site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यसरी जन्मिए ‘हनुमान’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
लप्टन बन्ने सपना 
तीन दशकपछि रविन्द्रसिंह बानियाँले थाहा पाए– ‘म ताक्छु मुुढो बञ्चरो ताक्छ घुँडो’ भन्ने आहान त्यसै बनेको हैन रहेछ । समयसँगै सपनाहरू पनि फेरिँदा रहेछन्, चाहनाहरू परिवर्तन हुँदारहेछन् । आफ्ना जर्नेल मामा बलराम अधिकारीको हिरोइज्म देखेर उनलाई त्यो बाल्यकालमा पनि इष्र्या लाग्थ्यो, ओहो ! म पनि त्यस्तै हुन पाए । मामा सूर्य वनायक गणका गणपति थिए । उनले त्यहाँ देखे मामालाई जसले पनि सलाम गरेको । उनको मामाको अनुहार हेरिरहनु पर्दैनथ्यो । पछाडिबाट पनि सिपाहीहरू सलाम गर्थे । लेफ्टिनेन्टको रातो क्याप नै उनको मामाको मान र सान थियो । सलामको कारण थियो । उनले त्यहीँ संकल्प गरे, म पनि जर्नेल बन्छु । मामा जस्तै सलाम खान्छु । उनका बुबा पनि आर्मीका जमदार थिए । 
धादिङमा जन्मिएर चितवनमा हुर्केबढेका रविन्द्रले  ०५७ मा आईए सके र लागे आर्मी अफिसर बन्ने लोभले काठमाडौंतर्फ । मामा जर्नेल, बुबा जमदार । बुबाको सम्बन्ध चिफ अफ आर्मी धर्मपालवर सिंह थापासँग राम्रो थियो । आर्मीमा जागिर खान उनलाई गाह्रो थिएन । रविन्द्र र उनको मामाको छोरा जागिर खाने अभिलाषा लिएर काठमाडौं पुगेका थिए । उनी आर्मी अस्पताल डल्लु पुग्दा त्यहाँ आर्मीका हेलिकप्टर आर्मीका शव र घाइते लिएर आउँथे । घाइते तथा मृतकका आफन्त ‘बाबु, बरु हलो जोतेर खाएको भए बाँच्न त बाँच्थिस् होला’ भनेर रोइकराई गर्थे । त्यो देखेर उनको आङ जिरिङ जिरिङ हुन्थ्यो । मुटु नै चिसो भएर आउँथ्यो । मामाको छोरो भने ‘काल आयो भने ठेस लागे पनि मरिन्छ । जे पर्छ जाने हो । आर्मीकै जागिर खाने हो’ भनेर उनलाई उकास्थे । उनका अर्का मामा पनि आर्मी नै थिए । सल्यान कपुरकोटमा रहेको आफ्नो भाइलाई रविन्द्रकी आमाले भान्जो आर्मीमा जान लागेको बताएपछि उनले रविन्द्रलाई भने, “म जागिर छोड्न भनेर राजीनामा दिएको अझै स्वीकृत भएको छैन । यस्तो अवस्थामा जागिर खान्छु भन्ने कस्तो मुर्ख हौ तिमी ?” माओवादीको द्वन्द्व उत्कर्षमा थियो । एक्लो नाति रविन्द्रलाई उनकी हजुरआमाले पनि आर्मीमा जागिर खान नजा भन्दै रुन थालिन् । अस्पतालमा मेजरको समेत शव देखेका उनलाई पनि अस्पतालका ती दृश्यले खासै कर गर्न दिएन । उनको लामो सपनामा स्यवंले पूर्णविराम लगाएदिए । अब उनी विकल्पविहीन बने । 
अभियन नसा बनेपछि...
रविन्द्र साह्रै लजालु स्वाभावका । स्कुलमा कक्षा कोठामा शिक्षकले सोधको प्रश्नको उत्तर साथीहरूका अगाडि उठेर भन्नसमेत नसक्ने । उठेपछि उनी आफ्नो नाममसेत बिर्सिन्थे । उनलाई कहिले पनि लागेको थिएन म पनि कलाकार बन्छु भन्ने । 
केटीहरूको अगाडि त उनी लाजले भुत्तुकै हुन्थे । “केटीहरूले पछाडिबाट हेरिरहेका छन् कि भनेर मेरो ढाड चिलाउँथ्यो,” रविन्द्रले हाँस्दै भने, “म लाजको पोको नै थिएँ ।”
मलाई लाज हटाउन केही न केही गर्नुपर्छ भन्ने लागिरहेको थियो । ०५८ सालमा एक दिन मामाले निःशुल्क अभिनय गर्ने ठाउँ छ भनेर सुनाए । “लाज पनि हट्छ । आत्मविश्वास बढ्छ । नाटकमा फ्रिमा खेल्न पाइन्छ,” भने । 
माओवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो । हरेक कामका लागि गाविसको सिफारिस चाहिन्थ्यो । तर, सचिव गाउँमा बस्दैनथे । उनको गाउँका सचिव काठमाडौं धर्मस्थलीमा बस्दा रहेछन् । “पानी परेर हिलो भएको बोटोमा राति अबेर सिफारिस बनाएर ल्याएँ । घुँडाघुँडासम्म हिलो थियो,” त्यो दिन उनले सम्झिए, “गरिब तथा जेहन्दार भन्ने बनाउन लगाएर शुुक्रबार सकिने म्याद आइतबारसम्म थप्न लगाएर फर्म भरें । अभिनय सिकाउने ठाउँ मोहन निरौलाको ‘परिवर्तन नेपाल’ थियो । मोहन निरौलाले सिकाउलान् भन्ने सोचेको थिएँ । तर, त्यहाँ त विनोद श्रेष्ठले पो सिकाउँदा रहेछन् । तिनै विनोद श्रेष्ठ हुन् अहिलेको हिरो । त्यहाँबाट सुरु भएको अभिनयको यात्रा अझै जारी छ ।”
‘परिवर्तन नेपाल’ छिरेपछि उनका लागि अभिनय नसा भयो । खेल नै काम बन्यो । खेल नै काम बनेपछि रविन्द्रलाई के चाहियो र ? अभिनयमै डुबे । उनले त्यहाँ ६ वर्ष भोलेन्टियर भएर काम गरे । त्यहाँ उनले पहिलो पटक ‘प्रजातन्त्र’ नाटक गरे, जुन निकै रुचाइयो । त्यसमा मोहन निरौलासँगै आर्यन सिक्देल, बाबु बोगटी, जेबी रुवालीलगायत कलाकार थिए । 
त्यही समय उनले जिन्दगीमा अभावलाई चिने । भोकसँग साक्षात्कार गरे । “यो नाटक हामी राजधानीका प्रत्यक चोक र गल्लीगल्ली पुग्यौं । पैसा हुँदैनथ्यो । एउटा समोसा र पानी खाएर नाटक गथ्र्यौं । नाटक देखाइरहँदा कार्टुनमा नाटक देखाउने कलाकारलाई गाडी भाडा र चिया खर्च भनेर पैसा उठाउँथ्यौं । एकदेखि पाँच रुपैयाँसम्म दिन्थे । सय–डेढ सय रुपैयाँ जम्मा हुन्थ्यो । त्यसले समोसा किनेर खान्थ्यौं र त्यही पैसाले अर्को चोकसम्म गाडी चडेर जान्थ्यौं । फेरि त्यसैगरी नाटक देखाउँथ्यौं । कैयौं महिना यसरी नै बिते । घरबाट पैसा आउन पनि समय लाग्थ्यो,” त्यो समयको अभाव, संघर्ष, चुनौती र सपना सम्झिँदा रविन्द्र अहिले पनि भावुक हुन्छन् । 
६० सालमा रविन्द्र ६ महिने अभिनय कोर्सका लागि राष्ट्रिय नाचघर छिरेका थिए । नाचघरपछि उनी गुरुकुल पुगे, जहाँ सात वर्ष बित्यो । त्यहाँ उनले पहिलो नाटक गरे ‘ताराबाजी लैलै’ । उनले त्यहाँ धेरै नाटक गरे । गोविन्दबहादुर मल्ल गोठालेको ‘भोको घर’ उनले लिड रोल गरेको पहिलो नाटक हो, जहाँ उनले राजेन्द्र भन्ने क्यारेक्टर गरे । उनी वर्षको उत्कृष्ट चरित्र अभिनेता समेत बन्न सफल भए । 
‘एक्सन कट’को भूत 
अभिनयको थोरबहुत ज्ञान लिएका उनलाई अब निर्देशनको भूतले पनि समायो । एक्सन र कट भन्ने रहरले छोप्यो । त्यसैले उनले श्रृषा कार्कीको अन्तिम सिनेमा ‘बाचा बन्धन’ मा सहायक निर्देशन गर्ने भए । धादिङको मलेखुमा सुटिङ सुरु भयो । तर, उनलाई चित्तै बुझेन । निर्देशकीय क्षमतालाई थप अब्बल बनाउने ध्येयले सहायक निर्देशक बनेका उनले सुटिङ स्पटमा माहोल ठीक उल्टो पाए । उनले सम्झिए, “त्यहाँ क्रिएसनको कुरै हुँदैनथ्यो । आउट अफ ट्रयाकका कुरा हुन्थे । कामप्रति लगाव भन्दा पनि रमाइलोमा ध्यान हुन्थ्यो । मलाई त्यो माहोल पटक्कै मन परेन । र, म बीचमै त्यो मुभी छोडेर हिँडें ।”
उनले नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘जीवनचक्र’ मा पनि अभिनय गरे । तर, त्यसको युनिटले बिचौलियाले सबै पैसा खाइदियो भनेर रविन्द्रलाई सुको पैसा नदिएपछि उनलाई जिन्दगी चलाउनै समस्या भयो । 
थिएटरको यात्रा
उनलाई सिनेमा उद्योगबाटै फ्रस्टेसन हुन थाल्यो । जिन्दगीको ऊर्जाशील समय खराव ठाउँमा खर्च गरिएछ भन्ने लाग्यो । र, चटक्कै छोडे रिलको लाइफ । अलग भए रविन्द्र सिनेमाबाट । तर, भित्री मन भने मरेको थिएन । रस बाँकी नै थियो सिनेमाको । मन मिल्ने साथी र युनिट भेटें भने फेरि फर्किन्छु भन्ने लागिरहेको थियो उनलाई । त्यसपछि रविन्द्रका गोडा लम्किएका हुन् नाचघर हुँदै गुरुकुलतर्फ । गुरुकुल बन्द नहुन्जेल त्यहाँ नाटक गरेका उनी गुरुकुल बन्द भएपछि भने बीबीसी छिरे । 
त्यहाँ उनले सुरु गरे ‘कथा मिठो सारंगी’ नाटकको उत्पादन गर्न । त्यहाँ उनले ‘पशुपतिप्रसाद’का खगेन्द्र लामिछानेसँग काम गरे । 
आफ्नै मलामी खोज्दा
बीबीसीमा काम गर्दा ‘टलकजंग भर्सेस टुल्के’ नाटक बनाएका थिए । खगेन्द्रले त्यसलाई सिनेमाको स्क्रिप्टको रूप दिए र बन्ने भयो चलचित्र । त्यसमा रविन्द्रले पनि काम गर्ने भए । उनको डेब्यु चलचित्र पनि त्यही थियो । त्यसमा उनले मुखियाको छोरोको रोल गर्नुपर्ने थियो । माओवाली द्वन्द्वको कथा समेटिएको ‘टलकजंग भर्सेस टुल्के’ मा उनी द्वन्द्वको शिकार बन्छन् । उनी सिनेमाको उत्तरार्धतिर मर्छन् । 
गाउँको हुनेखाने मुखियाको छोरो, मलामी सय–डेढ सय चाहियो । तर, बिरानो ठाउँ कास्कीको हेम्जाकोटमा छायांकन थियो । मलामी जुटाउनै गाह्रो । उनले घर–घरमा फोन गरेर आफ्नो लागि मलामी डाके । भेटेर पनि “मेरो मलामी आइदिनुस्” भने । आफूलाई जलाउन चाहिने दाउरा र मुढा आफैं बोकेर खोलासम्म पुर्याए । र, हाँसी हाँसी चितामा चढे । 
सिनेमाको सुटिङ थियो त्यो । रविन्द्र सिनेमाको पात्रमात्रै थिए । एक्सन कटमा उनी चलरिहेहका थिए । तर, यो घटनाले उनलाई छोयो । उनले त्यसलाई जिन्दगीसँग जोडेर हेर्न थाले । रविन्द्रलाई लाग्यो, यसैगरी हाँसी–हाँसी मर्न सकिँदैन ? अमेरिका जाने अघिल्लो रात जाँड पार्टी गरेर साथीलाई हाँसीखुसी बिदाई गर्ने हामी किन जिन्दगीको बिदाइलाई भने हाँसेर बिदा गर्न सक्दैनौं ? उनलाई यो कुराले पिरोलिरह्यो । आखिर हामी त्यही सिनेमाको पात्रझैं यो संसारको एउटा पात्र न हौं । हरेक पल मृत्युसँग संघर्ष गरेर भागिरहेको भूत, वर्तमान र भविष्यलाई रविन्द्रले गहन भएर सोचेको ‘टलकजंग भर्सेस टुल्के’मा चितामा सुतेपछि नै हो । 
हनुमानका नाममा... 
‘पशुपतिप्रसाद’मा रविन्द्रले हनुमानको रोल गर्नुपर्ने भयो । हनुमानको चरित्र उनलाई निकै मन पर्यो । पूरै चलचित्रभरि हनुमानको मुखुण्डो पहिरिएर अन्तिममा मात्र उनी देखिन्छन्, जुनबेला सिनेमामा उनको चरित्रको आयु नै खतम हुन्छ । 
‘पशुपतिप्रसाद’को कथा निर्माणका क्रममा हनुमान जो सधैं पशुपतिमा देखिन्छ, यसलाई पनि राख्न सकियो भने सिनेमा अझ जिवन्त हुन्छ भन्ने लागेपछि खगेन्द्र लामिछाने र निर्देशक दिपेन्द्र के खनाल भएर त्यहाँ बस्ने हनुमान को हो ? उसको विगत कस्तो थियो, किन त्यहाँ आएर त्यसरी बस्छ आदि खोज्न थाले । 
त्यसै क्रममा उनीहरूले थाहा पाए त्यहाँ हनुमानको भेष धारण गरेर हनुमान भएर बस्ने व्यक्ति तराई मूलका एक जना व्यक्ति रहेछन्, जो आफ्नो अपराध लुकाउन हुनमान भएर बसेका थिए ।
त्यसपछि खगेन्द्रले सिनेमामा पनि यस्तै खालको कथा बुने, जहाँ क्यासिनोमा सम्पूर्ण सम्पत्ति गुमाएपछि लागेको ऋणसमेत तिर्न नसकेपछि हुनमान बनेर आफ्नो कुकृत्य ढाकछोप गर्न सिनेमाको पात्र हनुमान बन्छ । 
रविन्द्रलाई भने सिनेमा अवधिभर हनुमान नै भएर त्यहाँ बस्दै आएको आएको वास्तविक हनुमान नै बनेर नयाँ अनुभूति संगाल्ने रहर लाग्यो । संयोगवश त्यहाँ बस्ने हनुमान भूकम्प आएको मौका पारेर प्रहरी प्रशासनको ध्यान अन्तै खिचिएको बेला घर गएको बेला परेछ । त्यसैले उनले त्यहीँ बस्ने रियल हनुमानका रूपमा सुटिङ अवधिबाहिरको समय पनि त्यहीँ बसे । 
त्यो समय उनले जिन्दगीमा नयाँ अनुभव त गरे नै, सँगै नयाँ धेरै कुरा पनि थाहा पाए । उनलाई त्यहाँ आउने साधुसन्तहरू भन्थे, “यो बेला केही व्यापार छैन, सबै घर गएका छन्, भूकम्पले हाम्रो व्यापार त चौपट बनाइदियो । तपाईं यति महँगो हनुमानुजीको पहिरन खर्च गरेर लगाउनुभएको छ, घाटाको बिजनेस किन गरिरहनुभएको छ ? सहरतिर गएर आफ्नो बिजनेस गर्नुस् ।” साधुहरूको यो भनाइले त्यहाँ साधु सन्तका भेषमा हुने गाँजा चरेसको तस्करीलाई संकेत गथ्र्यो । रविन्द्र हाँसेर हुन्छ भन्थे । 
उनलाई कतिले हनुमानजी भनेर ढोग्थे । कतिले टाँसिएर फोटो खिच्थे । कतिले पैसा दिन्थे त कतिले हनुमानको भेषमा गाँजा व्यापारी भनेर सत्तो सराप पनि गर्थे । उनलाई भने हाँसोमात्रै उठ्थ्यो किनकि उनी रियल हनुमान थिएनन् । आफूलाई भक्तजनले दिएको पैसा उनी त्यहाँ मागेर बस्नेलाई दिन्थे । माग्नेलाई दिएर बचेको ११ सय रुपैयाँ उनले टोपी दिवसको अवसर पारेर काने टोपी किनेर अनाथ बालबालिकालाई बाँडे । 
त्यही बेला उनले थाहा पाए, शव जलाउन प्रयोग हुने दाउराका नाममा पनि त्यहाँ मृतकका परिवार ठगिन्छन् । डेढ सय किलो दाउरा लाग्ने ठाउँमा दुई–अढाई सय किनाउने र बचेको त्यही दाउरा अर्कोलाई बेच्ने । यस्ता धेरै वेथिति त्यहाँ रहँदा उनले देखे । यो यथार्थलाई पछि उनीहरूले पशुपति क्षेत्र विकास कोषलाई जानकारी गराए । 
रियल हिरोइज्म 
रविन्द्र अलि फरक स्वाभावका छन् । सानो कुरालाई गहन ढंगले हेर्छन् । त्यसमा बाँच्ने प्रयत्न गर्छन् । रगत, पसिना र पागलपनले मात्रै राम्रो सिनेमा बन्छ भन्ने रविन्द्र मान्छे भ्रममै बाँचिरहेको ठान्छन् । सिनेमाको हिरोको अभिमानले गजक्क परेर रियल लाइफमा समेत बाटोमा आफूलाई हिरो ठानेर हिँडेको देख्दा उनलाई त्यो प्रवृत्तिप्रति दया लाग्छ । 
भन्छन्, “सिनेमाको हिरो त कपी हो । तपाईं जिन्दगीमा रियल हिरो हुँदाहुँदै आफूलाई कपी (डमी) हुँ भन्दै हिँड्नुहुन्छ भने त्यो पागलपन हो । जिन्दगीलाई नचिन्दाको परिणाम हो ।” 
‘मलाई चिन्नुभएको छैन ? म सेलिब्रिटी हुँ नि भन्दै सेलिब्रिटी कार्ड देखाएर हिँडेको देख्दा उनलाई अचम्म लाग्छ । यसलाई मावनीय प्रवृत्तिगत भूल ठान्छन् । 
उनले आफ्ना मामालाई पछाडिबाट समेत सलाम गरेको देखेर सानो छँदा सोधेका थिए रे, अंकल उहाँले देख्नु पनि भएको छैन, सलाम फर्काउनु पनि भएको छैन । तर पनि किन तपाईंहरू उहाँलाई सलाम गरिरहनु हुन्छ ? त्यो बेला आर्मीका सिपाहीहरूले भनेका थिए– हामीले तिम्रो मामालाई सलाम गरेको होइन । उनको ड्रेसमा रहेको त्यो फूलीलाई गरेको हो । 
दिनहरू ढल्दै गए । बागमतीमा धेरै पानी बग्यो । उमेर छिप्पिँदै गयो । समयले नै रविन्द्रलाई सिकाउँदै गयो । सिपाहीको त्यो कुरा उनले अहिले बुझे । हामी सिनेकर्मी हृष्टपुष्ट उमेरमा आफूलाई आइडल भन्दै रियल जिन्दगीमा पनि हिरो÷ हिरोइन हुँ भन्दै हिँड्छौं । उमेरसँगै माग घट्दै जान्छ । मान र सान ओरालो लाग्छ । अनि बल्ल हामी सोच्छौं, भ्रममा छौं हामी । अनि सुरु हुन्छ, फ्रस्टेसन । रविन्द्र भन्छन्, “म रविन्द्र सिंह बानियाँलाई दर्शकले मन पराएका होइनन् । हनुमानलाई मन पराएका हुन् । हनुमानको क्यारेक्टरलाई मन पराएका हुन् ।” 
किन रोइकराई ? 
सोझो बुद्धि भनौं या इमान्दारिता, रविन्द्र भन्छन्, “म नेपाली चलचित्र उद्योग डुब्न लाग्यो भनेर बचाउन आएको होइन । मैले मेरा लागि काम गर्दा मेरो कर्मले चलचित्र उद्योग माथि उठ्यो भने त्यो संयोगमात्रै हो । 
व्यक्ति सधैं आफूलाई केन्द्रमा राखेर काम गर्छ । यो मानवीय स्वाभाव हो । तर, कर्म सधैं सकारात्मक हुनुपर्छ । त्यसले आफ्नो वर्तमान, भविष्य र आफ्नो कर्मक्षेत्रलाई योगदान गर्छ । यो नै वास्तविकता हो । यो वास्तविकताबाट चाहेर पनि कोही भाग्न सक्दैन । 
“सरकारले नेपाली चलचित्र उद्योगका लागि केही गरेन भनेर हामीले रोइकराई गर्नुपर्ने अवस्था छैन । राज्यले तैंले सिनेमा गर्नुपर्छ भनेर जबर्जस्ति थमाइदिएको होइन । हामी आफ्नो खुसीले यो क्षेत्रमा आएका हौं । त्यसैले हामीले आफ्नो रगत, पसिना र पागलपन खर्चियौं भने राम्रो सिनेमा बनाउन सक्छौं । राम्रो सिनेमालाई राज्यले बजार खोजिदिनु पर्दैन । मार्केटिङ गरिदिनु पनि पर्दैन । त्यसले आफैं बजार खोज्छ । अन्तर्राष्ट्रिय बजार पुग्छ,” रविन्द्र भन्छन् ।  
सिनेमा उद्योगमा केही कमजोरी छन् भने त्यसलाई सिनेकर्मीले नै सुधार गर्दै लैजानुपर्ने मत राख्ने रविन्द्र भन्छन्, “हामी आफ्नी छोरी, बहिनी र भाञ्जीलाई पनि हिरोइन बनाउने वातावरण बनाऔं । सिने नगरी आफैं सभ्य बन्छ । न कसैसँग रोइकराई नै गर्नुपर्छ ।”
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC