साहित्य
"बूढा, मेरो खुट्टा त दुई दिनदेखि दुखिरा'छ, साह्रै कष्ट भयो," साउनको दोस्रो साता मैले बूढा गोविन्दसँग भनें ।
"तुरुन्तै जाँचिहाल," उनले भने ।
म अलि बिन्दास पाराको मान्छे– चौथो दिन मात्र (२०७२ साउन २०) अल्का हस्पिटल गएँ । डक्टर बालकृष्ण आचार्यलाई भनें ।
उनले सोधे, "कस्तो दुख्छ ?"
मैले दुखाइको बयान गर्नै जानिनँ । भनें, "मलाई थाहा छैन । एक्सप्लेन गर्नै आउन्न ।"
उनले खररर युरिक एसिडको औषधि लेखिदिए ।
मैले भनें, "मलाई त युरिक एसिड छैन हजुर ।"
उनले पुलुक्क मतिर हेरे । आफूभन्दा बिरामी जान्ने भएको कुनै डक्टरलाई मन पर्दैन । उनलाई पनि त्यस्तै अनुभव भयो शायद ।
उनले एक हफ्ताको औषधि खाएर अर्को हप्ता आउन भने ।
मलाई चित्त बुझेन । भनें, "त्यसो भए एकपटक ब्लड टेस्ट गरौं न त ।"
उनले सपाट उत्तर दिए, "हैन, पर्दैन ।"
म सरासर निस्किएँ । अर्को दिन साउन २१ गते चिरायु अस्पताल गएँ । डक्टर दीपक महरालाई त्यही कुरा दोहोराएँ, "दुख्छ तर कस्तो भन्ने नै थाहा छैन । खुट्टा चिसो हुन्छ एकाएक ।"
उनले सोधे, "चुरोट तान्नुहुन्छ ? सुगर छ ? कोलेस्ट्रोल छ ?"
सबैको उत्तर 'नो' थियो । मेरो सम्पूर्ण जाँच भयो ।
जाँचिसकेपछि डक्टर बोहराले भने, "ढाडमा हड्डी खिइएर खुट्टामा असर परेको हो । नसा च्यापिएको भएर खुट्टा दुखेको हो ।"
त्यसपछि ढाडका दुई र खुट्टाको एउटा एक्स-रे भयो । रगत पनि जाँचियो । दुई दिनभित्र सबै रिपोर्ट आए । सबै नर्मल ।
छक्क पर्दै डक्टर दीपकले भने, "ल~~ मान्छे हेर्दा यस्तो देखेनि रिपोर्ट त खत्रा आयो त ।"
मेरो शारीरिक तौलले गर्दा सुगर, युरिक एसिडको शंका गरेका रहेछन् । सबै नर्मल भएपछि फिजियो गर्न भने । पेन किलर र मल्टी भिटामिन लेखिदिए । उनको निचोड थियो- समस्या नसाकै हो ।
त्यसको एक हप्तासम्म फिजियोथेरापी गरें । औषधि खाएँ । दुखाइ बीसको उन्नाइस भएन । झन् दुख्न थाल्यो । फेरि कुदेर चिरायु गएँ । फेरि केही टेस्ट भए ।
समस्या घट्दै घटेन ।
सेकेन्ड अपिनियन लिन नर्भिक गएँ । पीएचडीवाला डक्टर प्रवीण श्रेष्ठससँग त्यही कुरा बेलिविस्तार लगाएँ । उनले पनि तिनै प्रश्न गरे । मैले तिनै उत्तर दिएँ । खुट्टा चिसा हुन्छन् भन्नेमै बढी जोड दिएँ । उनले पनि तिनै टेस्ट दोहोराए । अनि काठमाडौं न्युरो हस्पिटल रेफर गरे ।
त्यही दिन न्युरो हस्पिटलमा रगतदेखि नसाका विभिन्न टेस्ट भए । ढाडको एमआरआई भयो । खुट्टाको अल्ट्रासाउन्ड गरियो । ब्लड टेस्ट गर्न ल्याबमा जाँदा कसैलाई देखिनँ । २-३ चोटि चिच्याएर बोलाएँ । एकजना बहिनी फ्वाङ्ङ मुख्मा खानेकुरा हालेर दौडिँदै आइन् । ल्याबको ढोका खोलेर हतारहतार रगत झिक्न खोजिन् ।
मैले भनें, "बहिनी, कि हात धुनुस्, कि पञ्जा लगाउनुस् ।"
उनी झर्किएर कुनातिर गइन् र स्यानिटाइजर लगाइन् ।
रिपोर्ट आयो । सबै नर्मल ।
उनले पनि डक्टर दीपक महराकै कुरा दोहोराए । म बल्ल ढुक्क भएँ र फिजियोमा लागें । तर, यसपटक एक महिनाको लागि ५ वटा औषधि थिए साथमा ।
अब मेरो रोग निको हुनेमा म निश्चिन्तजस्तै थिएँ । तर यो आशा धेरै दिन टिकेन । दुखाइ झन्-झन् बढ्दै गयो । खुट्टा झनै चिसा हुन थाले । १५ दिनजति मेरा दिनरात एक भए । खुट्टाले रङ् फेर्न थाले । चिसा भइरहे । औंलाहरू नीला र काला हुन थाले । तीन वटा औंलामा ग्यानग्रिन (gangrene) भइसकेको रहेछ । भेट्ने इष्टमित्रको लाइन लाग्न थाल्यो । उनीहरू पनि एकसे एक डक्टर निस्किए । सबैले आ-आफ्ना राय दिन थाले । धामीझाँक्री देखाउने पनि कुरा भए ।
म एकदमै हाँसिराख्ने मान्छे झन्डै दुई हप्ता निद्रा हराएपछि चिडचिडे भइसकेकी थिएँ । दुई हप्तासम्म टेन्ज मेसिन र अल्ट्रासाउन्डमा फिजिओथेरापी गर्दा राम्रो हुनुको साटो झन् च्यापेपछि इमर्जेन्सीमा अपोइन्ट्मेन्ट मागें । रिसेप्सनिस्टले एक दिनअघि लिनुपर्छ भन्यो । मेरो मर्करी १०६ मा पुग्यो ।
झर्किएर बोलें, "हिजो थाहा थिएन आज यस्तो हुन्छ भनेर …. । के पारा हो ?"
उनले अपोइन्ट्मेन्ट मिलाइदिए ।
डक्टर प्रवीणसँग मलिन स्वरमा भनें, "कि निको पार्दिनुस्, कि अर्को डक्टर रेफर गर्नुस् । नत्र म धामीकहाँ जान्छु ।"
उनी हाँसे । हथौडाले गोलीगाँठामा ठाकठुक पारेपछि ब्लु क्रसका डक्टर किरण श्रेष्ठलाई रेफर गरे ।
त्यही दिन ब्लु क्रस पुगें । डक्टर किरणले रेफरेन्स र सबै पुराना रिपोर्ट हेरेपछि दुइटा टेस्ट गर्नुपर्ने बताए, "पहिले डोप्लर (doppler) गरौं । क्लियर आएन भने सीटी स्क्यान एनजिओग्राम गरौंला ।"
म एकदमै आत्तिसकेकी थिएँ । त्यसैले सीधा सीटी स्क्यान एनजिओग्राम गर्ने भनें । यसमा धेरै नै खर्च लाग्ने बताए ।
मेरो डोप्लर टेस्ट गर्ने महिला डक्टर छक्क पर्दै गुगल सर्च गर्नतिर लागिन् । झन्डै १५ मिनेटपछि डक्टर किरणलाई फोन गरेर केही छलफल गरिन् । फेरि गुगल सर्च गरिन् । त्यसपछि भोलि रिपोर्ट लिन बोलाइन् ।
यतिबेलासम्म मैले छनक पाइसकेकी थिएँ- मलाई पक्कै केही ठूलै रोग लागेको छ । तैपनि रिपोर्ट हेर्नु थियो । त्यो रात पनि राम्ररी निदाउन सकिनँ ।
भोलिपल्ट रिपोर्ट हेरेपछि डक्टर किरण छक्क परे । अब निश्चित गर्न सीटी स्क्यान एनजिओग्राम गर्ने भने । अलिकति रिस पनि उठ्यो । भनें, "मैले त पहिले नै भनेकी थिएँ नि !"
उनी केही बोलेनन् ।
उनले केएमसीमा रेफर गरे ।
"यहीँ हुन्न ?"
"यहाँभन्दा केएमसीमा लेटेस्ट मेसिन छ, त्यहीँ जानुस् ।"
भोलिपल्ट केएमसी गएँ । त्यसका लागि १२ घण्टा खाली पेट बस्नुपर्ने रहेछ । अर्को दिन बिहान ९ बजेको समय लियौं ।
भोलिपल्ट बिहानै साढे ८ मा पुग्यौँ । ९ बज्यो, १० बज्यो । पालो आउँदै आएन ।
रिसेप्सनिस्टले कसलाई हो कुन्नि फोनमा भन्दै थिइन्, "नआत्तिनुस्, मेरो कनेक्सन छ अलिअलि, तेल मिलाइदिन्छु ।"
भारतले नाकाबन्दी गरेको बेला बजारमा सबै चिजको हाहाकार थियो ।
बिरामीको भीड बाक्लो थियो, बस्ने कुर्सी ३-४ वटाभन्दा बढी थिएनन् । म न त बसिराख्न सक्ने, न त हिँड्न नै ।
"एक्सक्युज मी ! मलाई ९ बजे बोलाउनुभएको थियो अहिले १०:३० भइसक्यो । पालो कतिखेर आउँछ ?" प्रतीक्षा लम्बिएपछि फोनमा व्यस्त रिसेप्सनिस्टसँग मुख फोरें ।
"पख्नुस् न । हिजैदेखिका अपोइन्टमेन्ट छन्," रुखो स्वरमा उनले भनिन् ।
११ बज्यो, १२ बज्यो । भोक र दुखाइले गर्द मेरो धैर्यको बाँध टुट्यो । झोंक्किएर भनें, "खै मेरो पैसा फिर्ता दिनुस्, म टेस्ट गराउन्नँ ।"
त्यसपछि हत्त न पत्त लुगा फेर्न लगाए । १ बजेतिर टेस्ट भयो ।
तीन दिनपछि रिपोर्ट लिएर डक्टर श्रेष्ठकोमा पुगेँ । रिपोर्ट हेरेपछि उनले प्रश्नको ओइरो लगाए, "बेस्सरी दुख्छ ? यहाँसम्म कसरी आउनुभो ? को छ साथमा ? .... ? …. ? …. ?"
लोग्ने गोविन्द कामविशेषले त्यही दिनमात्र मलेसिया हिँडेका थिए । ड्राइभरलाई साथ लिएर सकिनसकी एकतला भर्याङ उक्लिएकी थिएँ ।
सोधें, "के भएको रहेछ डक्टर ?"
केहीबेर रिपोर्टमा आँखा डुलाएपछि उनले भने, "इलिअक् (खुट्टामा रगत बग्ने नली मुख्य नली) बन्द छ, क्रोनिक भइसक्यो ।"
यसको अर्थ थियो- देब्रे कम्मरदेखि तल रगत बग्ने नली पूरै बन्द !
"दाहिने खुट्टा दुख्छ कि नाइ ?"
"दुख्दैन !"
"दाहिने पनि घुँडाभन्दा तल ब्लक छ ।"
म आत्तिएँ । शरीरमा पसिनाको मूल फुट्यो । मुख सुक्यो ।
"अब के गर्ने त ?" एकदमै मलिन स्वरमा सोधें ।
"सर्जरी गर्नुपर्छ," उनले सहज रूपमा भने ।
"गरौं न त त्यसो भए !" मनमा केही आशा पलायो ।
"अहिले नगर्ने," उनले भने, "३ महिना औषधि खाएर साइड भेन बलियो बनाउने अनिमात्र अपरेसन गर्ने ।"
अपरेसनपछि सम्पूर्ण निको हुन्छ कि हुन्न भन्नेमा म ढुक्क हुन चाहन्थें । सोधें, "पोस्ट सर्जरी प्रब्लम के-के हुन सक्लान् ?"
उनले भने, "ट्रान्स्प्लान्ट गरेको आर्टिफिसिअल भेन कुनै पनि बेला बन्द हुन सक्छ । पाँच वर्षमा चाहिँ फेर्नु नै पर्छ ।"
उपाय त रहेछ नि !
उहाँले प्रोटिन सी, प्रोटिन एसको टेस्ट गर्न नयाँ बानेश्वरस्थित एनआरएल ल्याब पठाए । रिपोर्ट आउन २ हप्ता लाग्ने रहेछ । स्याम्पल दिल्ली पठाइँदो रहेछ । हामीकहाँ त साधारण टेस्टमात्रै हुने रहेछन् । अर्बौंको लगानी छ, टेस्ट गर्नचाहिँ भारत नै पठाउनु पर्ने ।
मैले सारा रिपोर्टको फोटो खिचेर लोग्नेलाई भाइबरमा पठाएँ । डक्टरसँग भएको कुराकानी बेलिविस्तार लगाएँ । उनले आफ्ना साथीभाइलाई सेयर गरेछन् । होश उडाउने कुरा सुनेपछि उनी उत्तिखेरै फर्किएर आए । मैले पनि साथीभाइसँग सल्लाह गरें । दिल्लीको एम्समा पोस्ट ग्रयाजुयट गर्दै गरेकी मामाकी छोरी नीतिकासँग पनि सल्लाह गरें । अमेरिकाकी डक्टर साथी अञ्जुलाई पनि भनें ।
सबैको एउटै राय आयो- रोग पत्ता लगाउनै दुई महिना लाउनेले कुनै हालतमा सफल अप्रेसन गर्नेवाला छैनन् ।
त्यसपछि सर्वोत्कृष्ट डक्टरको खोजीमा लाग्यौं- गुगलको सहाराले ।
एउटा नाम आयो- डक्टर अनिल भान, मेदन्ता मेडिओसिटी ।
अनि दिल्ली जाने टुंगो लाग्यो ।
० ० ०
नोभेम्बर ८ को अप्पोइन्टमेनट मिलाएर दिल्ली उड्यौं ।
डक्टर अनिल र असिसटेन्ट रजियाले पुराना रिपोर्ट सबै हेरेर २० मिनेटजति मेरो जाँच गरे । फेरि सुरुदेखि टेस्ट गर्नुपर्ने देखियो । यो क्रम ३ दिनसम्म चल्यो ।
डक्टर अनिलले सबै रिपोरेट हेरेर रेडियोलोजिस्टसँग सल्लाह गरे । भोलिपल्ट १० बजे भने, "भर्ना हुनुस्, अपरेसन गर्नुपर्छ ।"
२०१५ नोभेम्बर १२ मा भर्ना भएर अन्डर-अब्जर्बेसन ट्रिट्मेन्ट सुरु भो । अघिल्लो दिनका सम्पूर्ण रिपोर्ट हेरेपछि डक्टर अनिलले मलाई फेमिली हिस्ट्री, मेरो खानपिन, मेरो काम, आनिबानी सबै सोधखोज गरे ।
त्यसपछि उनले भने, "तपाईंलाई करोडौंमा एकलाई हुने रोग पेरिफेरल आर्टरी डिजिज (PAD) भएको रहेछ । चेन स्मोकर, हाइ सुगर, हाइ कोलेस्टोरलले यस्तो हुन्छ । ५० वर्ष नाघेको व्यक्तिलाई हुन्छ, त्यो पनि करौडौंमा एकलाई ।"
छाँगाबाट खसेझैं भएँ । शब्दहरू मानौं मसँग छँदै थिएनन् बोल्न । डक्टरले भनेका कुनै पनि कुरा मसँग मेल खाँदैनथे ।
भनें, "केही मिलेनन् । आजसम्म मैले एकसर्को चुरोट तानेकी छैन । सुगर, प्रेसर र कोलेस्टोरल नर्मल छन् । उमेर पनि ४० ढिकढाकतिर छु । कसरी मलाई यो रोग लाग्न सक्छ ?"
फेरि भिटामिन बी १२, बी २५, प्रोटिन सी, प्रोटिन एसको टेस्ट भयो । रिपोर्ट फेरि नर्मल । अब प्रत्येक घण्टामा रगत झिक्दै टेस्ट गर्नुपर्ने भो । रगत नली पूरै बन्द भएकोले रगत पातलो गर्ने औषधि हेपरिन सुरु भइसकेको थियो ।
सर्जरी पक्का भएपछि पनि ३ दिनसम्म प्रत्येक घण्टा रगत झिक्दा म वाक्क भइसकेकी थिएँ । दुखाइ झन्-झन् बढ्दै थियो । मैले सकेसम्म छिटो अपरेसन गरिदिन आग्रह गरें । डक्टरले मुख्य कारणै पत्ता नलगाई सर्जरी गर्दा फेरि बन्द हुन सक्ने डर देखाएपछि चुपचाप लागें ।
अब म उभिन त के, बस्न/सुत्न पनि नसक्ने भएकी थिएँ । गोविन्दलाई २० वर्षमा पहिलो पटक रोएको देखें । दुखाइको हिसाबै थिएन । म त्यो दुखाइ कहिल्यै बयान गर्न सक्दिनँ ।
भन्छन्- बच्चा जन्माउँदा १० वटा हड्डी भाँचिए बराबर पीडा हुन्छ । मैले दुई सन्तानलाई जन्म दिँदा पनि त्यति दुखाइ भोगेकी थिइनँ, जति खुट्टा दुख्थ्यो ।
म हरेक सेकेन्डमा मर्थें र दोस्रो सेकेन्डमा जन्मिन्थें । मर्ने र बाँच्ने क्रम चलिरह्यो !
खप्न नसक्ने भएपछि रिपोर्टहरु नेगेटिभ आए पनि सर्जरी गर्ने कुरा भयो ।
"११ जना मान्छे खोज रगतको लागि," डक्टरले यसो भनेको सुन्नासाथ लोग्नेको दिमाग सुन्न भो ।
कहाँबाट ल्याउने यतिका मान्छे ?
भएभरका इष्टमित्र सम्झियौं । छोरीको बिहे नै छोडेर छोराका साथीका बुवा रणबहादुर दाइ आउनुभो । लोग्नेका र मेरा साथी पनि दौडिएर आए ।
हेर्दाहेर्दै रगत दिनेको ओइरो लाग्यो । सोच्यौं- जिन्दगीमा मान्छे कमाउनुजत्तिको ठूलो सम्पत्ति अरु केही रहेनछ । हामी सम्बन्धका खर्बपति रहेछौं !
सर्जरीको प्याटर्न आएपछि बल्ल हामी कहाँनेर कस्तो भीरमा लर्खराउँदै उभिएका रहेछौं भन्ने थाहा पायौं । गोविन्दको अग्निपरीक्षा त बल्ल सुरु हुँदै थियो ।
हामीलाई सुरुमा सर्जरीमात्रै भनिएको थियो । सर्जरीपछि म पहिलेजस्तै तन्दुरुस्त हुन्छु भन्नेमा ढुक्क थिएँ । त्यतिबेला संसार रित्तिएजस्तो भयो, जतिखेर डक्टरले सर्जरी प्याटर्न लिएर हामीसामु छरपष्ट पारिदिए ।
सर्जरी भनेको त देब्रे खुट्टा कम्मरदेखि र दाहिने चाहिँ घुँडाभन्दा तल काटेर फल्ने पो रहेछ !
गोविन्दलाई यति हतास मैले जीवनमा कहिल्यै देखेकी थिइनँ ।
मेरो हालत त म बयानै गर्न सक्दिनँ ।
तैपनि गोविन्दले डक्टरको टिमसँग भने, "अरु केही उपाय छैन ? छ भने कोसिस गरौं !"
डक्टरले भने, "इम्बेलेक्टोमी भन्ने हुन्छ तर त्यो थोरै ब्लक भएको अवस्थामा मात्र सम्भव हुन्छ ।"
"नेपालमा त बाइपस सर्जरी भनेको थ्यो त !"
डक्टर हाँसे ।
"बाइपस भनेको त एक–डेढ इन्च ब्लक हुँदा हो, यहाँ त पूरै नली बन्द छ, असम्भव छ ।"
मेरो शरीरमा करोडौं कमिलाले एकैपटक टोकेजस्तो भयो । आँखाका ढकनी बन्द नहुँदा कसरी अँध्यारो छाउँदो रहेछ- भोगें ।
मनचाहिँ मरिसकेको थिएन । कता-कता आशा भने बाँकी थियो ।
सोधें, "मिराकल हुन्छ डक्टर ?"
मैले लामो कुराकानीको दौरान कम्तीमा १० पटक 'मिराकल हुन्छ ?' भनेर सोधें । हरेक पटक डक्टरले दायाँवायाँ मुन्टो हल्लाए ।
अन्तिममा गोविन्दले भने, "अन्तिम उपाय त काट्ने छँदैछ । त्यसअघि एकपटक इम्बेलेक्टोमी गरिदिनुस् । विन्ती छ ।"
"समय र पैसाको नाश हो," डक्टरले भने, "बिरामीलाई पनि उस्तै दु:ख हुन्छ ।"
"यति दु:ख त पाइसकिन्, अन्तिम प्रयास गरौं," गोविन्दले लामो सास फेरेर भने, "केही उपाय नलागे तपाईंले भनेअनुसार गरौंला !"
खुट्टा काट्नु परे जिम्मेवार आफैं हुने सर्तसहित नोभेम्बर १७ मा सर्जरी तोकियो ।
चार घण्टा लामो सर्जरीपछि मेरो दोस्रो जीवन सुरु भयो । पोस्ट सर्जरी पीडा त छँदै थियो ।
४० घण्टापछि होश आउँदा डक्टरले 'कैसी हो ?' भनेको सुनें ।
मैले बुढी औंला देखाएर ठीक भएको भनें ।
दुखाइको चरम अवस्थामा मलाई भेन्टिलेटरमा राखिएको रहेछ । शरीरभरि मेसिनका तारैतार ।
मेरा हात चल्मलाएपछि गोविन्दका आँखा भरिए- खुसीले ।
भेन्टिलेटरबाट निकाल्ने भनेको ६ घण्टा म सेकेन्ड-सेकेन्ड गनेर बसें । गोविन्द आएर मलाई हेरे २ मिनेटजति । जिब्रो बाहिर, मान्छे मुढाजस्तो देखेर उनले आश मारिसकेका रहेछन् ।
यो थाहा पाएर मेरा आँखाका डिल भरिए ।
मेडिकल टिमको अथक प्रयास देखेर म चकित परें । आईसीयूमा बस्दा हरेक पल दुई जना स्ट्यान्डबाइ ! डक्टर प्रत्येक घण्टा आइरहने ।
मेरो पोटासियम लेवल घटेर पसिनाले शरीर निथ्रुक्क भिजिरहन्थ्यो । नर्स आएर कपडा र तन्ना फेरिरहन्थे । म अलि मोटो मान्छे- ड्युटीका दुई जनालाई साह्रै सकस भयो मलाई ओल्टाइ-पल्टाइ गर्न ।
नर्सिङ सेवा यस्तो राम्रो पनि हुँदो रहेछ भनेर मैले पहिलो पटक अनुभव गर्दै थिएँ । म ३-४ वर्षमा अस्पताल बसिरहनुपर्ने मान्छे । काठमाडौंका लगभग सबै अस्पताल बसेकी छु । २०११ मा निमोनिया भएर अल्का हस्पिटल बस्दा भयंकर सास्ती खेपेकी थिएँ । तन्ना फेरिदिन आग्रह गर्दा तीन दिनसम्म मतलबै नगरेपछि ओछ्यान फालेर करिडोरमा बस्न गएकी थिएँ ।
यहाँ त पसिना आउनासाथ नर्सहरूले कपडा फेरिदिन्थे ।
म नेपालका नर्स र यहाँका नर्स तुलना गर्थें । आकाश र पातालको तुलना शायद यस्तै अवस्थालाई वर्णन गर्न बनाइएको हुनुपर्छ ।
उनीहरूको सेवा देखेर म आफैंलाई अप्ठ्यारो लाग्यो ।
एकदिन भनें, "सरी, दु:ख दिएँ है !"
एक नर्सले भनिन्, "हामी तपाईंको सेवामा छौं, जे लाग्छ भन्नू । हामीले केही कम त गरेनौ नि ?"
उनीहरू पालो सकेर जान्थे र अरु आउँथे । दुखेर असह्य भइरहेका बेला उनीहरू छेउ आउँथे र हाँसेरै भन्थे, "हाँस्नुस् न । म मन परिनँ र ? पहिलेकी राम्री, म नराम्री है ?"
बिरामीलाई पुलपुले बच्चालाई जस्तो माया गर्थे उनीहरू । हाम्रा नर्सहरु चाहिँ ठीक उल्टा । उनीहरूको घरमा गएर पाहुना परेझैं व्यहोरा !
त्यहाँका नर्सको सेवा देखेर मलाई आफ्नै विगत सम्झना आयो ।
सन् २००७ मा उच्च ज्वरो आएपछि बी एन्ड बी गएकी थिएँ ब्लड टेस्ट गर्न । नमुना झिक्दा हातको नसा नै भेटिएन । ल्याबका कर्मचारी मसँग असाध्यै झर्किए । भर्ना भएपछि 'औषधि खान दिनू' भनेर कुरुवालाई जिम्मा लगाउँदै नर्सहरू आफ्नै सुरमा हिँडिदिए । राति स्लाइन सकिएपछि खबर गर्न अह्राएर नर्सहरु मेरै अघि मस्तले घुरे । स्लाइन सकिएपछि उठाउँदा आँखा मिच्दै झर्को मान्दै उठे । यताका नर्स हेर्छु- बोली पनि नानीहरुलाई कथा भन्न बसेको जस्तो, आँखा झिपिक्क छैन ।
बीएन्डबीमा स्लाइनको बोतल झुन्डाउँदै ट्वाइलेट गएको अनुभव थियो । यहाँ पनि त्यसै गर्न खोजें । नर्सहरु अत्तालिए र भने, "यहाँ यस्तो गर्न पाइन्न ।"
क्यानोला राखेको हातको औंला अलिकता सुन्नियो । तुरुन्त नसाको विशेषज्ञ बोलाएर फेर्न लगाए । मैले अल्का अस्पतालमा हिमालजस्तो पुक्क उठेको हातको नसा सम्झिएँ । ३ दिनसम्म नर्सले नसा पाउन गाह्रो छ भनेर झुलाउँदै राखेको सम्झिएँ ।
मैले नेपालका अस्पताल र यहाँका हरेक कुरा दाँज्न थालें ।
मेदान्ताका डक्टरहरु धेरै परामर्शपछि मात्र निर्णय लिन्थे । हाम्रा डक्टरहरू खरर औषधि लेखेर एक हप्तामा आउनू भन्छन् । हाम्रा नर्स बहिनीहरु हामीलाई ऋण खाएको आसामीजस्तो व्यवहार गर्छन् । यहाँका नर्सहरू किताबमा पढिएकी फ्लोरेन्स नाइटिंगेल जस्ता लाग्छन् ।
हामी भारतीयहरूलाई शत्रूझैं ठान्छौं । धोती भनेर हेप्छौं । तर, त्यहाँको जीवनस्तर, प्रगति अनि कार्यशैली देखेर हामी कता हो कता निम्छरा लाग्यौं । उनीहरूलाई हेप्ने हाम्रो हैसियत बन्न नै वर्षौं लाग्छ ।
मलाई भेन्टिलेटरबाट झिकियो । तारहरू निकालिए ।
डक्टरले भने, "खुट्टाका औंला नीलो (gangerene) भइसक्दा पनि नसाको उपचार गरिरहनु भनेको अति नै लापरबाही हो । किन र कसरी यस्तो भयो ?"
मसँग केही उत्तर थिएन । उत्तरजति नेपालका डक्टरसँग थियो ।
मलाई ३ महिना पूरै आराम गर्न भनियो । त्यसपछि म बिस्तारै हिँडडुल गर्न सक्छु भन्ने आत्मविश्वास पलायो । किनमेल गर्न सक्छु जस्तो लाग्यो ।
एक हप्तापछि डक्टरले भने, "अर्को पटक फलोअपमा आउँदा ग्यानग्रिन भएको औंला मात्र काटे पुग्छ ।"
मलाई दु:ख लागेन । किनकि खुट्टा त सग्लो हुन्थ्यो हिँड्न ।
डेढ महिनाको उपचारपछि म एक महिनामा फेरि फलोअपमा जाने गरी घर फर्किएँ । प्रत्येक हप्ता रगतको पीटी आईएनआर टेस्ट गरेर रिपोर्ट इमेल गर्ने या फोन गरेर भन्ने, अनि रिपोर्टअनुसार औषधिको डोज घटबढ गर्ने कुरा भयो । केही इमर्जेन्सी परे नेपालमा डक्टर सन्दीपराज पाण्डेसँग नर्भिकमा फलोअप गर्न भनियो ।
नर्भिक जान्छु त डक्टर प्रवीण र पाण्डेको कोठा आमनेसामने । रिसको पारो एकाएक चुलीमा पुग्यो ।
विशेषज्ञ डक्टर हुँदाहुँदै मलाई ब्लुक्रस किन पठाए ? मेडिकल मूल्य-मान्यता विपरीत उनले किन मलाई एक-एक महिना गलत उपचार गरे ? दैलोअगाडिको डक्टरमा किन रेफर गरेनन् ?
मसँग अनेक प्रश्न थिए ।
एक महिनापछि फलोअपमा जाँदा डक्टर भान छक्क परे । म झन्डै ५ मिनेट हिँड्न सक्ने भएकी थिएँ । औंलाहरु ठीक हुँदै थिए ।
चमत्कार नै मान्नुपर्छ- आज म साधारण काम गर्न सक्छु तर जिन्दगीभर औषधिको भरमा बस्नुपर्छ । मेदान्ताका डक्टरले यसलाई चमत्कार माने ! झन्डै दुई महिना रगत बन्द भएर बाँच्नु सानो चमत्कार थिएन ! जमेको रगतको एउटा मात्र पार्टिकल पनि दिमाग या मुटुमा पुगेको भए म उहिल्यै मरिसकेकी हुन्थें रे !
० ० ०
आफूले भोगेर मैले नेपालको मेडिकल क्षेत्रमा हुने लापरवाही, गैरजिम्मेवारीपनलाई नजिकबाट देख्ने मौका पाएँ । मेरो रोग एक हप्ताभित्र रोग पत्ता लागेको भए रगत पातलो बनाउने साधारण औषधिले नै पुग्ने रहेछ ।
किन डक्टरहरु बिरामीलाई सास्ती दिन्छन् ? आफ्नो पेसामा रमाएर काम गर्ने नर्स किन छैनन् ?
दिल्ली त धुम्म- जाडोले पनि मर्ने, गर्मीले पनि मर्ने ठाउँ । यस्तो ठाउँमा कति देशका मान्छे आउँछन् । हाम्रो देश त हिमाल र पहाड देखिने, घाम झलमल्ल लाग्ने सुन्दर ठाउँ । अलि गर्मी लागे कपडा कम गरे भो, जाडो लागे एउटा न्यानो कपडा थपे भो, कस्तो सजिलो ! अस्पताल हेर्दा पनि दिल्लीको भन्दा कम छैनन् । मेडिकल टिमको कस्तो यट्टिट्युड !?!
दिल्ली बसुन्जेल मैले धेरैपटक गोविन्दसँग भनें, "हाम्रो देशमा मेडिकल टुरिज्म गर्न सकिन्छ होला है ?"
नेपालमा धेरै अस्पताल बन्दै गरेको देख्छु र सुन्छु । स्वास्थ्यमन्त्री पनि आशा लाग्दा व्यक्ति बन्नुभएको छ ।
प्रिय स्वास्थ्यमन्त्री गगन थापाज्यू !
सकीनसकी विदेशी अस्पताल धाउनुपर्ने हामीजस्ता साधारण मान्छेले देशमै ढुक्कले उपचार गर्ने दिन आउलान् ?
प्रकाशित मिति: शनिबार, असोज २९, २०७३ ०९:१४
प्रतिक्रिया दिनुहोस्