । यो त सामान्य हो उनका लागि । उनी ह्विलचेयर खेलाडीसमेत हुन् भन्दा धेरैलाई पत्याउन मुस्किल पर्छ । तर, नपत्याई धरै छैन । उनको दैनिकी नियाल्दा यस्तो लाग्छ, उनले सवलांगलाई नै माथ गरिसकेकी छन् ।
तर, यो यसै सम्भव भएको भने होइन । परिवारको प्रेरणा, उनको अथक मेहनत र जीवनप्रतिको आशावादिताको प्रतिफल हो यो सफलता ।
उनी अपांगतालाई भाग्यको खेल र नियतिको झेल मान्दै रामेछापको बेतालीमै थन्किएर बसेको भए राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडी बन्ने त थिइनन् नै, उनका लागि जीवनका अरु सम्भावनका ढोकाहरू कहिल्यै खुल्दैनथे ।
तर, उनले अविराम संघर्ष गरिन् र आफूलाई सफलताको ‘रोलमोडल’का रूपमा स्थापित गरेरै छाडिन् ।
जीवनको कालो पूर्णिमा
पूर्णिमा उज्यालोको बिम्ब हो, समृद्धिको प्रतीक पनि हो । तर, उनका लागि त्यही पूर्णिमाको दिन जीवनकै अभिशाप बन्न पुग्यो । २०६६ सालको कोजाग्रत पूर्णिमाको दिन हो उनको जीवनको खुसी खोसिएको ।
शरद ऋतु । दसैंको उमंग सकिएर तिहारको हर्षोल्लास फगटाहरूमा धानका बालासँगै बयली खेल्दै थिए । तर, त्यही दिन सयपत्रीका कोपिलासरह फर्कंदै गरेका लक्ष्मीका सपनाहरू रामेछापको खाल्डेभीरबाट एकैसाथ गुल्टिएर क्षणभंगुर बन्न पुगे ।
मध्यबिहान खै किन हो, लक्ष्मीलाई अनायास खेतमा गएर एक भारी घाँस काट्न मन लाग्यो । बुबाले त भनेका थिए, “जानुपर्दैन घाँससाँस काट्न, घरमै बस, हामी खेतमा गएर आउँछौँ ।” तर, उनको मनले मानेन । उनी डोको बोकेर खेततिर लागिन् ।
घरबाट अलि पर्तिर पुगेपछि खेत आउँथ्यो, त्यसपछि आउँथ्यो सामुदायिक वन र वनकै छेउमा पथ्र्यो खाल्डेभिर । दसैंको छेउ पारेर वनमा घाँस काट्न खुला गरिएको थियो । वनमा मनै लोभ्याउने खर त थिएन, तर खर काटेको ठाउँमा भर्खर घाँस पलाउँदै थियो । बुबा, दाजुहरूले थाहा पाउँछन् भनेर छेका पर्दै उनी भीरमा गइन् र घाँस काट्दै डोकोमा हाल्न थालिन् । घाँस हाल्दा–हाल्दै अचानक डोको गुल्टियो । छरिएको घाँस हाल्दा डोको आधामात्र भरियो । उनले विचार गरिन्– अलि पर सप्रिएको खर छ जस्तो छ, त्यही काटेर भारी पुर्याउनुपर्यो ।
त्यही सोचाइले नै उनलाई भीरबाट खसाल्यो । चप्पल फुकालेर अघि के मात्र बढेकी थिइन्, दाहिने खुट्टाले ठाउँ छोडिहाल्यो र लड्दै तल खोल्सामा पुगिन् ।
उनको छेवैमा दाइकी छोरी पनि घाँस काट्दै थिइन्, तर उनले ढुंगा लडेको ठानेर भनिन्– दिदी कत्रो ढुंगा गुल्टियो, लाग्ला है होस पु¥याएर घाँस काट्नु ।
लक्ष्मीले कसरी सुन्थिन् ! उनी त अघि नै अचेत भइसकेकी थिइन् ।
नन्द भीरबाट खसेको तल खेतबाट भाउजूले पनि देखेकी रहिछन् । ठूलो भीरबाट खसेको हुनाले उनी आत्तिइन्मात्रै, चिच्याउनै सकिनन् । भीरमा कपाल फरफराउँदै तल झरेको देख्नेबित्तिकै उनको हंशले ठाउँ छोड्यो । अवाक् हुँदै भीरतिर कुद्न थालिन् । दाइ पनि सँगै थिए, उनले सोचे– के भएछ आज यसलाई ।
अताल्लिँदै निरन्तर भीरतिर इसारा गरेपछि पक्कै बहिनी लडेकी हुनुपर्छ भनेर सबै पहरातिर हान्निए । तर, लक्ष्मी होइन, उनको चप्पल र आधा डोको घाँसमात्रै भेटियो ।
अलि पर छोरी पनि सुँक्क सुँक्क गर्दै थिई– अघिसम्म यहीँ घास काट्दै थिई, ड्यांग गरेर ढुंगो पल्टिएजस्तो भयो । खै कहाँ खस्नुभयो ?
कंकला गरेर बोलाउँदा पनि लक्ष्मीको चालचुल नआएपछि उनीहरूले खोजी तीव्र पारे । करिब चार सय मिटर तल काँडाको झ्याङमुनी आँखाबाट आँसु चुहाइरहेकी तर बोल्नै नसक्ने हालतमा फेला परिन् लक्ष्मी ।
बुबा, दाजु लगायतले उठाएर खुट्टा टेकाउन खोजे तर कम्मरमुनिको भाग पूरै लत्रियो । परिवार बिलखबन्दमा पर्यो– ढाड भाँचिएछ क्यारे, अब बरबाद भयो !
लक्ष्मी भन्छिन्– वास्तवमा स्पाइनल कर्ड इन्जर्ड भएको मानिसलाई त्यसरी खुट्टा टेकाउन नहुने रहेछ ! त्यसो गर्दा म झनै बेहोस हुन पुगेंछु । २८ दिन पछिमात्रै होस खुलेको हो मेरो !
उनलाई तत्कालै उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पुर्याइयो र दिनभर त्यहीँ राखियो । स्वास्थ्य चौकीका अहेवले के गर्नु ? उनले आँखाबाट बगेको रगत पुछिदिएर नदुख्ने औषधि खान दिए । स्वास्थ्य चौकीमा पुर्याउँदा नपुर्याउँदै परिवारले आश मारिसकेको थियो– छोरी फर्केर आउँदिन होला !
गाउँमा काठमाडौँबाट एउटामात्रै बस जान्थ्यो । उनलाई काठमाडौँ ल्याउन बेलुकासम्मै पर्खनुपर्यो ।
० ० ०
सुरुमा उनलाई ग्वार्कोको बी एण्ड बी अस्पताल पुर्याइयो । पाँच छोरी मध्येकी उनी कान्छी थिइन् । परिवारको आर्थिक अवस्था खासै राम्रो थिएन । चार दिन राख्दै डेढ लाख सकियो । त्यसपछि परिवारले निधो गर्यो– लक्ष्मीको होस फर्कने÷नफर्कने यकिन छैन । यहाँ राख्यो भने त खरखेतै होलाजस्तो छ । बरु छाउनी लैजाऊँ ।
बुबा नेपाली सेनाबाट सेवानिवृत्त सैनिक थिए । त्यहाँ निःशुल्क उपचार हुन्थ्यो । औषधिको समेत पैसा तिर्नुपर्दैनथ्यो । केही मात्रै किने पुग्थ्यो । करिब एक वर्षको उपचारपछि उनी ह्विलचेयरमा हिँडडुल गर्न सक्ने भइन् । सुरुमा त दिसा–पिसाब आएको पनि चाल पाउँदिनथिन् । त्यसमा विस्तारै सुधार हुन थाल्यो । तथापि कम्मरमुनिको भाग निष्प्राणजस्तै भयो ।
उनी स्मरण गर्छिन्, “चिकित्सकले समेत मलाई माया मार्नुभएको थियो, एक महिनासम्म होस नआएकाले सुरुमै अप्रेसन गर्न सकिएन । एक महिनासम्म होस नआएकाले बांगो हाड त्यहीँ जोडिएछ ।
होस आएपछि समय घर्किएकाले अप्रेसन गर्न मिलेन । “अप्रेसन गर्न ढिला भयो, अहिले अप्रेसन गर्दा जोडिएको हड्डी भाँच्नुपर्छ । कथम्कदाचित नशा काटियो भने हातसमेत नचल्ने हुनसक्छ,” भनेर चिकित्सकले भनेपछि परिवार हच्किएको उनले सुनाइन् ।
० ० ०
एक वर्षको उपचारपश्चात उनी रामेछाप फर्किइन् । घर पुगेपछि सबैले दया देखाउँदै विचरा पो भन्न थाले । “यस्तो जूनजस्ती छोरी ढाड भाँच्चिएर थन्किन पर्यो है,” भेट्न आउनेले यसो भन्दा उनको मन कटक्क खान्थ्यो र केही गरेर देखाउँछु भन्ने लागिरहन्थ्यो ।
एक वर्ष उनी रामेछापै बसिन् । वर्षदिन पूरा भएपछि बाबुले भन्न थाले– छोरी यतै बसी भने यसलाई मनोवैज्ञानिक समस्या हुन्छ । जीवन नै बर्बाद हुन्छ यसको । त्यसैले यसलाई अपांग पुनःस्थापना केन्द्रमा लैजानुपर्छ ।
बनेपाको स्पाइनल कर्ड इन्जुरी रिह्याव सेन्टरमा उनी एक महिना बसिन् । त्यहाँ उनले ह्विलचेयर प्रयोगकर्ताले कसरी आत्मनिर्भर हुने भन्ने तालिम लिइन्, त्यसले उनको आत्मविश्वासमा झनै बढोत्तरी ल्यायो र ह्विलचेयर लिएर बाटोमा निस्कने, आफैँ दिसापिसाव गर्ने र नुहाउन मात्रै होइन, खाना बनाउनसमेत सक्ने भइन् । त्यसपछि ६ महिना कीर्तिपुर गएर बसिन् कम्प्युटरसम्बन्धी विभिन्न तालिम लिइन् ।
यो उनको जीवनको दोस्रो इनिङ थियो ।
० ० ०
कक्षा ११ मा पढ्दा दुर्घटना भएको हो । बीचमै दुर्घटनामा परेकाले पढाइ अलपत्रै थियो । तीन वर्षपछि उनी ०६९ सालमा जोरपाटीको चामुण्डा कलेजमा कक्षा ११ मा भर्ना भइन् । त्यतिबेला उनी जोरपाटीकै अपांग पुनःस्थापना केन्द्रमा बस्थिन् ।
मनमा निराशा पाल्नुहुँदैन, मैले पनि केही गर्नुपर्छ भन्ने उनलाई लागिरहन्थ्यो । कक्षा ११ मै पढ्दा उनले बास्केटबल खेल्न सिकिन् । वास्तवमा बास्केटबल खेल्न उनलाई सानैदेखि रुचि थियो ।
“अपांगता भएपछि पो बास्केटबल खेल्ने अवसर जुर्यो !,” मुसुक्क मुस्कुराइन् उनी ।
अपांगतासम्बन्धी संघ/संस्थाले आयोजना गर्ने हरेकजसो बास्केटबल प्रतियोगितामा उनी पछि पर्नुपरेको छैन । अब्बल नै छिन् उनी ।
०७२ सालको भूकम्पलगत्तै पाकिस्तानको ह्विलचेयर युजर एसोसिएसनले ह्विलचेयर प्रयोगकर्ताको नेपाल–पाकिस्तान मैत्रीपूर्ण खेलको लागि नेपाललाई प्रस्ताव गर्यो ।
त्यस्तो क्रिकेट खेल्ने विशेष क्षमताका पुरुष खेलाडीमात्र थिए, महिला खेलाडी थिएनन् । प्रशिक्षकले भने– क्रिकेटमा महिला पुरुष हुँदैन सबैले खेल्न सक्छन् ।
प्रशिक्षकले भनेपछि उनी खेलका लागि तयार भइन् । तर, तयारी कम भएकाले दुई रनले पराजित हुनुपर्यो ।
० ० ०
हाल उनी पद्मकन्या कलेज बागबजारमा बीबीएस अन्तिम वर्षमा अध्ययनरत छिन् । साथै अनामनगरको नेपाल अपांगता पुनःस्थापना समाजमा कम्प्युटर तालिम दिन्छिन् र आफूजस्तै अपांगता भएका व्यक्तिहरूमा जीवनप्रतिको जीजिवीषा जगाउँछिन् । भन्छिन्– अपांगता जीवनको समाप्ति होइन, बरु नवीन जिन्दगीको सुभारम्भ हो । अपांगता भएका व्यक्तिले चाहे गर्न नसक्ने केही छैन । सपांगसरह नै जीवनयापन गर्न सक्छन् ।
तर, सडक, बाटो, घर, कार्यालयहरू अपांगतामैत्री नहुँदा अपांगता भएका व्यक्तिहरूलाई निकै अप्ठ्यारो परिरहेको उनको अनुभव छ । उनी मन दुखाउँछिन्, “अपांगता भएका व्यक्ति त परै जाओस्, सपांग व्यक्तिहरूसमेत हिँडडुल गर्न नसक्ने सडकपेटी छन् । बाटो कुन खाल्डोमा पुगेर टुंगिएको हुन्छ पत्तै हुँदैन । ढुंगामा ह्विलचेयर अड्किए बटुवाहरू मुख छोपेर हाँस्न थाल्छन् तर अपांगता भएकालाई सघाउँदैनन् ।”
उनी थप्छिन्– सरकारको अपांगतामैत्री नीति फगत कागजमा मात्र सीमित भयो ।
त्यस्तै अपांगता भएका व्यक्तिलाई विचरा मात्रै नभनेर अवसर दिलाउन लाग्ने हो उनीहरूले गर्न नसक्ने कुरा केही छैन भन्छिन् लक्ष्मी । “अपांगता भएकालाई दया देखाउने होइन दायित्वचाहिँ बुझ्नुपर्छ,” उनको कथन छ ।
जाँदाजाँदै उनले भनिन्– अपांगता भाग्यको खेल होइन, भवितव्य हो। अपांगता जोकसैलाई जहिल्यै हुनसक्छ । त्यसैले सरकारले अपांगतामैत्री संरचना निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्यो । यस्तै, समाज घर परिवारले पनि हेयभावले नहेरी उचित अवसर दिने हो भने अपांगता भएका व्यक्तिहरूले पनि आत्मसम्मानका साथ आत्मनिर्भर स्वाभिमानपूर्वक जीवनयापन गर्न सक्छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३ १६:५८
प्रतिक्रिया दिनुहोस्