काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अहिले थप २३ हजार शिक्षक आवश्यक रहेको बताएका छन् । गुणात्मक शिक्षा नै अहिले शिक्षकहरुसँगको अपेक्षा रहेको बताउँदेै उनले शिक्षकहरुको उचित व्यवस्थापनको लागि दरबन्दी मिलान गर्न कार्यदल बनाएर काम भइरहेको जानकारी दिए ।
शिक्षासेवी प्रजापति प्रसाईंको नाममा स्थापना गरिएको पिपि प्रसाईं फाउण्डेशनको आयोजनामा बिहीबार काठमाडौंमा भएको पुरस्कार वितरण तथा सम्मान समारोहमा बोल्दै मन्त्री पोखरेलले शिक्षक कक्षा कोठामा रहेमात्र गुणात्मक शिक्षाको कुरा गर्न सकिने बताउँदै गुणस्तरीय शिक्षाका लागि शिक्षक सेवा आयोगबाट अहिले पारदर्शी ढंगले शिक्षक छनौटको काम भइरहेको बताए ।
प्राविधिक धाराको विषय अध्यापनको लागि दक्ष शिक्षकको पनि आवश्यकता रहेको औल्याउँदै मन्त्री पोखरेलले प्रयोगशाला र प्रशिक्षकहरु निर्माणको लागि अझै धेरै मेहनत गर्नु पर्ने आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकारी सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अध्यापनलाई प्राथमिकता दिएको जानकारी दिए ।
“हामीले यो वर्ष ९५ वटा सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षा पढाउने अनुमति दिएका छां । निजी होइन, अब सरकारी सामुदायिक विद्यालयबाट नै प्राविधिक शिक्षालाई जोड दिनुपर्छ,” उनले भने ।
कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट शिक्षकहरुलाई राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गरिएको छ । शिक्षामन्त्री पोखरेलले म्याग्दीकी शिक्षिका थममाया पुनलाई पीपी प्रसाईं राष्ट्रिय उत्कृष्ठ शिक्षक पुरस्कार–२०७५ र पर्यटन व्यवसायी प्रभाकर शमशेर राणालाई पीपी प्रसाई टुरिज्म लाईफटाइम अचिभमेन्ट अवार्ड २०१८ द्वारा सम्मानित गरिएको छ ।
प्रतिष्ठानले हरेक वर्ष शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने शिक्षकलाई राष्ट्रिय उत्कृष्ठ शिक्षक पुरस्कारसहित ५० हजार नगद र सात प्रदेशमा एकएक जनालाई उत्कृष्ठ शिक्षक पुरस्कारसहित २५ हजार नगद र विजयी शिक्षकले अध्यापन गराउने सबै विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामग्री प्रदान गर्दै आएको छ ।