काठमाडौं । हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म मनाइने स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । यस वर्षको नारा “स्तनपान जीवनको आधार” तय गरिएको छ । वश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो ।
अझै पनि महिलामा चेतनाको कमीले गर्दा कम दूध आउँदैमा नचुसाई अरु सुत्केरीलाई चुसाउन लगाउने, दिनमा ३ वा ४ पटकमात्र स्तनपान गराउने, दूध कम आए बोतलको दूूध वा अन्य लेक्टोजिनजस्ता कृत्रिम तयारी दुग्ध पदार्थ ख्वाउने चलन बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी जन्मेको पहिलो दिनदेखि ६ महिनासम्मका शिशुलाई स्तनपान गराउनु खोप लगाएसरह हुने बताउँछन् । “शिशुको अधिकतम वृत्तिविकास जन्मेको ६ महिनासम्म हुन्छ । शिशुलाई जन्मेको १ घण्टाभित्र सुरु गरी ६ महिना नपुग्दासम्म लगातार स्तनपान गराउनुपर्छ,” उनले भने, “स्तनपानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपना लगायतका रोगबाट बचाउँछ ।”
बाल महाशाखाका निर्देशक डा. मुकुन्द गौतमले आमाको दूधमा पाइने कोलस्ट्रम (बिघौती) दूधमा विभिन्न रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी) हुने हुँदा शिशुलाई झाडापखाला र निमोनिया जस्ता घातक संक्रमणबाट बच्न सकिने बताए ।
“स्तनपान गराउने महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप–२ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून रहन्छ,” उनले भने, “नेपालमा आमाको दूधको सट्टामा बट्टाको दूध वा अन्य दुग्ध पदार्थ बिक्रीवितरण गर्न नपाउने कानुन वनेको छ, तर त्यसको कार्यान्वयन हुन सकेको छैन ।”
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदनअनुसार ५ वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपना, १० प्रतिशतमा उचाइ अनुसार दुब्लोपना, २७ प्रतिशतमा उमेर अनुसार कम तौल र २४ प्रतिशत जन्मदा कमतौल भएका हुने गर्छन् ।