site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दैनिक कति सुन खपत हुन्छ नेपाली बजारमा ? २० किलोभन्दा बढी तस्करीको सुन ! 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ३३ किलो सुन प्रकरणले सुन तस्करीकै इतिहासमा सबैभन्दा बढी व्यक्ति एकैपटक पक्राउ परेका छन् । यसमा नेपाल प्रहरीका बहालवाला एसपीदेखि पूर्वडीआईजीसम्म हिरासतमा छन भने प्रहरीका पूर्वउच्च अधिकारीतर्फ पनि अनुसन्धान सोझिएको छ । 
नेपालमा दैनिक कति सुन चाहिन्छ ?

नेपालमा दैनिक २० किलो सुन वैधानिक रुपमा आयात हुन्छ । तर सुनचाँदी व्यवसायीहरु भने पर्याप्त नभएको बताउँदै आएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार बिश्वकर्मा नेपालमा दैनिक सिजनमा ४० र अफसिजनमा २० किलो सुन आवश्यक पर्ने बताउँछन् । 

उनका अनुसार नेपालमा वार्षिक साढे २७ अर्बको सुन आयात हुने गरेको छ । आफुहरुले पटक–पटक राष्ट्र बैंक र सरकारलाई यो विषयमा सचेत गराएपनि मागको सुनवाई नभएको उनको भनाइ छ । उनका अनुसार राष्ट्र बैंकबाट खरिद गरेको सुनको प्रतिकिलो ४ लाख २० हजार कर तिर्नुपर्छ । दैनिक २० किलोभन्दा बढी हुने खपत सबैजसो तस्करीकै सुन भएको कतिपय व्यवसायी बताउँछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसबाहेक अधिकांश सुन भारतीय बजारमा पुग्ने गरेको र तस्करीमा नेपालीलाई भारतीयले सहयोग गर्ने गरेको पाइएको अनुसन्धानमा सक्रिय प्रहरी अधिकारी बताउँछन् ।

६ वर्षमा कति सुन आयात ?
 

Global Ime bank

गत ६ वर्षको तथ्याङ्क हेर्ने हो नेपालमा वार्षिक २१ अर्बको सुन वैधानिक बाटोबाट आउँछ । राष्ट्र बैंकका अनुसन्धान विभागका निर्देशक नरबहादुर थापाका अनुसार सिजनमा सुन आयात बढी हुन्छ भने अफसिजनमा कम हुन्छ । 

आर्थिक वर्ष ०६८/०६९ मा २५ अर्ब ७७ करोड मूल्य बराबरको सुन भित्रिँदा ०६९/०७० मा २६ अर्ब ११ करोड र ०७०/०७१ मा २४ अर्ब ७९ करोड मूल्यको सुन नेपाली बजारमा भित्रिएको छ ।

यस्तै ०७१/०७२ मा सुन ६ अर्ब ३८ करोड बराबरको सुन भित्रियो । निर्देशक थापा भन्छन्–‘०७२ को भूकम्प र नाकाबन्दीले सुन आयात निकै घट्यो, तर त्यसपछि फेरि सुन आयात बढेको छ ।’
आर्थिक वर्ष ०७२/०७३ मा पनि भूकम्प र नाकाबन्दीकै प्रभावका कारण १६ अर्ब ७ करोड रुपैयाँ बराबरको सुन आयात भयो । बीचमा घटेको सुन आयात ०७३/०७४ मा बढेर २७ अर्ब ४३ करोडमा पुगेको थापा बताउँछन् । 

०७४/०७५ को पुस मसान्तसम्मको अवस्था हेर्दा १४ अर्बको सुन आयात भइसकेको छ ।

थापाका अनुसार नेपालले स्वीट्जरल्याण्ड, युएई लगायतका देशबाट सुन खरिद गर्ने गरेको छ । राष्ट्र बैंकका अधिकारीहरु २० किलो सुन दैनिक नेपालका लागि पर्याप्त भएको बताउँछन् । अधिकारीहरु भन्छन्–‘राष्ट्र बैंकले आवश्यकताअनुसार कहिलेकाँही सुनको मात्रा बढाएको पनि छ, तर कहिलेकाँही २० किलो पनि खपत नहुने अवस्था छ ।’

पछिल्ला ३ वर्षको तथ्याङ्क विश्लेषण गर्ने हो भने १५ हजार ३ सय ७१ दशमलव ६२ किलोग्राम सुन भित्रिएको छ । 

०७२/०७३ मा ४ हजार १ सय ६५ किलोग्राम सुन राष्ट्र बैंकले खरिद गरेको छ भने ०७३/०७४ मा ६ हजार ४ सय ५६ किलो र चालु आर्थिक वर्षको ८ महिनामा ४ हजार ७ सय ५० किलो सुन वैधानिक बाटो हुँदै नेपालमा भित्रिएको छ ।

तर पनि सुन तस्करी रोकिएको छैन, यस्तो छ तस्करीको इतिहास
 

नेपालमा सुन तस्करी ४० को दशकदेखि नै भएको पाइन्छ । यसमा दरबारीयादेखि चर्चित नेताहरुको संग्लनता पनि बेलाबेला जोडिँदै आएको छ । तर पुष्टि भएर कारबाही प्रभावशाली र उच्च तहका नेता कसैलाई पनि भएको छैन ।

२०४२ सालमा तत्कालीन चन्द्रबहादुर बुढा २२ किलो सुनसहित पक्राउ परे । उनी हङकङबाट नेपाल आउँदै थिए । त्यसअघि विमानस्थलमा भीआइपी, भीभीआइपीलाई चेकजाँच गरिने व्यवस्था थिएन । पक्राउ परेका बुढाले चुनावी खर्च टार्न सुन ल्याएको बयान दिएका थिए । 

२०४४ सालमा तत्कालीन अधिराजकुमार धिरेन्द्रका अंगरक्षक कर्णेल भरत गुरुङ र अवकाशप्राप्त प्रहरी महानिरिक्षक डिबी लामा सुन तस्करीको अभियोगमा पक्राउ परे ।  २०५४ मंसिर २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध एक किलो सुनसहित कोरियन नागरिक जो कुन ह्वा र युन सोङ पक्राउ परे । 

यस्तै २०७४ मा केरुङ हुँदै काठमाडौं भित्रिएको ८८ किलो सुन पक्राउ पर्र्यो तर सुनका मालिक फेला परेनन् । २०७४ पुसमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर साढे ३३ किलो सुन पक्राउ पर्यो । यसमा पनि भरिया पक्राउ परे तर मालिक फेला परेनन् ।
नेपालमा सुन हवाईमार्गबाट दुवई र स्थलमार्गबाट केरुङ र तातोपानी हुँदै भित्रिने गरेको छ ।

प्रहरी अधिकारीका अनुसार २०५८ सालयता नेपालमा सुन तस्करी बढी भएको देखिन्छ । ०५८ यतामात्रै हालसम्म ३० पटक विभिन्न परिणामका सुन प्रहरी टोलीले बरामद गरिसकेको छ । विगतमा तस्करहरूले चीनको खासाबाट भित्रिने विभिन्न सामान र कपडाहरूमा लुकाएर नेपाल ल्याउने गरेको पाइएको थियो । २०७२ को भुकम्पपछि तातोपानी नाका पूर्णरुपमा बन्द छ । अहिले सुन तस्करले रसुवागढीको नाका प्रयोग गरिरहेको सुरक्षा अधिकारी बताउँछन् । 

यसरी हुन्छ दुवई–काठमाडौं सुन तस्करी

नेपालमा तस्करीको सुन नेपाली बजारका लागि मात्र नभएर भारत निर्यातका लागि पनि आउने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । नेपाल हुँदै भारत लगिने अवैध सुनको ट्राञ्जिटका रुपमा पनि तस्करले नेपाली बाटो प्रयोग गर्छन् । नेपाल र भारतमा सुनको मुल्यमा खासै अन्तर छैन । 

सुन व्यवसायमा संग्लन व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय बजारबाट सुन तस्करी गर्दा प्रतिकेजी ५ लाख रुपैयाँसम्म फाइदा हुन्छ । नेपालमा सुनको भन्सार दर प्रतितोला चार हजार रुपैयाँ छ । यस्तोमा सुन व्यापारीले भन्सार तिर्न नपर्दा अवैध सुन किन्छन् । दुबईबाट अवैध रुपमा सुन नेपाल ल्याएर बिक्री गर्दा एक किलोमा ५ लाखसम्म फाइदा हुने गरेको पाइएको अनुसन्धान अधिकृत बताउँछन् ।

प्रायः अवैध सुन आयत गर्न हुण्डीमार्फत रकम पठाउने गरिन्छ । तस्करीमा संलग्न गिरोहले दुबईमा रहेका कामदारले घर पठाउने पैसा आफूले लिएर नेपालमा कामदारका आफन्तलाई नेपालकै पैसा दिने गरेको पनि पाइएको छ ।

वैदेशिक रोजगारीबाट फर्किनेको प्रयोग 
 

सुन कारोबारमा संग्लन गिरोहले वैदेशिक रोजगारीबाट नेपाल फर्किने गरेका नेपालीको प्रयोग गर्ने गरेको पाइएको छ । सुनका गहना प्रयोग गर्ने नेपालीको तस्बिर पहिले नै नेपालमा रहेका एजेन्टलाई पठाउने र विमानस्थलमा उत्रिनासाथ तस्करले उक्त सुन लिने गरेको पाइएको गृह मन्त्रालयले बनाएको विशेष समितिका एक सदस्य बताउँछन् ।

तर ठुलो परिणाम अर्थात केजीमा सुन आयात भने सबैतिरको ‘सेटिङ्बिना’ सम्भव नहुने सुरक्षा अधिकारीको अनुभव छ ।  नेपालमा सुन आयात गर्ने निकाय भने राष्ट्र बैंक मात्रै हो । दैनिक २० किलो सुन राष्ट्र बैंकले वाणिज्य बैंकहरुमार्फत खरिद गरेको सुन ब्यापारीहरुले बैंकबाट किनेर लैजानुपर्छ । 

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०७५  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement