काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि जितेर एसीसी यू–१९ एसिया कपमा छनोट भएको नेपाली यू–१९ क्रिकेट टोली आज स्वदेश फर्कदैछ । नेपाली टोली हिमालय एयरलाइन्सबाट आज बेलुका ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छन् ।
नेपाली टोलीका दुई खेलाडी भने मलेसियाबाट सिधै भारत जाने छन् । यू – १९ टोलिका कप्तान दिपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दिप लामिछाने सिनियर टोलिको अभ्यासमा सामेल हुन मलेसियाबाट चेन्नई जाने छन् । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली विशेष प्रशिक्षणको लागि चेन्नईमा रहेको छ ।
मलेसियामा आइतबार भएको फाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि जितेको थियो । प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । नेपालले समूह चरणमा थाइल्याण्ड, भुटान र सिंगापुरलाई पराजित गरेको थियो । त्यस्तै सेमिफाइनलमा नेपालले मलेसियालाई पराजित गरेको थियो ।