Skip Advt.
ad

साहित्य र कला

भित्तेका उद्घाटन माला

भित्तेका उद्घाटन माला

– जगदीश घिमिरे


आमालाई क्यान्सर भएछ । खानै छोड्नुभो । ठाडै सुकेर जानुभो ।

सबैलाई ख्वाइसकेर उब्रियो भने खानुहुन्थ्यो । उब्रेन भने ‘आज मेरो बर्त’ भन्नुहुन्थ्यो । आइतबार सूर्यको, सोमबार शिवको, मंगलबार गणेशको । हरेक बारका इष्टदेव छन् । तेसमाथि कैले एकादशी । कैले प्रदोष । भँडारमा सर्दाम र भान्सामा खाने नभएपछि आमाको बर्त हुन्थ्यो । भन्नुहुन्थ्यो, “अर्को जुनी यस्तो नहोस् ।”

म भन्थें, “आमा, नयाँ नेपालमा त्यस्तो हुँदैन ।”

“भो, तेरो नयाँ नेपाल आयो नापेर ! मेरो अर्को जुनीमा आउँछ !”

“यै जुनीमा नआए म तपैंको छोरै हुइनँ । आमा, नयाँ नेपाल तपैंको यै जुनीमा आउँछ । नयाँ नेपाल आएपछि तपाईंको कायाकल्प हुन्छ ।”

हेर्दाहेर्दै आमा पटक्कै नखाने हुनुभो । गाँस थिएन । बास थिएन । उपचार थिएन ।

“आमा बोल्नुस् न !”

आमा बोल्नुहुन्न ।

“बोल्नुस् न आमा बोल्नुस् ।”

आमा सकीनसकी बोल्नुभो, “म बोलेर के, नबोलेर के ? मेरो कुरा कल्ले सुन्छ र ? मैले किन बिनसित्ती बोली खेर फाल्नु ?”

० ० ०

बा कांग्रेस हुनुहुन्थ्यो । माओवादीले मारे । हाम्रो घरजग्गा लुटे । बस्तुभाउ काटेर खाए । अन्नपात, लत्ताकपडा लगे । हाम्रो बनिबास भो । हामी माग्ने भयौं ।

बाले मेरी सौतेनी जेठी आमालाई उहिल्यै अलिअलि खेतबारी दिएर भिन्नु गराइदिनुभाथ्यो । सौतेनी दाजु दारा किटेर भन्थ्यो, “यो बाउ भन्नेले हाम्लाई दिनु दुःख दियो । मेरी आमालाई घरबाट निकाल्यो । अंशमा मार्‍यो । अन्याय गर्‍यो । यस पातकी बूढोलाई मैले जान्या छ !”

माओवादीको भर्ती खुलेपछि ऊ तेता लाग्यो । बालाई मारेको एक महिनापछि शाहीसेनाले उसलाई र गाउँका अरू सात जानालाई मारे ।

आफन्तले यशगान गरे— कटुवालकी बुहारी कस्ती लच्छिनकी ! पैले ससुरो टोकी, पछि पोइ ! अनि भाउजूले आफैंलाई टोकी, भीरबाट हाम्फालेर मरी । भतिजी बिक्री भै । भतिजो इराकमा सेरियो ।

शान्ति–सम्झौता भयो । माओवादीले लुटेको सम्पत्ति फिर्ता गर्ने भए । उनीहरू बोलीका पक्का हुन्छन् । गर्छु भनेपछि गर्छन् । मार्छु भनेपछि मार्छन् । मैले पत्याएँ । माओवादीलाई भनें, “हाम्रो जग्गा फिर्ता देऊ ।”

उसले भन्यो, “हामीले तँलाई गाउँ नै फिर्ता दिएपछि त्यो नाथे जग्गाको के कुरा ?”

“के भनेको ?”

उसले मलाई हाते बन्दुक ताकेर भन्यो, “यी यो भनेको ! हामीले तँलाई गाउँ फिर्ता दियौं भनेको । गाउँमा आउने जाने छुट दियौं भनेको । आफ्नु गाउँ मुठ्याएर बस् । बढी बोलिस् भने तँ सालालाई ... !”

० ० ०

मेरो ‘तँ...तँ’ भन्ने एक आँतको साथी सन्तेको पनि घरजग्गा लुटिएर उठीबास लागेको थियो । उसको यौटा खोरिया बारी थियो, माओवादीले पनि काम नलाग्ने भनेर बाँझै छोडेको । ऊ काठमान्डु बस्थ्यो । भेट्न गएँ । ठूलो मान्छे भको रछ । पालेपहरा राखेर ठूलो घरमा बस्दो रछ । गाउँ छोडेपछि अर्कै मान्छे भएछ । नाउँ पनि फेरेछ— सन्तेबाट सानुराजा ।

उसको चालचलन र रवाफ देखेर मलाई तँ भन्ने आँट आएन । भनें, “मलाई तपैंको बाँझो बारी अधियाँमा कमाउन दिनुस् ।”

हाम्रा बिचल्लीका लामा कुरा भए । मैले उसलाई सधैं ‘तपाईं’ भनें । उसले मलाई सधैं तँ भन्यो । अन्तमा भन्यो, “के उँभो लाग्छस् तेस्तो नाथे बारी कमाएर ! भोकै मर्छस् । मसँग काम गर्न लाग् । उँभो लाग्छस् ।”

“के काम ?”

“वारपार गर्ने काम ।”

“के वारपार गर्ने ?”

“जे पनि ।”

“जस्तो ?”

“हातहतियार, ड्रग, स्म्याक, ब्राउनसुगर, गैंडाको खाक, कस्तुरीको बिना, बाघको हाड, भालुको पित्त, यार्सागुम्बा, जडिबुटी, डलर, रक्तचन्दन, जाली नोट, जाली पासपोर्ट, रातो पासपोर्ट, चेलीबेटी, चेलाबेटा, अपहरण, फिरौती । हामीसँग अनेक कारबार छन् । तँलाई जे मन लाग्छ गर्, रोजेको दिन्छु,” उसले एकसासमा भन्यो । उसका प्रत्येक शब्दले मेरो आङ सिरिङ–सिरिङ पारे ।

सोधें, “जिउज्यानमा कत्तिको खतडा छ नि ?”

“जिउज्यानमा खतडा त छ । तर, ज्यानमारा नै हाम्रा सहयोगी हुनाले खासै खतडा छैन ।”

“को हुन् त ती ?”

“जससँग बन्दुक छ, यहाँदेखि संसारभरिका । जसले बन्दुकको बलले राज्य गरिरहेका छन् । हेर्, संसारमा दुईथरी बन्दुकको शासन छ । एकथरी सरकारी बन्दुक । अर्कोथरी अनेक विद्रोही र अपराधी बन्दुक । जंगी, निजामती हाकिम–बडाहाकिम, पार्टीका हाकिम, बडाहाकिम नेता, मन्त्री, प्रधानमन्त्री हामीलाई सबैको आशीर्वाद छ । हामी उनीहरूकै काम गर्छौं । सबैले आफ्नो ज्यान, सीप र ओहोदाको लगानी र औकातअनुसार बाँडिचुँडी खान्छौं । सानातिना पकडा–सकडा र कारबाही त हात्तीका देखाउने दाँत हुन् । मसँग लाग् । जुनी सप्रन्छ । तैंले मेरो ज्यान जोगाएको काँ बिर्सन्छु ! तैंले गर्दा बाँचें, तस्करहरूको राजधानी काठमान्डु आएँ र यो मेलोमा लागें । यो तेरो देन हो । तँ पनि मजस्तै लखेटिएको मान्छे होस् । म तँलाई मद्दत गर्छु ।”

म अन्कनाएको देखेर भन्यो, “मकहाँ एक साता बसेर मेरो चमत्कार हेर् । अनि तँलाई जे मन लाग्छ, गर् ।”

मैले एक साता उसको घरमा ‘गाउँबाट आएको नयाँ वेटर’ भएर दिनदिनै हुने रात्रिभोजमा साँझदेखि बिहान भाले बास्ने बेलासम्म काम गरें । मलाई कपाल काटेर र लुगा, जुत्ता फेरेर चिटिक्क पारे । वेटरको सोमत र ‘हजुर’, ‘प्रभु’ र ‘स्योस्’को भाषा सिकाए । जंगी, निजामती र सबै राजनीतिक पार्टीका हाकिम, बडाहाकिम आउँथे । घरैको यौटा भित्तामा सिनेमा हेर्ने चाँजो भएको ससानु पार्टी प्यालेस थियो । उनीहरू संसारका सबैभन्दा महँगा मदिराका चुस्कीले रुसी माछाको फुल (क्याभियार), जापानको गाईको मासु (बिफ), नर्वेको माछा (साल्मन), बेलायतको दूधे बाछाको मासु (भिल), प्रतिबन्धित हरिनको सुकुटी र बँदेलका चौटा निल्थे । बम्बैको फिल्ममा नाच्ने गाउने भारत–सुन्दरीहरू ल्याएर पाँचतारे होटेलमा राख्थे र साथमा लिएर आउँथे । तिनका चुम्बनले आफ्ना ओठमुख चुठ्थे । ब्लु लेबल ह्विस्की, पाँचतारे ब्रान्डी, दुष्प्राप्य वाइनको मातमा नीला सिनेमा हेर्थे र आफूहरू पनि नीला पात्र बन्थे । रात्रिलीला सकेर मात्र दिवसलीलाको मेलोमा लाग्थे ।

एक सातापछि मैले भनें, “हुजुरको बाँझो बारी अधियाँ कमाउन दिस्यो भने मलाई पुग्छ । अरू केही चाहिँदैन ।”

उसले भन्यो, “थुक्क बुद्धि ! तँ गुको कीरो । गुको कीरो गुमै रमाउँछ । त्यो खोरिया तँलाई सित्तै राजीनामा पास गर्दिन्छु । हे दुर्बुद्धि ! तैंले दुःख पाउँछस् । सहुन्जेल सही । असह्य भएपछि मलाई सम्झेस् । तेरो लागि मेरो ढोका सधैं खुला छ । तैंले मेरो ज्यान बचाको बिर्सन सक्तिनँ ।”

उसले मलाई बाटोखर्च भनेर राम्रै रकम दियो । म हच्किएँ । उसले भन्यो, “यो देशमा ब्रह्मलुट छ । सरकारमा बस्नेले राज्य लुटिराका छन् । तेस्को बाछिटा मकहाँ पनि अलिअलि आइपुग्छ । तैंले धक मान्नुपर्दैन । लैजा ।” मैले हात थापें । मलाई भाउन्न भो । थचक्क बसें । अनि उसको ज्यान बचाएको प्रसंग सम्झें ।

० ० ०

मेरो सौतेनी दाजुले भन्यो, “हेर कान्छा, मलाई तँसँग क्यै रिसराग छैन । म तँलाई माया गर्छु । तेसैले भनेको, तँ घर नबस्, तँ मसँग माओवादीमा लाग् । सन्तेलाई पनि लगा । यो गाउँका होनहार केटा तिमीहरू नै हौ ।”

उसले माओवादीका धेरै भित्री कुरा बतायो । धेरै आस, त्रास देखायो । मैले सन्तेलाई दाजुले भनेका सबै कुरा भनें । ऊ र म भाग्यौं । म भरतपुरतिर लागें । सन्ते नाता छन् भनेर काठमान्डुतिर लाग्यो ।

माओवादीले एकै रात मेरो बा र सन्तेको बासमेत हाम्रो गाउँका चार जनालाई मारे । सन्तेको र हाम्रो घरजग्गा कब्जा गरे । आमा, दुलही र बालबच्चा भरतपुरमा भाँडा माझेर गुजारा गर्न लाग्यौं । सन्तेको परिवार काठमान्डुतिर लाग्यो । माओवादीले घरजग्गा फिर्ता दिन्छ भनेपछि म गाउँ फर्कें । सन्ते फर्केन ।

० ० ०

सानुराजा भएको सन्तेले बकस दिएको बारीको बाँझो फोरें । बाली लाएँ । अर्काको अधियाँ पालेको भैंसी मकहाँ दुई बेत ब्यायो । दुवै बेत पाडी पायो । मेरो भागमा यौटा पाडी आयो । सर्वस्वहरणपछि बल्लतल्ल सासको धन यौटी पाडी जोड्न सकेको थिएँ । त्यो ब्यायो । मोई आफूले खाएर घिउ बेच्ने र यौटा बाख्री किन्ने सुर थियो । बाख्रीले जोर पाठा पाउन लागी भने अलि उँभो लागूँला कि भन्ने आस थियो । त्यै बेलामा आमाले खान छोड्नुभो । बोल्न छोड्नुभो । बसउठ गर्न पनि नसक्ने हुनुभो । आफन्तलाई देखाउन पनि अस्पताल लैजानै पर्‍यो ।

अभर परेको देखेर गाउँका दयालुले मलाई यसरी छोपे, जसरी दुवाली फर्काएर सुकाएको भँगालोमा माछा छोप्छन् । दयालुहरूले भने, “बेच्छस् भने एक रुपियाँसम्म दिउँला । हुन त तेरो भैंसी तीन मोहर जाने हो । मसँग त्योभन्दा बढी रकम छैन । तेरो आमाको दया लागेर किनिदिन लागेको हुँ ।”

मलाई थाहा थियो— मेरो भैंसी घटीमा पनि पाँच मोहोर जाने हो । एक रुपियाँमा त्यो लैनु भैंसी बेचेर आमाको औषधी गर्न हिँडें । घर त राजधानीको झिलिमिलिनिरै थियो । तर, तुइनमा त्रिशूली तरेर मात्रै बस चढ्ने बाटोमा पुगिन्थ्यो ।

त्रिशूलीको डरलाग्दो भेल ! पानीमा आँखा पर्‍यो कि कहाली लाग्थ्यो । आमालाई तुइनमा झुन्ड्याएर आँखा चिम्लिनुस् भनें । आफू पनि झुन्डिएँ । फलामको डोरीको भरले तर्न लाग्यौं ।

यौटा हेलिकप्टर हामीमाथि उड्न लाग्यो । मैले देखें— त्यसमा पदको न्यानोले गजक्क फुलेर प्रधानमन्त्री बसेको छ । पदीय श्रीपेच लाएको फोटो भित्तामा टाँग्ने सोख पूरा गर्न भएका अनेकमध्ये ऊ पनि एक भित्ते प्रधानमन्त्री हो । ऊ श्री १००८ स्वामीको भैंसीपूजन महायज्ञको माक्र्सवादी उद्घाटन गरेर फर्केको छ । उसका साथमा पदीय चाँदतोडाको न्यानोले फुलेल मन्त्रीहरू छन् । तेस्तै अरू फुलेलहरू पनि साथमा छन्— राष्ट्र बैंक र योजना आयोगका बडाहाकिम, विश्व बैंक, एसियाली बैंक, संयुक्त राष्ट्रसंघका बडाहाकिम, आईएनजीओ, एनजीओका, उद्योग व्यवसायका बडाहाकिम ।

तुइन तरुन्जेल मैले उनीहरूका कुरा सुनें । हामी निमुखालाई देखाउँदै ती देशीविदेशी सहयात्री सेवकहरूलाई उसले भन्यो, “हेर्नोस्, हामीहरूको देशको अवस्था यस्तो छ । हाम्रा जनताले त्रिशूली, कोसी, कर्णालीजस्ता नदी तुइनमा तर्नुपर्छ । यिनीहरू रोजगारी वा उपचारका लागि जान लागेका हुन् ।”

विदेशी बडाहाकिमहरूले भने, “त्यसैले त हामी छौं । हामी रिन दिन्छौं । धन दिन्छौं । तपाईं लिनोस् । आफू बन्नुहोस् । आफ्नालाई बनाउनोस् । हाम्रो जागिर खाइरहने मेलो बसाइराख्नोस् ।”

“ठीक । प्रधानमन्त्रीले के गर्नुपर्छ ?”

“हेलिकप्टर चढेर उद्घाटन । देश विकासका लागि त्योभन्दा ठूलो अर्को काम हुन सक्तैन,” हेलिकप्टर कम्पनी मालिकले भन्यो । सबै हेलिकप्टर कम्पनीमा जस्तै यस कम्पनीमा पनि हरेक प्रधानमन्त्री हुनेले पदेन हिस्सा पाउने बन्दोबस्त थियो ।

“त्यो त म दिनदिनै गरिरहेको छु । संविधानसभा छोडेर, संविधान बनाउने कस्ताकस्ता महत्वपूर्ण मिटिङ छोडेर गरिरहेको छु । तपाईंहरूले मलाई साथ दिइरहनुभएको छ । हा हा हा ...!”

सबैले खुशीले त्यसरी अट्टहास गरे, जसरी नेपाली गणतन्त्रमा नेता हाँसेका छन् । म त्यसरी तर्सें, जसरी जनता तर्सेका छन् ।

“उद्घाटनको सबभन्दा महत्वपूर्ण कुरा के हो ?” भित्तेले सोध्यो ।

दुई दर्जन पार्टीको सरकार थियो । पाँच दर्जन मन्त्री थिए । दुई सय मन्त्रीसरह खान्की खाने बडानेता थिए । उनीहरू दिनदिनै त्यसैगरी हेलिकप्टरमा उडेर उद्घाटन गर्थे । भित्तेको उपप्रधानले भन्यो, “देश विकासको प्रमुख सूचक हो— उद्घाटनमा प्रमुख व्यक्तिलाई लाइने मालाको वजन ।”

सबै देशी–विदेशीले त्यस महावाणीमा सहमति जनाए । निकै दशकदेखि उनीहरू सबैको सदिच्छा, सहयोग नेपालको विकास उद्घाटनमा लाइने मालाको वजनले गरिरहेको थियो ।

“आजको मालाको वजन कति थियो ?”

“चवालिस किलो ।”

“यो अहिलेसम्मकै सबैभन्दा वजनदार होइन त ?” भित्तेले गद्गद् भएर सोध्यो ।

“हो ।”

यसअघिको भित्तेले पाएको सबैभन्दा ठूलो मालाको वजन बाइस किलो मात्र थियो ।

फलामे डन्डीको अन्डाकार चूरोलाई एक हात मोटो फूलैफूलले ढाकेर ठूलो माला बनाएको थियो । मान्छेभन्दा अग्लो र टेवा लाएर ठड्याएको त्यस मालाको बीचमा कार्टुनजस्तो उभिएको र मुसुक्क हाँसेको भित्ते प्रधानमन्त्रीको तस्बिर भोलिपल्ट छापाको मुख्य समाचार भयो । उसको टोली मालाको छेउमा उभिएर किच्च हाँस्दै आफैंलाई स्याबासी दिइरहेको थियो । हामी पारि पुग्यौं । हेलिकप्टर बाटो लाग्यो । डाक्टरले आमालाई जाँचेर भन्यो, “क्यान्सर !”

० ० ०

संविधानसभाको चुनाउ भएको दिन आमालाई अस्पताल हुल्नुपर्‍यो । भित्र अनेक उपचार चले । बाहिर अस्पतालको ढोकामा हामी पोलेको मकै बेचेर र होटेलको भाँडा माझेर गुजारा गर्न लाग्यौं । दुई वर्षमा बिसेक पार्छौं भन्ने ग्यारेन्टी लिएका थिए । दुई वर्ष बिते । बिसेक भएन । म्याद थप्दै गए । तीन वर्षपछि ठूलो अस्पतालमा लगेर अपरेसन गर्नुपर्छ भने । काठमान्डुको संविधानसभा जत्रो अस्पतालमा लगेर अर्धविचेत अवस्थाकी आमालाई सुताएँ । ६ सयको हाराहारीमा एकसेएक डाक्टर, नर्स र सहायक रछन् ।

नम्बर एक रछ डाक्टर दाहाल थरी । नम्बर दुई रछ कोइराला । नम्बर तीन रछ नेपाल । नम्बर चार रछ खनाल । अनि त के–के थरी हुन् के–के— भट्टराई, वैद्य, पौडेल, देउवा, सिटौला, ओली, पोखरेल, यादव, गुप्ता, ठाकुर, महतो, महरा, श्रेष्ठ, यमी, घर्तीमगर, गुरुङ, महत, रिजाल, झा, सिंह आदि ।

आमालाई अपरेसन गर्ने भनेर भित्र लगे ।

अपरेसन गर्नुभन्दा पहिले आमाले सकीनसकी झिनो स्वरमा भन्नुभो, “मेरो रोग घाँटीमा छ, प्रभु । रोगले गर्दा म बोल्न नसक्ने भकी छु । मलाई बोल्ने सक्ने बनाइदेऊ । बोली फुकाउने विधान गरिदेऊ ।”

मूल डाक्टरले भन्यो, “रोगी भएर बढी बोल्ने होइन । हामीले जहाँ भन्छौं, रोग त्यहीँ हुन्छ । जे भन्छौं, रोग त्यही हुन्छ ।”

छुरी चले । आमाको घाँटीमा क्यान्सर थियो । पेटको अपरेसन गरेर पाठेघर मिल्काइदिए ।

आमा हलचल गर्न छोड्नुभो । डाक्टरहरू अमर हुने मेलोमा लागे ।

म सानुराजाकहाँ गएँ । उसको गोडामा छाँद हालेर भनें, “प्रभू, म हजुरको शरणमा आएँ ।”


(स्रोतः अन्तर्जाल)
 

तपाईंको मत