ad

बाह्रखरी समीक्षा

मतदानको दिन यातायात प्रतिबन्ध किन ?

नेपालको संविधान, २०७२ जारी भएपछि भएको पहिलो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको दोस्रो चरणको मतदान आज मंसिर २१ गते बिहीबार भइरहेको छ । आज ४५ जिल्लामा १२८ प्रतिनिधि सभा तथा २५६ प्रदेश सभाका सदस्यका लागि मतदान हुँदैछ । यो निर्वाचनसँगै नेपाल संविधान कार्यान्वयनको एउटा महत्त्वपूर्ण खुट्किलो उक्लिँदैछ । आजका सबै पत्रिकालेयसैलाई  ब्यानर समाचार बनाएका छन् । तर, निर्वाचनका विषयमा विभिन्न सन्दर्भ पनि अगाडि आएका छन् । यस्ता विषयमध्ये आम निर्वाचनको दिन यातायात साधनमा प्रतिबन्ध लगाउने निर्णयको औचित्य र उपादेयतामा प्रश्न उठेको छ ।
 
निर्वाचनको दिन यातायात साधनमा प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयका सम्बन्धमा सामाजिक सञ्जालमा निकै प्रतिक्रिया व्यक्त भएका छन् । यसलाई सरकारले गराएको बन्द भन्नेदेखि लिएर जनताको दैनिकीमा सरकारले बन्धन लगाउनु नहुने जस्ता धारणा प्रबुद्ध वर्गबाट समेत व्यक्त भएको छ ।
निर्वाचन आयोगले बुधबार मध्यरातदेखि बिहीवार साँझ ७ बजेसम्मका लागि अनुमति नलिएका कुनैपनि सवारी साधन चलाउन नपाउने आदेश जारी गरेको छ । कान्तिपुर लेख्छ, ‘निर्वाचनका लागि गरिएको यस्तो प्रतिबन्धले सर्वसाधारणको दैनिकीलाई भने निकै अप्ठेरो पार्छ ।’ कान्तिपुरमा राजेन्द्र फुयाल लेख्छन्, सार्वजनिक बिदा दिइएको भए पनि अनौपचारिक क्षेत्रमा गर्नैपर्ने अनेकौं कामको लागि बाहिर निस्कनुपर्ने सर्वसाधारण यसको प्रत्यक्ष मारमा पर्छन् । मतदान केन्द्र टाढा भएका वृद्धवृद्धा, शारीरिकरूपमा अशक्तलगायतलाई निर्वाचनमा सहभागिता जनाउनै मुस्किल हुन्छ ।
 
निर्वाचनको दिन सवारी आवागमनमा रोक लगाउने कानुनी व्यवस्था नभए पनि निर्वाचन आयोगले सबै निर्वाचनमा यसैगरी सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउँदै आएको छ । कान्तिपुरका अनुसार कुनै पनि एउटा स्थानमा एकैपटक धेरै ठूलो भिड जम्मा हुन नपाओस् भन्ने उद्देश्यले सवारी साधनमा रोक लगाइएको हो । साथै नक्कली भोटरहरू धेरै ठाउँमा बिना रोकटोक हिँड्न नपाउन् भनेर पनि यस्तो व्यवस्था भएको हो । विकसित देशमा निर्वाचनको दिन यसरी सवारी साधनमा रोकटोक नलगाइने उदाहरण दिँदै कान्तिपुरले पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको विचार उद्धृत गरेको छ । उप्रेतीको भनाइमा अब यातायात साधनमा रोक लगाउने निर्णयमा विचार गर्ने बेला भइसकेको छ ।
 
एक सुरक्षा अधिकारीका अनुसार यातायात सञ्चालन नहुँदा सुरक्षा व्यवस्थापनमा सहज हुन्छ । तर, सुरक्षाको प्रभावकारी व्यवस्थाको लागि यो एउटामात्र विकल्प भने होइन ।
 
मतदानको तथ्यांक
 
दोस्रो चरणको मतदान हुने दिनका सबैजसो दैनिक पत्रिकाले निर्वाचनको तथ्यांकको ’इन्फोग्राफिक्स’ प्रकाशित गरेका छन् । सबैले दिएको मुख्य तथ्यांकमध्ये आज मतदान हुन लागेका जिल्ला र पहिलो चरणमा मतदान सकिएका जिल्लाको नक्सा । यस्तो नक्सामा पहिलो चरणका हिमाली ३२ जिल्ला पर्छन् भने दोस्रो चरणमा बाँकी ४५ जिल्ला परेका छन् (स्मरण होस्, नवलपरासी र रुकुम जिल्लालाई टुक्य्राएर अब नेपाल ७७ जिल्लाको देश भएको छ ) । यसपल्ट मतदाता संख्या १ करोड २२ लाख ३५ हजार ९९३ रहेको छ भने पहिलो चरणसमेत गर्दा कुल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ९३८ छन् । यी मतदाताबाट कुल १६५ प्रतिनिधि सभा सदस्य खुल्लाबाट विजयी भएर आउँछन् भने प्रदेश सभामा ३३० सदस्य विजयी हुन्छन् । समानुपातिकमा प्रतिनिधि सभामा ११० र प्रदेश सभामा २२० सदस्य हुनेछन् । यसरी प्रतिनिधि सभा कुल २६५ सदस्यीय हुनेछ । प्रदेश सभा भने प्रदेश र त्यहाँको जनसंख्याअनुरूप फरक फरक सदस्यीय हुनेछ ।
 
प्रतिनिधि सभामा कुल १ हजार ६६३ उमेदवार प्रत्यक्षतर्फ आफ्नो भाग्यको फैसला कुर्दैछन् । यसमध्ये अधिकांश पुरुष उमेदवार रहेका छन् । प्रतिनिधि सभाको उमेदवारमा प्रत्यक्ष तर्फ १ हजार ५३३ पुरुष छन् भने महिलाको संख्या १३० मात्र रहेको छ । त्यस्तै प्रदेश सभाको प्रत्यक्षमा २ हजार ८१९ उमेदवार रहेका छन् जसमा पुरुष २ हजार ५९९ र महिला २२० मात्र छन् ।
 
सम्पादकीय
 
गोरखापत्रले आफ्नो सम्पादकीयमा आजैको दिनबाट नयाँ संविधानको कार्यान्वयनका सम्बन्धमा रहेका आशङ्का अन्त्य भएको र मुलुक एक दशक लामो सशस्त्र द्वन्द्व, त्यसपछिको एक दशकभन्दा लामो राजनीतिक अस्थिरताबाट स्थिरता र समृद्धिको चरणमा प्रवेश गरेको उल्लेख गरेको छ । अन्नपूर्ण पोस्टले पनि संघीय संविधानको कार्यान्वन भएको भनेर सम्पादकीयमा लेखेको छ । पोस्ट लेख्छ, ‘संविधान कार्यान्वयनका रूपमा हुँदै गरेको यो चुनाव अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनताले दिएको अभिमतको अनुमोदन पनि हो ।’
 
कान्तिपुरले सम्पादकीयमा यो निर्वाचनले आगामी पाँच वर्षका लागि केन्द्र र प्रदेश सञ्चालनका लागि सरकार गठन, नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गराउने जिम्मेवारीसहितका जनप्रतिनिधि चुन्ने लेखेको छ । साथै, सबैभन्दा महत्वपूर्ण विषय यो निर्वाचनसँगै संवैधानिक संक्रमणको अन्त्य हुनेछ र देश जनप्रतिनिधिद्वारा लिखित संविधान कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ कान्तिपुरको सम्पादकीयमा लेखिएको छ ।
 
नागरिकले मतदाताको जिम्मेवारी सम्झाउँदै सम्पादकीय लेखेको छ । नागरिकले लोकतन्त्र स्थापना भएपछि वास्तविक अर्थमा जनता सार्वभौम भएको जनाउँदै यस्ता सार्वभौम जनताले जिम्मेवारीपूर्वक निर्णय गर्ने मतदानकै बेला हो भनेर सम्झाएको छ । नागरिकका अनुसार अहिले खराब पात्रलाई मतदान गरेर जिताइयो भने भोलि परिणाम सुखद हुँदैन । नागरिकले सम्पादकीयमा मतदातालाई सुझाव पनि दिएको छ, ‘सबै दल, उमेदवार र व्यक्तिले भनेको सुन्नुपर्छ तर निर्णय भने आफ्नो अन्तःस्करणको आवाज सुनेरै गर्नुपर्छ । त्यसो भयोभने मात्र मतदाताको जिम्मेवारी पूरा हुन्छ ।’
 
नयाँ पत्रिकाले पनि कसैको डर, त्रास र बहकाउमा नपरी भयरहित वातावरणमा निर्धक्क मतदान गरी संविधान कार्यान्वयन तथा मुलुकको समृद्धिको ढोका खोल्ने कार्यमा महत्वपूर्ण योजदान दिनबाट पछि नहट्न मतदातालाई आह्वान गरेको छ ।

तपाईंको मत