site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हरिचरण
Sarbottam CementSarbottam Cement

– शरत्चन्द्र चटोपाध्याय


धेरै अगाडिको कुरा हो यो । लगभग १०–१२ वर्ष बितिसकेको छ । त्यतिखेर दुर्गादास बाबु वकिल बनिसकेका थिएनन् । दुर्गादास बन्द्योपाध्यायलाई तिमीहरू शायद त्यति राम्ररी चिन्दैनौ होला, म धेरै राम्ररी चिन्छु । आऊ, आज ऊसँग परिचय गराऊँ ।

बाल्यकालमै कतैबाट एक अनाथ मातापिताविहीन कायस्थ बालकले रामदास बाबुको घरमा आश्रय लिएको थियो । सबै भन्थे कि यो बालक साह्रै असल छ । असल र बुद्धिमान पनि । दुर्गादास बाबुका पिताजीको ऊ प्रिय घरेलु कामदार (नोकर) थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सबै काम उसले आफूमाथि नै लिँदै आएको थियो । गाईलाई चारा हाल्नेदेखि बाबुलाई तेल लगाउनेसम्मका सबै काम ऊ आफैं गर्न चाहन्थ्यो । उसलाई सर्वदा व्यस्त रहनुमै आनन्द लाग्थ्यो ।

बालकको नाम हरिचरण थियो । उनकी (रामदास बाबुकी) गृहिणी अक्सर हरिचरणको काम देखेर अचम्म पर्थिन् । बीचबीचमा उसलाई फट्कार्थिन् पनि । भन्थिन्, “हरि, अरु पनि त छन् नोकरहरू, तँ अहिले बालकै छस् । किन यति खटिरहेको छस् ?”

Global Ime bank

हरिका अवगुणमध्येमा थियो उसको हँसाइ । हाँस्न खुब मन पथ्र्यो उसलाई । ऊ हाँसेर जवाफ दिन्थ्यो, “आमा, हामी गरिब छौं, त्यसैले खट्नु त पर्छ नै सधैं । फेरि यत्तिकै बसेर मात्रै पनि के हुन्छ र ?”

यसरी कामकाज, आराम र स्नेहमा हरिचरणको करिब एक वर्षको समय बित्यो ।

सुरो रामदास बाबुकी सानी छोरी हुन् । सुरोको उमेर ५–६ वर्षको भइसकेको छ । सुरोको हरिचरणसँग खुब मिल्ती छ । दूध पिउने विषयमा आमासँग एक किसिमले युद्धजस्तै हुन्थ्यो । त्यतिबेला जति गर्दा पनि आमाले सुरोमाथि काबु पाउन सक्दिनथिइन् । दुग्धपानको विशेष आवश्यकता तथा यसको अभावमा कन्याको अवस्थाको आशंकाबाट उनी उद्विग्न हुन्थिन् । त्यसबेला हरिचरणको कुराले काम बन्थ्यो । खासमा सुरो हरिचरणलाई एकदमै मनपराउँथिन् ।

दुर्गादास बाबुको उमेर जतिखेर २० वर्षको थियो, त्यस बेलाको कुरा भन्दै छु । दुर्गादास त्यतिबेला कलकत्तामा पढ्दै थिए । घर आउनका लागि उनलाई स्टिमरबाट दक्षिणतिर जानुपथ्र्यो । यसपछि करिब १०–१२ कोस जमिनमा पैदल हिँड्नु पथ्र्यो । यो घरको बाटो सहजगम्य थिएन । त्यसैले त दुर्गादास बाबु अक्सर घर आउँथेनन् ।

यतिबेला केटो (दुर्गादास) बीए पास भएर घर आएको छ । अत्यन्तै व्यस्त छिन् उनकी आमा । केटालाई राम्ररी खानपानको व्यवस्था मिलाउनु, सेवा सुस्रुसाका लागि सबै परिवार एकसाथ उत्कण्ठित भए ।

दुर्गादासले सोधे, “आमा ! यो नयाँ केटो को हो ?”

आमाले भनिन्, “यो कायस्थको छोरा हो, आमा–बा छैनन् । त्यसैले तेरो पिताजीले यसलाई आफूकहाँ राख्नुभयो । यसले घरका सबै कामकाज गर्छ । बडो शान्त प्रकृत्तिको केटो छ । कहिल्यै पनि कुनै कुरामा झिँझो मान्दैन । रिसाउँदैन । फेरि, बिनाआमा–बुवाको बालक हो विचरा । म धेरै चाहन्छु उसलाई ।”

घर आएपछि दुर्गादास बाबुलाई हरिचरणको यस्तो परिचय दिइयो ।

जेहोस्, आजकाल हरिचरणको काम बढेको छ । यो कार्यवृद्धिका कारण ऊ असन्तुष्ट छैन । अपितु सन्तुष्ट प्रतीत हुन्छ । छोटे बाबु (दुर्गादास)लाई नुहाउने समयमा पानी भरिदिने, सही समयमा पानको बट्टा व्यवस्था गरिदिने, हुक्का आदि पेश गर्ने काममा हरिचरण पोख्त छ । दुर्गादास बाबु सोच्छन्— केटा ‘इन्टेलिजेन्ट’ छ । त्यसैले कहिलेकाहीँ हरिचरणले कपडामा ‘चुनट’ नहाल्दा र हुक्का भर्ने काम नगर्दा दुर्गादास बाबुलाई निको नलाग्ने भइसकेको थियो ।

वास्तवमा बुझ्न कठिन छ, कहाँको पानी कहाँ गएर पोखिन्छ । बडा दुरुह तत्व हो यो । के तिमीले देखेका छौ राम्रो कुराको परिणाम राम्रो नै हुन्छ भन्ने ? के कहिलेकाहीँ नराम्रो हुँदैन र ? यदि तिमीले देखेको छैनौ भने आऊ म देखाउँछु त्यो दुरुह तत्व ।

आज दुर्गादास बाबुलाई एक शानदार भोेजका लागि निमन्त्रणा आएको छ । त्यसैले घरमा खाना खाँदैनन् । शायद धेरै रात परेपछि फर्किन सक्छन् । त्यसैले दैनिक गर्नुपर्ने काम सकेर हरिचरणलाई सुत्न भने ।

अब हरिचरणको कुरा भन्छु । दुर्गादास बाबु राति बाहिर बैठक घरमै सुत्ने गर्थे । यसको कारण धेरै मानिस जान्दैनन् । मेरो अनुभवमा उनकी पत्नी माइतमै भएका कारण उनले आफ्नो लागि यो व्यवस्था गराएका हुन् ।

राति दुर्गादास बाबुको ओच्छ्यान लगाउनु, उनी ओच्छ्यानमा पल्टिएपछि उनको खुट्टामा मालिस गर्नु आदि काम हरिचरणको जिम्मामा थियो । उनी निदाइसकेपछि हरिचरण नजिकैको एउटा कोठामा गएर सुत्थ्यो ।

साँझ हुनुपूर्व नै त्यस दिन हरिचरणको टाउको दुख्न थाल्यो । हरिचरणले अनुमान गर्‍यो— अब उसलाई ज्वरो पनि आउँछ । बीच–बीचमा उसलाई प्रायः ज्वरो आइरहन्थ्यो । यो लक्षणप्रति ऊ जानकार थियो । हरिचरण बस्न सकेन । ऊ आफ्नो कोठामा गएर सुत्यो । छोटे बाबुको ओच्छ्यान लगाउन नसकेको पनि उसलाई सम्झना रहेन । राति सबैले खाना खाए तर हरिचरणले खाएन । रामदास बाबुकी गृहिणी हेर्न आइन् । हरिचरण सुतिरहेको थियो । उसको शरीर छामिन्, एकदमै तातो थियो । उनले बुझिन्— ज्वरो आइसकेको छ । उनी केही नभनी चुपचाप फर्किइन् ।

रातको दोस्रो प्रहर चलिरहेको थियो । भोजमा सहभागी भएर दुर्गादास बाबुले घरमा आएर देखे कि उनको ओच्छ्यान लगाइएको छैन । एक त उनलाई निद्रा लागिरहेको थियो, त्यसमाथि सारा बाटो उनी यही सोच्दै आउँदै थिए कि जानासाथ ओच्छ्यानमा घुस्रिनेछु, हरिचरणले उनको थकित पाउबाट जुत्ता खोलेर बिस्तारै खुट्टा मालिस गरिदिनेछ र आफू आरामले तन्द्रामा गड्गडे (हुक्का)को नली मुखमा हालेर बिहानीपखको उज्यालो आँखाले हेर्नेछु ।

अचानक उनी हतास भए र रिसले आगोको गोला बने । उनले दुई–चार पटक ‘हरिचरण’, ‘हरि’, ‘हरे’ भन्दै चिच्याए । तर कसरी आउँथ्यो हरि ? ऊ त ज्वरोको प्रकोपले बेहोश थियो । उनी हरिको कोठामा पुगे र देखे, ऊ पूरा शरीर छोपेर सुुतेको छ ।

त्यसपछि सह्य भएन उनलाई । उनल बेस्सरी हरिचरणको कपाल समात्दै उठाएर बसाउने कोसिस गरे तर हरि फेरि ओच्छ्यानमै ढल्यो । त्यसपछि अत्यन्त क्रोधका कारण दुर्गादास बाबु ज्ञानशून्य भए । हरिको पिठ्यूँमा उनले आफ्नो बुटसहितको खुट्टा हिर्काए । चोट खाएर ऊ होशमा आयो र ओच्छ्यानमा उठेर बस्यो । दुर्गादासले भने, “तँ दूध पिउने बच्चा होस् र यसरी सुतेको सुत्यै छस् ? मेरो ओच्छ्यान कसले लगाउँछ ? मैले लगाऊँ ?”

उनको रिसको पारो बढ्दै गयो । उनले हातमा रहेको बेतको छडी  हरिचरणको पिठ्यूँमा फेरि पनि दुई–तीन पटक बर्साए ।

हरि जब राति उनको पाउको सेवामा समर्पित थियो, त्यो बेला शायद एक थोपा तातो आँशु दुर्गादासको खुट्टामा पर्‍यो ।

त्यो रात दुर्गादास बाबुलाई निद्रा लागेन । पानीको त्यो थोपा पनि उनलाई अत्यधिक तातो महसुस हुँदै थियो । दुर्गादास बाबु हरिचरणलाई धेरै माया पनि गर्थे । आफ्नो नम्रताका कारण ऊ केवल दुर्गादास बाबुमात्रै होइन, सबैको प्रिय पात्र थियो । फेरि महिना दिनमै यो घनिष्टता बढेर ऊ प्रिय बनेको थियो ।

राति कति पटक दुर्गादास बाबुको मनमा आयो कि गएर एक पटक हरिचरणलाई हेरेर आऊँ, उसको पिठ्यूँमा कति चोट लागेको छ, कति सुन्निएको छ ! तर ऊ त नोकर न हो, त्यसरी हेर्न जानु शायद उनका लागि मुनासिब थिएन । कतिपटक मनमा आयो कि सोधेर आऊँ ज्वरो कम भयो कि भएन भनेर ! तर लाज र ग्लानिले गर्दा उनी जान सकेनन् । बिहान जब हरिचरणले मुख धुनका लागि पानी ल्याइदियो, हुक्का भरिदियो, त्यसबेला पनि उनले सोचे, “ओह ! यो त एउटा १२ वर्षको बालकमात्रै त हो ! बालक सम्झिएर उसलाई आफ्नो नजिक ल्याई उसकोे पिठ्यूँ हेर्न सक्थे, त्यसमा हल्कासँग हातले मुसार्न सक्थे । एउटा बालकसँग केको लाज ?”

बिहान ९ बजे एउटा टेलिग्राम आइपुग्यो । तार आएको सुनेरै दुर्गादास बाबुको मन विचलित भयो । तार खोलेर हेरे । उनकी पत्नी बिरामीले गर्दा अत्यन्त पीडामा थिइन् । उनको छाती ढक्क भयो । उनी त्यसै दिन कलकत्ताका लागि रवाना भए । गाडीमा बसेर उनले सोचे, “हे भगवान ! प्रायश्चित होला र ?”

लगभग महिना दिन लाग्यो । आज दुर्गादास बाबु प्रशन्नचित्त थिए । उनकी पत्नी ठीक भएकी थिइन् । आजै उनले पथ्य सेवन गरिन् ।

घरबाट आजै एउटा पत्र पनि आयो । चिठी दुर्गादास बाबुको सानो भाइले लेखेका थिए । पत्रको अन्त्यमा पुनश्चः गरेर लेखिएको थियो, “दुःखको कुरा यो छ कि हिजो बिहान १० दिनको ज्वरो विकारका कारण हरिचरणको मृत्यु भयो । मर्नुभन्दा पहिले उसले धेरै पटक तपाईंलाई हेर्ने इच्छा जाहिर गरेको थियो ।”

दुर्गादास बाबुले बिस्तारै त्यो पत्रलाई सय टुक्रा बनाएर फ्याँकिदिए ।

(बंगाली साहित्यकार शरत्चन्द्र चटोपाध्यायको ‘शरत्चन्द्र की यादगारी कहानियाँ’ बाट अनुदित ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०७५  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय