
काठमाडौं । कवि नीलकण्ठ सुवेदीको कविताकृति ‘मुग्लानबाट देश नियाल्दा’को दोस्रो संस्करण एक समारोहबीच लोकार्पण गरिएको छ ।
राष्ट्रिका साहित्य प्रतिष्ठानले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनलगायत उपस्थित सबैले कृति लोकार्पण गरे ।
प्रमुख अतिथि पुनले कृतिभित्रका कविताहरूको चर्चा गर्दै कृतिभित्र विभिन्न भाव र शैलीका कविता भएको बताए । उनले आफू साहित्यलाई नजिकबाट नियाल्ने व्यक्ति भएकाले संस्थानले साहित्यिक संस्थाहरूसँग पनि सहकार्य गर्न सकिने संकेत गरे ।
कार्यक्रममा डा. शान्तिमाया गिरीले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै कृतिभित्र देश र परदेशका अनुभूतिहरू समेटिएको चर्चा गरिन् ।
अमेरिका बस्दै आएका कृतिकार सुवेदीले विदेश बस्दाको बेला मनमा आएका भावहरूलाई कृतिमा पस्केको बताए ।
साहित्यकार ऋषभदेव घिमिरेले यो कृति पहिले प्रकाशित भएर विदेशतिरका पाठक माझ मात्रै पुगेकाले यस पटक यतैबाट दोस्रो संस्करण प्रकाशनमा ल्याएको बताए । कृति राष्ट्रिका साहित्यिक प्रतिष्ठानले प्रकाशित गरेको हो ।
कार्यक्रममा शंकर भारती, राजेन्द्र केसी, बंगलादेशी साहित्यकार मनोजबहादुर गोर्खा, हरिबोल ढकाललगायतले बोलेका थिए ।